Skip to main content

रिसोर्ट, सहमतीहिन वार्ता र म एक आम नेपाली

किन आखिर सहमतिमा आउन सक्दैनन र्इ नेताहरू ? किन यिनमा नदेखिएको होला र्इच्छा शक्ति ? किन यिनले बुझ्दैनन होला हरेक कुराको आफ्नै सीमा हुन्छ ? किन यिनमा बढ्दै गएको होला अविश्वास ? किन यिनमा अरूद्धारा निर्देशित नभर्इ काम नगर्ने बानीको विकास भयो होला ? र, किन यिनले बुझपचाइरहेका होलान समयको महत्व कति छ ? किन ? आखिर किन ???
यिनै प्रश्नहरूले मेरो मनमा डेरा जमाएका छन् र राती अबेरसम्म म छटपटिरहेको छु । मलार्इ यस्तो लाग्छ, मेरो दिमागले काम गर्न छाडिरहेको छ । यिनीहरू उज्यालो छ भन्छन्, हामीलार्इ झुक्काइरहेको जस्तो लाग्छ । यिनले हाम्लार्इ उज्यालोको भ्रम दिएर अझ अरू अँध्यारा दिनहरू बिताउन बाध्य पार्ने प्रपञ्च रचिरहेको झै लाग्छ । मलार्इ यिनका कुनै कुरामा पनि बिश्वास लाग्न छाडिसकेको छ । यिनले जति जति उज्यालोको लोभ देखाउँछन् मलार्इ उति उति मेरो भविष्य अँध्यारिदै आएको जस्तो लाग्न थालेको छ । यिनका जति नाटकहरू पर्दाबाहिर छताछुल्ल हुन्छन्, तिनले मलार्इ उती नै बेचैन गराउँदै लगेका छन् । यिनले मेरो गोर्खाली शीरलार्इ सबैका माझ नतमस्तक हुन बाध्य पारेका छन् । यिनले मेरो सबै अधिकारलार्इ हनन गरिरहेका छन् । बिनासूर्ता निदाउन पाउनु पर्ने मेरो अधिकारको यिनीहरूलार्इ केही सुर्ता छैनन । आफ्नो देशको शासन व्यवस्था राम्रो र उदाहरणीय छ भनेर अन्तर्राष्ट्रिय जगतमा शानदार ढंगमा संवादमा सहभागि हुन पाउने मेरो अधिकारलार्इ यिनिहरू कुण्ठित पारिरहेका छन् । त्यति मात्र होर्इन यिनले मेरो देशमा कति भद्रगोल छ भन्ने कुरो कुनै एक विदेशीबाट सुन्न विवश पारी मलार्इ पानी पानी हुन बाध्य पारेका छन् ।
यिनका दिनदिनैका नाटकहरूले मलार्इ यति लज्जित र हायलकाय पारिरहेका छन् कि व्यक्त गर्नलार्इ उपयुक्त शब्द भेटिरहेको छैन, मैले । कोहीले भने यसपालिको दशैंको उपाहार नेपालीहरूलार्इ – नयाँ सरकार ! अर्कोले बोलिदियो – तिहार अगाडि जनताहरूका लागि महंगो हुन्छ त्यो कोशेली, त्यसैले तिहार पछाडि ! न दशैंमा पायौं हामीले, दशै पनि गयो । न त तिहारमै दिए, त्यो कोशेली – तिहार पनि सकिसक्यौं हामीले ! अचम्म लाग्छ, यिनिहरूबीच हुने तर्क वितर्क सुन्दा । मलार्इ लाग्छ, मेरो यो विचार शतप्रतिशत सत्य छैन् । र, मलार्इ यो पनि लाग्दैन, यो मेरो बुझार्इ शतप्रतिशत असत्य, काल्पनिक र व्यर्थ छ । त्यसैले मलार्इ लागेको छ‑ जबसम्म यिनमा राजनीतिक र्इमान्दारीताको बिकाश हुँदैन्, जबसम्म यिनले बुझ्दैनन राजनीति भनेको जनताको शासक हुनु हैन् बरू यो जनताको सेवा गर्नु हो, जबसम्म लाग्दैनन् यिनलार्इ राजनीति साहित्य हैन जहाँ स्वच्छन्दता हुँदैन, आफूले र्इच्छाए अनुसारको ब्याख्या हुदैन तबसम्म हुनेवाला केहि छैन – जतिसुकै गरून गोकर्ण रिसोर्टमा यिनले वार्ता । त्यतिन्जेलसम्म केहि तुक रहँदैनन यिनको गोप्य वार्ताको जुन निरन्तर चलिरहे पनि हात्तिवन रिसोर्टमा !
यस्तो बेला विदेशको ठाउँ (अझ जसको विकासको गति हाम्रो कल्पनाभन्दा धेरै पर छ, जहाँको राजनीतिक सुब्यबस्था हामीले सपनामा पनि नचिताउने हैसियतको छ) मा बसेर देशमा भैरहेका गलत राजनीतिक अब्यवस्थाले निकै पोल्दो रहिछ । बाहिर देख्दा यहाँ मान्छेहरूले मलार्इ सुखि र खुशी देखिरहेका छन् तर भित्र मन कति मरिरहेको छ यिनले त्यसको केहि भेउ पाउन सकेका छैनन् । देशमा राजनीतिक खिचातानीको महाभारत छ, यहाँ मलार्इ बुद्भ नेपालमै जन्मेका हुन भन्नेमा यिनीहरूलार्इ विश्वस्त गराउँनु छ । जब म यहाँका साथीहरूसँग कुरा गर्दै जान्छु – ८ हजार ८ सय ४८ को सर्वोच्च शिखर नेपालको शीर सगरमाथा हो, बिचमा एउटाले सोधिदिन्छ, अनि नेपाल छुट्टै कि र्इन्डियाभित्र ? गएर चड्काउन मन लाग्छ त्यसका गालामा तर मिलेन त्यसो गर्न ! यति लाचारीपूर्वक यो भूमण्डलको कुन अर्को प्राणी बाँचिरहेको होला जुन हामी नेपालीहरू बाँचिरहेका छौ ? देशमा चलिरहेको राजनीतिक किचलोले मेरो देश सुन्दर, शान्त र विशाल हो भनेर चिनाउने मेरो नैतिक अधिकार खुम्चिदैँ गएको छ । तर किन बुझ्न सकिरहेका छैनन् नेताहरू – देश कस्तो बन्ने त्यसको निर्धारण राजनीतिले गर्छ !
हे प्रभु ! यिनलार्इ राजनीतिक चेतना देउ !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...