म्याग्दी, तर्क र नांगो नाच

म्याग्दीमा अचम्मको राजनीति छ । उसो त नेपाल नै अचम्मको राजनीतिमा चलिरहेको देश हो । उधोग बाणिज्य संघमा राजनीति, क्याम्पस संचालक समितिमा राजनीति । राजनीतिबाट अछुतो छैन- जिल्ला बाल संगठन, वा कुनै सामुदायिक बिधालयको व्यवस्थापन समिति । अझ म्याग्दीमा त काङ्ग्रेस र एमालेका छुट्टाछुट्टै नीजि बोर्डिङ, केबुल, सहकारी, पसल, ट्युसन सेन्टर, ढिकुटी खेलाउने घोपा, रेष्ट्रँरा, होटल, करिब करिव सबैसबै सेवा प्रदायकहरू छुट्टाछुट्टै छन् । अझ राजनीतिको प्रभाव शुन्यः हुनुपर्छ भनेर ठानिने रेडक्रसमा समेत राजनीति छ म्याग्दीमा । पहिला पहिला काँग्रेसीहरू आलोपालो हुन्थे रेडक्रस अध्यक्ष, अहिले एमालेहरू चलार्इराखेका छन् । मानौं म्याग्दी जिल्ला एमाले र कांग्रेसको बिर्ता हो । र, त्यहाँ उनीहरू आफ्नो क्षमता, शक्ति र पैसाका आधारमा नांगो नाच नाच्न रूचाउँछन् । पछिल्लो क्रममा, राजनीतिको नांगो नाच एमाले र कांग्रेसले खुलेर नाचिरहेका छन् । यो नांगो नाचमा सर्वाङ्ग नाङ्गो नाच चाँहि काङ्गेसले नाचिरहेछ । गीतको बोल छ –

जिल्लाबाट बनेका छन् तीनजना सभासद
हाम्रै माननीयले पाउनु पर्छ प्रमुख अतिथीको पद ...

संविधानसभाको पछिल्लो निर्वाचनमा एउटामात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट प्रत्यक्ष तर्फ निकटम प्रतिद्भन्द्भीलार्इ करिब डेढ हजार मतान्तरमा पराजित गर्दै सभासदमा निर्वाचित एमालेका नवराज शर्मा । प्रत्यक्षमै दुर्इ पटक निर्वाचन लडी क्रमशः कांग्रेसका आयातित उम्मेदवार 'हेलिकप्टर पाइलट' र एमाओवादीका 'नाउराका नायक' सँग पराजित भएपनि आदिवासी जनजातिका कोटाबाट समानुपातिक सभासद बनेका एमालेका नरदेवी पुन । र, अर्का विशेष सभासद हुनुहुन्छ – म्याग्दी काङ्ग्रेसले पनि सभासद पाउनुपर्छ युद्भमा सानेपा दरबारलार्इ घुँडा टेकाउन सफल भर्इ संविधानसभाको गठन भएको एकवर्षपछि सभासद मनोनय भएका रेशम बानियाँ । र, यी तीनजना नतर्कीहरूलार्इ नचाउने काम गरेका छन् म्याग्दीका होनहार काङ्ग्रेस र एमालेजनहरूले ।

जनताले प्रत्यक्षरूपमा आफ्नो मत अधिकार ब्यक्त गरी आफूले चुनेर पठाएका सभासद नै मुख्यतः जिल्लाबासीहरूप्रति बढी जिम्मेवार हुनुपर्ने भएकाले जिल्लामा हुने विशेष कार्यक्रमहरूको प्रमुख आतिथ्यता निर्विवाद रूपमा नवराज शर्माले गर्न पाउनु पर्ने हो । किन्तु, हिजोका मन्डलेहरूले 'प्रजातान्त्रिक समाजवाद' को जलसिंचन गरेर सात साल अगाडिका क्रान्तिकारी काङ्ग्रेसीहरू भन्दा पनि अझ बढि क्रान्तिकारी भएर नेपाली काङ्ग्रेसको ठूलो पिपलको ‍ओतमा पुगेपछि म्याग्दीमा अचाक्ली भएको छ । अचाक्ली पनि यस्तो विधी कि मण्डलेको एक झुण्डले धेरै वर्षदेखि कांग्रेसमा बसेर निष्ठाको राजनीति गरिरहेका केहि ब्यक्तिहरूलार्इ धूलिसात मात्र पारेनन्, केहि वर्ष पहिले राजधानीको सामाखुशीमा अबको निर्वाचनमा म्याग्दी कांग्रेसबाट उम्मेदवार बन्न सक्ने हैसियत राख्ने एक कांग्रेसी युवालार्इ झापु नै लगाए । घटनाक्रमले के देखाउँछ भने – म्याग्दी कांग्रेसको तिब्र मण्डलेकरण हुँदैछ । र, त्यसैको नतिजा हो- यो पछिल्लो नांगो नाच ।

