Skip to main content

आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा

बादल माथि माथि उड्नुको मज्जै बेग्लै ! मलाई आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा अवधीभर महशुस भएको एउटै मात्र सत्य नै यहि थियो । सहकर्मी प्रजु थकान भरिएको निन्द्रा निदाईरहेको बेला म यति लालयित भएर समुन्द्र खोजिरहेको थिएँ कि मेरो वशमा भैदिएको भए समुन्द्र ढाकेर छरिएको बादललाई एकै निमेशमा हटाएर समुन्द देख्ने मेरो प्यास एकै पलमा मेटाउथेँ तर कहाँ सक्नु ? आखिर समुन्द्र देख्नै नपाई CITY HOPPER ले १ घण्टा ५० मिनेटतिर हामीलाई ओश्लो एअरपोर्टको सिधैं माथि ल्याई पुर्‍यायो ।

झ्यालबाट मैले यसो चिहाएको मात्र के थिएँ, हिउँ नै हिउँले छोपिएको ओश्लोको दृश्यले मलाई यति रोमाञ्चित बनाईदियो कि अगाडि समुन्द्र देख्न नपाएको थकथक एकै निमेशमा झ्वाम ! “आहा कति राम्रो” प्रजुको आवाजले मलाई झसङ्गै पारिदियो । उनी पनि त्यो मनमोहक दृश्यले उत्तिकै रोमाञ्चित भएको मैले सहजै अनुमान लगाउन सकेँ । साँच्चिकै जाडो याममा ओश्लोको विशेषता नै हिउँले पुरिनु रहेछ ! उता हाम्रा हिमाल हिउ कंगाल भैरहेका बेला यता मिटरका मिटर हिउँ जमेको देखेर आहरिश पनि लाग्यो । तर मन बुझाउनु बाहेक अर्को उत्तम विकल्प पनि त थिएन् !

मौसमको खराबीका कारण हाम्रो उडान आमस्टर्डमबाटै ढिला भएको थियो । र पूर्व निधारित समयभन्दा दुई घण्टा पछि अर्थात करिब ११ बजेतिर हामी ओश्लो एअरपोर्ट आईपुगेका थियौं । प्लेनबाट उत्रेपछि हामी सिधै आफ्ना झोलाहरु लिन तर्फ लाग्यौ । हामीले आफ्नो लगेज त पायौ तर अब के प्रक्रिया पुर्‍याउनु पर्ने हो थाहा नपाउँदा एकदम अलमलमा परिरहेका थियौं । प्राय एअरपोर्टका कर्मचारीहरु मुश्किलले अंग्रेजीले बोल्दथे । मलाई लाग्यो, उनीहरुलाई आफ्नै नर्वेजियन भाषामा बोल्न गर्व लाग्दछ । उनीहरु अंग्रेजीको अति कम प्रयोग गरिहेका थिए । सायद एअरपोर्टमा बढी नर्वेजियन यात्रुहरुकै चाप भएकाले पनि हुनु पर्छ । अब के गर्ने ? अलमलमा परिरहेका हामीले आगमन शाखामा गएर सोधपुछ गर्ने जमर्को गर्‍यौं । त्यहाँ रहेका सुरक्षाकर्मीलाई सोधिसके पछि हामीलाई थाहा लाग्यो, नर्बे पनि सेन्जेन कन्ट्री भएको र हामी पहिले नै अर्को सेन्जेन कन्ट्री हल्याण्डमा उत्रि सकेकोले यहाँ केही नगर्नु पर्ने रहेछ । हामी सिधैं बाहिरियौं । आगमनको ठ्याक्कै बाहिरपट्टि रहेको प्यासेजमा हामीलाई लिनका लागि एकजना नर्वेजियन साथी हाम्रो नाम लेखिएको प्लेकार्ड बोकेर बसिरहेका थिए, उनले हामीलाई देख्नुभन्दा पहिले नै प्रजुले उनी हामीलाई नै लिन आएको अडकल काटिसकेकी थिइन् । र, म प्रजुकै पछि पछि उनै नर्वेजियन साथीको समीपमा पुग्यौं । परिचय आदानप्रदान भैसकेपछि थाहा लाग्यो हाम्रा नर्बेजियन मित्र हन्सले दुई घण्टा भैसकेको रहेछ हामीलाई पर्खिरहेको ! उनको मुहारमा केहिबेर अगाडिसम्म प्रष्ट देखिने थकान हाम्रो भेटघाट पछि पूरै गायब भैसकेको थियो । उनले हामीलाई एअरपोर्टसँगै रहेको टर्मिनलबाट पब्लिक ट्रेन र बसबाट ओश्लो पुग्ने बताइसकेका    थिए ।

