Skip to main content

दिलमायाको दिलमा शिरीष फूलेको दिन

प्रिय सानुसँग
६ वर्ष पूरै बितेर आज सातौं वर्षमा प्रवेश गरेछ – दिलमायाको दिलमा शिरीष फूलेको ! पत्तो नै नपाइकन एकै झिमिकमा छ वर्षहरु पार भएको अनुभूति भएको छ मलाई आज, सायद सानु पनि उस्तै अनुभव गर्दैछिन होला । त्यो दिन परम्परा अनुसार सानुको सिउँदो रंगाउँदै गर्दा मलाई याद छ त्यो अत्यन्तै किफायती बिबाह थियो । योजनाले त खास त्यो किफायति बिबाह थिएन, तर परिस्थिती त्यस्तै बनेको थियो ।

ऋणधन गरेर तडकभडकको विवाह गर्ने प्रचलनको खिलाफ भएका कारणले पनि मेरो आफ्नो स्वंयको आर्जनले सम्पन्न गरेको बिहे थियो त्यो । सानुका लागि १६ हजार दाम मंगलसुत्र किन्नमा खर्च भएको थियो । मलाई थाहा छ त्यो अत्यन्तै कम मूल्यको थियो, मुश्किलले आधा तोलाको हुनुपर्छ त्यो । तथापी मेरो मेहनतको १६ हजार थियो त्यो जतिखेर म मासिक ८ हजार ३ सय आम्दानी गर्ने गर्दथेँ । अनि मलाई थाहा छ बिहेको भोजमा जम्मा १० के.जी. जति खसिको मासु ल्याइएको थियो – त्यस्तै ४ हजार चानचुन खर्च गरेर । तर साँझको कार्यक्रम चाँहि भब्य नै थियो । मेरी मृदुभाषी मातारीका थुप्रै साथीहरु जम्मा भएका थिए त्यो रात । र, रत्यौली पनि भएको थियो । रत्यौली सुन्दासुन्दै म भुसुक्कै भएको थिएँ त्यो रात । भोलीपल्ट मातारी सुनाउँदै हुनुहुन्थ्यो – बिहान चारबजेसम्म चल्यो रत्यौली । र, यसरी करिब २५/२६ हजारमा हाम्रो शुभविवाह सम्पन्न भएको थियो ।

एउटा छुटाउनै नहुने कुरो के छ भने, बि.सं. २०६४ को बैशाख ४ गते अर्थात हामीलाई गृहप्रवेश गराएको दिनभन्दा तीनदिन अगाडि मैले उनलाई भगाएर ल्याएको थियो, त्यो पनि ठूलीआमा (आमाको दिदी) को घरमा । मैले केटी भगाएर ल्याउने कुरो म स्वयं, अनि मेरी पत्नीलाई समेत पत्तो नभएको अवस्थामा ठूली आमालाई थाहा हुने कुरै भएन । मुसलधारे पानी परेको त्यो साँझ हामी बेनीबाट ट्याक्सीमा रत्नेचौरका लागि हिड्यौ । साथमा थिए मेरा अनन्य मित्र राजकुमार । त्यो रात सायद उनी पनि सधैं सम्झन्छन् होला, करिव ३ कि.मी जति यात्रा गरेपछि जंगलको मध्यभागमा आएर ट्याक्सी हिलोमा फस्न पुग्यो । यति त आपद परेन लेखेर अभिव्यक्त गर्न सक्दिनँ म । करिब आधा घण्टा सम्मको भगिरथ प्रयत्नबाट पनि ट्याक्सी अगाडि बढन नसकेपछि प्रकाश दाई ट्याक्सी लिएर बेनी फर्कनु भयो । हामी चाँहि तीन जना भएर जंगलको बाटो रत्नेचौरतिर लाग्यौं । मोबाइलको धिपधिपे उज्यालोमा डर हटाउन राजकुमार र म चर्कोचर्को आवाजमा कुरा गर्दै हिड्यौं, दिलमाया खास बोलीनन् । बिचरा ! के बित्दै थियो उनको मनमा कुन्नी !? चुपचाप हिडिरहिन् । पानी सिमसिम परिरहेको थियो । करिव पैतालिस मिनेटको पैदलयात्रा पछि हामी ठूलीआमाको घरमा पुग्ने पनि र पानी पनि मुसलधारे वर्षिन थाल्यो । 