यो नांगो नाच अझ केहि समय उदांगै भएर जारी रहने सम्भावना यसकारण छ कि पूर्व एमाले सांसद (एमाले परित्याग गरिसकेका) चन्द्रप्रकाश बानियाँले यो विषयलार्इ आफ्ना तर्कका चक्रब्युहमा पारेर यो विषयलार्इ झन पेचिलो र अहम् सवाल बनाउने प्रयास गरेका छन् । एमाले परित्याग गरेपछि एमालेप्रति अत्यन्तै अनुदार देखिदै आएका बानियाँ काकाले आफ्नो पछिल्लो लेखमा 'बिचार' को हैन 'बन्धुत्व' को मत ब्यक्त गरेका छन् । उनका तर्कमा एमाओवादीको अप्रत्याशित स्खलनकृत आग्रहपूर्ण मत हावी छ । काठमान्डुमा उनका सुप्रिमो छबिलाल जनादेश कि मतादेश ? को नयाँ बखेडोमा अल्झिरहेका बखत बानियाँकाका म्याग्दीकाली दोभानमा भर्खरैमात्र घोर तपस्याबाट झल्याँस्स भएका छन् । र, उनको नविनतम् बाणी सार्वजनिक भैसकेको छ – सभासद सबै एकै हुन्, चाहे ती प्रत्यक्ष निर्वाचित हुन्, चाहे समानुपातिक वा मनोनित नै किन नहुन् ? संवैधानिक व्यवस्था अनुसारको मर्यादाक्रमको क्रमाङ्कमा सभासद मात्र उल्लेख छ । त्यहाँ सभासदको वर्गिकरण गर्या छैन ? पहिलो संविधानसभाको निर्वाचनमा मनोनित सभासद माधवकुमार नेपाल प्रधानमन्त्री नै भए । जिल्लामा सर्वाधिक पढिने बानियाँ काकाको यो तर्क जब सार्वजनिक भो, तब सुस्ताइरहेका कांग्रेसी पढालेखा युवाहरूमा उत्पातको रक्त संचार भो । ती तङ्ग्रिए । र, ब्यग्रतापूर्वकको पर्खार्इमा कुनै वस्तु प्राप्त हुँदाको खुशी भन्दा अधिक खुशी हुँदै सामाजिक संजालमा उनीहरूले काकाको बाणीहरू सम्प्रेषण गरे । र, लामो निश्वासः लिए – लौ हेर एमालेहरु, सभासदहरू एकै हुन् कि नाइँ ?


जसरी एउटै बिधालयमा अध्यापनरत शिक्षकहरू राहत, नीजिस्रोत, दरबन्दी र स्थार्इका हिसाबले फरक हुन्छन् । जसरी प्रवेशिका परीक्षामा उत्तिर्ण विधार्थीहरू विशिष्ट, प्रथम, द्भितिय श्रेणीका हिसाबले उनीहरू फरक हुन्छन् । जसरी करार, अस्थार्इ र स्थार्इका हिसाबले कर्मचारीहरू फरक मानिन्छन् । त्यसरी नै सभासदहरू उनीहरूको चयनका हिसावले उनीहरूको हैसियत निर्धारण हुन्छ । परीक्षामा प्रश्नहरूको सर्वश्रेष्ठ जवाफ लेखिएका आधारले हैसियत निर्धारण भए झैं, राजनीतिमा हैसियत जनताले निर्धारण गरिदिने कुरालार्इ किन यसरी नजरअन्दाज गरिदैछ ? 

Comments