Skip to main content

क्रान्तिकारीहरू र बिजगणितको एउटा सुत्र

हामी आठमा पढ्थ्यौ । तिहारपछि भर्खर स्कुल खुलेको थियो । स्कुल खुलेको त्यस्तै तीन चार दिनभएको हुनुपर्छ । चाडपर्वपछि फेरि क्रान्तिकारीहरूको कृयाकलाप उग्र बन्दै थियो ।
यस्तैमा हँसिया हथौंडा अंकित झण्डा बोकेर आफूलार्इ क्रान्तिकारी भनेर बताउने हामीभन्दा दुर्इ तिन वर्ष जेठा उमेरका किशोरहरू हाम्रो कक्षामा पसे । त्यो पार्वती मिसको क्लास थियो । एकबजेपछिको त्यो घण्टीमा गणित मिसले हामीलार्इ बीजगणितकको "सरल गर्ने"  हिसाब सिकाउँदै हुनुहुन्थ्यो । र, कालोपाटीमा ए स्क्वाएर प्लस बी स्क्वायरको सुत्र लेखिएको थियो । मिससँग अनुमति लिएर उनीहरूले त्यो पिरियडभरि क्रान्तिकारी भाषण गरे । र, हामीले पढ्दै गरेको शिक्षा बुर्जुवा शिक्षा भएको र यसले कसैलार्इ पनि सफल बनाउन नसक्ने जिकिर गर्दै ती मध्येको एउटाले आफ्नो तर्क पेश गरे - "ए स्क्वायर प्लस बी स्क्वायरको सुत्रले" होलो (हलो) बनाउन सिकाउँछ ? डोको बुन्न सिकाउँछ ? कि खेत खन्दा काम लाग्छ ? केहि गर्न पनि सिकाउँदैन । हामी किसानका छोराछोरीले यो अंकगणित र विजगणित पढेर केहि काम छ ? साइन्स पढेर हामीले डाक्टर बन्न सक्दछौ ? साइन्स भनेका धनीमानीका छोराछोरीले पढ्ने विषय हो । डाक्टर बन्न कति पर्छ तपाइँहरूलार्इ थाहा छ ? बिस पच्चीस लाख खर्च हुन्छ । तपाइँहरू मध्ये कसैको बाउआमाले त्यत्रो पैसा जुटाउन सक्दछन् त? हामी सबै निःशब्द सुनिरह्यौ । उनीहरुले बुर्जुवा शिक्षाको ब्यापक बिरोध गरेर गए । त्यो दिन हाम्रो बीजगणितको पढार्इ अगाडि बढ्न सकेन । "ए स्क्वायर प्लस बी स्क्वायरको सुत्र" भोलीपल्ट बिहानको पहिलो घण्टीसम्म कालोपाटीमा त्यसैगरी झुण्डियो ।
साँझ घर फर्किनेबेला मेरो सहपाठी अञ्चलले क्रान्तिकारीका कुराहरू अलि पताएन । भन्दैथियो – के नचाहिने कुरा गरेर गए ल्याङ्ग्राहरू । त्यसबेला उनीहरूले पाँच कक्षादेखि आठकक्षासम्म पढार्इहुने संस्कृत विषय बन्द गराएका थिए । पाँचदेखि सातसम्म मलार्इ अलि गारो लागेको संस्कृत उनीहरूका कारण आठमा पढ्न नपर्ने भएपछि उनीहरूप्रति मेरो गहिरो सदभाव पलाउँदै गएको थियो । त्यसैले पनि मलार्इ क्रान्तिकारीहरूको यो हिसाबको सुत्रवाला कुराले अलि अलि प्रभाव पारेको हुनुपर्दछ । मैले उसँग असहमत हुँदै भनेको थिएँ – नहुने कुरा किन गर्थे ? अलि राम्ररी सोच त, हिसाबको कुन सुत्रले तेरो घरको कुन काम सजिलो भएको छ ? त्यसपछि उ पनि केहि बोलेन । हामी चुपचाप नारानथानबाट ओरालो झर्यौ ।
