Skip to main content

बुझ्नै नसकिने दूर्बोध्य पत्रकारहरू

सबैभन्दा दुर्बोध्य विशेषता बोकेका मानिसहरू कुन पेशामा हुन्छन् भनेर कसैले मलार्इ प्रश्न गर्यो भने मेरो जवाफ हुनेछ, पत्रकारिता ! जुन वयदेखि म यो पेशासँगको सानिन्ध्यताबाटै गुज्रिएर आउने मौका पाएको छु, त्यतिञ्जेलदेखि मैले बुझ्नै नसकेका मानिसहरू भेला हुने ठाउँ भनेकै सञ्चार गृह हो । खासगरि यहाँ मैले यस्ता मान्छे भेटेको छु, जसको नजरमा आज एउटा कुरा अति सत्य हुन्छ, र त्यही विषय वा प्रसङ्ग भोली अत्यन्तै असत्य बन्न सक्दछ । यो यस्तो चौरस्ता हो जहाँ विषयको विश्लेषण गर्न सक्ने कसिलो क्षमता भएका मानिसहरू भेला हुन्छन् र आफ्ना स्वार्थ अनुकुलका विश्लेषणमा रमाउँछन् । अरूलार्इ पनि उसै अनुकुलको बुझार्इका लागि उत्प्रेरित गर्दछन् ।
यो पेशासँग आबद्द ब्यक्तिहरूबीच सर्वाधिक प्रतिस्पर्धा हुन्छ । एकले अर्काको प्रगति देख्न वा स्वीकार्नै नसक्ने खतरनाक प्रवृती यसमा संलग्न ब्यक्तिहरूमा नै हुन्छ । सिधा अर्थमा भन्दा, जसरी हुन्छ एक भन्दा अर्को विशेष देखिनै पर्ने वा 'आफ्नो सहकर्मीभन्दा उच्चकोटीको पत्रकार मै हुँ भन्ने' वातावरण तयार पार्न उल्टो, सुल्टो, थ्याप्चो वा च्याप्टो जस्तो सुकै काम गर्न पनि कसर नराख्ने भयानक विशेषता भएका मानिसहरू नै पत्रकार हुने हैसियत राख्दछन् । सोझो चरित्रको, कसैको टाङ्मुनी छिर्न नसक्ने, राजनैतिक दलको प्रवक्ताको काम गर्न नसक्ने, प्रहरी प्रशासनका अधिकारीहरूसँग थुतुनो मिलाउन नसक्ने मान्छे यो पेशामा गयो भने त्यो मान्छे कहिल्यै उभोँ नपर्ने गरि उत्तानो पर्यो भन्ने जाने हुन्छ । अर्थात औलो सोझो पारेर घिउ निकाल्छु भन्ने स्तरको चेतना भएको मान्छे यो पेशामा लाग्दै नलागेको बेश ! अष्टबक्रजस्तो आठ ठाउँमा भाँचिएको स्वरूपको मगज बोकेकाहरूले गरि खाने पेशा हो यो । बोलेर पैसा कमाइने यो पेशामा के बोल्दा पैसा कमाइन्छ, कसरी पहुँचको क्षेत्रलार्इ विस्तार गर्न सकिन्छ, कुन राजनैतिक दलको पुच्छर भएपछि बैतर्णी तरिएला भन्ने हेक्का नभएको मान्छे यो कठिन पेशामा हामफाल्नु भनेको जानी जानी आत्मदाह गर्नु सरह नै हो ।
यो गाइजात्रे पेशा नै हो । अरूका कुसंस्कार र गलत अभ्यासका बारेमा कलम चलाउनेहरूले आफ्नै छाता संगठनभित्रको गलत राजनैतिक अभ्यासलार्इ विश्लेषण गर्दैनन् । यो लेख पढ्दै गरेकाहरू मध्य कतिलार्इ हेक्का छ कुन्नी पत्रकारहरूको हक हित र पेशागत सुरक्षाको ग्यारेन्टीका लागि वकालत गर्ने उनीहरूको एउटा छाता संगठन हुन्छ, जसलार्इ
