गाँजा, एक हुल किशोर र नौ टाँका

अध्ययनको शिलशिलामा विदेश पुगेको मेरो एक जना सहपाठीले मलाई अनलाइन कुराकानीमा आफूले त्यहाँ बिताई रहेका केही सम्झनायोग्य पलहरूका बारेमा जानकारी दिदैँ भनेको थियो– “यार ! यादगार क्षणहरू बितिरहेछन्, पढाई पनि त्यहाँ (नेपालको) जस्तो भोकले पेट टाउँसिने गरी लगातार ६–७ घण्टा हुँदैन्, हप्तामा ४ दिनभन्दा बढी कलेज हुने पनि होईन् । एकदम व्यवहारीक र जीवनपयोगी शिक्षण विधी रहेछ यहाँ त !” “तर अस्ति एकजना साथीको बर्थ डे पार्टीमा चाहिँ बबाल भो नि !” उसले मलाई आफ्ना मनका कुराहरू पूरै खुलाउन नचाहे जसरी अपुर्ण जानकारी दिन खोज्दै भन्यो – “भो छोड् यार ती कुरा भनिन् बरु त्यताको खबर के छ सुना मलाई ।” “खासै त्यस्तो त केहि होइन् ....” मैले आफ्नो कुरामा अड्डि कसेपछि अलि अलि अकमकाउँदै उसले घटनाको स–बिस्तार जानकारी गराउन खोज्दै भन्यो – “हामी केही नेपाली, केही श्रीलंकन र इन्डियन विद्यार्थीहरू एक जना श्रीलंकन विद्यार्थी साथीको बर्थ डे पार्टी सेलिबे्रट गर्न भेला भएथ्यौं, एकजना इन्डियन साथीले मातेको सुरमा हाम्रो नेपाली साथीलाई हल्का धक्का दिन पुगेछ, अनि त बबाल भैहाल्यो नि नेपाली साथीले गोर्खे जोशमा एक चार्ज के गरेथ्यो, सानो तिनो लफडा नै भयो ।” “ए हो र ....?” म अलि सशंकित र थोरै रोमान्चित हुँदै उसलाई प्रश्न गर्न पुग्छु – “अनि के भो त ...?” “अरू के हुनु यार..?” घटनाको बारेमा केहि खुलस्त पार्दै उसले भन्यो – “५ मिनेट मै कफ्सहरु आएर हाम्रो नेपाली साथीलाई उठाएर लगिहाले नि ।” त्यसपछि के भो मैले मेरो उक्त साथीसँग खासै बुझ्ने मौका पाइनँ । तथापी म निर्धक्कका साथ भन्न सक्छु, मेरो साथीको त्यो साथीले पक्कै पनि त्यहाँको कानुन बमोजिमको सजाय पाएको हुनु पर्छ । तर केहि दिन पहिले यो सानो बेनीबजारमा केहि गजँडी केटाहरुको एक समूहले एक निर्दोष युवा माथि सांघातिक हमला गर्दा भने मलाई बेनीबासी, संचारकर्मी, पत्रकारबन्धु वा प्रहरी प्रशासनले खासै महत्व नराखेको महशुस भयो । यो लेख तयार पार्ने बखतसम्म घटना घटेको ६० भन्दा बढी घण्टा बितिसकेको थियो र मैले पिडीत इन्द्र बरुवाल वियोगी (मेरो सहपाठी) सँग प्रत्यक्ष भेटघाट गरेर कुरा बुझ्दा घटना घटाउने दोषीहरू सार्वजनिक रुपमा निर्धक्क घुमफिर गरिरहेका थिए । मलाई त्यतिखेर महशुस भयो कि हाम्रो प्रहरी प्रशासन कति निरीह र कमजोर छ । ऊ बेनीमै सञ्चालित म्याग्दी कालि एफ एममा कार्यरत सञ्चारकर्मी पनि हो । तर केहि स्थानीय पत्र पत्रिकाले एउटा विज्ञप्तीको भरमा उसलाई ने.वि.संघ कार्यकर्ताको रूपमा बाहिर चिनाउन खोजे । ऊ कांग्रेस वा ने.बि.