हामी अर्ध भूमिगत टर्मिनलमा हन्स बस्दै आएको होस्टेल रहेको स्थानसम्म पुग्ने ट्रैनको पर्खाइमा थियौं । ट्रैन आइपुग्ने समय अझै बाँकी रहेकाले केही संयुक्त फोटो स्नाप्सहरु लिदैँ र एकअर्कालाई आ–आफ्नो बारेमा अझ बढी परिचित गराएर फुर्सदको उपयोग गर्‍यौं । पश्चिमाहरुलाई अरुको बारेमा उति चासो नहुने र खासै मित्रवत व्यवहार हुँदैन भन्ने सुनेको मैले उनीसँगको साक्षात्कार र उनीसँग मेरो जति समय गुज्रदै थियो, मैले बिल्कुल फरक पाएँ उनलाई । उनले हाम्रो लागि के के गरेनन् । ट्रैनको लागि आवश्यक टिकट निःशुल्क मिलाउनेदेखि नर्वेजियन संस्कृति र विशेषताहरुका बारेमा बताउनेसम्म लगभग उनले एकजना असल मित्रसँग हुने सबै व्यवहारले हामीलाई भुतुक्कै पारे । केही समयको ट्रेनको यात्रा पछि हामी उनी बस्दै आएको एक नीजि होस्टेलमा पुग्यौं ।

अब के खाने ? उनले मिठासपूर्ण आवाजमा सोधे । हामी अलमल पर्‍यौ, के खाने ? के खाने ? उनले पहिला हामीलाई नुहाएर फ्रेश भएपछि मात्र खाजाको छिनोफानो गरौं भनेर प्रस्ताव गरे । हामीले सहजै स्वीकार गर्‍यौ । तर मैले नुहाएर आईसके पछि थाहा पाएँ, हन्सले त अगाडि हामीले उनलाई उपहारका रुपमा दिएको यमयम र वाईवाईलाई नर्वेजियन शैलीमा पकाइ सकेछन् । उनले तयार पारेको चाउचाउ र मिल्क कफि लिदैँ हामी फेरि गफमा निमग्न भयौं । उनले गफका क्रममा आफ्ना बिलकुलै नीजि र पारिवारीक कुराहरु पनि गरे, आफू टुहुरो रहेको र आफ्नी आमाले आफू सानो छँदै आफ्नो बाबालाई छोडेर अर्कैसँग बिहे गरेको प्रसंग, र आफ्नो झड्केलो बाबु (step father) सँग अझैसम्म अति नै हितैषी सम्बन्ध रहेको र बेलाबेलामा उनलाई भेट्न जाने कुराले मलाई अति नै भावुक बनायो । हामी गएकै दिन फ्रेबुअरी १४ भ्यालेन्टाइन डे मात्र थिएन त्यो फ्रेबुअरी महिनाको दोश्रो आईतबार पनि थियो नर्बेजियन संस्कृतिमा जसको छुट्टै महत्व हुन्छ, अर्थात त्यो दिन आमाको मुख हेर्ने दिन (Mother's day) पनि थियो । र, यो कस्तो दुर्भाग्यपूर्ण दिन लाग्यो भने हामीसँग पहिलो परिचित र पूर्ण सहयोगी उक्त नर्बेजियन साथी हन्सको आमाको देहान्त भएको दुई वर्ष भैसकेको उनले हामीलाई बताई सकेका थिए । आमाको मुख हेर्ने दिनका बारेमा बोलिरहँदा र २ वर्ष अगाडि क्यान्सरका कारण देहान्त भएकी आफ्नी प्यारी आमाको सम्झनामा उनले बोलिरहँदा भावानात्मक रुपमा अति नै कमजोर मान्छे म, मेरो भक्कानो छुटेर आयो । आफ्नो बिस्तरासँगै जोडिएर रहेको टेबलमाथि उनले एक युवतीको फोटो देखाउँदै भने – यो मेरो आमाको एउटै मात्र भौतिक चिनो ! त्यो सायद उनको आमाको सबैभन्दा सुन्दर चिनो थियो उनको लागि । उनले मेरो जिज्ञासा बुझ्ने प्रयास गर्दै सोधें – “के सुन्दर छैन् त मेरो आमाको तस्विर ?” मैले सिर्फ यति भने – “यति राम्रो र सहयोगी छोरा जन्माउने आमाको सुन्दरता म विश्वको अर्को कुनै सुन्दर युवतीसँग तुलना गर्न सक्तिन् !”

                                                                                                                                                     क्रमश...

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...