यस्तरी त्योबेला हाम्लार्इ बुर्जुवा शिक्षा बहिरष्कार गर्नलार्इ उक्साउनेहरू योबेला स्वंय देशबाट पलायन भएका छन् । हिजो हामीले बुर्जुवा शिक्षा पढिरहँदा उनीहरूले क्रान्तिकारी शिक्षा प्रणालीको वकालत गरेर हिडेँ । उनका आदर्शवान नेताहरूले आफ्ना छोराछोरीलार्इ विदेशमा पढार्इरहेको बारे उनीहरू अनभिज्ञ थिए वा क्रान्तिको आवश्यकता भनेर उनीहरूलार्इ दिग्भ्रमित पारिएको थियो त्यो त म जान्दिनँ, तर बझाङी राजा जयपृथ्वीबहादुर सिंहको शिक्षाप्रतिको उनको लगावको जीवनी हामीले पढ्दै गर्दा क्रान्तिकारीहरूले एक्काइसौ शताब्दीको महान बिचारधारा प्रचण्डपथका प्रतिपादक भनिकन एउटा स्टालिनमार्काको जुँगा भएको उनीहरूको महान नेताको जीवनी भएको किताब बोकेर उनीहरू हामीहरूकोमा आए । हामीले जे गरिरहथ्यौ सबथोक उनीहरूले पुरातन अभ्यास भनिकन ध्वंस गर्न लागिपरे । त्यतिखेर उनीहरूको चेत खुलेन । त्यतिखेर उनिहरूको विवेकले काम गरेन । अहिले यी अक्षरको आगो निकालिरहेछन् – क्रान्ति भ्रम थियो । नेताहरूले बाटो बिराए । के ती यिनै नेताहरूको अर्डरलार्इ ज्युँकात्यूँ समर्थन गरि कार्यान्वयन गर्ने कारिन्दाहरूले आफ्ना विगतप्रति नतमस्तक भएर आत्मालोचित हुनु पर्दैन ?
केन्द्रिय राज्यसत्तालार्इ धक्का दिनलार्इ यिनले के सम्म गरेनन ? पुल भत्काए । अहिले पाठशाला जानलार्इ त्रिशुलीमा तुँइन तरीरहेका नानीबाबुहरूको तस्बीर देख्दा भक्कानिएको कुरा सामाजिक सञ्जालमा ब्यक्त गर्दछन् । के म अब यीनलार्इ अझै पनि क्रान्तिकारी मानूँ ? पाखण्डीहरू । पूजा बोहोराको बलात्कृत आँशु देख्दा यिनलार्इ पनि भक्कानो छुट्दो रच तर हिजै आफ्ना क्रान्तिकारी क्याम्पभित्र कति पूजा बोहोराको आँशु लुटियो यिनलार्इ हेक्का छैन । हिजो यिनले प्रेम र युद्दमा सबै जायज हुने डंका पिट्थै हिडे ।

हिजो प्रचण्डबाबुरामलार्इ भगवान मानेर फेरि राक्षस भने, बैधलार्इ महान बनाए । आज फेरि दिमागमा बन्दुक भएपछि बन्दुक बोक्न गार्हो नहुने हुँकार गर्ने विप्लबलार्इ देवत्करण गरिकन यिनीहरू बैद्यका बिरूद्द खनिएका छन् । कथित क्रान्ति सफल पार्ने भ्रमपूर्ण सपना लिएर यिनीहरू फेरि मान्छे मार्न निस्कदै छन् । फेरि बलि चढाउन निस्किएका छन् । यी, "ए स्क्वायर प्लस बी स्क्वाएरको सुत्र" लिएर जहिले सम्म हलो बनाउन हिड्छन्, तैलेँ सम्म हामीले दुर्भाग्यपूर्ण जीवन बाँच्नुपर्नेछ । 

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...