Skip to main content

फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

A middle aged man resting on the bed ४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो । 
काउण्टरमा बस्ने युवती स्टाफसँग नियमितजसो मेरो असमझदारी रह्यो । 

म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ? 

डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् । 

म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्दै, उनकै लागि भनि पठाइएको सानो चिर्केटो दिदैँ बोल्छु – सिस्टर, कति भयो ? धेरै बेर सम्म मेरो जिज्ञासाको जवाफ नफर्काइकन एक्कासी झोक्किदै बोल्छिन् – हत्तेरी एकछिन नआत्तिनुस् न ! 

लगभग ती दिनहरु पट्यार लाग्दा पल भएर बितेर गए । बुबालाई डिस्चार्ज गरेर ल्याउने दिनमा त यस्तो लाग्यो – त्यो कुनै अस्पताल होइन् । फगत बिरामी थुप्रो पारेर राख्ने स्थल हो । जहाँ कतिखेर कुन डाक्टर आएर चेकजाँच गर्छ पत्तै हुँदैन् !

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...