Skip to main content

नेताको छोरा १ - समाज, विकास र चुनाव



A young man carrying bag standing on a paved way

चुनाव प्रचारका क्रममा म्याग्दी दुर्गम गाउँ चौरखानी जाँदै बाटोमा

“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत पाँच बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै पाँचवटा बिसौनी पार गरेर पन्ध्र मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 

सडकमा मान्छेहरु हतारिदै आफ्ना गन्तब्यतिर गैरहेको देख्छु । अनि फेरि मनमा अर्को प्रश्न उब्जन्छ, किन यी चिया पसल या चोकहरुमा रोकिएर कुरा गरिरहेका छैनन् ? के यीनले कुरा नगर्ने सन्दर्भ नै नपाएका हुन त? सन्दर्भ त जति पनि छन । तर यी बेफ्वाँकको गफ लगाएर नबस्दा रहिछन । एकपटक मैले रेल बिसौनीमा आधा घण्टाजति बिताउनु परेको थियो । छेउकै कुनामा मेरो सहपाठी मस्त ध्यान गर्दै रहिछ । उसले आँखा खोलेपछि मलाई देख्यो । र, भन्यो – “ओ, निराजान..।” फिनिशहरुमा ऊ मात्रै एउटा साथी छ जसले मेरो नाम यत्तिसम्म शुद्ध भन्न सक्छ । एकछिन कुराकानी भएपछि, म हिडेँ । अलि पर पुगेर उसतिर फर्केर हेरेँ, ऊ पुनः ध्यान मै मस्त बनेछ । हेलसिन्कीको केन्द्रिय रेल बिसौनी सामन्यतयाः निकै चहलपहल हुने स्थान मध्य एक हो । र, त्यही भीडमा मेरो साथी मस्त ध्यान गर्दै थियो । ठीक यहि बखत म मेरा एकजना मित्रलाई याद गर्न पुग्छु, उनी भन्ने गर्थे— खैरेहरू एउटै बिषयमा बर्षौ घोत्लिन सक्छन् । उस बखत उनले सुनाएको खैरे कथाको पात्रसँग म मेरो फिनिश साथीसँग धेरै समानता पाउँछु । आफ्नो रूचीको क्षेत्रमा निरन्तरको लगाव, यिनीहरूको विशेषता हो भन्दा फरक पर्दैन ।

मलाई अक्सर समाज विकासको निर्देशक सिद्दान्त के हुन सक्छ ? भन्ने विषयले गहिरो गरी विथोल्छ । म धेरैबेर त्यसमा घोत्लिन पुग्छु । र, मनमा थुप्रै अपरिषकृत बिचारका बादलहरू मडारिन पुग्छन् । के समाज विकासको मुख्य सुत्रधार आम नागरिकहरू हुन ? नीति निर्माताहरू हुन ? प्रशासनिक संयन्त्र हो या राजनैतिक नेतृत्व ? निश्कर्षहिन विचारका ज्वारभाटाहरू अनिश्चय लक्ष्यका साथ साम्य भएर जान्छन् । मैले केहि मेसो पाउँदिनँ । किनकी, समाज विकासको मुख्य आधार के हो ? या को हो ? भन्ने प्रश्नको ठोस उत्तर मैले आज पर्यन्त पाउन सकेको छैन । 

ठ्याक्कै एक बर्ष पहिले यहाँको स्थानीय निकायको निर्वाचन भएको थियो । नगरपालिकाकाे निर्वाचनमा मात्र नभै अन्य सबै निर्वाचनहरूमा यहाँको सरकार, राजनैतिक दल, नेता, कार्यकर्ता र आम समर्थकहरूले भद्रता पूर्वक चुनावको प्रचार प्रसार गरेको दृश्यले मेरो मथिंगल हल्लाइरहेछ ।

हाम्रातिर चुनाव सँगसँगै थुप्रै विकृतिहरूले जरा गाडिरहेको तीतो सन्दर्भलाई नजिकैबाट नियालेको मलाई यहाँको चुनावी माहोलमा एक तहको सहभागिता जनाउन पाउँदा नेपाल र यहाँको चुनावी संस्कारमा विशाल अन्तर रहेको स्पष्टै महशुस भएको छ । उता निर्वाचनमा सहभागी दल र दलका उम्मेदवारहरूले जे जे गर्दा असामान्य व्यवहार (चुनावी आचारसंहिताको अक्षरशः पालना गर्ने स्थिति) भएको ठानिन्छ, ती अभ्यासहरू यहाँको चुनावी संस्कार बनेको छन । मत खसाल्ने दिन नजिकिदै गर्दा स्वंय उम्मेदवार आफ्ना मुद्दाहरू समेटिएर तयार पारेको जानकारी पत्र (ब्रोसर) हातमा लिएर आम मतदाताहरूसँग मतका लागि अपिल गरिरहेको दृश्य सामान्य हो । न कुनै सार्वजनिक भाषणको कार्यक्रम, न कुनै प्रदर्शन, न त जिन्दाबाद र मुर्दाबादको नारा, अरू सामान्य दिनहरू जस्तै मतदानको दिन पनि सामान्य रूपमा नै बित्छ । ठीक यहि बेला मलाई, एउटा प्रश्नले कुत्कुताईरहन्छ, कि यस्तै अवस्था त्यो सुन्दर हिमाली राज्यमा पनि हुन सक्ला ? 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...