Skip to main content

प्रधानमन्त्री ....प्रधानमन्त्री ......प्रधानमन्त्री .......!

पुर्पुरो त ल्याएकै रहिछन् नी !
अन्ततः केहि घण्टा पश्चातः नेपालले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । माधबकुमार नेपालले प्रधानमन्त्री पदबाट राजनीमा दिएको दुर्इ दिनमा सहमति निर्माण हुने जिकिर गर्दै आएको एकिकृत नेकपा माओवादी र एमाले अध्यक्ष खनालसहितका केहि एमाले हस्तीहरूले २ दिनमा त के २ महिनासम्म पनि भनेजस्तो सहमतिको बाताबरण निर्माण गर्न नसकेको त हाम्रा माझ छर्लङ्गै छ । यसरी ५ महिनासम्म देशलार्इ पेन्डुलम गरार्इ प्रधानमन्त्रीको निर्वाचनमा रनभूल्ल परेका दलहरूले प्रधानमन्त्री निर्वाचनको नियमावलीमा संशोधन गरी प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू गरेका थिए ।
आज, प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू हुँदा यसले फेरि नाटकिय रूप लिएको छ । सधैं सहमतिको रटान दिदैँ आएका दलहरू मध्ये एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिइ प्रधानमन्त्रीमा दाबेदारी राखेका एमाले अध्यक्ष झलनाथ खनाललार्इ सहमति गरेको औपचारिक घोषणा गरेपछि यसपालीको प्रधानमन्त्री निर्वाचनले नाटकिय रूप लिएको हो । देशले पाँच महिनाको कठोर तपस्या पश्चातः नयाँ प्रधानमन्त्री त पाउने निश्चित भयो तर यसले शान्ति प्रक्रियालार्इ तार्किक निश्कर्षमा पुर्याउने र समयसीमाभित्रै संविधान जारी गर्ने कुराको भने ग्यारेन्टी गर्न सक्दैन भन्नेमा कसैको दुर्इमत नहोला । यो निर्वाचनले एक्कासी लिएको नाटकिय मोडका पनि केहि पृष्ठभूमी छन् जस्तोकि आफ्ना उपाध्यक्ष बाबुराम भट्टरार्इलार्इ पार्टिभित्र र बाहिरबाट प्रधानमन्त्री पदमा उम्मेदवारी दिनु उपयुक्त हुने कुरा जतिजति बुलन्द हुँदै गयो तब प्रचण्डको मथिङ्गलमा भुँइचालो जान थाल्यो । र, उनले के सोचे भने बाबुरामले देशको प्रधानमन्त्री चड्काउँदा बित्तिकै आफ्नो राजनीतिक भविष्य दुर्घटनाग्रस्त हुनेछ । तसर्थ
उनले प्रधानमन्त्री निर्वाचनको पहिलो खण्डमा आफ्नो लगातारको सातपटकसम्मको हारलार्इ बिर्सेर यसपटक पनि आफ्नै उम्मेदवारी हुनुपर्ने जिकिर गरे र अन्तिममा आएर आफ्नो उम्मेदवारी फिर्ता गरे । र, झलनाथलार्इ देबिप्रसादको झापडले गज्जबको संयोग जुरार्इदियो । प्रधानमन्त्रि बन्ने !
तर मैले यहाँ उठाउन खोजेको कुरो चाँहि प्रधानमन्त्रीका चौथा उम्मेदवार बिजयकुमार गच्छदारले आफ्नो उम्मेदवारीको औचित्यताको पुष्टि गर्दै उठाएका केहि सन्दर्भका बारेमा हो । गच्छदारले आफू थारूको छोरो भएको र मधेशको प्रतिनिधित्व गर्ने भएकाले देशका तीन ठूला दलहरूले आफ्नो उम्मेदवारीबाट आफू मध्ये एकलार्इ जिताउनका लागि त्यागको ढोंग देखाएका हुन भनेर आरोप लगाउन सम्म भ्याए । जनता कसैको पेवा नभएकाले मुख्य तीनदलका नेताहरूले देशमा स्वेच्छारी गरेको कुरा उप्काउँदै जनताहरूसँग त्यसको भण्डाफोर गर्न जाने चेतावनी समेत दिए । अलिकति भावुक र केहि बढि आक्रोशित हुँदै गच्छदारले देशको विध्यमान राजनीतिक गतिरोधको पहिलो दोष ठूलो दल भएको हैसियतले माओवादीलार्इ जानेकुरा पनि दर्शाए । देशमा अहिले सृजना भएको राजनीतिक दुर्गतिका पछाडि कांग्रेसको पनि ठूलो जिम्मेवारी रहेको कुरा उल्लेख गर्दै आफ्नो ३५ बर्षिय कांग्रेसी राजनीतिलार्इ गलत्याएर मधेसबादी दलमा आफ्नो प्रवेशको औचित्यतालार्इ पुष्ट्याउने काम सम्म गरे । संविधानसभा निर्वाचनमा दुर्इ दुर्इ निर्वाचन क्षेत्रबाट निर्वाचित राजनितिज्ञको हैसियतले नेपालको प्रधानमन्त्री हुने सक्षमता आफूमा रहेको दाबी गर्दै आफ्नो उम्मेदवारीलार्इ समर्थनका लागि अनुरोध पनि गरे ।
