Skip to main content

कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

केहि वर्ष पहिले, जिल्ला परिषद बैठकमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले पहिलो संविधानसभामा म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकिकृत माओवादीका सभासद गोविन्द पौडेल उर्फ प्रविनको जिल्लाका हिमाली भेगमा संकलन हुने यार्सा गुम्बाको चोरी तस्करीमा संलग्नता भएको बारे राष्ट्रिय मिडियामा प्रकासित÷प्रसारित समाचारका बारेमा उल्लेख गर्दासाथ मञ्चमा सँगै आसिन माओवादीका जिल्ला संयोजक समेत रहेका एक कँडेल थरका नेताले कुर्सी प्रहार गरेपछि त्यतिखेर ठुलै हंगामा भयो । धेरैले घटनाको टिप्पणी गर्दै गर्दा माओवादीको उग्रताको खुलेरै विरोध गरेँ । ती मध्ये कतिपयले त्यस हर्कतले. माओवादीमा जंगली स्वभावको अवशेष अझै रहेको पुष्टि भएको बताए । विभिन्न दावा गर्ने क्रमको अघिल्लो पंक्तिमा नेपाली कांग्रेसका स्थानीय नेताहरु नै थिए । र, अहिले त्यस्तै अर्को जंगली स्वभावको अवशेषको प्रदर्शनी भएको छ,  बेनी नगरपालिकाको परिषदमा । र, त्यो हर्कत कुनै सामान्य व्यक्त्तिले होइन, नेपालसरकारले दोश्रो संविधानसभामा मनोनित गरेका २६ सभासदहरु मध्य एक सभासद – रेशम बानियाँले गरेका छन् । 
राष्ट्रियस्तरमा योगदान पुर्‍याएका ब्यक्तिहरुबाट सभासद मनोनित हुने कोटामा मनोयन भई सभासद हुने सौभाग्य प्राप्त गरेका बानियाँले सभासदको मर्यादालाई ख्याल नराख्दा युवा समाजसेवी चन्द्रबहादुर केसीको फेसबुक टिप्पणी अनुसार – आफू प्रमुख अतिथि हुन पाउनुपर्ने माग गर्दै सभामा पुगेर भाँडभैलो गर्ने काममा सभासद बानियाँले विश्व रेकर्ड कायम गर्न पुगेका छन् । के.सी. को यो फेसबुके टिप्पणी धेरैका लागि सानो व्यंग्यात्मक प्रतिक्रिया लाग्न सक्छ, तर सभासद बानियाँको हर्कत हल्काफुल्का थिदैँ थिएन । 
नेपाल भरी नै स्वभाविक प्रचलन कस्तो छ भने सम्बन्धित नगरपालिका वा जिल्लाको प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचित सभासद नै जिल्लास्तरको कुनै पनि कार्यक्रम उदघाटन÷शिलान्यास गर्ने गर्दछ । म्याग्दीकै सन्दर्भमा, जसरी हिजोका जिल्ला परिषद कहिले ती निल पुनले, कहिले नारायण सिंह पुनले वा कहिले गोविन्द पौडेलले नै उद्घाटन गरेका थिए, त्यसरी नै जिल्लाको एकमात्र नगरपालिकाको नगरपरिषदको उदघाटन वा प्रमुख आतिथ्यता जिल्लाबाट प्रत्यक्ष निर्वाचित सभासद नवराज शर्माले गर्नु सवैभन्दा स्वभाविक र उपयुक्त हो । अब राष्ट्रियस्तरमा योगदान पुर्‍याएको कोटामा सभासद मनोनित भएका बानियाँले “म प्रमुख अतिथि हुन पाउनुपर्छ” भनिकन रडाको मच्चाउनुको कुनै तुक छैन, बरु त्यसले उनको प्रतिष्ठामा नै आँच पुर्याउने काम गरेको छ । 
मुलतः उनी वा उनीजस्तै अरुको मनोनयन संविधान निर्माण प्रक्रियामा उनीहरुको अनुभव र दक्षताबाट राष्ट्रले केही योगदान पाउन सकोस भनेर गरिएको हो न कि नगरपालिकाको परिषदमा प्रमुख अतिथि हुन पाउनपर्छ भनेर ताण्डव मच्चाउन हो, न त कुलो, खानेपानीको धारोको उद्घाटन गर्दै हिड्न ।
हुन त जस्केलोबाट सभासदका रुपमा फुत्त आफ्ना जिल्ला सभापति सभासदका रुपमा उदाउँदा म्याग्दी कांग्रेसले रमितै गरेका हो उबेला – बिजय र्‍याली निकालेर ! र, त्यो रमिताको शिलशिलेवार श्रृङ्खला “माइक काण्ड” हुँदै अगाडि बढेको छ । थाहा छैन, यो रमिताको त्यान्द्रो अझ कति लम्बेतान हुने हो । 
फेसबुकमा, "म्याग्दीमा एमालेको हालीमुहाली भो" भन्दै आफ्ना प्रिय सभासदको यस्तो निकृष्ट ब्यवहोराको बचाऊ गर्दै गरेका मेरा प्रिय कांग्रेसीजनहरुलाई सानो निवेदन के छ भने फेरि पनि केहि वर्षपछि संसदीय निर्वाचन हुने नै छ – त्यतिखेर चुनाउमा अत्याधिक मतले आफ्ना उम्मेदवारलाई जिताएर जिल्लामा “हालीमुहाली” गर्नु छ भने परस्त्री गमन गर्दागर्दै रंगेहात पक्राउ पर्ने तिम्रा नेताहरु, सय कडा पाँचको दरमा ब्याज लिई ठिटाहरुलाई युरोप अमेरिका जान उत्साहित पार्ने तिम्रा नेताहरु, र, यसरी म नै प्रमुख अतिथि हुन पाउनुपर्छ भनी सभा विथोल्ने सभासदहरुलाई बेलैमाथि तह लगाउन सकेनौ भने तिमीहरुको हविगती सधैं त्यस्तै रहने निश्चित छ । अब बिलम्ब नगर, जाग । सच्चाऊ आफ्ना प्रिय नेताहरुलाई, बचाऊ भरत रकाल जस्ता पार्टीका बलिया खाँवाहरुलाई आक्रमण हुनबाट । नत्र त उहि हो – कुरी कुरी कांग्रेस, कुरी कुरी सभासद !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...