Skip to main content

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालाई लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलाई स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलाई दिमागले हैन दिलले पढिदिनु होला ।

नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलाई भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलाई नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी.सरकोमा पुग्ने र हातमा बाँधेको पट्टीको रहस्य बुझ्ने हो भन्ने हुत्हुति चलिरहेको थियो । तर यता साथी भने कामबाट मुक्त भइसकेकै थिएनन । प्रत्येक महिनाको पहिलो शनिबारको सन्ध्याकालिन समयको मेरो जीवनमा छुट्टै महत्व छ । र, वश्लोमा यो पटकको कुनै पनि महिनाको पहिलो शनिवारको सन्ध्याकालिन समय जुन मैले बिताउँदै थिएँ, त्यसको फेरि छुट्टै महत्व थियो । मेरो सम्झनामा अझै ताजा छ, बेनीमा छँदा म फुर्सदिलो भएसम्म प्रत्येक महिनाको पहिलो शनिवार न्यू वेष्ट प्वाइन्टको प्राङ्गणमा आयोजना गरिने सन्ध्याकालिन काव्यिक भेटघाटमा पुगेको हुन्थेँ । र, आफूले लेखेको रचना अरूलाई र अरूले लेखेको रचना आफूले सुन्ने/सुनाउने काम हुन्थ्यो । सेप्टेम्बरको त्यो पहिलो शनिबार मेरो काब्यिक सरिता सन्ध्याध्वनीमा बगिरहेको थिएन तथापि मेरो काब्यिक दिलले केही महशुस गर्यो । एउटा यस्तो पीडा कि सुन्दर घरसंसार निर्माणका लागि एक आम नेपाली बिदेशी भूमिमा कसरी जोतिरहन विवश छ । लाचार छ । उसँग सपनाहरू छन् आफ्नै । तर लाग्छ, एक/एक क्रोनर जोगाउनु बाहेक वश्लोको यो ठन्डामा उ एक नेपालीको अर्को कुनै सपना छैन । मेरो साथी रामचन्द्रले नर्वेमा संघर्षरत नेपालीहरूको एक प्रतिनिधि पात्रको भूमिका निर्वाह गरेको बुझ्नलाई मलाई समय नै लागेन । ६ बजेसम्म भनि काममा आएका कारण विशेष कारणवशः १ घण्टा बढि काममा खटिनु पर्यो, त्यो दिन ।

प्रत्येक शनिबार हाट लाग्ने त्यो पुलमुन्तिर उनको साहुले कपडाको पसल राख्छ, त्यो एकदिन भरी । र, आज रामचन्द्र त्यहाँ पैसाका लागि हैन साहुलाई सहयोग गर्नका लागि आएका थिएँ । उनले स्टोभनर जाने बखत थेवानमा मलाई धेरै कुराहरू सुनाए । साहुलाइ खुशि पार्न सक्दा आफूलाई कतिधेरै लाभ हुन्छ र त्यो लाभ प्राप्तिका लागि आफूले कुन हदसम्मको खुशिहरूलाई हत्या गर्नु पर्ने हुन्छ । उनले त्यो सुनाइँरहदा मलाई झल्याँस्स याद आयो, उनले काम गरिरहँदा उनको मोबाइलमा मिस कल आएको थियो । तर उनले चुपचाप काम गरिरहेका थिए । त्यो मिसकल हेर्ने फुर्सदसम्म निकाल्न सकिरहेका थिएनन । मैले सोधेँ – साँच्ची तपाइँको मोबाइलमा मिस कल आएको थियो नी । किन नहेर्नु भएको ? सायद जि.सी. सरको पो हो कि ? 'कहाँ जि.सि.को हुनु ? कन्फर्म मेरो बुढिको हो नी । मैले हेर्न त हेरेको छैन । तैपनी मेरो बुढिको हो भन्नेमा म कन्फर्म छु ।' मिस कल हेर्दै नहेरी उनले कन्फर्म गरेको मलाई मन परिरहेको थिएन । उनले आफ्नो मोबाइल निकाले र मिसकल हेरेँ । अनि सुनाए – 'मान्छे यहाँ के कति काम गरिरहेको हुन्छ, थाहा छैन ? काम न काज मिस कल हान्छन् बस्छन् ।' नभन्दै त्यहाँ मिसकल २ वटा रहिछन्, एउटा उनको बुढीको, अर्को कलेज पढ्दै गरेको भाइको । भोलि गर्नुपर्ला भन्ने कुरा सुनाउँदै । पूर्ववत उनी मसँगको वार्तालापमा फर्किए । थोएनबाट २४ मिनेट जतिको थेवानसँगैको यात्रामा हामी स्टोभनर ओर्लिसकेका थियौ । ३ मिनेटको ठाडो उकालो चढेपछि हामी जि.सि. सरको कोठामा पुग्यौ ।