बल्ल बाबुरामलार्इ स्वाद फेरियो गाँठे !
तपार्इ तीन दलहरूले नै हैन संविधानसभाको म्याद थपेको ? ३ बुँदे, १२ बुँदे, २५ बुँदे सहमति गर्ने पनि तपाइँहरू नै हैन ? किन लागू गर्न सक्नु भएको छैन ? तपाइँहरूले ती सहमतिहरूको खै कार्यान्वयन गरेको ? भनेर उनले प्रश्न गर्दा अनलार्इन टि.भीको स्क्रिनमा प्रचण्ड, झलनाथ र रामचन्द्रका अनुहार रातोपीरो भएको छर्लङ्गै देख्न पाउनु कम्ता मज्जाको बिषय त हैन । यो देशका भावी प्रधानमन्त्री खनालका गाला देविप्रसादको झापडले रात्तिएको नमेटिदै गच्छदारले उनैप्रति संकेत गर्दै जब भने - किन आजको जस्तो सहमति पाँच महिना पहिला गर्नु भएन ? किन प्रधानमन्त्रीको राजीनामा भएको २ दिनमा सहमतिको वाताबरण तयार पार्न सक्छौं भनेर गफ दिनु भयो ? तब खनाल नमज्जासँग रातोपिरो भए । समग्र मधेषको हितका लागि आफ्नो उम्मेदवारी बरकरार रहेको जानकारी गराउँदै ठूला दलहरू मधेसका मुद्दाप्रति गम्भिर नभएको समेत आरोप लगाए । हिमाल नरहे नेपाल रहन्न, पहाड नरहे नेपाल रहन्न भन्न सक्ने तपाइँहरूले किन मधेस नरहे नेपाल रहन्न भन्ने कुरा बिर्सनुभयो ? भनेर प्रश्न समेत गरे । साथै आफूलार्इ समर्थन गरेका साना दलका नेताहरूलार्इ मन्त्री बनाउने प्रलोभनमा पार्न थालिएको जिकिर समेत गरे ।
ठूला दलका शिर्षस्थ नेताहरू अदुरदर्शी भएको जिकिर गर्दै उनले तर्क गरे ठूला पार्टीहरूको सानो दलहरूप्रतिको दृष्ट्रिकोण गलत छ । हिजो सात पटकसम्म रामचन्द्रसँग चुनाव लड्दा प्रचण्डलार्इ केहि अप्ठ्यारो भएन, आज मधेशबाट एउटा बिजयकुमार गच्छदारको उम्मेदवारी पर्दा शुरूमै मैदानबाट हट्ने ? यो कस्तो नियमावली संशोधन गर्नु भयो ? संशोधित नियमावली लागु नै गर्न नसक्नुहुने कस्तो महारथीहरू हो तपाइँहरू ? मैले त यस्ता महारथीहरू महाभारतमा पनि देखेको छैन । मैदानबाट बिचैमा भाग्ने ? प्रचण्डप्रति तेर्सिएको गच्छदारको यस ब्यङ्ग्यबाणले प्रचण्डलार्इ निकै चस्काएको हुनुपर्छ । साथै हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा आफूले भावुक भएर कामरेड प्रचण्डलार्इ भनेको कुरा – यो देशमा तिनवटा काम गर्नुस् तपाइँको नेतृत्वमा शान्तिप्रकियालार्इ निश्कर्षमा पुर्याउनुस्, तपाइँकै नेतृत्वमा संविधान निर्माण प्रकियालार्इ टुंगोमा पुर्याउनुस् र नयाँ संविधानमा उल्लेख प्रावधान अनुसार नयाँ निर्वाचन गराउन सफल हुनुस् । कुनै पनि राजनेताको तुलना तपाइँसँग हुन सक्दैन् । स्मरण गर्दै ती कुराहरूको सक्षमतापूर्वक ठेगान लगाउन सक्ने सुनौलो अवसरबाट प्रचण्डले उम्मेदवारी फिर्ता लिएर लाक्षीपनाको पराकाष्टा प्रस्तुत गरेको समेत बताए ।
अन्त्यमा, झलनाथ खनाललार्इ बधार्इ दिएर आफ्नो मन्तब्य अन्त्य गरेका गच्छदारका कुराको खनाल र प्रचण्डको कानमा बतास लाग्यो कि लागेन त्यो त भविष्यले नै बताउँला । तर, मलार्इ लागेको एउटै कुरा – के खनालको प्रधानमन्त्रित्वसँगै यो देशले झकडिएको राजनीतिको निकास निक्लेला त ?

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...