Skip to main content

छोरी जन्मिदाको त्यो दिन !

आज हाम्री प्राणप्रिय छोरी एन्जील तीन वर्ष पूरा पुगेर चौथो वर्षमा लाग्दैछिन् । हिजो झैं लाग्छ, उनी जन्मेको, कति छिटो तीन वर्ष पार गरि सकिन सम्झेर ल्याउँदा अनौठो अनूभुति हुन्छ । मलाई सम्झना छ, उनको पहिलो वर्षको जन्मदिनको खास उत्साहप्रद रहेन, सायद म र श्रीमतीबिच केहि त्यस्तै असमझदारी रहेको हुनुपर्छ । तर दोश्रो वर्ष पार गरि तेस्रो वर्षमा लाग्दा भने छोरीको जन्मदिन भने जसरी मनाउने ब्यवस्था गरेका थियौं । र, यो उनको जन्मदिनको तेस्रो उत्सब म उनीसँग छैन, मन भरिएर आएको छ । जेहोस छोरीसँगका केहि पलहरू सम्झेर उनको जन्मोत्सब मनाउने प्रयास गरेको छु ।

ठिक तीन बर्ष पहिले आजकै दिन बिहानीपख १ बजेतिर मलाई श्रीमतीले कोट्याउँदै भनिन् – सुन्नुन मलाई त पेट दुख्न थाल्यो । मैले उनलाई पहिले नै सजग गराएको थिएँ कि हल्का पेटमा केहि पीडा भयो भने मलाई भनि हाल्नु, बागलुङ्बाट गाडी मगाउन सजिलो पर्छ । सायद त्यही भएर होकी सानुले मलाई कोट्याएको ! म बिस्तराबाट बिध्यूतिय गतिमा उठेँ र झटपट आमालाई उठाएँ । आमा अलि बिरामी भएका कारण हामीसँग बागलुङ जाने अवस्था नरहेकाले म ठूली आमालाई बोलाउन ठूली आमाकोमा गएँ । ठूलीआमालाई लिएर आएपछि, बागलुङमा रहने मेरा बुढा मामाली खलकका मामा रामु खड्कालाई तुरून्तै फोन गरेँ र रत्नेचौर आउनका लागि अनुरोध गरेँ । मामाले एकैछिनमा हिड्ने जानकारी गराउनु भयो । अलिअलि लज्जाबोध पनि भएको थियो । खासमा हामी दुवैजना श्रीमानश्रीमतीलाई छोरी गर्भमै भएदेखि के लागेको थियो भने पहिलो सन्तान जन्माउनका लागि हामी परिपक्व भैसकेका छैनौं । हुनपनि बहुदल आउँदाको महिनाकी मेरी श्रीमती जो भर्खर १८ वर्ष पार गर्दै थिइँन भने म २२ वर्षको थिएँ ! घर गाउँमा पढ्न लेख्नमा लगाब भएको मेहनती केटो मानिएका हुनाले मलाई हल्का नैतिक प्रश्न हुन आउँथ्यो यो तर मेरो घर मास्तिरको एक जना भाइ १७ बर्षकै उमेरमा फाल्गुण महिनामै छोरीको धनी भैसकेकाले 'डिफेन्सिभ' जवाफ चाँहि थियो मसँग ! यसरी लाजले अलिकति पानीपानी हुँदै, र एक असल श्रीमानको कुशल जिम्मेवारी निभाउँदै श्रीमतीलाई समातेर म तल मोटर बाटोसम्म ओर्लेको ताजा याद आइरहेछ, आज !

बागलुङ्बाट गाडि लिएर मामा आउँदा बिहानीपख ३ बजेको हुनुपर्छ । यताउता गर्दा हामी ४ बजेतिर मात्र गाडि चढेर बागलुङ अस्पतालतिर जान तयार भयौ । बाटोभरी कोहीसँग केहि पनि बोलिनँ । मलाई मनमन खुब शरम लागिरहेथ्यो । मनमा अनेकन प्रश्न खेलिरहेथेँ । छोरा हुने कि छोरी ? कतै बिकलाङ्ग पो हुने हो कि ? फेरि अचेल अचम्म अचम्मका बच्चाहरू पनि जन्मिन्छन् कतै त्यस्तै अचम्मको भैदियो भने त मेरो हाल के हुने होला ? थुप्रै तानाबाना मनमा खेल्न थाले । यी अनेकन तनाब र उत्साहका बिच बागलुङ अस्पताल पुगेको थाहै भएन् । सानुलाई गाडीबाट झारेर सिधैं प्रस्तुती कक्षमा राखियो । सुत्केरी ब्यथा लागेर त्यहाँ आएका केहि महिलाहरू थिए, तीनका साथमा उनीहरूका लोग्ने थिएनन, धेरैका साथमा कि त आमा थिए वा सासु । सप्पै स्वास्नीमान्छेहरू छन् जिस्काएर एक गाँस बनाइदेलान कि भन्ने मनमा ठूलो भय थियो, तर बुर्तिबाङबाट आफ्नी गर्भवती श्रीमती लिएर आएका एकजना अधबैशे दाईलाई भेटेपछि भने मन ढुक्क भयो ! तैपनि, धन्न कसैले जिस्काएन !

