Skip to main content

सधै‌ थला पारिएको एउटा देश

माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्ने गरेको हाम्रो देशको भौगोलिक सुक्ष्मताप्रतिको दुःख मनाउ त्यो एउटा साधारण भावनात्मक लहड बाहेक अरु केही थिएन् ।

हामीले त्यतिखेर के नै देखेका थियौं र ? एउटा सानो सिमाङ्कन जसभित्र एउटा नेपाल नअटाए झै गरेर अटाएको छ । त्यो मानचित्र हेर्दा, हामीलाई लागेको दुख यसकारण थियो कि केहि विशाल राष्ट्रहरुको वरिपरी त्यो उती चाखलाग्दो थिएन । तथापी त्यही सानो भूगोललाई विश्व मानचित्र अंकित ग्लोबमा खोजी खोजी विदेशी पर्यटकहरु आउने गर्दथे र गरिरहेका छन् । आखिर मानचित्रमा  जतिसुकै सानो भएता पनि उनीहरुले पनि त हाम्रो देशको मानचित्र देखे हुनन् – ग्लोबमा । र, अहिले मैले सोच्दै आएको छु – बरु यो राष्ट्र भ्याटिकन सिटी भन्दा सानो भैदिनु पर्ने । वा भनुँ यो ग्लोबमा देखिदै नदेखिने अति सुक्ष्म विन्दु जत्रो भएर अटाएको हुनुपर्ने ! यो यति सुक्ष्म भैदिनु पर्ने कि, चाहेर पनि कोही पनि मानिसले यसको नक्साङ्कन ठिक र चित्तबुझ्दो ढंगले गर्न असमर्थ हुनैपर्ने । कम्तिमा पनि त्यो सानो र लघु घेराभित्रको देश हत्या, हिंसा, अराजकता, अशान्ति, कलह, बन्द, चक्काजाम, अव्यवस्था जस्ता यावत प्रदुषणबाट पवित्र र स्निग्ध भएको होओस् । 

तिनताका यो देश हामीलाई कक्षाकोठामा बसेर ग्लोबभित्र खोज्न जति गार्‍हो हुन्थ्यो, यतिखेर यहि सानो देशभित्र हुर्कदै गएका विभिन्न कुसंस्कार र कुप्रवृतीहरुको महशुस गर्न उत्तिकै सहज बनिदिएको छ । सायद विश्वभरमा राजनीतिका लागि सबभन्दा बढी अराजनीतिक गतिविधी हुने यो मात्र एक देश हुनु पर्दछ । यसले थुप्रै प्रसङ्गहरुमा विश्वका शतप्रतिशत राष्ट्रलाई मात खुवाउन सक्तछ । विश्वभरमा सबभन्दा बढी बन्द, हडताल, चक्काजाम, आन्दोलन (विविध नाम दिइएका), अनियमितता, असहिष्णु गतिविधी, मानवअधिकार हनन हुनेगरी घटाइने घटनाहरु सायदै यो देशमा हुन्छ, हुन थालेको छ । यसकारण पनि मलाई मेरो देश सानो क्षेत्रफलभित्र खुम्चेको हुनु पर्ने भन्ने लाग्ने गरेको हो । कल्पना नै भए पनि, यदि यो राष्ट्रको बन्द चौकिल्लाको क्षेत्रफल केहि वर्गकिलोमिटर भैदिएको हुन्थ्यो भने अहिले अभ्यास गरिएका अराजनैतिक गतिविधीहरु सायदै हुदैनथेँ होला । वा अति न्यूनरुपमा मात्र पो घट्ने गर्थे कि ? हुन त पछिल्ला दिनहरुमा हुर्कदै गएका विभिन्न खाले कुसंस्कार र कुप्रवृती यहाँको विर्सनै नसक्ने आचरण र विशेषताका रुपमा विकास हुँदै गएको परिप्रेक्ष्यमा यसो नभैदिएको भए जाति हुन्थ्यो होला भन्ने तथ्य मनको लड्डु घिउसँग खानु भने झैं हुन्छ होला । यद्यपी यो खराब सन्दर्भ र आचरणबाट समाजलाई मुक्त पार्न आजैदेखि लागि पर्न सकेमा भोलीका दिनहरुमा हाम्रा आउँदा पुस्ताहरुले हामीलाई कृतज्ञता प्रकट गर्ने कुरामा दुई मत हुनै सकिदैन् । 

सत्ता प्राप्तीका लागि ‘जे पनि गर्ने’ मानसिकताबाट गुज्रेका हाम्रा राजनेताहरुका कारण आज हामीले आफूलाई नेपाली हुनुमा लघुतावाश गर्नु परेको ध्रुवसत्य हो । उनीहरुको खोटो विचार, खोक्रो सिद्धान्त र व्यवहार शुन्यताले हामीलाई परिवर्तनको आभाष दिन सक्ने हरप्रकारको सम्भावना अब चकनाचूर भएको छ । यस सन्दर्भमा, हिजो देश र जनताका हितका लागि आफ्नो नीजि स्वार्थलाई परित्याग गरेका सपूतहरुको बलिदानीको गाथा गाएर मात्र पनि यो देशको परिवर्तित स्वरुप निर्माण गर्न सकिने कुरै भएन् । अब त सपूतहरुको बलिदानीलाई आत्मसाथ गरी उनीहरुले निर्देश गरेको मार्गमा आफूलाई समाहित गरेर परिवर्तित नेपालको नक्शा विश्व मानचित्रमा समावेश गर्न एकसाथ लम्कनु पर्ने बखत आएको छ । इन्कलाबको नारा लगाएर छाति फुकाएर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्नु पर्ने समय आएको छ । र, अबको यात्रामा कुनै राजनैतिक दलको झण्डामुनी बसेर, पसेर अनि थुप्रिएर होइन् गौरबशाली इतिहास बोेकेको यस देशको ‘चन्द्र सूर्य’ अंकित झण्डामुनी गोलबन्द हुनु पर्ने भएको छ । जनताको त्यो विशाल जनसागरमा माओवादी, कांग्रेस, एमाले, फोरम, तमलोपा, जनमोर्चा वा कुनै पनि राजनैतिक पार्टीका नेता, कार्यकर्ता वा शुभचिन्तकहरुलाई प्रवेश निषेध गरिनु पर्दछ । अनि त्यो विशुद्ध नेपाल र नेपालीवाद मान्ने स्वाधिन र समृद्ध नेपाल चाहने विशुद्ध नेपाली जनताहरुको जनसागर हुनेछ । तहाँ एउटै आवाज घन्केको हुनेछ – हाम्रो देश, हाम्रो भेष प्राणभन्दा प्यारो छ ! राष्ट्रघाति बाईबाई, नेपाली जनता हाई हाई ! जय देश ! जय जनता !
२०६६ आश्विन ४

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...