Skip to main content

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू
सादार नमस्कार,

सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं ।

डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण !

अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम्ररी याद छ, मैले जस्तो अपेक्षासाथ प्रश्न गरेको थिएँ – डा. सा’बले सधैं संसदीय ब्यवस्थालाई बाख्राको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा इगीत गर्दै आउनुभएको छ, आज त्यही “मासुपसल” को “खजाञ्ची” का रुपमा आफूलाई पाउँदा “मासुपसल” मा हुने “अवैध मासु”को बेचविखनको हिस्सेदार आफू हुँ जस्तो लाग्दछ कि लाग्दैन ? 

ख्वै, डा. सा’बले मलाई फगत एउटा निम्छरो बबुरो देख्नु भो’ या प्रश्न यहाँलाई उती महत्वपूर्ण लागेन अत्यन्तै पूर्वाग्रहपूर्ण हेराईका साथ यहाँले जवाफ दिनु भो – “ए, यहाँको प्रश्न यहि हो ? उत्तर प्रष्टै छ संसदीय ब्यवस्था हाम्रा लागि स्वीकार्य पद्धति होइन !” 

त्यसपछि धेरै प्रश्नहरु सोधिए, सोध्नेहरुले कस्तो जवाफ पाए त्यो तिनीहरु नै जानून, तर मैले ? अहँ एकरत्ति चित्तबुझ्दो जवाफ पाइँन । यहाँले त्यस उप्रान्त पनि अनगिन्ती भाषण र बक्तब्यबाजीहरुमा आफूहरुलाई संसदीय ब्यवस्था अमान्य रहने, बताउँदै आउनुभयो र त्यसबिचमा एकपटक त प्रधानमन्त्री पनि बन्नु भो । अर्थात त्यो “मासुपसल”को “खजाञ्ची”, पछि गएर “मालिक” पनि बन्नुभो’ ! सधै सत्ताको लोभ नभएको बताउँदै सत्ताकै लागि र्‍याल चुहाउँदै हुनुहुन्छ । यो बुझिनसक्नुको राजनीति के का लागि गर्दै हुनुहुन्छ डा. सा’ब ?

पहिलो संविधानसभाको अवसान हुँदै गर्दा यहाँकै बहुलठ्ठीपनका कारण त्यो फेरि नब्युँतिने गरी निमोठिएको जगजाहेरै छ । दलहरुबीच सहमति गराउन सक्ने ओहोदामा रहनुभएका यहाँले त्यतिखेर आफ्नो अक्षमताका कारण संविधानसभा विगठन भएको अहिलेसम्म स्वीकार्ने हिम्मत राख्नुभएको छैन ! बरु, त्यसको दोषारोपण अन्य दलका नेताहरुलाई गर्दैमा यहाँले थुप्रै हिउँदहरु खेर फाल्दै आउनुभो’ ! यस्तोबेला, म तीन छक पर्छु कि यहाँकै शब्दको समृद्ध नेपालको सपनालाई साकार पार्नका लागि “बिप्पा सम्झौता” को “जुवा” खेल्ने दुस्साहस गर्ने यहाँले देशलाई निकास दिनका लागि “संविधान” को “जुवा” खेल्न चाँहि किन नसक्नुभएको ? कि जुवा “प्रभु” लाई खुशी पार्नलाई मात्र खेलिन्छ ? कि जुवा जनताजनार्दनका लागि खेलिदैन ? के जवाफ दिनसक्नुहुन्छ महोदय ? 

