बि.सं. २१०० (अंक १३)
रातीको साढे नौ बज्नै आँटेको थियो, तालीको गड्गडाहटले सभाहल गुञ्जायमान भयो । हामी सबैले छन्त्याल कलाकारहरुको सुन्दर प्रस्तुतीका लागि धन्यवाद ब्यक्त गर्यौं । मैले जेट्लिनालाई हेरेँ, ऊ सन्तुष्ट देखिन्थी । भनी – “यो नगरमा मेरो पहिलो रात हरेक हिसाबले स्मरणयोग्य बन्दै छन् !” मैले सहमति जनाएँ – “यो हामी दुबै जनाको लागि एउटा सुन्दर अबसर थियो । उसो त यो अबसर मेरा लागि अझ बढि फलदायी रह्यो । पहिलो कुरा आउँदो शुक्रबार म यहाँबाट फर्कदै थिएँ, यसको मतलब आजको शो बाहेक मेरा लागि उपयुक्त हुने अर्को शो थिएन । दोश्रो कुरा करिब ३० बर्षपछि मैले यी आदिबासीहरुसँग साक्षात्कार गर्ने अवसर पाएँ ।” हामी बाहिर प्राङ्गणमा आइपुग्दा नपुग्दै बडो आश्चर्यमा पार्दै यसै नगरका स्थायी बासिन्दा मेरा पुराना मित्र झक मलाई स्वागत गर्न उभ्भिराखेका रहेछन् ! “अरे मित्र ! खबरै नगरी तपाइँ हाम्रो नगरमा ?” ६० बर्षिय मेरा मित्रले मलाई आफ्नो आलिङ्गनमा कस्दै आश्चर्य प्रकट गरे । जेट्लिना हामी दुईलाई हेर्दै मुस्कुराई । र, उनलाई नमस्कार गरी ।
उनको प्रश्न – “नानी पनि त यत्रि भैसकेछिन् ! कान्छी हुन ?” को जबाफमा मैले भनेँ – “हैन उनी मेरो साथी ! सँगसँगै आएका !” “ए ! कुरा त्यसो पो ?” एकछिन गम खाँदै उनले फेरि प्रश्न गरे – “हजुरका कति रे केटाकेटी ? हाम्ले चाँहि तीनजना पछि स्थाइ गर्यौं !” मैले छोटो जबाफ दिएँ – “मेरा त एकजना छोरी मात्रै !” केहिसमय सन्चो बिसन्चोको खबर आदानप्रदान भएपछि उनले हामीलाई उनको कारमा आफूसँगै यात्राका लागि आग्रह गरेँ । हामीले डिनरका लागि टेबल बुक गरेको रेष्टुरेण्टसम्म पुर्याइदिने उनको आग्रहलाई हामीले सहर्ष स्वीकार गर्यौं । बाटामा थुप्रै कुराकानी भए । पछि पो थाहा लाग्यो – उनी त त्यस केन्द्रको ब्यावस्थापन समूहमा रहेछन् ! एक पटकको शोमा दुईजना सम्मलाई निःशुल्क पास पनि उपलब्ध गराउन पाउँदा रहेछन् ! जेट्लिनाले मेरो कानमा फुसफुसाई – “हामीले टिकट लिनुुभन्दा पहिले नै भेट्न पाएको भए त हैं ?” मैले मुस्कुराएरै उसको कुरालाई टारिदिएँ । त्यति विघ्न कन्जुस हुनु कम्तिमा मेरो लागि शोभनीय कुरो थिएन । जेट्लिनाले मेरो साथीलाई आग्रह गरी –“हजुरलाई अप्ठ्यारो पर्दैन भने, हामीसँगै डिनर लिँदा हुन्छ नी ।” कार हाँकिरहेका उनले कुनै जवाफ फर्काएनन् । सायद चर्को संगीतमा जेट्लिनाको आवाज उनको कानसम्म पुगेन । जेट्लिनाले मतिर हेरी, मैले अलि चर्को आवाजमा पुकारेँ – “झकजी, आज हामीसँगै डिनर लिदाँ कसो होला ?” “जान त हुन्थ्यो, तर आज घरमा छिट्टै पुग्नुछ, बाबुको भोली बिराटनगर फ्लाइट छ । हाम्रो हर्बल इन्ड्रस्टिजको इम्पर्टटेन्ट काम लिएर जाँदैछ ऊ । त्यसैले बाबु छोराको मिटिङ छ । बुधबार रातीसँगै डिनर गरौंला नी बरु हुन्न ?” उनले आफ्नो विवशता सुनाए । अब बढी दबाब दिनु उचीत लागेन म चुप रहेँ । उनको मुखबाट हर्बल इन्ड्रस्टिजको कुरा सुनेपछि जेट्लिना अलिबढी रुचीपूर्वक मेरो साथीसँग कुरा गर्न