Skip to main content

छोरी जन्मिदाको त्यो दिन !

आज हाम्री प्राणप्रिय छोरी एन्जील तीन वर्ष पूरा पुगेर चौथो वर्षमा लाग्दैछिन् । हिजो झैं लाग्छ, उनी जन्मेको, कति छिटो तीन वर्ष पार गरि सकिन सम्झेर ल्याउँदा अनौठो अनूभुति हुन्छ । मलाई सम्झना छ, उनको पहिलो वर्षको जन्मदिनको खास उत्साहप्रद रहेन, सायद म र श्रीमतीबिच केहि त्यस्तै असमझदारी रहेको हुनुपर्छ । तर दोश्रो वर्ष पार गरि तेस्रो वर्षमा लाग्दा भने छोरीको जन्मदिन भने जसरी मनाउने ब्यवस्था गरेका थियौं । र, यो उनको जन्मदिनको तेस्रो उत्सब म उनीसँग छैन, मन भरिएर आएको छ । जेहोस छोरीसँगका केहि पलहरू सम्झेर उनको जन्मोत्सब मनाउने प्रयास गरेको छु ।

ठिक तीन बर्ष पहिले आजकै दिन बिहानीपख १ बजेतिर मलाई श्रीमतीले कोट्याउँदै भनिन् – सुन्नुन मलाई त पेट दुख्न थाल्यो । मैले उनलाई पहिले नै सजग गराएको थिएँ कि हल्का पेटमा केहि पीडा भयो भने मलाई भनि हाल्नु, बागलुङ्बाट गाडी मगाउन सजिलो पर्छ । सायद त्यही भएर होकी सानुले मलाई कोट्याएको ! म बिस्तराबाट बिध्यूतिय गतिमा उठेँ र झटपट आमालाई उठाएँ । आमा अलि बिरामी भएका कारण हामीसँग बागलुङ जाने अवस्था नरहेकाले म ठूली आमालाई बोलाउन ठूली आमाकोमा गएँ । ठूलीआमालाई लिएर आएपछि, बागलुङमा रहने मेरा बुढा मामाली खलकका मामा रामु खड्कालाई तुरून्तै फोन गरेँ र रत्नेचौर आउनका लागि अनुरोध गरेँ । मामाले एकैछिनमा हिड्ने जानकारी गराउनु भयो । अलिअलि लज्जाबोध पनि भएको थियो । खासमा हामी दुवैजना श्रीमानश्रीमतीलाई छोरी गर्भमै भएदेखि के लागेको थियो भने पहिलो सन्तान जन्माउनका लागि हामी परिपक्व भैसकेका छैनौं । हुनपनि बहुदल आउँदाको महिनाकी मेरी श्रीमती जो भर्खर १८ वर्ष पार गर्दै थिइँन भने म २२ वर्षको थिएँ ! घर गाउँमा पढ्न लेख्नमा लगाब भएको मेहनती केटो मानिएका हुनाले मलाई हल्का नैतिक प्रश्न हुन आउँथ्यो यो तर मेरो घर मास्तिरको एक जना भाइ १७ बर्षकै उमेरमा फाल्गुण महिनामै छोरीको धनी भैसकेकाले 'डिफेन्सिभ' जवाफ चाँहि थियो मसँग ! यसरी लाजले अलिकति पानीपानी हुँदै, र एक असल श्रीमानको कुशल जिम्मेवारी निभाउँदै श्रीमतीलाई समातेर म तल मोटर बाटोसम्म ओर्लेको ताजा याद आइरहेछ, आज !

बागलुङ्बाट गाडि लिएर मामा आउँदा बिहानीपख ३ बजेको हुनुपर्छ । यताउता गर्दा हामी ४ बजेतिर मात्र गाडि चढेर बागलुङ अस्पतालतिर जान तयार भयौ । बाटोभरी कोहीसँग केहि पनि बोलिनँ । मलाई मनमन खुब शरम लागिरहेथ्यो । मनमा अनेकन प्रश्न खेलिरहेथेँ । छोरा हुने कि छोरी ? कतै बिकलाङ्ग पो हुने हो कि ? फेरि अचेल अचम्म अचम्मका बच्चाहरू पनि जन्मिन्छन् कतै त्यस्तै अचम्मको भैदियो भने त मेरो हाल के हुने होला ? थुप्रै तानाबाना मनमा खेल्न थाले । यी अनेकन तनाब र उत्साहका बिच बागलुङ अस्पताल पुगेको थाहै भएन् । सानुलाई गाडीबाट झारेर सिधैं प्रस्तुती कक्षमा राखियो । सुत्केरी ब्यथा लागेर त्यहाँ आएका केहि महिलाहरू थिए, तीनका साथमा उनीहरूका लोग्ने थिएनन, धेरैका साथमा कि त आमा थिए वा सासु । सप्पै स्वास्नीमान्छेहरू छन् जिस्काएर एक गाँस बनाइदेलान कि भन्ने मनमा ठूलो भय थियो, तर बुर्तिबाङबाट आफ्नी गर्भवती श्रीमती लिएर आएका एकजना अधबैशे दाईलाई भेटेपछि भने मन ढुक्क भयो ! तैपनि, धन्न कसैले जिस्काएन !