म सस्तो टिप्पणीहरु गरेर यहाँको मानमर्दन गर्न चाहँदिन किन्तु सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा यहाँको उपस्थिती, र यहाँले सम्प्रेषण गर्ने भित्तेलेखनहरुका बारेमा यो खुलापत्र मार्फत प्रश्न नगरी रहन सकिनँ ! केहिहप्ता पहिले प्रदर्शनमा आएको हिन्दी कथानक चलचित्र “पिके” उत्प्रेरित प्रचण्ड, ओली र सुशिल कोइराला उल्लेखित कार्टून हाँस्यब्यङ्ग्य मानवस्वास्थ्यका लागि हितकर हुने बताउँदै सम्प्रेषण गर्नुभयो ।

संविधान लेखनमा भएको बिलम्बमा प्रकाशित यो कार्टुनले मानवस्वास्थ्यमा कत्तिको हित गर्दथ्यो त्यो चाँहि म भेउ पाउँदिन तर मलाई हजुर स्वंय संविधान लेखन कार्यमा देखिएको ढिलासुस्तीमा आफ्नो जिम्मेवारीको हिस्सा स्वीकार नगरी “पानी माथिको ओभानो” हुन खोजेको भान भो । 

त्यस्तै, केहि दिन पहिले एमाले अध्यक्ष के.पी. ओलीको भूमिकालाई विषयबस्तु बनाएर लेखिएको अनलाइन टिप्पणीलाई पनि शेयर गर्नुभो । ती टिप्पणीकारले त अहिलेको राजनीतिको आन्द्राभुँडी बुझ्दैनन् पक्कै, तर हजुरले त बुझ्नुहुन्छ नि डा. सा’ब ? के ओलीले जातिय पहिचानको संघियताले साम्प्रादियक विद्धेष फैलाउँछ भन्दा एकात्मक ब्यवस्था लाद्न खोजेका हुन्छ ? अबको हाम्रो राजनैतिक कार्यदिशा वर्गीय मुक्ति हो कि जातिय ? हजुरको पहिचान के हो डा. सा’ब ? प्रधानमन्त्री छँदा विभिन्न मुलुक घुम्न जानुभएको थियो, विदेशीहरुले यहाँलाई नेपालको प्रधानमन्त्री भनेर स्वागत गरे ? या, ब्राम्हण जातको नेपाली प्रधानमन्त्री ? डा. सा’ब मलाई सोध्न मन लाग्यो – हजुर बाहुन कि नेपाली ?

रुवान्डामा भएको नरसंहार र त्यसको ऐतिहासिकताका बारेमा केहि किताब र चलचत्रिहरु हेरेपछि केहि बर्षपहिले परिचित मेरा एकजना रुवान्डीयन साथी ओश्वाल्ड नियोन्जीमालाई मैले सोधेको थिएँ – तिमी हुतु कि तुत्सी ? केहि मिनेटको मौनतापछि उनले जवाफ लेखेका थिए – “म रुवान्डीयन, ब्रदर!” उनलाई त्यस्तो प्रश्न सोधेकोमा मलाई अहिले पनि ग्लानीबोध भैराखेको छ । तर जान्दिनँ, विश्वमा कतै सफल नमानिएको यहाँहरुको जातिय पहिचान र आत्मनिर्णयसहितको संघियताको रटानले भोली मलाई उनै रुवान्डियन साथी ओश्वाल्डको प्रश्न – तिमी खसआर्य कि आदिबासी जनजाती ? भन्दा मेरो जबाफ कस्तो हुने हो ? वा, त्यो जवाफ दिईरहँदा हजारौं फूलहरु निमोठिने पो हुन कि ? डा. सा’ब मलाई डर लागिरहेछ । के हजुरलाई पनि यस्तै डर लाग्छ ? 

अन्त्यमा, डा. सा’ब यहाँलाई मेरो सविनय अनुरोध छ, इमान्दारीताको राजनीति गर्नुस । याद गर्नुस् समयले मानिसहरुलाई धेरै सिकाईसक्यो । आफूलाई सर्वश्रेष्ठ सोच्ने भूल नगर्नुस् । मनन गर्नुस् – लहडको राजनीतिले तत्काल फाइदा पुर्याउँला तर त्यसले यहाँलाई राजनेता बनाउनेछैन् । धन्यवाद ।
उहि 
नीराजन थापा “शिरीष”
डियाक युनिभर्सिटी, हेलसिन्की, फिनल्याण्ड 

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...