सफल नभएको उसको प्रेम (भाग १)

म कार्यालयको काममा त्यसै अल्झिरहेको थिएँ । उसले मेरो अफिस कोठाको ढोकाबाट बोलाउँदै भन्यो – “साथी, फुर्सद कत्तिको छ तपाईसँग ? मनैभित्रका कुराहरु बाड्नु छ ।” “त्यत्ति साह्रो व्यस्त म छैन् ।” मैले उसलाई जवाफ फर्काए । मेरो सकारात्मक जवाफ पछि मेरो मित्र मेरो छेऊ मै आएर आफनो मनको व्यथा सुनाउन थाल्यो । ऊ भावुक होइन् तर त्यो दिन ऊ यति भावुक भएको थियो कि मलाई उसको चञ्चल स्वभाव थियो भन्ने कुरामा हेक्का रहेन । “साँच्ची मित्र पहिलो माया बिर्सन गाह्रो हुँदो रहेछ हैं !” मेरो मनभित्रको आवाज उसले बोलिदिएको महशुस भयो मलाई । मैले उसलाई भन्न कर लाग्यो – “होइन् मित्र, बिर्सनु र सम्झनु समयले निक्र्यौल गर्दछ । कहिलेकाही बिर्सेर घाटा हुन्छ जीवनमा त कहिलेकाही सम्झेर पनि फाइदा हुँदैन जिन्दगीमा ! तसर्थ ः फाइदा जे गर्दा हुन्छ, त्यही गर्ने बानी बसाल्नु पर्छ । सबै ठीक हुन्छ ।” “म गरीप परिवारको भएर त प्रेम पनि गरीप परिवारकै केटीसँग लगाएको थिएँ । तर ऊ मनकी पनि गरीप परिछे । त्यल्लाई दैवले हर्ने ! मेरो मनको कुरा बुझ्न सकिने त्यल्ले ।” उसले भावनात्मक गहिराईमा पुगेर बोल्यो “कस्ती मापाकी रहिछे ? मसँग कस्तो ठिक्क पर्न जानेकी ? मलाई दीलको राजा भन्थि यार त्यल्ले । दीलको राजा भएको भए किन तीन–चार दिनदेखि मोबाइल ‘स्विच अफ’ गरेकी ?” “अरे मित्र ! तिम्रो लभ ट्रयाजिडी परेको हो की ? दुई चारदिनदेखि संचार सम्पर्क हुन मात्र नसकेको हो ?” मैले उसको कुरा बुझ्न नसकेपछि उसलाई प्रश्न गर्न बाध्य भएँ । “हुन त ऊ अरुसित भागेको कुरा ‘फिक्स’ भैसकेको छैन् तर दिनचार भो मेरा सपनाहरु बिगे्रका छन् । उसको मोबाइल पनि सधैं स्वीच अफ छ ।” उसले मुहार अमिलाउँदै भन्यो । “खै ! खै” मैले उसको प्रेमिकाको नम्बर माग्दै भनेँ । उसले दिएको नम्बरमा मेरो मोबाइलबाट डायल गरेँ उही आवाज दोहोरियो – “माफ गर्नुहोला तपाइँले सम्पर्क ..........!” “सुन्नु भो !, त्यो स्योर भागि !” हतास हुँदै उसले भन्यो । “हिजो राती एकपटक फोन लाग्याथ्यो, तर केटाले उठायो । उसले कसलाई खोजेको भनेर सोध्यो, मैले – यो नम्बर त एक जना बहिनीको होइन र ? भनेर सोधें” उसले फेरि भन्यो – “अनि त्यो केटीले चाँही ‘के भन्छ’ भनेर केटालाई सोधी अनि केटोले ‘बहिनीको नम्बर होइन र ?’ भनेर सोध्छ भन्यो, त्यसपछि मोबाइल ‘स्विच अफको स्विच अफ’ छ ।” झण्डै आँखाभरी आँशु पार्दै उसले भन्यो –“अब तपाइँ नै भन्नुस त्यो केटी पोइल गैकी गईने । फेरि, तिनीहरुको जातको बिबाह पनि यहि दशैं जस्तै चाडबाडमा हुन्छ । अलि अस्ति फोन गर्दा घरमा पाहुना आ’छन् म अहिले आफै फोन गर्छु हैं भनेर पनि भनेकी थिई तर मलाई बिहे गर्नलाई मान्छे आ’छन् भनेर भनिने त्यल्ले ।” म निशब्द रहेँ । उसले आफ्नो निधारमा हात बजार्दै मात्र भन्यो – “कस्तो ब्याड लक”.....................

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)