Skip to main content

हाम्रो बच्चा हुर्काउने काइदा

तस्वीरमा छोरी 
चार बर्षपहिलेको एउटा घटना याद भो,
“आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए ।
उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?”
म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ ।
एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई उस्तै प्रष्ट पार्दथ्यो । आज पर्यन्त छोरीलाई एक थप्पड पनि नलगाएको मलाई उनको टिप्पणी कतै न कतै हिंसा र आमा वा बाबु बन्नुको अहमसँग जोडिएको पनि पाएँ ।
कहिलेकाही म यस्तो पनि सोच्दछु कि कति नेपाली बालबालिकाहरु होलान जसले आफ्नो शैशवकालमा कत्ति पनि डर त्रास वा हिंसा सहनु नपरेको होस । अनि फेरि म सम्झन्छु ती दिनहरु कि आमाको आज्ञाकारी सन्तान हुँदाहुँदै एकाध साना त्रुटीहरुमा आमाले लगाएका थप्पडहरु । एक हिसाबले ती मेरा भलाईका लागि नै थिए, किन्तु अर्को हिसाबले त ती हिंसा नै थिए । के ती साना परिणामका यातना थिएनन् त ? फेरि यस बखत मैले ती थप्पडहरुलाई सिधैं हिंसामा जोडेर हेर्दा हाम्रो समाजलाई उती प्रिय नलाग्न पनि सक्दछ । तर ती आफ्ना सन्तानहरु गलत बाटोमा नहिडुन् भन्नका खातिर चालिएका गलत उपाय नै थिए । ती उपायहरु गलत किन पनि थिए भने तीनले बालमनोविज्ञानमा नराम्ररी प्रभाव पार्दछन् । गल्ती गरेपछि बाबुआमाबाट पिटाई खाने एउटा बच्चोले आफ्नो भाइ वा बैनीले त्रुटी गर्दा पनि उहि उपाय अबलम्बन गर्छ नै । जस्तो, मैले पनि गरेँ । मैले गल्ती गर्दा आमाबाट चुटाई खाएँ, अनि भाइले गल्ती गर्दा उसले मेरो पिटाई भेट्यो ।

यहाँ चाँहि म बाटोमा हिड्दै गर्दा कहिलेकाही देख्छु, आफ्नो बच्चासँग हिडिरहेका आमाबाबुहरु । र, बच्चासँग आमाबाबुले गर्ने कार्यलापहरु । एकपटक म बस कुरिरहेथेँ, बस बिसौनीमा एउटी अधवैशे महिला र उनको बच्चा पनि सँगै थिए । बस आउनै लागेको थियो बच्चा कुदेर पर पुग्यो र ती महिलाले यति बिनम्रतापूर्वक बच्चालाई फकाएर आफूतिर बोलाईन कि बच्चा अझ अरु परपर दौडियो । उनको केहि जोर नचलेपछि उनी बच्चा लिन दगुरिन् । बच्चालाई उनले फकाउँदै केही भनिन् । तिनी आक्रोशमा चिच्याउने वा कराउने समेत केही गरिनन् । यहाँ त्यस्तो कुनै पनि आमाले गर्दैनीन । कुनैपनि बाबुले गर्दैनन् । बस पनि आयो र उस्तै स्वभाविक ढंगले उनी बसमा चढिन् । अनि मैले झल्याँस्स आफैलाई सम्झेँ, छोरीलाई याद गरेँ सायद त्यो बच्चा र आमाको ठाउँमा मेरी छोरी र म हुन्थ्यौं भने मैले थप्पड नलगाएपनि छोरीलाई तर्साउने तरिकाले नै बोलाउँथे होला । र, छोरी तर्सिदै मनेर आईपुग्थिन होली ।

म बुझ्ने भएपछि मैले के थाहा पाएँ भने आफ्ना छोराछोरीलाई तर्साउने, गाली गर्ने वा एक दुई थप्पड लगाउने मेरो आमा मात्र गर्नुहुन्न । त्यो त प्रायः सबैका आमाबाबुहरुले गर्दारहिछन् । छरछिमेकमै धेरै साथीभाईहरु माथि उनीहरुका आमाबाबुबाट चरम यातना दिने काम हुन्थ्यो । धन्न ! हाम्री आमाले सिस्नोले पोल्नुभएन । थाममा मात्र बाँध्नुभयो एकछिन । अस्पताल भर्ना हुने गरी पिटाई खानुपरेन एक दुई झापड लगाउनु भो मात्र । तर ती आमाबाबुहरु के साँच्चीकै आमाबाबु हुन लायक थिए कि जसले आफ्ना बालबच्चाहरुलाई पिट्नकै लागि जन्माएको जस्तो व्यवहार गरे ? यहाँ सम्मकी कता हो एक जना आमाले आफ्नो जिद्धी छोरालाई तह लगाउन राती घरबाहिर बाँधेर राख्दा बच्चालाई किरा (बाघ) ले खायो रे भन्ने सुनियो ! बच्चामा यस्तो सुन्दा कस्तो अत्यास लाग्यो होला ? म त्यो अत्यासको पीडा अभिब्यक्त गर्नै
सक्दिनँ यतिखेर !

हामी धनका गरिव हौंला, तर मनले पनि यतिधेरै गरिव रहिछौं भन्ने बिस्तारै बुझ्दैछु म । आफ्ना मुटुका टुक्रा बराबरका सन्तानसन्ततीलाई राम्रोसँग हुर्काउन पनि कति धेरै छुच्याई गरिराखेका हामीले । मीठो बोलेर फत्ते गराउन सक्ने कामका लागि हामीले कति धेरै उर्जा नष्ट गरिराखेका ? यातना दिएर बालबालिकालाई ठीक पार्न खोजिराखेका हामीहरुले अब हामीले बालबालिकालाई सही मार्गमा ल्याउन अबलम्बन गरेका उपायहरुलाई ठीक पार्नुपर्ने समय भएको छ । ती बदल्नुपर्ने बेला भएको छ । डरले डर जन्माउँछ । यातनाले यातनाकै पृष्ठपोषण गर्दछ । बालबालिकाहरुलाई धम्काएर हैन फकाएर असल बनाउँदा उनीहरुभित्र हामीले एउटा “असल मान्छे” पनि हुर्काइराखेका हुन्छौं ! नानीबाबुहरुलाई “ठीक पार्ने” हैन “असल बनाउने” काम गरौं । ती कलिला मुनाहरुलाई जतनले हुर्काऔं । प्रेमले फूलाऔं !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...