बिहान राजकुमार घरमा गए बुबाआमासँग कुरा गर्न । घरको जेठो छोरो विशेष रहर पनि थियो होला बुबाआमाको । किन्तु, हुने कुरा भैसकेको थियो – एकदम अचानक । म साँझ मात्र घरमा पुगेँ । आमा बाबालाई ढोगेँ । बाबा खास बोल्नु भएन । एकदम चुपचाप लाग्यो । घर पुग्नुभन्दा पहिले बाबाको डर थियो मलाई, के भन्नुहोला कि भनेर । तर घर पुगेपछि महशुस गरेँ – बुबाले मेरो पो डर मान्नु भैराखेको जस्तो, सायद सोचेर होला – “केहि भनिहाले पनि जवाफ फर्काइहाल्ला वा झगडा गर्न तम्सेला !” बाबाको मुहारमा मलिनता पढेपछि मलाई सारै दुःखबोध भयो । बोलेँ – “बुबा, त्यस्तै अपर्झटमा भो, असजिलो नमान्नु हैं । हुन त फर्काउन आउने रे भोली कि फकाईदिउँ र बा !” खासमा दिलमायाको घरबाट फोन पनि आएको थियो –“सर, यो वर्ष हामी पोखरा घर सर्दै छौं, मन्दिरमा गएर बिहे गरौंला उताबाट हजुरले पनि बाबाआमा ल्याएर आउनुहोला, भोली सानुको फुपु र दाई आउँछन् उसलाई फर्काइदिनू हैं !” बाबाले एकछिन पछि मसिनो स्वरमा बोल्नुभयो – “ल्याएपछि किन फर्काउनू ? भो, छाड्दे !” आमा पिढीको छेउमा उभ्भिनूभएको थियो, एउटा हातले पालीको दलिनमा समातेर, हेरेँ आमातिर, आमा अनुहारमा चमक गुमे जस्तो पाएँ । धक मानीमानी नजिक पुगेँ, आमाले भन्नुभयो, मैले सुनिनँ । ख्वै मैले केहि मेसो पाइँन, मसिनो स्वरमा केहि भन्दै हुनुहुन्थ्यो । सायद गुनासो थियो होला – जेठोबाठो छोरो सरसल्लाह केहि नगरी आफ्नै मर्जी गर्‍यो । 

अन्तरजातिय बिबाह भएका कारण पनि शुरुमा अलिकति अप्ठ्यारो नै भयो । घरमा त त्यस्तो केहि अप्ठ्यारो थिएन, सायद पिताजी कम्युनिष्ट हुनुको फाइदा प्रत्यक्ष मैले प्राप्त गरेँ । उसो त २०३० सालतिरै मेरो आफ्नै मामाले अन्तरजातिय बिबाह गर्नू भएकाले मलाई सजिलो भएको हुनुपर्छ । तर आफ्ना केहि मानिसहरुले चाँहि हाम्रो बिबाहलाई उती रुचाएनन् त्यतिखेर । धेरैलाई कुरो गर्ने मेसो बनेछ – मामाले मर्गनी ल्यायो, भान्जाले छन्त्यालनी भित्र्यायो ! केहीले चाँहि मेरी पत्नीले बनाएको खाना नखाने पनि भनेछन्, मैले सार्वजनिकै उद्घोष गरिदिएँ जसले मेरो पत्नीले बनाएको खाना खाँदैन ऊ मेरो कोही हैन, म त्यो मरे नून बार्दिन, त्यो जिउँदो छउन्जेल त्यसको आँगनमा पाइला राख्दिनँ । ख्वै मेरो उदघोषले हो कि पत्नीको मिजासले हो पछि बिस्तारै सबै ठीक हुँदै गयो ।

Comments

  1. भेटहरु धेरै पल्ट भएका थिए तर विवाहको वारेमा भन्नुभएको थिएन, अहिल्य यो लेख पढेपछि थाहा पाए । लेखाईमा कुनै सेन्सर नै छैन । जस्तो आखाँले देख्छ त्यहि नै शव्दमा उत्रिएको छ । यस्ता ओजनदार लेखनवाट म पनी केहि लेख्न सिक्दैछु । निराजन गुरुलाई फेरीपनी धन्यवाद ।

    ReplyDelete
  2. भनेजस्तै लेखाईमा कुनै सेन्सर देखिएन् । यसभन्दा अगाडीका पोस्टहरु पढ्दा पनि कुनै सेन्सर भेटिएन् । यही त हो नि ब्लगको फाइदा । म मनमनै सम्झदै छु आफ्नो जीवनसाथीलाई भगाएको दिन राती जंगलको बाटो हिड्नु पर्दा नयाँ ठाउँ नयाँ अनुभव दिलमायाको दिलमा कस्तो कुराले डेरा जमायो होला ? Everything is fair in Love and wareसायद त्यसैले होला । शिरीषले सार्वजनिकै उद्घोष गरिदिएको जसले मेरो पत्नीले बनाएको खाना खाँदैन ऊ मेरो कोही हैन, म त्यो मरे नून बार्दिन, त्यो जिउँदो छउन्जेल त्यसको आँगनमा पाइँला राख्दिनँ ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...