Skip to main content

कल्पनाभन्दा केहि पर ः बेनीदेखि सोर्मार्कासम्म

चार पाच घण्टाको आराम पछाडि हन्सले हामीलाई हाम्रो गन्तव्य स्थल सोर्मार्कामा जाने समय भएको बताए । मनमा अनेकन जिज्ञासाहरू उठिरहेका थिए । एक प्रकारको कौतुहुलता मनमा जागिरहेको थियो । हवाई यात्राको सम्पूर्ण थकान ओश्लोका सडकमा हिडिरहँदा त्यहाँ भएको हिउँको दृश्यले सम्पूर्ण रुपमा नामेट भएको अनुभूति भैरहेको थियो । तथापि बादलले टम्म ढाकिएको आकाशबाट सूर्यको छिद्र ताप मात्र हामीसम्म आइपुगेको थियो । हामीलाई एकदम समयभित्र बस टर्मिनलसम्म पुग्नु आवश्यक थियो । तर हिउँले चम्किरहेका ओश्लोका सडक, पुल, भवन, उद्योग, स्टेडियम, मार्केट स्क्वायर अनि वनलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने अवसरलाई मैले हतास मुडमा गुमाउन चाहिन । मेरो अनुरोध पछि हन्स र प्रजुहरु पनि तस्विर लिन राजी भए । त्यो जेब्रा क्रसिङ्ग थियो र म जेब्रा कसिङ्ग पार गर्नै लाग्दा एउटा कार आएको देखिएपछि टक्क रोकिए । कार आफ्नो गतिमा आइरहेको थियो । तर अचम्म कार रोकेर, चालकले पहिला मलाई बाटो पार गर्न इशारा दिए । म छक्क परेँ त्यहाँको सडक अनुशासन देखेर । हाम्रोमा सवारी हाक्नेहरू सडकका सर्वेसर्वा मानिन्छन् । मानौं सडक खाली नहुन्ज्याल वा ढुक्कसँग सडक पार गर्न सक्छु भन्ने आत्मविश्वास मनमा उत्पन्न नहुन्ज्याल हामी पैदल यात्री सडकको एक किनारामा किञ्चित उभिराखेको हुनुपर्छ, लाग्छ हाम्रा कुनै गन्तव्य नै छैनन् ! जे जति गन्तव्य छन् वा जे जति व्यस्त छन् सवारीमा सवार मानिसहरू मात्र ! पैदलयात्रीलाई फुटपाथमा हिड्ने बाहेक केही कहिल्यै सोचिदैन् । अर्थात हामी पैदलयात्रीहरू सवारीमा सवारहरुका लागि फुटपाथे बाहेक अर्थोक केहि होइनौं ! सडक पार गरी आकाशे पुलमा पुगेर एउटा तस्बिर नखिचुन्जेल मेरो दिमागमा जेब्रा क्रसिङ्ग, दु्रत गतिको कार, मलाई पहिला बाटो पार गर्न इशारा गर्ने ती ड्राइभर र मैले पालन गर्न खोजेको मैले सिकेको मेरो सडक अनुशासन एकतमास मनमा नाचिरह्यो । हामी रेल टर्मिनलमा आईपुगि सकेका थियौं । त्यहाँको दृश्य\परिदृश्य देखेर म छक्क परेँ । के थिएन त्यो टर्मिनलमा ? सपिङ्ग मलदेखि रेष्टुँरा सम्म, मनि एक्सचेन्जदेखि साइबर क्याफेसम्म । हामी त्यहाँ केहि समय साइबर क्याफेमा समय व्यतित गर्न छि¥यौं । हन्सले हामीलाई क्याफेमा छोडेर हाम्रो गन्तब्य सम्मका लागि बस कुन स्टपबाट लाग्छ भन्ने बुझ्नका लागि कतै गएका थिए । लगभग २० मिनेट पछि उनी हामी भएको ठाउँमा फर्केर आए । र, हामीसँग अझ अरु केहि घण्टा बाँकी रहेको बताए । त्यतिन्जेलसम्म हामीलाई मज्जासँग साइबर संसारमा रम्न सकिने बताउँदै हाम्रा लागि केहि खानेकुरा लिन गए । हाम्रा जति जति पलहरु उनीसँग गुज्रदै थिए, उनी त्यति त्यति नै हाम्रा असल र सहयोगी मित्र भएको महशुस हामीलाई हुँदै गएको थियो । केहि समयपछि उनी हातभरी नर्बेजियन मिठाईहरु लिएर हाम्रो सामु आए । हामी तीनै मिठाई खाँदै पूरा नभएको आफ्नो अनलाइन कोर्स पूरा गर्न तर्फ लाग्यौं । र, उनी त्यही अनलाइन कोर्स पूरा गर्नका लागि राती अबेरसम्म बसेको बताउँदै केहि छिनका लागि मस्त आराम गर्न तर्फ लागे । सोर्मार्कासम्म लाग्ने बसका लागि बस स्टप पुग्न त्यहाँबाट करिब २० मिनेटको पैदल यात्रा लाग्ने कुरा