Skip to main content

सुन्दरताको परिचायक - गुर्जा

A village of remote Nepal “टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पुर्याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् ।

छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत: आलु खेती हुने यस गाविसका मानिसहरु प्राय: जसो खाद्य सामाग्रीहरु दरबाङ् बजारबाट आयात गर्ने गर्छन् । साथै यस गाविसका बासिन्दाहरु यहाँ प्रचुर मात्रामा उत्पादन हुने आलु तथा विभिन्न जटिबुटीहरु संकलन गरी जिल्लाभित्र वा बाहिर निर्यात गर्ने गर्दछन् । 

यस गाविसमा लोपोन्मुख थार, मृग, घोरल, झारल, नाउर, कस्तुरी, बाघ तथा भालु जस्ता जंगली जनावरहरु पाईन्छन् । गुर्जा हिमालको काखमा अवस्थित यस गाउँलाई “स्वर्गको टुक्रा” उपमा दिनु अतियुक्ति नहोला । किनकी, गुर्जा हिमालको हिमश्रृङ्खलाले यस गाउँलाई मनमोहक ढंगले सुशोभित गरेको छ । मृग, थार, झारल र नाउर जस्ता सुन्दर र चञ्चल वन्यजन्तु चर्ने पाखाहरूले यहाँ पुग्ने जोसुकैको पनि मन छुने सुन्दरता प्रस्तुत गरेका छन् । गाउँको पुछार भएर बग्ने म्याग्दी खोलाको मुख्य सहायक नदी गुर्जा खोलाले यस गाविसको सुन्दरतामा थप मादकता थपिदिएको छ । प्राकृतिक सुन्दरताको जति बख्यान गरेपनि नपुग्ने यस गाविसको विशेषता भन्नु नै यसको प्राकृतिक सुन्दरता र यस गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका छन्त्याल जातिको आफ्नै छुट्टै प्रकृतिको मौलिक संस्कृति नै हुन् । प्राकृतिक सम्पदाको धनि यस गाविसमा गैर काष्ठ वन पैदावरमा आधारीत लघु तथा मझौला उद्योगहरुको प्रशस्त सम्भाव्यता रहेको छ । 

यहाँ प्रशस्त मात्रामा पाइने गैर काष्ठ वन पैदावर सम्बन्धी यहाँका वासिन्दाहरुको पर्याप्त जानकारी तथा अनुभवका कमीका कारण वर्षेनी ठूलो मात्रामा अल्लो, लोक्ता, चुल्ठे अमिलो, सतुवा आदि जस्ता राम्रा मूल्य पाइने गैकावपैहरू खेर गैरहेको छ । स्याऊ खेतीको राम्रो सम्भावना भएको यस गाउँमा सम्बन्धित निकायको ध्यान नजानाले यहाँका कृषकहरुले स्याऊ खेतीबाट प्राप्त गर्न सक्ने फाइदा लिनबाट बञ्चित हुनु दुर्भाग्यपूर्ण नै छ । राम्रो बजार मुल्य भए पनि यहाँ संकलन गरिने च्याऊको सम्भावित बजारको खोजी तथा व्यावसायिकरण हुन नसक्नाले यहाँका मानिसहरुले आफ्नो जीविकोपार्जनमा सुधार ल्याई आयआर्जनका क्रियाकलापमा आफ्नो पहुँच बढाउन सकिरहेका छैनन् । सम्भवत: गैर काष्ठ वन पैदावरको अत्याधिक सम्भाव्यता भएको म्याग्दी जिल्लाकै यो एक मात्र गाविस हुनु पर्दछ । अबैध रुपमा चोरी निकासी हुँदै आएको क्वार्ज ढुंगा (एक प्रकारको चम्किलो/उज्यालो ढुंगा) खानी हालसालै स्थानीय बासिन्दाले गुर्जा हिमालमा भेट्टाउनुले पनि यो गाविस खनिज पदार्थमा समेत सम्पन्न हुन सक्ने कुराको संकेत गर्दछ । 

यहाँको खनिज पदार्थ सम्बन्धि सम्भाव्यता अध्ययन तथा तत्सम्बन्धी आवश्यक पहल गर्न केन्द्रिय स्तरबाटै पहल गर्न सकिएमा यसले राष्ट्रकै आयमा महत्वपूर्ण टेवा दिन सक्दछ । प्राकृतिक, साँस्कृतिक तथा सामाजिक सम्पूर्ण पक्षमा धनी यस गाविसलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सकेमा यस गाविस तथा छिमेकी गाविसका बासिन्दाहरुले आर्थिक क्रियाकलापमा आफूलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न गराई अत्याधिक फाइदा लिन सक्ने सम्भावना पनि देखिन्छ । समग्रमा भन्नुपर्दा, भौगोलिक विकटताले यस गाविसलाई जति दुर्गम बनाएको छ । यहाँको प्राकृतिक स्वरुपले यसको सौन्दर्यतालाई उत्तिकै मनमोहक बनाएको छ । यहाँको दैनिक जनजीवन कष्टकर त छँदैछ, तथापी यसको आफ्नै वैशिष्ट्यता पनि रहेको छ । हाम्रा विचारमा विकेन्द्रिकरणको गुञ्जायस नहुनाले यसको भौगोलिक विकटतालाई “छुट्टै संसार” को उपमा दिन्छौं तर यसको प्राकृतिक सौन्दर्यता र वैशिष्ट्यतालाई बुझ्नु र बुझाउन सकेमा मात्रै यसको खास रुपलाई हामीले बुझेको कुरा प्रष्ट हुन्छ ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...