Skip to main content

एक बिद्रोही कबिको बारेमा

साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्‍हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” नामङ्कन गरी प्रकाशनमा ल्याए । साहित्यप्रतिको उनको लगाव र कविता लेखनमा रहेको उनको वैशिष्ट्यताको उच्च मूल्याङ्कन गरी उक्त कृति माउण्ट एभरेष्ट आवासीय उच्च मा.वि.ले प्रकाशन गरिदिएको थियो । यतिखेर मलाई, एक व्यक्तिमा हुनुपर्ने व्यवस्थापकिय क्षमता उनीमा पटक्कै छैन् भनिनु उनीप्रतिको सबभन्दा ठूलो न्याय हो भन्ने लागेको छ । नत्र आफ्ना उत्कृष्ट कविता र अन्य साहित्यिक रचनाको पोकोले भरिएका झोला, पाण्डुलिपी कहाँ हरायो, कसरी हरायो भन्ने ख्यालसम्म उनले राख्नु पर्ने हुन्थ्यो । उनले मसँगको थुप्रै भेटमा गुनासो पोखेका छन् – कुन असत्तीले मेरो परिश्रम नै स्वाहा पारिदियो ! तर, मेरो बुझाई छ, एक दुई पाण्डुलिपी चोरिदैँमा उनीभित्रको खुबी रोकिने र समाप्त हुने अवस्थामा थिएन । अतएव ः आफ्नो पहिलो कृति प्रकाशनमा उनले आफ्ना कैयौं पुराना सृजनाहरुलाई सम्झनाको आधारमा पुनर्लेखन गरि समेट्ने प्रयास गरेका छन् । जेहोस् उनीमा रहेको सबभन्दा ठूलो कमजोरी मेरो बुझाईमा, उनले आफ्नो जिन्दगीमा सिक्न नसकेको भनौं वा नचाहेको एउटै कुरा भनेको नै आफ्ना काम र सृजनाहरुको उच्च व्यवस्थापन नै हो । उनका बारेमा लेखिरहँदा, मैले स्नातक गरिरहँदा पढेको एक नाटकको पात्रको अनुभूत गरेको छु । महान नाटककार मोलिएर लेखेको नाटक The Misanthrope को पात्र Alceste को प्रवृतिको नजिक मैले उनको दृष्टिकोण भेटेको छु । नाटकमा पुरुष पात्रको मानव जाति (कुसंस्कार) प्रतिको घृणाको धेरै हद उनको आफ्नो अनुभव हो भन्नेमा मेरो कुनै संशय छैन् किनकी ध्रुवलाल शर्माका थुप्रै कवितामा मैले सामाजिक कुसंस्कार र आफूलाई मानव जाति भएकोमा “जेपनि गर्न पाउने छुट भएको” जस्तो पाखण्डपन देखाउनेहरूका विरुद्ध विरोधका आगो ओकलेको पाएको छु । यसको पुष्टीका लागि मेरो हातमा उनको पछिल्लो कृति “प्रतिच्छाया” छ । र, मैले यो संग्रहमा उनीभित्र रहेको कुसँस्कार विरुद्धको आवाजको प्रष्टिकरणका लागि कविताहरु खोतलिरहनु आवश्यकता नै छैन । संग्रहको पहिलो कवितामा नै उनले “भो भो नसोध मलाई” शिर्षकमा एक महिलाले आफूसँग अन्तरवार्तालाप गर्न आएका संचारकर्मीहरूसँग असहमत हुँदै भनेको भाव छ –

वागिस विगत आफैँ बोल्छ,

मैले केहि बोल्नु छैन्,

दुखाईमा कुल्कनेहरुलाई

 कुनै भेद खोल्नु छैन् ।

कविताको यसरी आरम्भ गरेका उनले कविताभित्र एक सहिदपत्निको व्यथालाई यति तित्ततापूर्वक पोखेका छन् कविता पढ्नेहरुमा एक अज्ञात जोश पैदा गरिदिन्छ – सामाजिक कुसंस्कारको विरुद्धमा आगो ओकल्नलाई !

“धेरैका सिँदुर सहिद भए,

विचरा सहिद !

मालाभित्र मात्र कैद भए”

उनीमा रहेको यस प्रकारको काव्य सामथ्र्य धेरै कममा मात्र हामी पाउन सक्छौं । आफूलाई मन नपर्ने खिस्रिक्क केही भएको उनीभित्रको काव्य सामथ्र्य जुरुक जुरुक भैहाल्छ । अनि कहिलेकाही उनी आफूलाई आफ्नै पहिचानको खोजी गर्न मन लाग्छ । जहिले पनि असहमति र विरोध गरिरहँदा आफ्नो प्रस्तुती समाजमा सधैं निरेपक्षरुपमा पाच्य नहुँदा, उनले आफ्नो पहिचान गुमाएको ठम्माई राख्दछन् । अनि फेरि आफूभित्र आफूलाई खोज्दा फेरि उसैगरी आफूलाई भेट्छन – पीडकका निम्ति बम बन्नुपर्छ पीडितका निम्ति मलम बन्नुपर्छ जहाँ मैले मलाई पाउन सकूँ । घुमिफिरी रुम्जाटार भनेझैं, समाजमा हेपिएका अनि पछाडी पारिएका वर्गबाट उनी आफूलाई कहिल्यै छुटाउन चाहँदैनन् र आफूलाई कुलीन र उच्च वर्ग मान्ने शोषक सामन्तहरुको गरिवपिडक व्यवहारका विरूद्ध युग–युगसम्म लडिरहन प्रेरित गर्नबाट पन्छिदैनन् । हुन पनि उनको पछिल्लो काव्यकृतिमा समेटिएको एउटा कविताको रचनागर्वमा उनले उल्लेख गरेको तथ्यबाट पनि हामी सहजै अनुमान गर्न सक्छौं कि देशमा विद्यमान राजनीतिक संस्कार, प्रवृति र अवस्थाका विरुद्धमा उनमा कति असन्तुष्टि छ । उनले “बूढो चट्टान” कविताको रचनागर्भमा उल्लेख गरेका छन् – नेपालमा लामो समयसम्म जरा गाडेर रहेको सामन्तबादको अन्त्यो भयो तथापि दलका नेताहरुको कायरताले गर्दा सामन्तको नाइके राजालाई ससम्मान दरबार (नागार्जुन) मै स्थानान्तरण गर्न पुगे । सेना दिइयो, कर्मचारी दिइयो, यो दिइयो, त्यो दिइयो ...... र, यही असन्तुटिलाई उनी कवितामा व्यक्त गर्दछन् –

दरिद्र र कायर अगुवाहरु

हरिकङ्गाल भगुवाहरु

 आफ्ना आयतनको दम्भले

हाम्रो अविरल यात्रालाई

दण्डित र खण्डित तुल्याउने चट्टान !

 ससम्मान स्थानान्तरण भयो

वरबाट केहि पर सारियो

चौराहको स्थान बमान पारियो

यसरी समाजमा छरपरष्ट रहेका सामाजिक कुसँस्कार, कुप्रभाव, कुप्रवृती र दबदवाको भण्डाफोर गर्दै एक असल र स्वस्थ समाज निर्माणको सायदै पुरा हुने सपना उनी आफ्नो कवितामा खोजिरहेछन् – ठीक त्यसरी जसरी मोलिएरले लेखेको नाटक The Misanthrope को पात्र Alceste को परिकल्पनामा थियो ! २०६६ माघ २

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...