हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !
हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र । दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।