Skip to main content

आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा

बादल माथि माथि उड्नुको मज्जै बेग्लै ! मलाई आमस्टर्डमदेखि ओश्लोसम्मको यात्रा अवधीभर महशुस भएको एउटै मात्र सत्य नै यहि थियो । सहकर्मी प्रजु थकान भरिएको निन्द्रा निदाईरहेको बेला म यति लालयित भएर समुन्द्र खोजिरहेको थिएँ कि मेरो वशमा भैदिएको भए समुन्द्र ढाकेर छरिएको बादललाई एकै निमेशमा हटाएर समुन्द देख्ने मेरो प्यास एकै पलमा मेटाउथेँ तर कहाँ सक्नु ? आखिर समुन्द्र देख्नै नपाई CITY HOPPER ले १ घण्टा ५० मिनेटतिर हामीलाई ओश्लो एअरपोर्टको सिधैं माथि ल्याई पुर्‍यायो ।

झ्यालबाट मैले यसो चिहाएको मात्र के थिएँ, हिउँ नै हिउँले छोपिएको ओश्लोको दृश्यले मलाई यति रोमाञ्चित बनाईदियो कि अगाडि समुन्द्र देख्न नपाएको थकथक एकै निमेशमा झ्वाम ! “आहा कति राम्रो” प्रजुको आवाजले मलाई झसङ्गै पारिदियो । उनी पनि त्यो मनमोहक दृश्यले उत्तिकै रोमाञ्चित भएको मैले सहजै अनुमान लगाउन सकेँ । साँच्चिकै जाडो याममा ओश्लोको विशेषता नै हिउँले पुरिनु रहेछ ! उता हाम्रा हिमाल हिउ कंगाल भैरहेका बेला यता मिटरका मिटर हिउँ जमेको देखेर आहरिश पनि लाग्यो । तर मन बुझाउनु बाहेक अर्को उत्तम विकल्प पनि त थिएन् !

मौसमको खराबीका कारण हाम्रो उडान आमस्टर्डमबाटै ढिला भएको थियो । र पूर्व निधारित समयभन्दा दुई घण्टा पछि अर्थात करिब ११ बजेतिर हामी ओश्लो एअरपोर्ट आईपुगेका थियौं । प्लेनबाट उत्रेपछि हामी सिधै आफ्ना झोलाहरु लिन तर्फ लाग्यौ । हामीले आफ्नो लगेज त पायौ तर अब के प्रक्रिया पुर्‍याउनु पर्ने हो थाहा नपाउँदा एकदम अलमलमा परिरहेका थियौं । प्राय एअरपोर्टका कर्मचारीहरु मुश्किलले अंग्रेजीले बोल्दथे । मलाई लाग्यो, उनीहरुलाई आफ्नै नर्वेजियन भाषामा बोल्न गर्व लाग्दछ । उनीहरु अंग्रेजीको अति कम प्रयोग गरिहेका थिए । सायद एअरपोर्टमा बढी नर्वेजियन यात्रुहरुकै चाप भएकाले पनि हुनु पर्छ । अब के गर्ने ? अलमलमा परिरहेका हामीले आगमन शाखामा गएर सोधपुछ गर्ने जमर्को गर्‍यौं । त्यहाँ रहेका सुरक्षाकर्मीलाई सोधिसके पछि हामीलाई थाहा लाग्यो, नर्बे पनि सेन्जेन कन्ट्री भएको र हामी पहिले नै अर्को सेन्जेन कन्ट्री हल्याण्डमा उत्रि सकेकोले यहाँ केही नगर्नु पर्ने रहेछ । हामी सिधैं बाहिरियौं । आगमनको ठ्याक्कै बाहिरपट्टि रहेको प्यासेजमा हामीलाई लिनका लागि एकजना नर्वेजियन साथी हाम्रो नाम लेखिएको प्लेकार्ड बोकेर बसिरहेका थिए, उनले हामीलाई देख्नुभन्दा पहिले नै प्रजुले उनी हामीलाई नै लिन आएको अडकल काटिसकेकी थिइन् । र, म प्रजुकै पछि पछि उनै नर्वेजियन साथीको समीपमा पुग्यौं । परिचय आदानप्रदान भैसकेपछि थाहा लाग्यो हाम्रा नर्बेजियन मित्र हन्सले दुई घण्टा भैसकेको रहेछ हामीलाई पर्खिरहेको ! उनको मुहारमा केहिबेर अगाडिसम्म प्रष्ट देखिने थकान हाम्रो भेटघाट पछि पूरै गायब भैसकेको थियो । उनले हामीलाई एअरपोर्टसँगै रहेको टर्मिनलबाट पब्लिक ट्रेन र बसबाट ओश्लो पुग्ने बताइसकेका    थिए ।

