नयाँ नेपाल, हामी र हाम्रो धरातल

भूगोल जस्तै सुन्दर हुनुपर्यो हाम्रो मन तस्बीरः गुगल खोज
हाम्रो स्तर, जीवनशैली अनि सोच र हामी बसिरहेको यस भूगोलको विकसित भनिएका देशका बासिन्दाहरुको स्तर, जीवनशैली र सोचमा रहेको भिन्नताको भेद खुट्याउनका लागि सबभन्दा पहिले हामीले उनीहरुका बारेमा थाहा पाउनु पर्ने हुन्छ । जब ती विकसित भनिएका मानिसहरुका आचरण र जीवनशैलीका बारेमा हामीले जानकारी पाउँछौ तब हामीले हामी बाँच्दै आइरहेको सामुदायिक दायराको संकुचनताको भेद थाहा पाउँदछौं । मिहिन पाराले हामीले हाम्रो सोच्ने स्तरका सम्बन्धमा जहिलेसम्म अध्ययन गर्न सक्दैनौं, त्यहिले सम्म हामीले आफ्नै स्तरका बारेमा जानकारी हासिल गर्न सक्दैनौं । तसर्थः कम्तिमा पनि हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ, पत्ता लगाउनलाई कि हामी र विकसित मानिसहरुबीच के कति फरक छ ? र, गहन ढंगले विश्लेषण गरिनु आवश्यक छ– सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हाम्रो के कति योगदान रहन्छ ? 
हामी भन्ने गर्दछौं, हाम्रो देश अत्यन्तै अब्यबस्थित छ । यहाँ कानुनी शासनको अभाव छ । नेताहरु सबै चोर हुन । फटाहा छन । तर हामी आफै सम्मानित संसदबाट ऐन कानुनका रुपमा पास भएर आएका नियमहरु पालना गर्न हिच्किचाउँछौं । हाम्रो ठनाइ छ कि नियम नमान्ने हामीहरु अराजक होइनौं, नायक हौं । नियम तोड्न सक्नु हाम्रो बहादुरीपन हो । शौर्य हो । हामी आफूले नियम तोडेकोमा गर्व गर्दछौं तर अरुले नियम परिपालना गर्दाको बखत गरेको सामान्य त्रुटीलाई पनि ठूलो मुद्धाका रुपमा बहस गर्दछौं । किनकी, हामी धेरैजसोलाई लाग्ने गर्दछ, हामी बीर गोर्खालीका सन्तानसन्ततीहरु हौं । यहि हाम्रो पहिचान हो । 
हामीले बिर्सनै नहुने कुरो के हो भने, सभ्य र सुसंस्कृत समाजको निर्माण एकै आवेगमा हुनै सक्दैन । विश्व इतिहासमा कुनै पनि राष्ट्र एकैपटक सभ्य, विकसित र सुसंस्कृत हुन सकेको अभिलेख छैन । एक वा दुई वर्षमा आमुल परिवर्तन असम्भवप्रायः नै छ । तथापि एक पुस्ताले इमान्दारितापूर्वक आफ्नो दायित्व निर्वाह गरिदिदाँ मात्रै आज यो ब्रमाण्डमा थुप्रै देशका नागरिकहरुले सभ्य, सुसंस्कृत र विकसित कहलिने अवसर पाएका छन । त्यसकारण पनि अब नयाँ नेपाल निर्माणको फगत सुगा रटान लगाउनुको साटो भोलीको हाम्रो पुस्तालाई सभ्य, सुसंस्कृत र विकसित नेपाल हस्तान्तरणका लागि अहिलेको हाम्रो पुस्ताले अधिकतम योगदान दिनु आवश्यक छ ।
मलाई अझै याद छ, केहि महिना पहिले युवा स्वयंसेवकका रुपमा नर्वे रहँदा एकजना साथीसँग म एक पवमा बियरको चुस्की लिने मनशायले पसेको थिएँ । वियर माग्दा, पवका मान्छेले मलाई मेरो परिचय पत्र मागे । किनकी, उनले म १८ वर्षभन्दा माथिको युवक हुँ भन्ने कुरामा विश्वास गरेनन । मसँग मेरो उमेर खुलाउने कुनै परिचय पत्र साथमा थिएन । यसको मतलब वियरको मूल्य तिर्छु भन्दा पनि मैले बियर पिउन पाइँन । तर एक महिना पहिले नेपाल सरकारले सार्वजनिक स्थानमा धुमपान गर्न निषेध गरेपनि हाम्रा पसल, मठमन्दिर, चौपारी, सिनेमाघर, रेष्टुरेन्ट र होटलहरुमा न चुरोटका अम्मलीहरुले चुरोट पिउन छाडेका छन न त पसलेहरुलाई चुरोटका पारखीहरुलाई त्यसो गर्नबाटै रोकेका छन । यहि भिन्नता छ हामी र विकसित देशका सभ्य मानिसहरुमा । यसैले प्रष्ट पार्दछ हाम्रा र उनीहरुका सोचका भिन्नता । उनीहरु पालना गर्नका लागि नियम बनाउँदछन्, हामीहरु बर्खिलाप गर्न नियम बनाउँछौं । अब कसरी परिष्कृत बन्न सक्दछ हाम्रो    समाज ? 
हामीलाई महत्वपूर्ण नलाग्ने साना र मसिना मान्यताहरुमा मात्रै समयसापेक्ष परिवर्तन गर्न सक्यौं भने पनि हामीले उज्ज्वल भविष्यको मार्गचित्र कोर्न समर्थ हुन्छौं । यदि साँच्चीकै हामीलाई हाम्रो देश खत्तम भएको लागेको छ र यो देशलाई असफल हुन नदिने दायित्व हाम्रो पनि हो भन्ने लाग्दछ भने कम्तिमा पनि अबदेखि अरुले के गरे होइन्, हामीले के गर्न सक्यौं भन्ने कुराको समीक्षा हुनु आवश्यक छ ।

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)