आफ्नो गाउँमा आफ्नै व्यवसाय

नेपाली युवा युवतीहरू रोजीरोटीका लागि विदेशीरहेको परिप्रेक्ष्यमा एक जना युवा आफ्नै गाउँमा खुल्ला रेष्टुँरा चलाएर बसेको देख्दा मलाई अनौठो लाग्यो । यसपालि आफ्नो कामको शिलशिलामा कार्यक्षेत्र जादै गर्दा सदरमुकाम बेनीदेखि झण्डै ३५–४० कि.मी पश्चिमोत्तर क्षेत्रमा पर्ने ताकम गाउँमा दिउँसो २ बजेतिर पुग्दा यस अघि कहिल्यै नदेखेको दृश्य देख्न पाएँ । ताकम स्वास्थ्यचौकी नजिकै गैर्‍हा भन्ने स्थानमा रहेको एक सार्वजनिक चौतारिमा गाउँ सल्लाह गरी त्यहींका एक स्थानीय २२ वर्षिय युवा अनिल भण्डारीले मःम, चाउमिनका विविध परिकारहरूले पदयात्रीहरूलाई सेवा गरिरहेको देख्दा यस्तो लाग्यो – ईच्छा शक्ति, लगनशिलता र सीप भएको मानिसले स्वदेशमा नै केहि गर्न सक्दो रहेछ । आफ्नो सानो चौतारी रेष्टुरेन्टमा दिनमा कम्तिमा पनि ५०÷६० प्लेट जति मःम चाउमिन बिक्री हुने कुरा हामीलाई सुनाईरहँदा मैले उनको अनुहारमा अनौठो चमकको महशुस गरेँ । भण्डारीले मःम चाउमिनका अलावा चिया, बिस्कुट, चाउचाउ, अण्डा आदि पनि उल्लेख्य मात्रामा बिक्री हुने कुरा सुनाउँदा मलाई पनि कुत्कुति लाग्नु स्वभाविक थियो – आखिर बफ, मटन र चिकन आइटमका लागि उनले मासु कहाँ खरिद गर्दछन् ? पछि थाहा लाग्यो वफ आईटमका लागि आवश्यक वप उनी दरबाङ् बजारबाट ल्याउँदा रहेछन् भने मटन र चिकेन चाहिँ आफ्नै गाउँमा एक अर्का युवक बलबहादुरले खुलाएको फ्रेश हाउसबाट खरिद गर्दा रहेछन् । बाफरे ! एउटा दुर्गम गाउँमा कोही युवा किराना तथा फेन्सी व्यवसायमा, कोही फ्रेश हाउसको धनी, कसैले रेष्टुँरा चलाईरहेको ! मलाई अचम्म लाग्यो । तर, जब मैले एक युवा भण्डारीकै चौपारी मुनी लाईट, छाता तथा जुता मर्मत एवं ब्रोइलर कुखरा विक्री बितरण गरिरहेको देखें, मलाई लाग्यो – यो विकट वस्तीमा युवाहरूले केहि राम्रा प्रयासहरू थालेछन् ।

Comments