Skip to main content

पर क्षितिजमा देखिएको आशाको धिपधिपे ज्योति !

सातौं पटकसम्म चुनाव लड्दा पनि जित्न नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड सायद लाचार भएको   हुनुपर्दछ । र, माधवकुमार नेपाल प्रधानमन्त्री निर्वाचित भैसकेपछि उनलाई आफैले भिराएको नयाँ विशेषण “हारेको मान्छे” ले आफैलाई कुत्कुती लगाएको पनि हुनु पर्छ । माधवकुमार नेपाल त दुईवटा निर्वाचित क्षेत्रबाट एक एक पटक हारेका मान्छे तर पुष्पकमलको कथाले बेग्लै मोड लियो । जनयुद्ध नामकरण गरिएको सशस्त्र द्धन्द्धका नायक, 'सर्बाधिक देशप्रेमी नेता', 'भारतीय विस्तारबादलाई खुल्ला चूनौती दिन हिम्मत जुटाउने एक मात्र जिवित नेता' पुष्पकमल, प्रधानमन्त्रीको निर्वाचनमा भने नराम्ररी पछारिन पुगे । त्यो पनि एकपटक होइन, दुई पटक होइन, सात सात पटकसम्म हार्नु, अचम्मको विषय बनेको छ । अब लाग्दछ, उनलाई हार्ने रहर पुगिसकेको हुनुपर्दछ । त्यसैले त भन्न पनि थालिसकेका छन्— परिणाम ननिस्कने लडाई नलडौं ।

निरन्तरको हारले अब देशका दुई कम्युनिष्ट भनिएका पार्टीहरुलाई एक ठाउँमा उभ्भिन विवश तुल्याएको छ । हुन त कम्युनिष्ट पार्टी पनि के भन्ने एकले अर्कालाई उग्रबामपन्थी, संशोधनबादी, दक्षिणपन्थी, बुर्जवाको जो नाम दिदैँ आएका छन् । तर हामी भन्न सक्छौं, कम्तिमा पनि यिनले विश्व कम्युनिष्ट आन्दोलनको प्रतिक हसिँया हथौंडालाई आफ्ना झण्डामा राख्न नछोडिसकेकाले कम्युनिष्ट पार्टी हुन कि भनेर शंका गर्ने सानो आधार छ । 

मलाई आपत्तिजनक लाग्दछ, यी कम्युनिष्ट हुन भन्न । जसका नाममा यीनले राजनीति गरेका छन् । जसको उनीहरु मुक्ति गर्छु भन्छन्, तिनीहरु जागिर र खाना नभएकाले पार्टी मुख्यालयमा आत्मदाह गर्दछन् । “जागिर चाहियो हजुर भनेर कोही यिनका आलिशान कम्युनिष्ट निवासमा पुगे भने घर सफा गर्ने, कुकुरको हेरचाह गर्ने र फोहोर कपडा धुने जागिर छ, खाने हो ?” भनेर आकर्षक जागिरको प्रस्ताव गर्न यीनलाई कुनै थकथक लाग्ने देखिदैन् । आफ्ना छोरा छोरी छात्रवृति भन्दै भारत, चिन, बेलायत र अमेरिका पढाउँछन तर सर्बहाराका छोराछोरीले पढ्ने विद्यालयमा न यिनले शिक्षक पठाउँछन् न त ती विद्यालयका भत्किन लागेका संरचनाको मर्मतका विषयमा सोच्दछन् । यी पनि कम्युनिष्ट ? मलाई थुक्न मन लाग्दछ, यीनको नाममा । थुईक्क !

यिनका भान्सामा बासमति पाक्छन्, वा थाइल्याण्डबाट खरिदिएका जस्मीनका मसिना चामलका दाना पाक्छन् । अनि कानमा यिनको बतास कसरी चल्छ, सुन्नलाई - तिनीहरूका व्यथा जो यहाँ वर्षको एक पटक दशैंमा भात खाने रहर बोकेर खाद्य संस्थानका डिपोमा झर्ने बाजुरा, कालिकोट, दैलेख र जाजरकोटका भोका जनताहरु जो १० किलो चामलका लागि सयौं माइल नांगा खुट्टा हिडेर आइपुग्छन् ? मैले धेरै पटक भनेँ, यिनलाई रुघा लाग्नु हुँदैन, सरकारी खर्चमा विदेशमा उपाचार गर्छन् । तर एक रुपिँयाको सिटामोट नपाएर गरिब मरिरहेछ गाउँमा । मलाई भन्न मन लाग्दछ, कम्युनिष्ट हुँ भनेर डाँको नछोड, बरु कम्तिमा कम्युनिष्ट नभएरै सहि मानवीय संवेदनालाई बुझ । 

झण्डै तीन महिना पछि यी एक ठाउँमा हुन आएका छन् । सम्झौता पनि गरेछन् । मलाई खुशि भन्दा दुःख बढी लाग्यो, यिनीहरुको मिल्तीमा । अब कति गरिब निमुखाहरु भ्रममा पर्ने हुनन् तिनका कम्युनिष्ट भनिएका पार्टीहरु एक ठाउँमा उभिएका छन् । अब तिनले गरिब र निमुखाका बारेमा सोच्ने छन् । मेरो सानो आग्रह छ, कम्युनिष्ट नेता भन्न रुचाउने श्रीमान् प्रचण्ड र श्रीमान झलनाथसँग कि यो मिल्ती कुर्सीको बार्गेनिङका निम्ति मात्र होइन । यो मिल्ती त देशलाई अनिर्णयको बन्दी हुनबाट, दण्डहिनताको अन्त्यका लागि, शान्ति र सुशासनको ग्यारेन्टीका लागि हो । यो मिल्ती यथासिघ्र गणतान्त्रिक नेपालको संविधान निर्माणको लागि हो । र, यो मिल्ती हो गरिब, निमुखा नेपालीहरुले देखेको सुनौलो सपना पूरा गर्नका लागि थालिएको एउटा सुन्दर कदम । 

यो मिल्तीपछि मलाई लागेको खाश कुरो अब के.पी. हरुको भूमिका कस्तो रहला ? मोहन बैद्य, भट्टराई अनि नारायणकाजी र प्रचण्डबीचको हार्दिकताको दायरा अझ कति बढेर आउँला ? म ग्यारेन्टीका साथ दावा गर्न सक्दछु, प्रचण्ड माओवादीमा एक्ला व्यक्ति होइनन् जसले चाहेको कुरा सधैं पुग्छ । झलनाथको स्थिती त झन बिजोग नै छ । तर लाग्दछ, नेपाली जनताहरु ढिलै भएपनि यीनमा दिव्य चेतना आएकोमा हर्षित छन् । र, विकसित राजनैतिक घटनाक्रमलाई नजिकबाट चिहाईरहेका छन् । किनकी हामी देख्दैछौं, आशाको मलिनो दिप पर क्षितिजमा धिपधिपाईरहेको छ ।
जय नेपाल !

Comments

  1. Mahesh Prasad Bhatt18/9/10 2:25 PM

    Maobadi ko rajnitik sujhbujhko kami, anya dalharuko asahyogi rawaiyya ra loktantrik acharan ko nyunata jasle garda deshka janata pidama bachna bibas chhan. Bichar sarita anawarat bagirahos.

    ReplyDelete
  2. सर, म यहाँको प्रतिकृयाको लागि हार्दिक आभर ब्यक्त गर्न चाहन्छु । यसै गरी बेला बेला मा सल्लाह सुझाब पाउनेछु भन्ने पूर्ण विश्वाश छ ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...