टेबलमा आफ्नो घाइते हात बिसाइरहेको अवस्थामा अति नै थकित तर चकित अनुहार लिएका जि.सी. सरलाई भेटेपछि नमस्कार गरी मैले सोधेँ- सर, सन्चै ? 'ठ्याक्कै मेरी श्रीमतीले प्रत्येक टेलिफोन वार्तालापको सबभन्दा शुरूमा गर्ने प्रश्न सोध्नुभयो नीराजन भाइ तपाइँले ।' मलाई अचम्भित पार्दै उनले जबाफ दिए, 'तर यो बखत तपाइँको यो प्रश्नको ठ्याक्कै त्यहि झुटो जबाफ मसँग छ, जुन मैले मेरी श्रीमतीलाई भन्दै आएको छु । अर्थात मेरो यो झण्डै छिनिएको तर अप्रेशन गरिएको औलाको दुखाईलाई जबरजस्ती भुलेर मैले भन्दै आएको छु, हो म सन्चै छु । अनि तिमीलाई नि ?' मैले यो जबाफ पाउँला भनेर कल्पना समेत गरेको थिइँन । तथापि विदेशी भूमीमा घाइते मन लिएर बाँचेको मान्छेसँग यो भन्दा उपुक्त जबाफ हुन्छ भनेर मलाई लागेको पनि थिएन । चुपचाप उनको व्यथित सुस्केरालाई मैले सुनेको मानेँ । म भावनात्मक रूपले अति नै कमजोर मान्छे उनको जवाफले मलाई झन विश्मयमा पारिदिएको थियो । मलाई एउटा मौका मिलेको महशुस पनि भयो । कम्तिमा अब उनलाई त्यो सबैथोकको रहस्य खुलाउनै पर्ने बाध्यता मैले खडा पार्न सक्ने मार्गप्रशस्त भएको थियो । र, मैले उनलाई उनको व्यथा नबाँडि चुपचाप रहने मौका नै दिइनँ । उनी बाध्य भए । र, त्यो दुःखद दिनलाई एकपटक फेरि सम्झन ।

'नियमित काममा जाने क्रममा, त्यो दिन पनि म पिज्जा रेष्टुरेण्टमा पुगेको थिएँ । तलबाट पिज्जाका लागि मैदा हालेर माथि पठाउने काम गर्दै थियो मेरो साथि । तर मेरो 'कन्सट्रेशन' मैले 'लुज' गरेछु । अचानक मेरो औला मेशिनमा अल्झियो । पछि हेरे सानो छालाको भरमा मेरो बाँया हातको यो बुढी औला झुण्डिरहेको पाएँ । मलाई सबभन्दा ठूलो अफशोच मेरो बाँया हातको बुढी औला च्यापिनुमा लाग्यो । मैले एकैपटक सम्झे, म कलमजीवि मान्छे ।' अति भावुकताका साथ बायाँ हाते उनले दुखेसो सुनाउँदै गए, 'जब मेरो लेख्ने औला नै अब चुडिनका लागि ठिक्क परेको छ, मेरो बाँच्ने आधार के ? म त्यो बाहिरको सानो छालाको त्यान्द्रामा झुण्डिएको औला बोकेर कोठामा आए । अनि भक्कानिएर रोएँ । मैले सम्झेँ, म अवैध मान्छे । म कालो मान्छे । नर्वेको उपचार पद्दतिमा मलाई ठाउँ छैन । ममा भयानक 'स्ट्रेश' पैदा भयो । तीन घण्टासम्म त्यो चुढिन लागेको औलाबाट जति रगत बग्यो त्यो भन्दा धेरै गुणा आँशु बगे मेरा आँखाबाट । म लाचार थिएँ । म निरीह थिएँ । साथीहरूलाई सम्पर्क गरे । केहिले कल रिसिभ गरे त कतिले त्यो कल रिसिभ गर्ने फुर्सद सम्म पाएनन । गोजीमा ४ हजार क्रोनर थियो, मेरो । तर म जस्तो अवैध कामदारका लागि जटिल उपचार पद्दति भएको नर्वेमा त्यो पैसाले एउटा छेउ पनि हुँदैन भन्ने मलाईलागिसकेको थियो । जसोतसो ह्यान्डसअप नै गरेर भएपनि उपचार जरूरी थियो । त्यसैले बाग्लुङका बिष्णुभाइसँग सल्लाह गरेर म क्लिनक जाने निधोमा पुगेँ । मलाई लाग्यो दाहिने हातको बुढि औला हुन्थ्यो भने म त्यो छालाको सानो त्यान्द्रोलाई उही काममै भएका बेला चुडाइदिने थिएँ । तर त्यो मेरो लेख्ने हातको औलाको थियो । र, मैले त्यो हदको मुर्खाइ गर्ने दुस्साहस गरिनँ ।' किञ्चित भाव लिएर आफ्नो प्लाष्टर गरेको हातलाई हेर्दै उनले थपे, 'यो परदेश, अवैध जिन्दगी र निरीहपनले मान्छेलाई कतिसम्म हतोत्साही गराउँदो रहिछ भन्ने कुराको राम्रो अनुभव मलाई त्यो दिन भयो ।'