बिहानीपख पनि भयो, बच्चा हुने सुरसारै थिएन । यस्सो श्रीमतीलाई हेरेको खिस्स हाँस्छिन् । छेउमै बस्नुभएकी ठूलीआमाले भन्नु भयो, "बल्ल दुई घर खुलेको छ रे, सिस्टर्नीले भनेको !"

"बच्चा जन्मिन कति घर खुल्नुपर्छ रे खास ?" जिज्ञासा राखिसकेपछि अलिकति लाज लागेको अनुभूति भयो ।

ठूलीआमाले कुन्नी कति भन्नुभयो अहिले हेक्का भएन । तर मलाई यत्ति थाहा छ, त्यो नाथे दुई घर खोलिनु कुरा बच्चा जन्मिनका लागि एकदम अपर्याप्त हो । मेरो पाको दिमागले के हेक्का राख्यो भने, म बाबा बन्नका लागि केहि घण्टा अझ अरू प्रतिक्षा गर्नु जरूरी छ !

अब मेरो खास ड्युटी शुरू भएको थियो । सुत्केरी हुन तयार मेरी श्रीमतीका लागि तातो मासुका चोक्टा र झोल तयार पार्न लगाउनु थियो । अस्पताल अगाडिको होटलमा त्यसको पनि बन्दोबस्त गरिसकेको थियो । तर १२ बज्यो, १ बज्यो, २ बज्यो बच्चा जन्मिने त केहि चालिमाली नै छैन । एक मन त श्रीमतीसँग रिस पनि उठ्यो । कति ढिला गरेको होला ? तर यो उनको पहुँचको कुरा पनि थिएन । तसर्थः धैर्यतापूर्वक त्यो सुनौलो घडिको प्रतिक्षा गर्नु बाहेक हामीसँग अरू कुनै बिकल्प थिएन् ।

अपरान्ह तीन बजेको समयमा सानुलाई नर्सहरूले भित्र लगे । केहिसमय पछि उनले मेरो माग गरिछिन् । एकजना नर्सले मलाई बोलाउन आइन, मलाई श्रीमतीको नजिक जान डर लागिरहेको थियो, किनकी सुनेको थिएँ – प्रसुतीको समयमा श्रीमतीहरू ब्यथालाई खप्न नसकेर आफ्नो अगाडि श्रीमानलाई देखे भने 'मलाई यस्तो ब्यथा खप्न पार्ने तैं होइनस् ?' भनी झम्टिन्छन् रे ! कसै – कसैले चिथोरे बेहालै पारिदिन्छन् रे ! रे को कुराले मेरो सातोपुत्लो लगिदिएको थियो त्यसैले पहिला त मैले प्रसुती कोठामा जाने साहस गर्नै सकिनँ तर पछि श्रीमतीको निरन्तरको बोलावट पछि मलाई जान कर लाग्यो । म भित्र गएँ, तर उनलाई त्यति धेरै पीडामा देख्न सकिनँ । र, उनलाई सम्झाइबुझाई गरी म बाहिरै फर्के !

म बाहिर निस्केको केहि समय पछि, अर्थात अपरान्ह ३ बजेर ३७ मिनेट जाँदाको समयमा, नवजात शिशुको रूवाइले हल गुन्जियो ! मसँगै भएकी ठूली आमाले अड्कल लगाउनु भयो- आवाज छोरीको जस्तो छ, घरमा लक्ष्मी भित्रिन् ! मैले ओठे जवाफ फर्काए, हैन आवाज त छोराको जस्तो छ ! म छोरी चाहने मान्छे मैले त्यसबखत त्यो रूवाइको छोराको हुनुपर्छ भनेर किन जिकिर गरेँ हुँला आज पर्यन्त मलाई आश्चर्य लागिरहेछ । त्यस हुनाको कारण मैले अझै पत्ता लगाउन सकेको छैन ।

केहि समय पछि एकजना नर्सले शिशु मेरो ठूलीआमालाई थमाउँदै भन्नुभयो – लक्ष्मी भित्रेकी छिन् ।

एकछिन पछि ठूलीआमाले मलाई दिदै भन्नुभयो – लौं, छोरी समात ! 

