एउटा चिठी देशबासीलार्इ ।

प्रिय नेपाली बन्धुहरु
नमस्कार, तथा मीठो सम्झना ।
विशेष समाचार त केहि थिएन तर परदेशको ठाउँमा आएपछि देशप्रतिको माया र सदभाव अझ बढेर आएको महशुस हुन थालेपछि मैले यो चिठी लेख्ने प्रयास गरेको छु । मलाइ थाहा छैन, यो विश्वमा कति मान्छे त्यस्ता होलान् जसले आफ्नो देशलाई माया नगर्ने होस् । तर मलाई थाहा छ, हामी कुनै पनि त्यस्ता नेपाली छैनौ जसले नेपाललाई माया नगर्ने होस ।
हामीले भन्दै आएका छौ । नेपालका नेता भनौंदाहरुमा राष्ट्रियताको छनक देखिएन । तर अब हामीले आफैलाई फर्केर हेर्ने बेला भएको छ, कि हामीमा कति छ, राष्ट्रप्रेम ? मलाइ लाग्दैन, यो कुरा सानो हो । बरू मलार्इ लाग्दछ, आफूमा राष्ट्रियता कति छ भनेर जान्न खोज्नु ठूलो र महत्वपूर्ण कुरो हो ।  यो चिठी लेख्दै गर्दा मेरो दिमागमा खेलेको एउटै कुरो छ, यो पढ्ने कतिले मेरो दिमागी हालतका बारेमा प्रश्न गर्नुहोला ? मलार्इ त्यसको कुनै पर्वाह छैन । न मैले म मा राष्ट्रप्रेम छ भनेर प्रमाणित गर्न खोजेको हुँ न त अरूमा यो भावना छैन भनेर प्रत्यारोप गर्न नै खोजेको हुँ । बरू मैले त सम्भव भए सम्म र आफ्नो हैसियतले भ्याए सम्म राष्ट्रियता झल्कने प्रयास थालौं भनी यहाँहरूलार्इ मात्र निवेदन गर्न खोजेको हुँ ।

मेरो सधैं घरमा झगडा हुने गर्दथ्यो, टि.भी च्यानलको नम्बर मिलाउन खोज्दा । हिन्दी टेली श्रृङखलामा रमाउने परिवारका मेरा सदस्यहरू स्टार प्लस, सोनी र स्टार उत्सवलार्इ १,२,३ गरी क्रमैसँग मिलाउन खोज्दथे, म चाहिँ नेपाली भाषाका च्यानलहरूलार्इ प्राथमिकताका साथ अगाडि आउने नम्बरहरू दिनु पर्दछ भन्थेँ । र, मौका मिल्दा साथ त्यसो पनि गर्थे । यहाँलार्इ लाग्न सक्ला टि.भी च्यानलको नम्बर मिलाउँदैमा के हुन्छ र ? तर मलार्इ लाग्दछ, यसो गर्यौ भने कम्तीमा पनि भारतीय साँस्कृतिक प्रभावलार्इ, हामीले बिस्तारै कम गर्न सक्छौं भन्ने मेरो विश्वास हो । आज च्यानलको नम्बर पछि लाने, भोली ती च्यानलहरू बिस्तारै कम हेर्दै जाने र पछि पछि ती च्यानलमा के कुरा आउथे भन्ने कुरालार्इ बिर्सेर नेपाली टि.भि च्यानलमा रमाउन सिक्ने । के यो असम्भव छ त ? यो झट्ट सोच्दा, सानो जस्तो लाग्दछ तर हामीहरू धेरैका लागि यो काम कठीन अवश्य पनि छ । किनकी भारतीय संस्कृतिको प्रभावले हाम्रो मस्तिष्कमा यस्तो सित जरो गाडेको छ कि हामी उठ्दा, बस्दा, सुत्दा मात्र होइन हामीले फेर्ने श्वास श्वासमा भारतीय प्रभाव छ, चाहे त्यो राजनैतिक होस् वा साँस्कृतिक । हामीले खबर पढ्ने गरेका छौं, भारतीय राजदुत सुदले मुस्ताङमा स्कुले बच्चाहरूलार्इ हिन्दी गीत गाउनका लागि अर्हाए । समाचार पढ्दै गर्दा हाम्रो राष्ट्रियता अपर्झट हुँकार निकाल्न थाल्दछ । जब त्यो पढेर सिध्याएर कतै बाटोमा हिड्न शुरू गर्छौ, अब गुन्जिन थाल्दछ, हाम्रो मुखबाट हिन्दी गीत ।


मेरो सधैं झिकिर रहने गरेको छ, राष्ट्रियताको शुरूका कदमहरू साना पाइलाहरूबाट थाल्न सक्नु पर्दछ । मलार्इ यो किन पनि लाग्यो भने, टि.भी केबल पुगेका दूर दूरका नेपाली ग्रामीण र्इलाकाहरूमा पनि त्यहाँका ग्रामीण महिला र बालबच्चाहरू हिन्दी श्रृङखला र रियालीटि शो हेर्न रूचाउँछन् । हेरेपछि त्यसको समीक्षा गर्न रूचाउँछन् । त्यतिमात्र होर्इन, ती सबै कुराहरू नेपाली टेलीश्रृङखला र रियालीटी शो भन्दा हजारौं गुणा राम्रा भएको जिकीर सम्म गर्नु आफ्नो धर्म ठान्दछन । यसरी भारतीय सँस्कृतीको प्रभावबाट कहिले सम्म गुज्रीरहने ? अब हामीले कम्तीमा पनि नेपाली शिर उचोँ पारेर जिउन सिक्नु पर्ने समय आएको छ । त्यसैले मेरो अनुरोध हो सबैलार्इ कि हरेक खाले भाषिक, साँस्कृतिक र राजनैतिक प्रभावबाट माथि उठेर जिउन सिकौं ।

मलार्इ थाहा छैन, म भित्र हुर्किन थालेको राष्ट्रप्रेमको उत्कर्ष बिन्दु कहाँ नेर छ ? तर मलार्इ राम्ररी थाहा छ, कि मेरो हैसियतले भ्याइन्जेल म एक पूर्ण नेपाली भएर ज्यूँने प्रयत्नमा लागिरहने छु । कम्तीमा पनि प्रसिद्द सामाजिक संजाल फेसबुक नेपालीमा चलाउन थालेको छु । मेरा नेपाली बन्धुहरूसँग नेपाली मै कुराकानी (च्याट) गर्न थालेको छु । याहुमा मेल नेपालीमै लेख्न थालेको छु । आफूलार्इ आमन्त्रण गरिएका भोजहरूमा नेपाली पोशाकमा उपस्थित हुन थालेको छु । साथीहरूसँग भेटघाट हुँदा राष्ट्र र राष्ट्रियता तथा नेपालको विकाशका बारेमा छलफल गर्ने काम थालेको छु । भेटिएका जति पनि विदेशी साथीहरू छन् नेपालको सुन्दरता र नेपाली सदभावका बारेमा बुझाउने प्रयास गरेको छु । र, उनीहरूलार्इ म आफू गोर्खाली भएर जन्मन पाएकोमा कति खुशी छु भनेर आफ्नो खुशी बाड्ने प्रयास गरेको छु ।

मलार्इ लाग्दैन, यी सबै कुराहरू मात्र म मा मेरो देशप्रतिको दायित्व र राष्ट्रियता बोध गर्नका लागि काफी छन् । तर लागेको छ, यिनै साना कुराहरूबाट सिकेर कुनैदिन म एक राष्ट्रप्रेमी नेपाली बन्न सक्ने छु ।


Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)