थाली । ती दुईको कुराकानीलाई मैले रुचीपूर्वक सुनेँ । एउटी हर्बल स्टडिजकी बिधार्थी अर्को हर्बल उद्योगको मालिक हर्बलका बारेमा कुरा गर्न पाएपछि कारभित्र अर्को ननहर्बल एक्सपर्ट पनि छ भन्ने कुराको ख्यालसम्म गरेनन दुबैले । रेष्टुरेन्टको पार्किङस्थलमा कार रोकेपछि पो उनले भने – “ओ, मेरो मित्र ! एक्सट्रेम्ली सरी हैं, हर्बलका बारेमा कुरा गर्यौं– हामीले । हजुरलाई एक्सक्लुड गरे जस्तो पो भयो ! एक्सट्रेम्ली सरी मित्र !” कारबाट बाहिरै निक्लेर मेरो हात समात्दै उनले बडो याचनापूर्वक भने – “लौ ! आज म तपाइँहरुसँग खास समय बिताउन असमर्थ रहे ! कमिङ ट्युसडेसँगै डिनर गर्ने हैं ?” मलाई बडो अचम्म लाग्यो उनी त्यतिधेरै अनुग्रहित भएर बोल्दा । मनमन मानिस हुर्कदो परिस्थितीसँगै अझ अरु पाको हुँदै जाने पो हो कि भन्ने लाग्यो । ब्यापारले धेरै कुरा सिकाएछ मेरो साथीलाई । ३० वर्ष पहिलेको उनी र अहिलको उनीमा आकाश पातालको भिन्नता पाएँ मैले । धेरै ब्यावसायिक र परिपक्व ब्यवहार ! सायद बुढ्यौली बढ्दै गएर पनि होला ! अत्यन्तै हतारमा उनी हामीसँग बिदा भएर गए । हामी भने डिनरका लागि रेष्टुरेन्टभित्र छिर्यौं ।
सोफामा बस्दै जेट्लिनाले भनी – हजुरको मित्रलाई आफ्नो बिजनेशको प्रेशरले होला, एकैछिनमा आफूले भनेको कुरा बिर्सने ह्याभिट भए जस्तो फिल गरेँ, मैले ।” म तीनछक परेँ उसको कुराले – “हो र भन्या ? कसरी थाहा पायौ तिमीले फेरि ?” मैलेपनि आफ्नो खास स्मरण क्षमतामा ह्रास आएको महशुस गरेँ । उसले भनी – “तपाइँको साथीले कारभित्र छँदा कमिङ वेनसडे डिनर जाने कुरा गर्दै थिए, कारबाहिर आएपछि ट्युसडे पो भने !” अलिकति ब्यङ्ग्यात्मक सोधाई थियो उसको – “तपाइँको त लास्ट पैसा बच्ने भयो नी – “ट्युशडे वेनसडे दुई रातको डिनर फ्रि !” ब्यङ्ग्य गर्ने अवसर मलाई पनि चुकाउन मन लागेन, भनेँ – “तिमीलाई झन फाइदा पुग्नेभो, कम्तिमा पनि दुईरात तिम्रो पनि डिनरको पैसा जोगिने भयो नी, त्यो पनि मेरो संगतले !” टेबलमा हाम्रो खाना आइसकेको थिएन । ब्यङ्ग्य छाडेर जेट्लिनाले वाइन लिने मनशाय प्रकट गरी – “यसो गरौं न अलिकति एप्पल वाइन ...!” मैले नाइँनास्ती गरिनँ । थप्दा थप्दै डिनर आउनुभन्दा पहिले एक एक क्र्वाटर एप्पल वाइन लियौं हामीले । वाइनपछिको डिनरको खास स्वाद पाइँन मैले । डिनरमा आएको फिसकरी, पुलाउ र फिङ्गरचिप्स केहीको पनि स्वाद थाहा पाएन जिब्रोले ! वाइनको रमरम मात दिमागमा पुगेको अनुभव गरेँ मैले, जेट्लिना चाँहि मोबाइलमा कुरा गर्दै थिई – “अँ सुन्नु न, डेलिसियस फुड मार्टमा आउनु न ल... !” मोबाइल संवाद टुंग्याएपछि उसले भनी –“अब नगरबसमा जाने कुरो भएन, त्यसैले ट्याक्सीलाई कल गरेँ मैले त !” “राम्रो गर्यौ जेटु !” मैले भनेँ । मैले ‘जेटु’ उपनाम दिएपछि खुशी ब्यक्त गरी – “सो स्वीट !” मेरो हात समात्दै उसले भनी – “ओ.के लेट्स गो !”
कालो रंगको ट्याक्सी हाम्रै पखाईमा थियो । चालकले ढोका खोलीदियो, हामी दुबैजना ट्याक्सीभित्र छि¥यौं ।
Comments