Skip to main content

हामी, हाम्रो विमानस्थल र हाम्रा कर्मचारी


डेढ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट ।  उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला । अध्ययनको शिलशिलामा भाद्र १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । पासपोर्ट छ, भिषा छ, विश्वविद्यालयको विद्यार्थी स्वीकृत गरिएको पत्र छ, साथमा आवश्यक युरोको ट्राभल चेक छ । तर ऊ त्यही पत्र चाहिन्छ भनेर अड्डी कस्छ । 
अन्त्यमा, मैले जब उसलाई त्यो आवश्यक परिएको भनिएको कागजातका बारेमा भिडियो रेकर्डिङ गरेर भन्न अनुरोध गर्ने विचार गरेँ अनि मैले मेरो मोबाइलको भिडियो रेकर्डिङ अन गरेर त्यो डकुमेन्ट मलाई मेरो देश छाड्नका लागि अपरिहार्य हो भन्नुस भनेर उसलाई आग्रह गरेँ तब ऊ चुपचाप बस्यो । मैले विनम्रतापूर्वक उसलाई आग्रह गरेँ – तपाइँ यहाँ हवाई यात्रु चाहे ती स्वदेशी हुन वा विदेशी उनीहरुलाई सजिलो बनाउनका लागि बस्नुभएको न की अनावश्यक झञ्झट दिन । मेरो गुनासो पछि ऊ चुपचाप बस्न सक्ने कुरै भएन, मुख खोलीहाल्यो – म यहाँ किन बसेको हुँ, त्यसका बारेमा तिमीले भनिरहनु पर्दैन ! मैले केहि बोलिनँ, मेरा कागजातमा औपचारीक जाँचपडताल गर्‍यो । मैले अपेक्षा गरेको थिएँ – ऊ मलाई शुभयात्रा भन्नेछ । बिडम्बना, उसले मलाई राम्ररी पनि नहेरी मेरो पासपोर्ट बुझायो । अरु त अरु उसले मेरो पासपोर्टमा प्रस्थान गरेको निशाना पनि लगाएनछ । मैले अनुरोध गरेपछि आफ्नो गल्ति बोध नगरी उसले मेरो पासपोर्टमा त्यो ‘स्ट्याम्प’ लगायो जुन एउटा देश छाडेर अर्को देश जाँदा हरेक यात्रुको पासपोर्टमा लगाउनै पर्ने हुन्छ । अन्यथाः उक्त यात्रुलाई उसले यात्रा गर्न लागेको देशको अध्यागमनले जुन देशबाट यात्रा शुरु गरेको हो उक्त देशमा नै फिर्ता पठाइदिन सक्दछ । अर्थात उक्त स्ट्याम्प नलगाई मैले यात्रा गरेको भए, म दुबईबाट फेरि नेपाल फर्किनु पर्ने हुन्थ्यो – फिनल्याण्ड नपुग्दै । मलाई थाहा छैन विमानस्थलमा यो स्ट्याम्पिङसहितको महत्वपूर्ण कार्यसम्पादनका लागि बसेको उसले त्यसो गर्न भुलेको हो वा मैले विवाद गरेकोमा जानीजानी स्वाद चखाउने मनशायले त्यसो गरेको हो, किन्तु उसले उक्त गल्ति गरेकोमा केही बोध नगर्नु मेरा लागि आश्चर्यको विषय थियो । हुन त तीनै कर्मचारीहरु हुन एकताका एकजना विष्ट थरी मन्त्रीको भिषा नै चेक नगरी दुबई उडाएर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बचेखुचेको प्रतिष्ठा बागमतिमा सेलाउने, दलालहरुसँग सेटिङ मिलाएर लाचार नेपालीहरुलाई अवैध रुपमा मेक्सिको, इराक, अफगानिस्थान, कम्बोडिया र क्युवा उडाउने, सुन तस्करहरुलाई आरामसाथ विमानसम्मै विदेशी मुद्रा पुर्‍याउने एवं नक्कली नोटका प्रवद्र्धनमा लागेका तस्करहरुलाई सहयोग गर्ने तर ख्वै कुन्नी कि जब म जस्तै आम नागरिकहरु केहि लक्ष्य लिएर भिषा लागेको पासपोर्ट र टिकट लिएर यिनीहरुको डेस्कमा लाम लाग्दछौं तब यिनीहरु किन अवाश्यक दुख दिन तम्तयार हुन्छन् ? मैले आजपर्यन्त बुझ्न सकिरहेको छैन । 
अझ डेढ बर्षपहिले दुईहप्ते छुट्टी मनाएर नर्वे फिर्ता हुँदै गर्दा यसै विमानस्थलमा मैले ब्योहोर्न परेको घटना झनै उदेकलाग्दो छ । जब म ‘प्रस्थान निशान’ लगाउनलाई एउटा कर्मचारीको डेस्कमा पुगेँ उनले विनय भावमा भने – भाई हजुरको भिषालाई मेरो मेशिनले रिड गरेन, हजुरको भिषा नक्कली हो ! म तीनछक परेँ उनको कृत्य देखेर । अलिकति आक्रोशित हुँदै मैले भनेँ – यहि भिषा हो विगत ६ महिनादेखि म नर्वेमा युवा स्वयंसेवकका रुपमा नेपाल रेडक्रसको प्रतिनिधित्व गरिरहेछु, यो त्यहि भिषा हो जुन देखाउँदै र चेक गराउँदै दुईहप्ता अगाडि जर्मनीको फ्र्याङकफट, दुबई हुँदै नेपाल प्रवेश गरेको थिएँ । यो कसरी नक्कली भयो हजुरलाई ? यो किन रिड हुन सकेन तपाइँको मेशिनमा ? कि त हजुरको नियत ठिक भएन वा हजुरको मेशिन चाइनिज सस्तो मार्केटबाट खरिद गरिएको हो त्यो पनि विना टेन्डर । मैले धाराप्रवाह बोलेको सुनेपछि उनले भनेँ – एकछिन हैं म ट्वाइलेट गएर आउँछु । ट्वाइलेट हिडेको उनी म त्यहाँ रहुन्जेल फिर्ता भएनन् । यो कस्तो बिडम्बना ? मैले त्यसबेला बल्ल बुझेको थिएँ कि किन चर्चीत अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति छिराउन सक्छु भनेका रै’छन् ? 
फिनल्याण्डको भान्ता विमानस्थलमा झरेपछि लामो स्वास फेर्दै मैले धेरैबेर गम खाएँ – हाम्रो विमानस्थलका कर्मचारीहरु कहिले स्कीपुल एअरपोर्ट आमस्टर्डम, गार्डेमन एअरपोर्ट ओश्लो, ब्रुसेल्स एअरपोर्ट वा अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी र कामप्रति इमान्दार कर्मचारीहरु झैं बन्लान ? देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ?
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…