यस्सो नजर लगाए, सबै कुरो मै उठेर आएको जस्तो लाग्यो । ठूलीआमाले पनि त्यसै भन्नुभयो, छोरी त दुरूस्तै तिमी जन्मेकी छे ! तर नाक चाँहि ठ्याक्कै सानुको जस्तो ! मंगोल नाक । हुन त एकदिने शिशुको मुहार हेरेर को जस्ति छिन् ? कस्ती छिन् ? अनुमान लगाउनु ब्यर्थै मात्र हो, तर जेहोस् मलाई लागेको कुरो सप्पै मजस्तो नाक चाँहि उनको आमाको जस्तो भएको कुरा अझसम्म मेरी छोरी देखेकाहरूले त्यसै भन्दा चाँहि मेरो अनुमान सहि नै साबित भएको छ !
फेवातालमा बाबासँग रमाउँदै एन्जील
केहि छिन पछि म मिष्ठान्न भण्डारमा गएँ, र सानुको प्रसुतीमा संलग्न नर्सहरू तथा त्यहाँ प्रसुतीका लागि आएका गर्भवती र उनीहरूका कुरूवा सबैका लागि एक एक वटा लालमोहन लिएर हर्षबढाइ गरेँ । अब मेरो खास काम शुरू भयो, अगाडि नै तयार पार्न भनेको मासुको रस लिन गएँ । रस खाइसकेपछि सानुले पिसाब लागेको बताएपछि उनलाई पिशाब फेर्ने ब्यवस्था पनि गरियो । तर बिडम्बना सालका केहि टुक्राहरू पाठेघरमै रहेकाले उनलाई रक्तश्राव भयो । हतार हतार उनलाई फेरि प्रसुति कक्षमा लगियो, म पनि भित्रै गएँ । उनलाई निकै असह्य भएछ, बरर आँशु झारिनँ । मैले आफूलाई रोक्न सकिरहेको थिइँन । मलाई त्यहाँ बस्नै मन लागिरहेको थिइँन । भावनात्मक रूपले म एकदम कमजोर मान्छे मलाई त्यहाँ बाट कसरी बाहिर आउँ झैं लागिरहेथ्यो, डाक्टरले भने तुरून्त दुईपिन्ट रगतको ब्यबस्था गर । म हुत्तिएर बाहिर आएँ ।

ब्लड बैङ्कमा पुगेको बि पोजेटिभ समूहको जगेडा रगत रहिन रहिछ, मेरो रगत चेक गरेको परिणाम उल्टो निक्ल्यो ! मेरो रगत ए पोजेटिभ पो रहिछ ! अब तुरून्तै आवश्यक एक पिन्ट रगतका लागि दौधदुप शुरू भयो । पहिला रक्तदान गरेकाहरू सुची हेरियो, बि पोजेटिभ समूहका केही दाताहरू रहिछन् । तर कतिको फोन उठेन, कतिकोमा सम्पर्क हुन सकेन । बल्ल बल्ल एउटालाई कल लाग्यो, उनले रक्सी पिएर भर्खर सुतेका रैछन् । फोन लागेको पनि ब्यर्थै भयो ! ममा एकदम छटपटी बढ्यो । अस्पताल दौडेर गएँ, गेटमै श्रीमती रोइरहेको आवाज सुनेँ । पाइला त्यहि रोकिए, म भित्र जान सकिनँ ! आमाले भनेको सम्झेँ, अप्ठ्यारो परेको बेला भगवान सम्झनु पर्छ । मैले पनि त्यसै गरेँ । र, मनमन मेरी सानुलाई यो खालको पीडाबाट मुक्ति दिलाईदेउ भनि बागलुङ् कालिकालाई एउटा कालो बोकाको भाकल गरेँ । म एकदमै अतालिएको थिएँ । म यति निरीह थिएँ कि ब्यक्त गर्नलाई मसँग शब्द अभाव छ । त्यसपछि, मेरा पाइला फेरि ब्लड बैङ्क तर्फै मोडिए । अन्तिममा एक जना बागलुङकै नाता पर्ने भाइको पनि रक्तसमूह उहि भएको थाहा भएपछि उनलाई डाक्ने काम भयो । उनी हतार हतार आए र रगत दिए । यसरी सानुको रगतको अभाव त्यस रातलाई पूरा भयो । अझै एक पिन्ट रगत आवश्यक थियो । भोलीपल्ट महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत एक ने.बि.संघका बिधार्थी नेता आएर त्यो अपुग रगत दान गरे । मेरो मन ढुक्क भयो ।

श्रीमतीले अनुभूत गरेको त्यो अभूतपुर्व पीडा पछि मैले निर्क्यौल गरेँ – यिनै छोरी हाम्री पहिलो पनि र एकमात्र सन्तान हुनेछिन् । यसरी एउटा उत्साह र केहि तनाबका बिचमा जन्मेकी हाम्री प्यारी छोरी एन्जिल तीन वर्ष पूरा भएकी छिन् । उनी जन्मेपछि प्रायशः म उनीसँगै छु । प्रायः सानु खाना पकाउनमा ब्यस्त हुने हुँदा मेरो भागमा चाँहि छोरी हेर्ने पर्थ्यो । त्यसैले छोरी प्रायः मेरै हातमा हुन्थिन । अहिले म छोरीसँग नभएको ७ महिना भैसकेको छ । मेरो छोरीसँग फेरि नियमित रूपमा खेल्न, सँगै घुम्न र झगडा गर्न अझैपनि ३ महिना बाँकी छ । नढाँटेर भन्नुपर्दा वास्तवमा मैले मेरी छोरीको जन्मोत्सब भन्दा पनि उनीसँगका प्रत्येक पलहरू 'मिस' गरिरहेछु ।

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...