संघ कार्यकर्ता भन्दा बढी एउटा आमसंचारकर्मी हो भन्ने मलाई लाग्दछ । ऊ आमसंचारकर्मी भन्दा बढी एक आम मान्छे हो भन्नेमा मेरो विश्वास छ । अझ त्यो भन्दा बढी उसलाई म मेरो माध्यमिक तहको सहपाठीको रुपमा बढ्ता नजिकैबाट चिन्छु । उसले आजका मितिसम्म बिर्सेर पनि त्यस्तो केही आपराधिक काम गरेको जस्तो मलाई लाग्दैन् । सप्पैले बुझ्ने भाषामा उसको परिचय “सोझो केटो” भन्दा फरक पर्छ भन्नेमा म सहमत हुन सक्दिन । परन्तु ऊ कुटियो केही हुल्याहा केटाहरुको समूहबाट । कुटिनु सम्मको घटनालाई एकातिर राखेर हेर्ने हो भने ऊ एउटा संचारकर्मी भएर पनि यहाँका स्थानीय संचारमाध्यमहरूमा खास महत्वको समाचारको विषय बन्न सकेन् । किन हाम्रा संचार माध्यमहरू आफ्नो धर्म अनुसारको कर्तव्य निभाऊन चुके ? मलाई खुल्दुली लागेको छ ! “म आफ्नो कार्यक्रम सञ्चालनका लागि एफ एम स्टेशनति उक्लिदै थिएँ, त्यो भिडबाट आवाज आयो – ओ ए, तसँग गाँजा छ ? यता ले साला .........गाँजा..........! मैले भने – म गाँजा खाँन्न, मसँग गाँजा पनि छैन् । मैले गाँजा छैन् भन्दा पनि उनीहरु मानेनन् । उनीहरुले मलाई घेरे । तर नजिकैको घरको युवाले हकारे पछि उनीहरुले मलाई छाडे । म हतार हतार त्यहाँबाट फुस्किएर हिडेँ । मेरो मोबाईलको घण्टी बज्यो । साथीको फोन रहेछ, उठाएँ । मोबाईलमा कुरा हुँदै थियो, पछाडीबाट केही मान्छे मेरो पछाडी दगुर्दै आएको जस्तो लाग्यो । उनिहरु मलाई अगाडि गाँजा माग्ने केटाहरु नै थिए । मैले साथीसँग बाई नै नभनि मोबाईल काटे । उनिहरु फेरि मलाई गाँजा माग्दै थिए । मैले छैन् भन्दाभन्दै उनीहरुले मलाई आक्रमण गर्न थालिहाले । कसैले पछाडीबाट केहि प्रहार गर्‍यो, म ढलेँ । उनिहरू त्यहाँबाट भागे । केहि समय पछि म उठेर एफ एम कार्यालयको अगाडि आईपुगेँ । मेरो पिठ्युँमा तातो केहि बगे जस्तो लागे पछि कार्यालयको अगाडि बलेको बत्तिको उज्यालोमा हेर्दा त्यो त मेरो बगिरहेको रगत पो रहेछ, म झनै ‘होपलेस’ भएँ .....।” उसले यसरी घटनालाई स–बिस्तार बर्णन गर्दा मलाई लाग्यो, उसले के कारण कुटाई खानु पर्‍यो ? के अब कसैले रात्रीमा आफ्नो काम गर्न नपाऊनु ? कि, रात्रीमा हिड्दा, खल्तिभरी गाँजा कोशेली लिएर हिड्नु पर्ने ? यो कुनैपनि हिसाबले सामान्य घटना हुन सक्दैन् । उसले खाएको पिटाइको नौ वटा टाँकाको घाउ केहि समयपछि निको पनि भएर जाला तर यस्ता घटनाले आजैदेखि प्रश्रय पाउँदै गए भने भोली यिनले कस्तो रुप लेलान् ? कम्तिमा पनि हामी गम्भिर हुनु पर्ने समय आएको छ । अझ विशेष गरी त पछिल्लो पटक बेनीबजारमा सयौं किशोर किशोरीहरू लागूपदार्थको दुव्र्यसनमा फसेका छन् भन्ने कुराको प्रणाम पनि यसले पेश गरेको छ । तसर्थ ः लागूपदार्थको बढ्दो प्रयोगलाई निरुत्साहित गरी यस्ता जघन्य अपराधहरुको न्यूनिकरण गर्न यहाँका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र प्रहरी प्रशासन यस विषयमा आजै गम्भिरताका साथ लाग्न आवश्यक देखिएको छ । राज्यमा कलह, झैझगडा, लुटपाट, कुटपिट जस्ता भय र आतंकलाई नामेट पारी सम्पूर्ण जनताको सुरक्षाको प्रत्याभूति गर्नका लागि जनताकै कर र तिरोबाट उठ्ने रकमबाट तलब लिने सम्बन्धित निकाय यो घटना घट्नुमा कत्तिको जिम्मेवार छ तत्सम्बन्धी छुट्टै बहस छेड्न सकिएला तर सम्बन्धित निकायले यस्ता घटना हुन नदिन र यस्ता घटना घटाउनेहरुलाई उचीत सजाय दिन पछि हट्नु वा चुक्नुले आम नागरिकमा उनीहरु प्रतिको विश्वासमा भने जरुर घट्न जान्छ, जसले समाजको शान्ति व्यवस्थामा कुनै न कुनै हिसाबले दिर्घकालिन असर अवश्य पार्दछ ।

Comments