बताउँदै अब त्यसतर्फ जानु पर्ने बताउँदै उनी हतारिन थाले । हामी चाहिँ क्याफे काउन्टरमा रकम भुक्तानी गर्ने चटारोमा थियौं । क्याफे सञ्चालकले लगभग तीन घण्टाजति नेट प्रयोगको लागि ३२० क्रोनको हिसाब देखाए । र, भुक्तानीको रकम क्रोनमा बाहेक अरुमा नहुने पनि जानकारी दिए । तर हामीसँग यूरो र डलर बाहेक अरु केहि थिएन् । मैले मनमनै हिसाब निकाले प्रति घण्टा नेपाली एकहजार भन्दा केहि सय बढी ! त्यो रकम पनि उनै हन्सले तिरिदिए । हामीले पछाडी नर्बेजियन क्रोन साटेपछि उनलाई त्यो रकम फिर्ता गर्न खोज्यौ, अहँ उनले त्यो रकम फिर्ता लिन मानेनन् । म बढो विस्मयमा परे, यो कस्तो साथी भेट्यौ हामीले ? देवदूत त होइनन् यी साथीको भेषमा ! हामीहरूले मान्छेले लगभग खचाखच भएको टर्मिनललाई छाडेर बिस्तारै सुनसान सडकहुँदै बस स्टपसम्मका लागि आफ्नो यात्रा शुरु गरिसकेका थियौं । सायद कामबाट फर्कने समय भएको भएर पनि होला सडकमा मान्छेहरुको चाप अलि बढी नै देखिएको थियो । करिब १५–२० मिनेटको पैदल यात्रा पश्चात ः हामीहरू बसस्टपमा आईपुगेका थियौं । र, त्यो सोर्मार्काका लागि अन्तिम बस थियो । बस आइपुग्न अझ केहि मिनेट बाँकी रहेकाले हामीले केहिसमय बस स्टपमै बिताउनु पर्ने भयो । यसैबिचमा मलाई चर्पिको आवश्यकता बोध भएपछि हन्सलाई चर्पि खोज्न सहयोग मागे । उनले मलाई शौचालय भएको स्थानसम्म पुर्‍याए । तर अचम्म चर्पिको त्यो विद्युतिय ढोकाबाट छिर्नु भन्दा पहिले एउटा सिक्का निर्दिष्ट गरिएको स्थानमा छिराउनु पर्ने रहेछ । हन्सले थुप्रै पटक प्रयास गरे, तर ढोका खुलेन् । मलाई यता अति नै भैसकेको थियो । जुन कुरा उनले मेरो भावभंगिमा देखेर अड्कल काटिसकेको हुनुपर्छ ! सायद ममा बढ्दै गएको असहजतालाई बोध गरेर हुनुपर्छ उनी झन हतारमा थिए । केहि समय पछि उनले पत्ता लगाए, त्यहाँ त १० क्रोनको सिक्का चाहिँदो रहेछ ! तर दुर्भाग्यवश ः उनीसँग १० क्रोनको सिक्का उपलब्ध थिएन् । उनले शौचालयमा आएका एक नर्वेजियन युवालाई आफ्नै भाषामा केहि भने, उसले २ वटा सिक्का दियो । हन्सले उसलाई एउटा अर्को सिक्का दिए । त्यो युवकले दिएको एउटा सिक्का निर्दिष्ट गरेको स्थानमा राखिसकेपछि उनले मलाई ढोकातर्फ जान औल्याए । र, म सरासर शौचालयभित्र छिरे । शौचालयभित्र थुप्रै तर्कनाहरु आउने जाने भई नै रहे । सबै थोक यसरी कति व्यवस्थित गर्न सकेका यिनीहरुले ? यिनीहरुले विकासमा कत्रो उन्नती गरेका भन्नेको सानो उदाहरण हाम्रा लागि यिनका शौचालय पनि हुन सक्लान् भन्ने मैले जिन्दगीमा अझैसम्म एक पटक पनि चिताएको थिइन् । शौचालयबाट निस्कनु अघिसम्म मलाई लाग्यो, हामी सगरमाथाको उचाई र लुम्बिनीको ऐतिहासिकतामा गर्व गर्नु सिवाय विकासका आधुनिक पाटाहरूलाई किन नजिकैबाट स्पर्श गर्न सकिरहेका छैनौं ?! हन्स म आउने प्रतिक्षामा ढोकाबाहिर यताउति गरी समय टोपलिरहेका रहेछन् । हामी बसस्टपमा अन्तिम प्रहरमा थियौं । बस तोकिएकै समयमै स्ट्याण्डमा आईपुग्यो । हामी हतारिदैं बसभित्र छिर्‍यौं । फेरि पनि हन्सले हामी दुईजनाको लागि १०० क्रोन खर्च गर्नु पर्‍यो । बसभित्र हामीले उक्त तालिमका लागि सहभागिताका लागि जान लागेका अर्का दुई नर्वेजियन युवतीहरू पनि भेट्यौ, क्याथ्रिन र एली ।
क्रमश ...

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...