Skip to main content

नकाबधारी, चोरीकाण्ड र एउटा मान्छे

बेनी सानो ठाउँ, सानै खबरले पनि खुब तात्तिने गर्छ, मेरो अनुभवले यहि भन्छ । यो त घटना नै गम्भीर छ । घटनासँग सम्बन्धित भनिएका पात्रहरुको बारेमा एकखालको चर्चा बाहिर आएपछि मैले यो घटनालाई गम्भीर हैन भनेर ठोकुवा गर्न चाहिनँ । विषय जति गम्भीर छ, विषयसँग सम्बन्धित उत्प्रेरकका विषयमा भएको चर्चाले मलाई थुप्रै प्रसंगहरु उठान गर्न मन लाग्यो । 

चोरी सानो होस् वा ठूलो त्यो चोरी नै हो । र, यो एक सामाजिक अपराध पनि । पछिल्लो समय, बाबियाचौर चोरी काण्डले चोरीकाण्डमा जुन संस्थागत संलग्नता समेत रहन आएको कुरा खुलासा गरेको छ, त्यसले पक्कै पनि आम मानिसहरुको एउटा जिम्मेवार पार्टी पंक्तीप्रति नै नकारात्मक धारणा विकाश हुन गएको छ । घटनाको सतही जानकारीबाट नै एक सचेत नागरिकले निक्र्यौल गर्न सक्दछ कि लाखौंको धनमाल लुटपाट गर्नमा सानो वा कमजोर समूहले आँट गर्न सक्दैन । पक्कै पनि त्यो समूह पेशेवर हो र एउटा सशक्त समूह पनि । चोरीमा कसको के कस्तो संलग्नता थियो वा छ त्यो विषयमा भन्दा पनि घटनामा संलग्न ब्यक्तिले किन एक जिम्मेवार दलका जिम्मेवार नेताको संलग्नता समेत थियो भनेर बयान दिए सन्दर्भ बिचारणीय छ । खैर, यो विषयलाई यहाँ उति प्राथमिकतापूर्वक उठान नगर्दै वेश होला । प्रहरीले घटनाका विषयमा अनुसन्धान गर्दै गरेको विषय रहेकाले बरु यो घटनाले यस पूर्व भएका केहि महत्वपूर्ण चोरीका घटनाहरुको पनि भेद खुलाउनेमा हामीले आशा ब्यक्त गर्न सक्दछौं । 

एकाएक घटनामा संलग्न भनिएका माओवादी कार्यकर्ता कमल किसानको पक्राउसँगै माओवादी जिल्ला सेक्रेटरी लालु किसानलाई समेत घटनामा संलग्न रहेको आरोप लाग्नुलाई हल्का रुपले लिनु कुनैपनि हिसावले उपयुक्त नहुन सक्दछ । चोरीको घटनामा लालुको संलग्नताको विषयले उनको राजनैतिक भविष्यमा समेत प्रश्न चिन्ह लगाएको छ । बन्द संघर्षको लामो राजनैतिक पृष्ठभूमीबाट खुला राजनीतिको मैदानमा प्रवेश गरेको माओवादीका कार्यकर्ताहरु यस्ता आपराधिक घटनामा संलग्न हुनु हरहालतमा शोभनीय विषय हुन सक्तैन अझ त्यसमा पनि पार्टीको महत्वपूर्ण पदमा आसिन ब्यक्तिलाई यस्ता घटनाहरुमा संलग्नताको आरोप लाग्नु कति गम्भीर विषय हो त्यो त आउँदा दिनले नै बताउने छन् ।

मानौं कि यो घटनामा उनको संलग्नता थिएन, तथापि उनकै पूर्व अंगरक्षक रहेको भनिएका कमल किसानको संलग्नताले यो घटनालाई थप गम्भीर बनाइदिएको छ । चोरी काण्डमा संलग्न रहेको आरोपमा कमल किसान जिल्ला कार्यालयबाटै पक्राउ पर्नुलाई आम मानिसले कसरी बुझ्ने ? यो विषयमा म्याग्दीको माओवादी नेतृत्वले जिम्मेवारीपूर्वक जवाफ दिनु पर्ला कि नपर्ला ? 

