Skip to main content

हामी, हाम्रो विमानस्थल र हाम्रा कर्मचारी

डेढ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट ।  उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला । 

अध्ययनको शिलशिलामा भाद्र १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । राहदानी छ, प्रवेशाज्ञा (भिषा) छ, विश्वविद्यालयको विद्यार्थी स्वीकृत गरिएको पत्र छ, साथमा आवश्यक युरोको ट्राभल चेक छ । तर ऊ त्यही पत्र चाहिन्छ भनेर अड्डी कस्छ । 

अन्त्यमा, मैले जब उसलाई त्यो आवश्यक परिएको भनिएको कागजातका बारेमा भिडियो रेकर्डिङ गरेर भन्न अनुरोध गर्ने विचार गरेँ अनि मैले मेरो मोबाइलको भिडियो रेकर्डिङ अन गरेर त्यो डकुमेन्ट मलाई मेरो देश छाड्नका लागि अपरिहार्य हो भन्नुस भनेर उसलाई आग्रह गरेँ तब ऊ चुपचाप बस्यो । मैले विनम्रतापूर्वक उसलाई आग्रह गरेँ – तपाइँ यहाँ हवाई यात्रु चाहे ती स्वदेशी हुन वा विदेशी उनीहरुलाई सजिलो बनाउनका लागि बस्नुभएको न की अनावश्यक झञ्झट दिन । मेरो गुनासो पछि ऊ चुपचाप बस्न सक्ने कुरै भएन, मुख खोलीहाल्यो – म यहाँ किन बसेको हुँ, त्यसका बारेमा तिमीले भनिरहनु पर्दैन ! मैले केहि बोलिनँ, मेरा कागजातमा औपचारीक जाँचपडताल गर्‍यो । मैले अपेक्षा गरेको थिएँ – ऊ मलाई शुभयात्रा भन्नेछ । बिडम्बना, उसले मलाई राम्ररी पनि नहेरी मेरो राहदानी फिर्ता गर्यो । अरु त अरु उसले मेरो पासपोर्टमा प्रस्थान गरेको निशाना पनि लगाएनछ । मैले अनुरोध गरेपछि आफ्नो गल्ति बोध नगरी उसले मेरो पासपोर्टमा त्यो ‘स्ट्याम्प’ लगायो जुन एउटा देश छाडेर अर्को देश जाँदा हरेक यात्रुको राहदानीमा लगाउनै पर्ने हुन्छ । अन्यथाः उक्त यात्रुलाई उसले यात्रा गर्न लागेको देशको अध्यागमनले जुन देशबाट यात्रा शुरु गरेको हो उक्त देशमा नै फिर्ता पठाइदिन सक्छ । अर्थात उक्त छाप नलगाई मैले यात्रा गरेको भए, म दुबाईबाट फेरि नेपाल फर्किनु पर्ने हुन्थ्यो – फिनल्याण्ड नपुग्दै ।

मलाई थाहा छैन विमानस्थलमा यो स्ट्याम्पिङसहितको महत्वपूर्ण कार्यसम्पादनका लागि बसेको उसले त्यसो गर्न भुलेको हो वा मैले विवाद गरेकोमा जानीजानी स्वाद चखाउने मनशायले त्यसो गरेको हो, किन्तु उसले उक्त गल्ति गरेकोमा केही बोध नगर्नु मेरा लागि आश्चर्यको विषय थियो । हुन त तीनै कर्मचारीहरु हुन एकताका एकजना विष्ट थरी मन्त्रीको भिषा नै चेक नगरी दुबई उडाएर हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको बचेखुचेको प्रतिष्ठा बागमतिमा सेलाउने, दलालहरुसँग सेटिङ मिलाएर लाचार नेपालीहरुलाई अवैध रुपमा मेक्सिको, इराक, अफगानिस्थान, कम्बोडिया र क्युवा उडाउने, सुन तस्करहरुलाई आरामसाथ विमानसम्मै विदेशी मुद्रा पुर्‍याउने एवं नक्कली नोटका प्रवद्र्धनमा लागेका तस्करहरुलाई सहयोग गर्ने तर ख्वै कुन्नी कि जब म जस्तै आम नागरिकहरु केहि लक्ष्य लिएर भिषा लागेको पासपोर्ट र टिकट लिएर यिनीहरुको डेस्कमा लाम लाग्दछौं तब यिनीहरु किन अवाश्यक दुख दिन तम्तयार हुन्छन् ? मैले आजपर्यन्त बुझ्न सकिरहेको छैन । 

अझ डेढ बर्षपहिले दुईहप्ते छुट्टी मनाएर नर्वे फिर्ता हुँदै गर्दा यसै विमानस्थलमा मैले ब्योहोर्न परेको घटना झनै उदेकलाग्दो छ । जब म ‘प्रस्थान निशान’ लगाउनलाई एउटा कर्मचारीको डेस्कमा पुगेँ उनले विनय भावमा भने – भाई हजुरको भिषालाई मेरो मेशिनले रिड गरेन, हजुरको भिषा नक्कली हो ! म तीनछक परेँ उनको कृत्य देखेर । अलिकति आक्रोशित हुँदै मैले भनेँ – यहि भिषा हो विगत महिनादेखि म नर्वेमा युवा स्वयंसेवकका रुपमा नेपाल रेडक्रसको प्रतिनिधित्व गरिरहेछु, यो त्यहि भिषा हो जुन देखाउँदै र चेक गराउँदै दुईहप्ता अगाडि जर्मनीको फ्र्याङकफट, दुबई हुँदै नेपाल प्रवेश गरेको थिएँ । यो कसरी नक्कली भयो हजुरलाई ? यो किन रिड हुन सकेन तपाइँको मेशिनमा ? कि त हजुरको नियत ठिक भएन वा हजुरको मेशिन चाइनिज सस्तो मार्केटबाट खरिद गरिएको हो त्यो पनि विना टेन्डर । मैले धाराप्रवाह बोलेको सुनेपछि उनले भनेँ – एकछिन हैं म ट्वाइलेट गएर आउँछु । ट्वाइलेट हिडेको उनी म त्यहाँ रहुन्जेल फिर्ता भएनन् । यो कस्तो बिडम्बना ? मैले त्यसबेला बल्ल बुझेको थिएँ कि किन चर्चीत अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति छिराउन सक्छु भनेका रै’छन् ? 

फिनल्याण्डको भान्ता विमानस्थलमा झरेपछि लामो स्वास फेर्दै मैले धेरैबेर गम खाएँ – हाम्रो विमानस्थलका कर्मचारीहरु कहिले स्कीपुल एअरपोर्ट आमस्टर्डम, गार्डेमन एअरपोर्ट ओश्लो, ब्रुसेल्स एअरपोर्ट वा अन्य कुनै अन्तर्राष्ट्रिय विमानस्थलका सहयोगी र कामप्रति इमान्दार कर्मचारीहरु झैं बन्लान ? देशको राजनीति दिल्लीको निर्देशनमा चले झैं यिनीहरु पनि किन इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल न्यू दिल्लीमा कार्यरत कतिपय कर्मचारीहरु झैं छुच्चा, साढेँ, असहयोगी र बेसरम बनेका ?

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...