औला चस्केपछिको उनले निकालेको सुस्केराले मेरो मुटुलाई चिस्याइदियो । कति पीडा भएको होला, बिचरा ? मैले जिज्ञासा राख्न मात्र सक्थेँ तर उनको दुःखाईलाई कम गर्ने सञ्जिवनी मसँग कहाँ हुनु ? मलाई यो कुराले निकै दुःखायो । म उनलाई लाचारपूर्वक सुनिरहेको थिएँ । र, त्यो बाहेक मसँग अर्को विकल्प समेत थिएन । अझ बढि दुखित हुँदै उनले सुनाए, 'क्लिनिकमा एक्सरे गरेर अप्रेशन गर्नु पर्ने कुरो सुनायो । औलामा ब्यान्डेज लगाइदिएर, हस्पिटल जानलाई रिफर गर्यो । मलाई लाग्यो अब ठूलो आपत लाग्दैछ । स्लोभोनीयामा पढ्न आएको म मास्टर्स गरेपछि यहाँ आएर काम गर्न थालेको केहि महिना भइसकेको थियो । मलाई त्यसरी काम गर्ने अनुमति छैन् यहाँ ? अब औला कसरी यस्तो भयो भन्ने ? मनमा ठूलो द्धिविधा आइपर्यो । मैले डाक्टरलाई कन्भिन्स गरेँ । म स्लोभोनियमा पढ्दै गरेको र छुट्टीमा साथीलाई भेट्नका लागि वश्लो आएको । र, बाथरूमको ढोकामा नराम्रोसँग औला च्यापिएको कुरा सुनाएँ । तर डाक्टर पत्याउनै मान्दैन । आफू नेपाली भएको र झुटो बोल्न नजानेको बताएपछि । उ केहि आश्वस्त भयो । कारण केही वर्ष पहिले उ नेपालमा गएको रहेछ । र, नेपालीहरू इमान्दार छन् भन्नेमा उ ढुक्क रहिछ । (तर नेपालीहरू कति बेइमान हुन विवश छन् विचरा उसलाई के थाहाःलेखक) औलाको ब्यान्डेज खोल्दै, फेरि मलाई झुटो बोल्नु पर्ने बनाउँदै उसले मेरो स्वास्थ्य सम्बन्धि बिमाका बारेमा जान्न चाह्यो । मैले भनिदिएँ, ती सबै स्लोभोनियमा बस्दै आएको होस्टेलमा छाडेको छु । एक्सरे पछि अप्रेशन गर्नु पर्ने भएको बताउँदै, ३० हजार क्रोनर खर्च लाग्ने सुने पछि मेरो सातोपुत्लो उड्यो ।' त्यतिन्जेलसम्म रामचन्द्रले चिया तयार पारेर ल्याइसकेका थिए । हामीले एक एक कप समात्यौ र चियाको चुस्की लिन शुरू गर्यौ । उनले आफ्नो यर्थाथ तर एउटा विस्मयकारी पीडालाई सुनाउँदै गए, 'तर जेहोस, विष्णुभाइ, रामचन्द्रजी र मिनदाई जस्ता सहयोगी साथीहरूको सहयोगले ३० हजार सापटी खोज्न सकियो । र, मेरो उपचार सम्भव भयो । तर अप्रेशन पछिका दिनहरू अझ जटिल बन्न थाले । उपचारमा पैसा सबै सिद्दिसकेको पीरभन्दा पनि नुहाउने, पकाउने, खाने, कपडा लगाउने र जुत्ताको तना बाँध्ने जस्ता साना तर महत्वपूर्ण कामहरू कसरी गर्ने भन्ने गहिरो चिन्ता मनमा पर्यो ।' सिडि प्लेयरमा सानो आवाजमा बजिरहेको भ्वाइलिनको पीडादायक संगितको पृष्ठभूमीमा आँशु लिदै आँखाभरी उनले भने, 'यस्तो बेला साँच्चीकै श्रीमतीको बढि अभाव महशुस हुँदो रहेछ । आमाको यादले सताउँदो रहेछ, नीराजन भाइ । यस्तो पनि के जिन्दगी ? कस्तो जीवन बाँचिरहेको छु म आखिर ? मनमा यस्ता अनेकन निराश भावनाहरूले मनमा डेरा जमाउन थाले । शरिर त घाइते औलाको चस्काइ सहन नसकेर दुखिरहेकै थियो, जब मननै घाइते हुन थाल्यो अब दिल दुख्न शुरू गरेको छ, भाइ । धन्न ३/४ हप्ता पछाडी म ग्राफिक्स डिजाइनको मेरो पार्ट टाइम काममा फर्कन सकेँ । अनि 'पेन्नीलेश' जीवन ज्यूँनबाट छुटकारा पाएँ । अझैपनि मन पोलिरहन्छ, कहिले म पूर्ण स्वस्थ हुन्छु र साथीहरूले उपचारमा सापट गरेको पैसालाई चुक्ता गर्न सक्छु ।' यसपछिको बाँकी कुरा अर्को दिन ।

Comments

  1. Really I love my idle person Krishna gc.My heart is brokedown and it makes tear by heart not only eyes ,I think that it is a representative real story of nepalies.how can I express empathy toward them...Mohababu12@yahoo.com

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...