Skip to main content

तस्बिरले नबोलेको एउटा कथा

ब्लगप्रेमी मित्रहरू, हामीहरूले सोचेका थियौं, यो तस्बीर हेरपछि यहाँहरू मध्ये धेरैको प्रतिक्रिया प्राप्त हुनेछ । तर हाम्रो अनुमान विपरित केही थोरै मात्र प्रतिक्रियाहरू प्राप्त भए । जेहोस् ती सबै अनुमान धेरै हदसम्म सत्यको नजिक छन् । खासमा यो तस्बीर हो - बि.सं. २०६५ चैत्र ९ गते आइतबारका दिनको । र, स्थान हो – म्याग्दी सदरमुकाम बेनीको जिल्ला अदालत अगाडि । सायद यो फोटोसँगै तल दाहिने पट्टीको तस्बिर पनि राखिएको भए यहाँहरूले घटनाका बारेमा अझ अरू सहि अनुमान लगाउन सक्नु हुन्थ्यो । अर्थात ६५ को चैत्र ९ गतेको दिन म्याग्दी जिल्लाका लागि एउटा बिशेष दिन बन्न गएको छ । '६० चैत्र ७ को प्रतिबिम्ब ! 
प्रतिक्रियास्वरूप नलेखे पनि कतिको अनुमान हुन सक्छ यो तस्बीर सडक ग्राभेलिङको हो ! तर यो कुनै पनि बिकासे कार्यक्रमसँग सम्बन्धित तस्बिर होर्इन । यसको सन्दर्भ अलि फरक छ - माथि उल्लेख गरेको दिन, वर्षमा एकपटक आउने एक अवसर हो – नेपालभरीका जिल्लाबासीका लागि । समग्र जिल्लाको बिकासको योजना तर्जुमाका लागि आयोजना हुने जिल्ला परिषद जिल्लाबासीका लागि चासोको विषय नहुने कुरै भएन । तसर्थः त्यो वर्ष म्याग्दी जिल्लाको जिल्ला परिषदको मिति त्यो दिन तोकिएको थियो । परिषदको उद्घाटनको दिन थियो, त्यो । जिल्लास्थित दलका प्रतिनिधीहरू, कार्यालय प्रमुख, विशिष्ट मानिएका ब्यक्तित्व र सर्वसाधारणहरू पनि कार्यक्रममा उपस्थित थिए ।
३ मिनेटको पाबन्दी लगाइएको थियो बक्ताहरूलार्इ । यसैक्रममा एमालेका प्रतिनिधी हरिकृष्ण श्रेष्ठले माओवादीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित सभासद गोविन्द पौडेलको नाम यार्सागुम्बा तस्करीमा के जोडेका थिए, मञ्चमा आसिन सभासद रातोपिरो भए भने माओवादबाट प्रतिनिधित्व गर्ने (मेरो ख्यालमा इन्चार्ज) मणिलाल शर्माले प्लाष्टिकको कुर्सीले झटारो हानिहाले । यो झटारोसँगै शुरू भएको कलह सडकमा पोखियो । युथफोर्सका लडकाहरू भटाभट बजार गर्न थाले । वाइसियल पनि के कम ? बजार खुलाउन पट्टी लागिहाले । अब झडप शुरू भैहाल्यो । के पत्रकार ? के प्राध्यापक ? एमालेसँग नजिक मानिएकाहरूका टाउको फुटाइहाले वाइसियलका लड्काहरूले । तर युथफोर्सकाहरूले पनि प्रयास त गरेका हुन खासै जोड चलेन बिचराहरूको ! जेहोस् झडप भयो । दुबैतिर घाइतेहरू पनि ।
यो तस्बीर अदालत अगाडिको हो, मैले अगाडि नै उल्लेख गरिसकेँ । अदालत अर्थात न्यायलय । कसैले गल्ति गर्यो भने वा सार्वजनिक गालि बेइज्जती गर्यो भने वा अन्याय गर्यो भने पिडकका बिरूद्द मुद्दा दायर गर्न सकिने ठाउँ ! तर त्यो दिन सामाजिक न्यायको सिद्दान्तले काम गरेन । हरिकृष्ण श्रेष्ठले गलत बोलेकै भए पनि सार्वजनिक गालि बेइज्जतीको मुद्दा दायर गर्न सकिन्थ्यो तर स्थिती झडपको बन्यो । राजनीतिका नाममा युवाहरूलार्इ युवाहरूकै टाउको फुटाउन लगाइयो । र सम्माननिय न्यायलयको अगाडिको सडकको हविगति यस्तो रह्यो !
फोटो श्रोतः बेनीअनलाइन डटकम डट एनपी
दाहिनेपट्टी राखिएको तस्बीर हो पत्रकार अमृत बास्कुनेको । जुन दिन उनी सख्त घाइते बनाइएका थिए, वाइसियलका युवाहरूबाट । निर्घात कुटपिटको शिकार भए उनी र उपचारका लागि पोखरा जानु पर्ने स्थिती सम्म बन्यो । टाउकोमा एकदर्जन भन्दा बढी टाँका लगाउनु पर्ने तरिकाले पिटिएका थिए उनी । आरोप थियो - एमालेको मतियार ! यस्तै बिच सडकमा भकुन्डो खेलिए एक जना प्राध्यापक । स्थानीय रूप्से साप्ताहिक प्रधान सम्पादक तथा म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा । क्याम्पसमै अध्ययनरत तर वाइसियल सम्बद्द युवाहरूले लात्तैलात्ताले भकुरे । जबकी यसरी पिटिन्छु भन्ने पूर्व अनुमानै थिएन बास्कुने र शर्मा दुवैजनाले । बास्कुने क्यामेरा लिएर कुदिरहेका थिए, घटना बिवरण सम्प्रेषणका लागि । र, शर्मा चाँहि बजारको वातावरण के कस्तो भैरहेछ भनेर अवलोकन गर्न निस्केका थिए, आफ्ना केही प्राध्यापक साथीहरूसँग । तर बिडम्बना यो घटनाका शिकार हुन पुगे दुर्इजना पनि !
के अबका जिल्ला परिषदहरू पनि यस्तै हविगतिबाट गुज्रिएलान् ? वा जिल्ला परिषदमा साँच्चिकै जिल्लाको बिकासका लागि योजनाहरूको तर्जुमा गरिएला ? मेरो प्रश्न – दलका नेताहरूलार्इ, बुज्रुकहरूलार्इ । र, युवाहरूलार्इ ! 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...