बिहानीपख पनि भयो, बच्चा हुने सुरसारै थिएन । यस्सो श्रीमतीलाई हेरेको खिस्स हाँस्छिन् । छेउमै बस्नुभएकी ठूलीआमाले भन्नु भयो, "बल्ल दुई घर खुलेको छ रे, सिस्टर्नीले भनेको !"

"बच्चा जन्मिन कति घर खुल्नुपर्छ रे खास ?" जिज्ञासा राखिसकेपछि अलिकति लाज लागेको अनुभूति भयो ।

ठूलीआमाले कुन्नी कति भन्नुभयो अहिले हेक्का भएन । तर मलाई यत्ति थाहा छ, त्यो नाथे दुई घर खोलिनु कुरा बच्चा जन्मिनका लागि एकदम अपर्याप्त हो । मेरो पाको दिमागले के हेक्का राख्यो भने, म बाबा बन्नका लागि केहि घण्टा अझ अरू प्रतिक्षा गर्नु जरूरी छ !

अब मेरो खास ड्युटी शुरू भएको थियो । सुत्केरी हुन तयार मेरी श्रीमतीका लागि तातो मासुका चोक्टा र झोल तयार पार्न लगाउनु थियो । अस्पताल अगाडिको होटलमा त्यसको पनि बन्दोबस्त गरिसकेको थियो । तर १२ बज्यो, १ बज्यो, २ बज्यो बच्चा जन्मिने त केहि चालिमाली नै छैन । एक मन त श्रीमतीसँग रिस पनि उठ्यो । कति ढिला गरेको होला ? तर यो उनको पहुँचको कुरा पनि थिएन । तसर्थः धैर्यतापूर्वक त्यो सुनौलो घडिको प्रतिक्षा गर्नु बाहेक हामीसँग अरू कुनै बिकल्प थिएन् ।

अपरान्ह तीन बजेको समयमा सानुलाई नर्सहरूले भित्र लगे । केहिसमय पछि उनले मेरो माग गरिछिन् । एकजना नर्सले मलाई बोलाउन आइन, मलाई श्रीमतीको नजिक जान डर लागिरहेको थियो, किनकी सुनेको थिएँ – प्रसुतीको समयमा श्रीमतीहरू ब्यथालाई खप्न नसकेर आफ्नो अगाडि श्रीमानलाई देखे भने 'मलाई यस्तो ब्यथा खप्न पार्ने तैं होइनस् ?' भनी झम्टिन्छन् रे ! कसै – कसैले चिथोरे बेहालै पारिदिन्छन् रे ! रे को कुराले मेरो सातोपुत्लो लगिदिएको थियो त्यसैले पहिला त मैले प्रसुती कोठामा जाने साहस गर्नै सकिनँ तर पछि श्रीमतीको निरन्तरको बोलावट पछि मलाई जान कर लाग्यो । म भित्र गएँ, तर उनलाई त्यति धेरै पीडामा देख्न सकिनँ । र, उनलाई सम्झाइबुझाई गरी म बाहिरै फर्के !

म बाहिर निस्केको केहि समय पछि, अर्थात अपरान्ह ३ बजेर ३७ मिनेट जाँदाको समयमा, नवजात शिशुको रूवाइले हल गुन्जियो ! मसँगै भएकी ठूली आमाले अड्कल लगाउनु भयो- आवाज छोरीको जस्तो छ, घरमा लक्ष्मी भित्रिन् ! मैले ओठे जवाफ फर्काए, हैन आवाज त छोराको जस्तो छ ! म छोरी चाहने मान्छे मैले त्यसबखत त्यो रूवाइको छोराको हुनुपर्छ भनेर किन जिकिर गरेँ हुँला आज पर्यन्त मलाई आश्चर्य लागिरहेछ । त्यस हुनाको कारण मैले अझै पत्ता लगाउन सकेको छैन ।

केहि समय पछि एकजना नर्सले शिशु मेरो ठूलीआमालाई थमाउँदै भन्नुभयो – लक्ष्मी भित्रेकी छिन् ।

एकछिन पछि ठूलीआमाले मलाई दिदै भन्नुभयो – लौं, छोरी समात ! 

