![]() |
चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा |
सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान गर्दै रहिछ । उसले आँखा खोलेपछि मलाई देख्यो । र, भन्यो – “ओ, निराजान..।” फिनिशहरुमा ऊ मात्रै एउटा साथी छ जसले मेरो नाम यत्तिसम्म शुद्ध भन्न सक्छ । एकछिन कुराकानी भएपछि, म हिडेँ । अलि पर पुगेर उसतिर फर्केर हेरेँ, ऊ पुनः ध्यान मै मस्त बनेछ । हेलसिन्कीको केन्द्रिय रेल बिसौनी सामन्यतयाः निकै चहलपहल हुने स्थान मध्य एक हो । र, त्यही भीडमा मेरो साथी मस्त ध्यान गर्दै थियो । ठीक यहि बखत म मेरा एकजना मित्रलाई याद गर्न पुग्छु, उनी भन्ने गर्थे— खैरेहरू एउटै बिषयमा बर्षौ घोत्लिन सक्छन् । उस बखत उनले सुनाएको खैरे कथाको पात्रसँग म मेरो फिनिश साथीसँग धेरै समानता पाउँछु । आफ्नो रूचीको क्षेत्रमा निरन्तरको लगाव, यिनीहरूको विशेषता हो भन्दा फरक पर्दैन ।
मलाई अक्सर समाज विकासको निर्देशक सिद्दान्त के हुन सक्छ ? भन्ने विषयले गहिरो गरी विथोल्छ । म धेरैबेर त्यसमा घोत्लिन पुग्छु । र, मनमा थुप्रै अपरिषकृत बिचारका बादलहरू मडारिन पुग्छन् । के समाज विकासको मुख्य सुत्रधार आम नागरिकहरू हुन ? नीति निर्माताहरू हुन ? प्रशासनिक संयन्त्र हो या राजनैतिक नेतृत्व ? निश्कर्षहिन विचारका ज्वारभाटाहरू अनिश्चय लक्ष्यका साथ साम्य भएर जान्छन् । मैले केहि मेसो पाउँदिनँ । किनकी, समाज विकासको मुख्य आधार के हो ? या को हो ? भन्ने प्रश्नको ठोस उत्तर मैले आज पर्यन्त पाउन सकेको छैन ।
ठ्याक्कै एक बर्ष पहिले यहाँको स्थानीय निकायको निर्वाचन भएको थियो । नगरपालिकाकाे निर्वाचनमा मात्र नभै अन्य सबै निर्वाचनहरूमा यहाँको सरकार, राजनैतिक दल, नेता, कार्यकर्ता र आम समर्थकहरूले भद्रता पूर्वक चुनावको प्रचार प्रसार गरेको दृश्यले मेरो मथिंगल हल्लाइरहेछ ।
हाम्रातिर चुनाव सँगसँगै थुप्रै विकृतिहरूले जरा गाडिरहेको तीतो सन्दर्भलाई नजिकैबाट नियालेको मलाई यहाँको चुनावी माहोलमा एक तहको सहभागिता जनाउन पाउँदा नेपाल र यहाँको चुनावी संस्कारमा विशाल अन्तर रहेको स्पष्टै महशुस भएको छ । उता निर्वाचनमा सहभागी दल र दलका उम्मेदवारहरूले जे जे गर्दा असामान्य व्यवहार (चुनावी आचारसंहिताको अक्षरशः पालना गर्ने स्थिति) भएको ठानिन्छ, ती अभ्यासहरू यहाँको चुनावी संस्कार बनेको छन । मत खसाल्ने दिन नजिकिदै गर्दा स्वंय उम्मेदवार आफ्ना मुद्दाहरू समेटिएर तयार पारेको जानकारी पत्र (ब्रोसर) हातमा लिएर आम मतदाताहरूसँग मतका लागि अपिल गरिरहेको दृश्य सामान्य हो । न कुनै सार्वजनिक भाषणको कार्यक्रम, न कुनै प्रदर्शन, न त जिन्दाबाद र मुर्दाबादको नारा, अरू सामान्य दिनहरू जस्तै मतदानको दिन पनि सामान्य रूपमा नै बित्छ । ठीक यहि बेला मलाई, एउटा प्रश्नले कुत्कुताईरहन्छ, कि यस्तै अवस्था त्यो सुन्दर हिमाली राज्यमा पनि हुन सक्ला ?
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।