हामी अर्ध भूमिगत टर्मिनलमा हन्स बस्दै आएको होस्टेल रहेको स्थानसम्म पुग्ने ट्रैनको पर्खाइमा थियौं । ट्रैन आइपुग्ने समय अझै बाँकी रहेकाले केही संयुक्त फोटो स्नाप्सहरु लिदैँ र एकअर्कालाई आ–आफ्नो बारेमा अझ बढी परिचित गराएर फुर्सदको उपयोग गर्‍यौं । पश्चिमाहरुलाई अरुको बारेमा उति चासो नहुने र खासै मित्रवत व्यवहार हुँदैन भन्ने सुनेको मैले उनीसँगको साक्षात्कार र उनीसँग मेरो जति समय गुज्रदै थियो, मैले बिल्कुल फरक पाएँ उनलाई । उनले हाम्रो लागि के के गरेनन् । ट्रैनको लागि आवश्यक टिकट निःशुल्क मिलाउनेदेखि नर्वेजियन संस्कृति र विशेषताहरुका बारेमा बताउनेसम्म लगभग उनले एकजना असल मित्रसँग हुने सबै व्यवहारले हामीलाई भुतुक्कै पारे । केही समयको ट्रेनको यात्रा पछि हामी उनी बस्दै आएको एक नीजि होस्टेलमा पुग्यौं ।

अब के खाने ? उनले मिठासपूर्ण आवाजमा सोधे । हामी अलमल पर्‍यौ, के खाने ? के खाने ? उनले पहिला हामीलाई नुहाएर फ्रेश भएपछि मात्र खाजाको छिनोफानो गरौं भनेर प्रस्ताव गरे । हामीले सहजै स्वीकार गर्‍यौ । तर मैले नुहाएर आईसके पछि थाहा पाएँ, हन्सले त अगाडि हामीले उनलाई उपहारका रुपमा दिएको यमयम र वाईवाईलाई नर्वेजियन शैलीमा पकाइ सकेछन् । उनले तयार पारेको चाउचाउ र मिल्क कफि लिदैँ हामी फेरि गफमा निमग्न भयौं । उनले गफका क्रममा आफ्ना बिलकुलै नीजि र पारिवारीक कुराहरु पनि गरे, आफू टुहुरो रहेको र आफ्नी आमाले आफू सानो छँदै आफ्नो बाबालाई छोडेर अर्कैसँग बिहे गरेको प्रसंग, र आफ्नो झड्केलो बाबु (step father) सँग अझैसम्म अति नै हितैषी सम्बन्ध रहेको र बेलाबेलामा उनलाई भेट्न जाने कुराले मलाई अति नै भावुक बनायो । हामी गएकै दिन फ्रेबुअरी १४ भ्यालेन्टाइन डे मात्र थिएन त्यो फ्रेबुअरी महिनाको दोश्रो आईतबार पनि थियो नर्बेजियन संस्कृतिमा जसको छुट्टै महत्व हुन्छ, अर्थात त्यो दिन आमाको मुख हेर्ने दिन (Mother's day) पनि थियो । र, यो कस्तो दुर्भाग्यपूर्ण दिन लाग्यो भने हामीसँग पहिलो परिचित र पूर्ण सहयोगी उक्त नर्बेजियन साथी हन्सको आमाको देहान्त भएको दुई वर्ष भैसकेको उनले हामीलाई बताई सकेका थिए । आमाको मुख हेर्ने दिनका बारेमा बोलिरहँदा र २ वर्ष अगाडि क्यान्सरका कारण देहान्त भएकी आफ्नी प्यारी आमाको सम्झनामा उनले बोलिरहँदा भावानात्मक रुपमा अति नै कमजोर मान्छे म, मेरो भक्कानो छुटेर आयो । आफ्नो बिस्तरासँगै जोडिएर रहेको टेबलमाथि उनले एक युवतीको फोटो देखाउँदै भने – यो मेरो आमाको एउटै मात्र भौतिक चिनो ! त्यो सायद उनको आमाको सबैभन्दा सुन्दर चिनो थियो उनको लागि । उनले मेरो जिज्ञासा बुझ्ने प्रयास गर्दै सोधें – “के सुन्दर छैन् त मेरो आमाको तस्विर ?” मैले सिर्फ यति भने – “यति राम्रो र सहयोगी छोरा जन्माउने आमाको सुन्दरता म विश्वको अर्को कुनै सुन्दर युवतीसँग तुलना गर्न सक्तिन् !”

                                                                                                                                                     क्रमश...

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...