पत्रकार महासंघ भनिन्छ । यसका बाबजुद पत्रकारितालार्इ पेशा बनाएका व्यक्तिहरूको पेशागत क्षमता अभिवृद्भि तथा नेतृत्व बिकासका लागि पहलकदमी गर्नु पनि यसको अर्को महत्वपूर्ण उद्देश्य हो । साथै यो छाता संगठनको अर्को बिशेष उद्देश्य फरक विचार र क्षमताको पृष्ठभूमी भएका पत्रकारहरूलार्इ एकै छाना मुनी ल्याएर आफ्ना आवाजलार्इ एकिकृत गर्नु पनि हो । तर जब यो छाता संगठनको नेतृत्वका लागि निर्वाचनको समय हुन्छ, यिनीहरूको रमिता हेर्न लायकको हुन्छ । राजनैतिक दलका गैर्हराजनीतिक कृयाकलापका बिरूद्द कलम चलाउने यिनका हातहरू फरक बिचार र आस्था बोकेकाहरूलार्इ लघार्न प्रयोग हुन्छन् । यिनीहरूबीच रस्साकस्सी पर्छ । त्यहाँ कोही पत्रकार हुँदैनन् । सबैले पत्रकारको हेसियत गुमाइसकेका हुन्छन् । लाग्छ, उनीहरू कुनै संसदिय निर्वाचन क्षेत्रमा निर्वाचन लडिरहेका दलका उम्मेदवार र कार्यकर्ताहरू हुन वा कलेज तथा विश्वविध्यालयमा हुने स्वबियू निर्वाचनका लागि उम्मेरदवारी दिएका राजनैतिक दलका भार्तृसंगठनका उम्मेदवारहरू हुन । आफू र आफ्नो पक्षले सकेसम्म नेतृत्व सहितको प्यानलै हत्याउने, त्यो सम्भव नभए नेतृत्व र केहि मुख्य जिम्मेवारीको पद लुट्ने त्यो पनि सम्भव नभए जसरी हुन्छ आफ्नो अभिष्ट पूरा गर्ने । अब त्यो पनि सम्भव नभए निर्वाचन बहिष्कार गर्ने वा मतपेटिका लुट्ने अथवा माइन्यूट र अन्य कागजात कब्जामा पार्ने अनि हल्लिखल्ली गर्ने ।
सायद, यहाँहरू मध्ये धेरैले थाहा पाउनु भएको होला बागलुङ जिल्लामा भएको पत्रकार महासंघको निर्वाचनका बारेमा । किन थाहा पाउनु ? जगै हसाउने गाइजात्रा भएपछि, थाहा नपाउने को बाँकी हुन्छ र ? छाता संगठन भैसकेपछि बिचार र आस्था अनुरूपको संगठनमा आबद्दभएका पत्रकारका समूहहरूको हैसियत अनुसारको पदिय जिम्मेवारी बाँडफाँड गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको भए कति जाति हुन्थ्यो होला ? तर त्यसो गर्नुको साटो सबै पक्षलार्इ सभापति चाहिने ? लेख्ने बेलामा दलका नेताहरूले प्रधानमन्त्री हुने अभिष्टका बिरूद्दमा लेख्ने, दलका नेताहरूमा सत्तालिप्सा प्रवृती देखियो भनेर उछितो काढ्ने, अनि आफूहरूको निर्वाचन आउँदा चाँहि सभापतिकै लागि मरिहत्ते गर्ने ? मुख्य जिम्मेवारीको पदहरू आफ्नै भागमा पर्नुपर्छ भन्ने ? अरूहरूले यसो गरे र उसो गरे भन्दै औला ठड्याउने, आफूहरू चाँहि नेतृत्वका लागि घम्सघम्सी गर्ने ! यो कहाँसम्मको कन्तबिजोग कुरा हो ? महासंघ भनेको संघहरूको एकिकृत रूप हैन ? यहाँ फरक फरक विचार भएका मानिसहरू अटाउनु पर्छ कि पर्दैन ? केही पक्षहरू मिलेर अर्को पक्षलार्इ अलग्याएर, एक्लो पारेर आफू र आफ्ना इतरका विचार मिल्नेहरूलार्इ मात्र समाविष्ट गरेर महासंघको गठन भयो भन्ने पुष्ट्याइ कसरी गर्लान बागलुङे पत्रकारहरूले त्यो त आफै जानुन । तथापि पत्रकारहरूबीच राजनैतिक विचार र समर्थनका आधारमा बढ्दै गएको दुरी भने गम्भीर चिन्ताको विषय हो ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...