सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं ।
निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी भन्न सक्छौं, कम्तिमा पनि यिनले विश्व कम्युनिष्ट आन्दोलनको प्रतिक हसिँया हथौंडालाई आफ्ना झण्डामा राख्न नछोडिसकेकाले कम्युनिष्ट पार्टी हुन कि भनेर शंका गर्ने सानो आधार छ ।
मलाई आपत्तिजनक लाग्दछ, यी कम्युनिष्ट हुन भन्न । जसका नाममा यीनले राजनीति गरेका छन् । जसको उनीहरु मुक्ति गर्छु भन्छन्, तिनीहरु जागिर र खाना नभएकाले पार्टी मुख्यालयमा आत्मदाह गर्दछन् । “जागिर चाहियो हजुर भनेर कोही यिनका आलिशान कम्युनिष्ट निवासमा पुगे भने घर सफा गर्ने, कुकुरको हेरचाह गर्ने र फोहोर कपडा धुने जागिर छ, खाने हो ?” भनेर आकर्षक जागिरको प्रस्ताव गर्न यीनलाई कुनै थकथक लाग्ने देखिदैन् । आफ्ना छोरा छोरी छात्रवृति भन्दै भारत, चिन, बेलायत र अमेरिका पढाउँछन तर सर्बहाराका छोराछोरीले पढ्ने विद्यालयमा न यिनले शिक्षक पठाउँछन् न त ती विद्यालयका भत्किन लागेका संरचनाको मर्मतका विषयमा सोच्दछन् । यी पनि कम्युनिष्ट ? मलाई थुक्न मन लाग्दछ, यीनको नाममा । थुईक्क !
यिनका भान्सामा बासमति पाक्छन्, वा थाइल्याण्डबाट खरिदिएका जस्मीनका मसिना चामलका दाना पाक्छन् । अनि कानमा यिनको बतास कसरी चल्छ, सुन्नलाई - तिनीहरूका व्यथा जो यहाँ वर्षको एक पटक दशैंमा भात खाने रहर बोकेर खाद्य संस्थानका डिपोमा झर्ने बाजुरा, कालिकोट, दैलेख र जाजरकोटका भोका जनताहरु जो १० किलो चामलका लागि सयौं माइल नांगा खुट्टा हिडेर आइपुग्छन् ? मैले धेरै पटक भनेँ, यिनलाई रुघा लाग्नु हुँदैन, सरकारी खर्चमा विदेशमा उपाचार गर्छन् । तर एक रुपिँयाको सिटामोट नपाएर गरिब मरिरहेछ गाउँमा । मलाई भन्न मन लाग्दछ, कम्युनिष्ट हुँ भनेर डाँको नछोड, बरु कम्तिमा कम्युनिष्ट नभएरै सहि मानवीय संवेदनालाई बुझ ।
झण्डै तीन महिना पछि यी एक ठाउँमा हुन आएका छन् । सम्झौता पनि गरेछन् । मलाई खुशि भन्दा दुःख बढी लाग्यो, यिनीहरुको मिल्तीमा । अब कति गरिब निमुखाहरु भ्रममा पर्ने हुनन् तिनका कम्युनिष्ट भनिएका पार्टीहरु एक ठाउँमा उभिएका छन् । अब तिनले गरिब र निमुखाका बारेमा सोच्ने छन् । मेरो सानो आग्रह छ, कम्युनिष्ट नेता भन्न रुचाउने श्रीमान् प्रचण्ड र श्रीमान झलनाथसँग कि यो मिल्ती कुर्सीको बार्गेनिङका निम्ति मात्र होइन । यो मिल्ती त देशलाई अनिर्णयको बन्दी हुनबाट, दण्डहिनताको अन्त्यका लागि, शान्ति र सुशासनको ग्यारेन्टीका लागि हो । यो मिल्ती यथासिघ्र गणतान्त्रिक नेपालको संविधान निर्माणको लागि हो । र, यो मिल्ती हो गरिब, निमुखा नेपालीहरुले देखेको सुनौलो सपना पूरा गर्नका लागि थालिएको एउटा सुन्दर कदम ।
यो मिल्तीपछि मलाई लागेको खाश कुरो अब के.पी. हरुको भूमिका कस्तो रहला ? मोहन बैद्य, भट्टराई अनि नारायणकाजी र प्रचण्डबीचको हार्दिकताको दायरा अझ कति बढेर आउँला ? म ग्यारेन्टीका साथ दावा गर्न सक्दछु, प्रचण्ड माओवादीमा एक्ला व्यक्ति होइनन् जसले चाहेको कुरा सधैं पुग्छ । झलनाथको स्थिती त झन बिजोग नै छ । तर लाग्दछ, नेपाली जनताहरु ढिलै भएपनि यीनमा दिव्य चेतना आएकोमा हर्षित छन् । र, विकसित राजनैतिक घटनाक्रमलाई नजिकबाट चिहाईरहेका छन् । किनकी हामी देख्दैछौं, आशाको मलिनो दिप पर क्षितिजमा धिपधिपाईरहेको छ ।
जय नेपाल !
Maobadi ko rajnitik sujhbujhko kami, anya dalharuko asahyogi rawaiyya ra loktantrik acharan ko nyunata jasle garda deshka janata pidama bachna bibas chhan. Bichar sarita anawarat bagirahos.
ReplyDeleteसर, म यहाँको प्रतिकृयाको लागि हार्दिक आभर ब्यक्त गर्न चाहन्छु । यसै गरी बेला बेला मा सल्लाह सुझाब पाउनेछु भन्ने पूर्ण विश्वाश छ ।
ReplyDelete