Skip to main content

ढोरपाटन, स्वतन्त्र प्रेस र जलेको खबर

नेपाली राजनीतिमा प्राय ः बहसको विषय बन्छ, स्वतन्त्र प्रेस । र, प्रेसलाई स्वतन्त्र रुपमा चल्न अघोषित बन्देज लगाएका छन् — राजनैतिक दल र तिनका भातृ संगठनहरुले । चाहे माओवादी हुन, चाहे एमाले वा ती कांग्रेसी किन नहुन, जब कुनै पत्रिकाले तिनका बिरुद्धमा लेख्ने साहस गर्दछ । उनीहरुलाई लाग्दो हो, यल्ले चुरीफुरी देखायो । यल्ले हाम्रो विषयमा लेख्ने दुस्साहस गर्‍यो । अझ कतिलाई त यस्तो पनि लाग्दो हो, हाम्रा विरुद्दमा लेख्ने त्यो नाथे को हो ?
जब प्रकट जेल पर्‍यो, पत्रिकाहरुमा खैलाबैला शुरु हुन थाल्यो । सामान्य मान्छे युनिटिकै कारणले जेल परेको भए यति धेरै खैलाबैला पक्कै हुने थिएन । ऊ त बागलुङ बजारमा सामाजिक प्रतिष्ठा कमाएको युवा थियो । पत्रिकाहरुमा समाचार आउनु, टिकाटिप्पणी हुनु ठूलो कुरो होईन । कम्तिमा पनि प्रकटले के गरिरहेछ? कहाँ छ? भन्ने सुचना त मान्छेहरुले थाहा पाए नि । तर दुःख लाग्दो कुरो, समाचार छापेकै विषयलाई लिएर बाग्लुङका कांग्रेसी बन्धुहरुले ढोरपाटन दैनिक जलाएछन् । 
सम्झना अझै ताजै छ, जीवनभर आलोचित तर मरे पछि युगपुरुष, महान नेता आदि विशेषणले सुशोभित सबैभन्दा बढि प्रधानमन्त्रि हुन सफल अर्थात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला नै एकमात्र यस्ता नेता थिए, जसले सर्बाधिक चासो दिएको विषय थियो — स्वतन्त्र प्रेस । तर आज उनकै अनुयायीहरुले यसो गरेभन्दा त्यो हरहालतमा शोभनिय लागेन मलाई । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पत्रिकाहरुले उनका विरुद्दमा जेहाद छोडेका थिए । तत्कालिन परिस्थितीमा सर्बाधिक शक्तिशाली राजाले त केहि गर्न सकेनन भने आठदस जना माछेहरुको झुण्डले पत्रिका प्रकाशन नै ठप्प होला त ? यसको मतलब के एक अंक ढोरपाटन जल्दैमा अब समाचारको उत्पादन र सम्प्रेषण बन्द होला त?
मैले यतिखेर सम्झेको छु । तीतो यथार्थ लेख्दा म घेरिएको थिएँ, बेनी बजारमा । पचासौंको संख्यामा शारीरिक कारबाही गर्ने भनेर आएका थिए, उनीहरु । खै, मैले लेख्न छाडिन । मस्तिष्कले सोचिन्जेल र औंलाले कलम चलाईन्जेल कुनै पनि सृजनशील मानिसले लेख्न छोड्दैन भन्ने कुरो सबैले हेक्का राखे हुन्छ । मलाई याद छ, प्रकटले दिव्यदृष्टि साप्ताहिकमा लागूपदार्थ दुव्र्यसनीका बारेमा एउटा रिपोर्ट छापेका कारण झण्डै पिटिएका थिए । तर उनले लेख्न छाडेनन् । त्यसपछि झन उनले लागूपर्दाथ दुव्र्यसन र यसमा फसिएकाहरुको बारेमा थुप्रै रिपोर्टहरु तयार पारे । मलाई लाग्दैन, पत्रिकहरु जल्दैमा, पत्रकारलाई धम्की आउँदैमा वा पत्रिकाको कार्यालय तोडफोड हुँदैमा जनतालाई सूसुचित गर्ने कुरामा पत्रिकाहरु पछि पर्छन । 
हाम्रोमा त यस्तो संस्कार बस्यो कि कसैले केहि गलत ग¥यो भने केही बोल्नै नपाउने । प्रकटले कुन हदसम्मको गल्ती गरेको हो, त्यसको सजाय के हुने? त्यो मलाई थाहा भएको विषय रहेन । तर उसको समाचार छापियो र ऊ एक जना कांग्रेसको क्रियाशिल व्यक्ति भएकै आधारमा कांग्रेसका अरु बफादार कार्यकर्ताहरुले पत्रिका जलाउनुको आशय के हुन सक्ला ? के कुनै पनि राजनैतिक दलमा भएको व्यक्तिले जे गरेपनि हुने छुट छ ? मेरो आशय के हो भने उसको गल्ती प्रमाणित भएमा ऊ कानुनभन्दा बाहिर रहनै सक्दैन् । कोहि पनि व्यक्ति कुनै पनि राजनैतिक दलको संरक्षणमा रहेर राज्यको शासन व्यवस्थालाई च्यालेन्ज गर्न स्वतन्त्र छैन । त्यसैले मेरो आग्रह यत्ति हो कि, अन्य दलले स्वतन्त्र प्रेसको घाँटी निमोठे भनेर कुर्लनेहरुले अब आफ्नो कामलाई के भन्ने ?

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...