उसो त माओवादीहरु सशस्त्र युद्दको पृष्ठभूमीबाट आएको भएर हो कि के हो उनीहरुलाइ केहि आरोप लाग्दा बित्तिकै त्यसको न्यायिक छानबीनको सट्टा उग्रप्रतिकारमा आइहाल्ने । मानौं कि उनीहरु सप्पैलाई उच्च रक्तचापको समस्या छ । आज यो विषयमा लेखिरहँदा एक वर्ष पहिलेको दृश्य मेरो मानशपटलमा छायो । एमाले म्याग्दीका हरिकृष्ण श्रेष्ठले जिल्ला परिषदको सभामा मन्तब्य राख्दै, यार्सागुम्बु तस्करीमा सभासद गोविन्द पौडेलको संलग्नता रहेको कुरा छापामा आएको कुरा उल्लेख गर्दा मन्चमै आशिन माओवादीका एक भद्र प्रतिनीधीले कुर्सी उठाएर श्रेष्ठलाई दन्काइ हालेछन् । रगत पनि कति तातो हो ? कसैले केहि भन्यो कि त जंगिहाल्नु पर्ने । के यसको सट्टा श्रेष्ठलाई उनले लगाएको आरोप पुष्टीका लागि चूनौती पेश गर्न सम्भव थिएन होला त ? सार्वजनिक ठाउँमा एउटा जघन्य अपराधमा आरोप लगाउने ब्यक्तिलाई न्यायलयमा उभ्याउन सम्भव थिएन होला त ? आखिर कुर्सीले प्रहार गरेर त्यो आरोप यथार्थ हो हैं भन्ने भान आम नागरिकमा पर्न गयो कि गएन ? एउटा जिम्मेवार दलका नेताहरुले यसरी केटाकेटी पारा देखाउनु शोभनीय विषय हो त ? हो दुरुस्तै त्यहि घटनाको अर्को संस्करण बन्ने खतरा बढाएको छ, यो पछिल्लो घटनाले पनि । 

आरोप लागिसके पछि आरोपको सामना गर्दै त्यसको पुष्टीका लागि आरोप लगाउने निकायलाई चूनौती दिनुको साटो सबैपक्षबाट एक्लिएर जान खोज्नु त्यो कसरी बुद्धिमत्तायुक्त निर्णय हुन सक्ला ? सबैले ख्याल गर्नु पर्ने विषय के हो भने, यो चराचर जगतमा कोही पनि मनुवा दुधले नुहाएको छैन । जीवनमा कुनैपनि आरोप नलागेको मनुवा सायदै कोही होला । हिजो विभिन्न आरोप लागेका गिरीजाप्रसाद कोइरालालाई यो इतिहासले नेपाली राजनीतिको महानायक साबित गरिदियो । उनले जति बिबादास्पद जिन्दगी बाँचे, त्यति नै सम्मानपूर्वक मृत्यु मरेर गए । लाउडा, धमिजा र टनकपूरजस्ता चर्चित काण्डमा मुछिएका गिरीजा कसरी महानायक भए ? यसको हेक्का राख्नु पर्छ म्याग्दी माओवादी नेतृत्वले । बिबादमा तानिनु, आरोप लाग्नु असामान्य घटना होइन, बरु लागेका आरोपबाट भाग्न खोज्नु र आरोपको पुष्ट्याइका लागि आरोप लगाउनेहरुलाई चूनौती दिने साहस गर्न नसक्नु कायरताका महत्वपूर्ण उदाहरणहरु हुन । 
जिल्ला बिकास निर्माणका कार्यक्रमहरुको योजना तर्जूमा नै अप्ठ्यारो पर्ने गरी साझा संयन्त्रबाट अलग्गिएको घोषणाबाट खास कुन तथ्यलाई प्रमाणित गर्न खोजिरहेको छ म्याग्दी माओवादी ? यतिखेर धेरै मानिसहरु बिलखबन्दमा परेका हुन सक्लान । यदि यो घटनामा लालुको संलग्नता छैन भने उनले प्रहरीकोमा उपस्थित भै घटनाको अनुसन्धानका लागि सहज वातावरण बनाउनु बुद्धिमानी ठहरिएला । हरेक घटनालाई राजनीतिक प्रतिष्ठासँग जोड्न खोज्नु सायद उत्तम विकल्प होइन । र, यदि यो घटनामा उनको संलग्नता प्रमाणित भएमा उनको लागि यस घटनाबाट पाठ सिकेर आफ्नो सुदुर राजनैतिक भविष्यको मार्गचित्र कोर्ने साहस गर्ने उत्तम अवसर समेत रहने सम्भावनालाई नकार्न सकिदैन । यहाँ हामीले भूल्न नहुने कुरा के हो भने, गल्ती जो बाट पनि हुन सक्दछ, तर गल्तीको महशुस गरी त्यसबाट पाठ सिकेर अगाडि बढ्ने साहस झिक्ने मानिस नै वास्तवमा महान हुन्छ ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...