Skip to main content

नागरिक, नागरिक सर्वोच्चता र आन्दोलन

प्रदर्शनी मार्गमा आफ्ना कार्यकर्ताहरुलाई भाषण दिएर चित्त पार्ने क्रममा प्रचण्डले बोले – मंसिर ५ गतेसम्म पनि यो कठपुतली सरकारले राष्ट्रपतिको असंवैधानिक कदमका सम्बन्धमा संसदमा छलफल गर्ने वातावरण निर्माण गर्नलाई अटेर गरी नागरिक सर्बोच्चता स्थापनाको यो अभियानमा रोकावट दिन्छ भने त्यसको मूल्य यो सरकारले चुकाउनु पर्छ । म प्रचण्डको भाषणलाई टिभिमा ध्यानपूर्वक सुन्दै र हेर्दै बसिरहेको थिएँ । तब प्रचण्डको चेतावनी मिश्रित भाणणमा मेरी धर्मपत्नीले “नागरिक सर्वोच्चता” भन्ने शब्द सुनिन्, राजनीतिमा खासै चासो नदेखाउने उनले मलाई “नागरिक सर्वोच्चता” को अर्थ सोधिन् । म बिचरालाई त्यसको अर्थ के थाहा ? म विलखबन्दमा परेँ । उनको ट्यान ट्यान रोकिएन् । “नागरिक सर्वोच्चता भनेको बन्द, हडताल, घेराबन्दी र आन्दोलनबाट जनता पिल्सनुलाई भन्या होला ।” उनले आफ्नो सिधा सादा परिभाषा दिएको जस्तो मलाई लाग्यो । मैले केहि बोलिन । हुन पनि अस्ति दुई दिन सम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेराऊ “नागरिक सर्वोच्चता”कै लागि भएको थियो । बिचरा दुरदराजका गाउँबाट यो राज्यले यहाँका जनतालाई निशुल्क दिन सकेको त्यही एउटा नागरिकताको खोस्टोका लागि उनीहरुको आन्दोलनका बारेमा थाहा नपाई सदरमुकाम झरेका नागरिकहरुले दुई दिन त्यसै गोता खानुपर्दा कस्तो महशुस गरे होलान् ? अझ आफूहरुकै सर्वोच्चता स्थापनार्थ चलिरहेको आन्दोलनका बारेमा थाहा नपाउँदा नागरिकता र राहदानी लिन झरेका नागरिकहरुको मन कति कुडिँयोहोला ? भलै जेहोस्, मेरै धर्मपत्निले “नागरिक सर्वोच्चता” का बारेमा बुझेको कुरा यथार्थ हो भन्ने मेरो मान्यता हो । दुई दिनसम्म राज्यसञ्चालनको मुख्य प्रशासनिक केन्द्र घेराऊमा कति नागरिकहरुले सास्ती खेप्नु परेको होला त्यो पनि बिचरा उनीहरु कै सर्वोच्चता स्थापनाका लागि चलेको आन्दोलनका कारण ! अर्कोतिर भाद्र पहिलो सातादेखि अबरुद्ध संसद नखुल्दा अझै बजेट पास हुन नसकिरहेको यस सन्दर्भमा राष्ट्रसेवक कर्मचारी, प्रहरी र सेनाहरुले कार्तिकदेखिको तलब भत्ता नपाउने निश्चित भैसकेको यो समयमा ती राष्ट्रसेवक कर्मचारी, प्रहरी र सेनाहरुको नागरिक सर्वोच्चताका बारेमा किन ध्यान पुर्‍याउँदैनन् प्रचण्ड कुन्नी ! तिनीहरुको तलब भत्ताको कुरा त गोली मार्दिम् । विकास निर्माणका लागि तिर्खाइरहेका करोडौं नेपालीहरुले आ–आफ्ना गाउँघर र क्षेत्रमा परेका योजनाको बजेट पास नभएर निकासा हुन नसक्ने कुरा अनुभूत गरिरहँदा आफ्नो “नागरिक सबोच्चता” कसले बन्धक बनाएको छ भेऊ पाए हुनन् कि नहुनन् ! बडो अचम्मको कुरो छ ! आखिर कुरो जे भए पनि, हरेक दलको अभिष्ट नागरिक सर्वोच्चता नै हुनु पर्छ । यदि सबैको अभिष्ट एउटै हो भने दलहरुको यो व्यवहारले नेपाल र नेपालीको भविष्यलाई कता डोहो¥याउँदै छ, त्यो प्रचण्डले जान्नै पर्ने कुरा हो । गिरीजाले बुझ्नै पर्ने कुरा हो । र, त्यो यो देशको नमुना सरकारका प्रमुख माधवकुमारले सोच्नै पर्ने विषय हो । राजनैतिक दल र नेपाली नेताहरुले खास नेपाली नागरिकहरुको भावनालाई चोट पुर्‍याउने काम गरे भने तिनीहरुले बिर्सनु हुँदैन् संसारको कुनैपनि देशका कुनै पनि जनताले आफ्नो देशमा कुनै किसिमको तानाशाह र निरंकुशता सहन गर्न सक्दैन् । भोली विशुद्ध नेपाली नागरिकहरुले गर्न सक्ने आन्दोलनको तेजले न प्रचण्ड भन्छ, न गिरीजा मान्छ न त माधवकुमार सम्झन्छ । वा, सिधा आँकलन गर्दा, जनताको शक्ति कुनै पनि दल विशेष वा नेता र कार्यकर्ताहरुको भन्दा कयौं गुणा ठूलो हुन्छ । होशियार हैं दलहरु !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...