यस्सो नजर लगाए, सबै कुरो मै उठेर आएको जस्तो लाग्यो । ठूलीआमाले पनि त्यसै भन्नुभयो, छोरी त दुरूस्तै तिमी जन्मेकी छे ! तर नाक चाँहि ठ्याक्कै सानुको जस्तो ! मंगोल नाक । हुन त एकदिने शिशुको मुहार हेरेर को जस्ति छिन् ? कस्ती छिन् ? अनुमान लगाउनु ब्यर्थै मात्र हो, तर जेहोस् मलाई लागेको कुरो सप्पै मजस्तो नाक चाँहि उनको आमाको जस्तो भएको कुरा अझसम्म मेरी छोरी देखेकाहरूले त्यसै भन्दा चाँहि मेरो अनुमान सहि नै साबित भएको छ !
फेवातालमा बाबासँग रमाउँदै एन्जील
केहि छिन पछि म मिष्ठान्न भण्डारमा गएँ, र सानुको प्रसुतीमा संलग्न नर्सहरू तथा त्यहाँ प्रसुतीका लागि आएका गर्भवती र उनीहरूका कुरूवा सबैका लागि एक एक वटा लालमोहन लिएर हर्षबढाइ गरेँ । अब मेरो खास काम शुरू भयो, अगाडि नै तयार पार्न भनेको मासुको रस लिन गएँ । रस खाइसकेपछि सानुले पिसाब लागेको बताएपछि उनलाई पिशाब फेर्ने ब्यवस्था पनि गरियो । तर बिडम्बना सालका केहि टुक्राहरू पाठेघरमै रहेकाले उनलाई रक्तश्राव भयो । हतार हतार उनलाई फेरि प्रसुति कक्षमा लगियो, म पनि भित्रै गएँ । उनलाई निकै असह्य भएछ, बरर आँशु झारिनँ । मैले आफूलाई रोक्न सकिरहेको थिइँन । मलाई त्यहाँ बस्नै मन लागिरहेको थिइँन । भावनात्मक रूपले म एकदम कमजोर मान्छे मलाई त्यहाँ बाट कसरी बाहिर आउँ झैं लागिरहेथ्यो, डाक्टरले भने तुरून्त दुईपिन्ट रगतको ब्यबस्था गर । म हुत्तिएर बाहिर आएँ ।

ब्लड बैङ्कमा पुगेको बि पोजेटिभ समूहको जगेडा रगत रहिन रहिछ, मेरो रगत चेक गरेको परिणाम उल्टो निक्ल्यो ! मेरो रगत ए पोजेटिभ पो रहिछ ! अब तुरून्तै आवश्यक एक पिन्ट रगतका लागि दौधदुप शुरू भयो । पहिला रक्तदान गरेकाहरू सुची हेरियो, बि पोजेटिभ समूहका केही दाताहरू रहिछन् । तर कतिको फोन उठेन, कतिकोमा सम्पर्क हुन सकेन । बल्ल बल्ल एउटालाई कल लाग्यो, उनले रक्सी पिएर भर्खर सुतेका रैछन् । फोन लागेको पनि ब्यर्थै भयो ! ममा एकदम छटपटी बढ्यो । अस्पताल दौडेर गएँ, गेटमै श्रीमती रोइरहेको आवाज सुनेँ । पाइला त्यहि रोकिए, म भित्र जान सकिनँ ! आमाले भनेको सम्झेँ, अप्ठ्यारो परेको बेला भगवान सम्झनु पर्छ । मैले पनि त्यसै गरेँ । र, मनमन मेरी सानुलाई यो खालको पीडाबाट मुक्ति दिलाईदेउ भनि बागलुङ् कालिकालाई एउटा कालो बोकाको भाकल गरेँ । म एकदमै अतालिएको थिएँ । म यति निरीह थिएँ कि ब्यक्त गर्नलाई मसँग शब्द अभाव छ । त्यसपछि, मेरा पाइला फेरि ब्लड बैङ्क तर्फै मोडिए । अन्तिममा एक जना बागलुङकै नाता पर्ने भाइको पनि रक्तसमूह उहि भएको थाहा भएपछि उनलाई डाक्ने काम भयो । उनी हतार हतार आए र रगत दिए । यसरी सानुको रगतको अभाव त्यस रातलाई पूरा भयो । अझै एक पिन्ट रगत आवश्यक थियो । भोलीपल्ट महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत एक ने.बि.संघका बिधार्थी नेता आएर त्यो अपुग रगत दान गरे । मेरो मन ढुक्क भयो ।

श्रीमतीले अनुभूत गरेको त्यो अभूतपुर्व पीडा पछि मैले निर्क्यौल गरेँ – यिनै छोरी हाम्री पहिलो पनि र एकमात्र सन्तान हुनेछिन् । यसरी एउटा उत्साह र केहि तनाबका बिचमा जन्मेकी हाम्री प्यारी छोरी एन्जिल तीन वर्ष पूरा भएकी छिन् । उनी जन्मेपछि प्रायशः म उनीसँगै छु । प्रायः सानु खाना पकाउनमा ब्यस्त हुने हुँदा मेरो भागमा चाँहि छोरी हेर्ने पर्थ्यो । त्यसैले छोरी प्रायः मेरै हातमा हुन्थिन । अहिले म छोरीसँग नभएको ७ महिना भैसकेको छ । मेरो छोरीसँग फेरि नियमित रूपमा खेल्न, सँगै घुम्न र झगडा गर्न अझैपनि ३ महिना बाँकी छ । नढाँटेर भन्नुपर्दा वास्तवमा मैले मेरी छोरीको जन्मोत्सब भन्दा पनि उनीसँगका प्रत्येक पलहरू 'मिस' गरिरहेछु ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...