“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैल...
कुनै पनि बुझाइ अन्तिम सत्य होइनन् ।