नर्वेमा पहिलो पटक नेपाली साँझ


नीराजन शिरीष\नर्वे
नर्वेको सुदुर उत्तरी क्षेत्र ट्रोम्सोमा कार्यरत दुर्इ नेपाली रेडक्रस स्वंयसेवक युवाहरू नीराजन थापा र प्रजु गुरूङको विशेष सक्रियता एवं ट्रोम्सो रेडक्रसकी युवा विभाग संयोजक हन्ना होभ्दे बार्इको परिकल्पनामा बुधवार साँझ ट्रोम्सोमा पहिलो पटक भव्य नेपाली साँझ सम्पन्न भएको छ ।
साँझको शुरूवातमा नीराजन थापाले नेपाल र यसको प्राकृतिक सौन्दर्यता दर्शाउने भिडियो तथा पावर प्वाइन्ट प्रस्तुती गरेका थिए । थापाले नेपाली जातीको गौरवशालिताका बारेमा व्याख्या गरिरहँदा कार्यक्रममा उपस्थित पाँच दर्जन नर्वजियन तथा अन्य विदेशी पाहुनाहरूले उनलाइ चाखपूर्वक सुने ।
थापाले प्रस्तुतीमा नेपालको जैविक विविधतामा विशेष जोड दिदै, सन् २०११ मा सहभागीहरूलार्इ नेपालले आयोजना गर्न लागेको पर्यटन वर्षमा सहभागिताका लागि प्रेरित गर्ने काम गरेका थिए । उनले विदेशी पाहुनाहरूका लागि नेपाल सुरक्षित गन्तव्य स्थान भएकोमा जोड दिदै विश्वमा शान्ती सुरक्षामा वीर गोर्खालीहरूले खेल्दै आएको भूमिकालार्इ स्मरण गराउँदै उनीहरू आफ्ना पाहुनाहरूको सुरक्षाका लागि सधैं संवेदनशील हुने स्पष्ट पारेका थिए ।
त्यसै गरी अर्की स्वयंसेवक प्रजु गुरूङले नेपाल रेडक्रस सोसाइटी र त्यसका क्रियाकलापका बारेमा आकर्षक प्रस्तुती दिएकी थिइन । उनले नेपाल रेडक्रसको इतिहास, संस्थागत ढाँचा र उद्देश्यका बारेमा प्रकाश पार्दै नेपालमा यसको महत्वका बारेमा विशेष चर्चा समेत गरेकी थिइन । साथै देशकै सबभन्दा धेरै स्वयंसेवकहरू आबद्द भएका तथा सबभन्दा ठूलो मानवीय संस्था भएकाले त्यसको एक जिम्मेवार सदस्य भएकोमा गर्व महशुस गरेको बताएकी थिइन । उनले सहभागीहरूलाइ रेडक्रस अभियानमा आबद्भ भइ मानवीय सेवामा संलग्न हुन समेत अनुरोध गरेकी थिइन । नर्वेजियन रेडक्रसबाट नेपाल रेडक्रसका लागि गत वर्ष युवा स्वंयसेवक रहेका युवा एमिल फ्ल्याकले आफ्नो नेपाल बसाइको अनुभव बताएका थिए । उनले नेपाल जीवनमा एक पटक पुग्नै पर्ने स्वर्गीय गन्तव्य रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाली सहभागीहरूले तयार पारेको नेपाली खाना सर्भ गरिएको थियो । सहभागीहरूलार्इ नेपालमै भएको अनुभूती गराउन कुनै कसर बाँकी राखिएको थिएन । कार्यक्रममा नेपाली सहभागीहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमा ट्रोम्सो विधालयमा अध्ययनरत दुर्इ दर्जन नेपाली विधार्थीहरूको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सम्पूर्ण खर्च ट्रोम्सो रेडक्रसले प्रायोजन गरेको थियो ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)