Skip to main content

एस.एल.सी, ब्यापार र हरिलठ्ठकहरु

एस.एल.सी अर्थात प्रवेशिका, एउटा बिधार्थीका लागि बिधार्थी जीवनमा आउने एउटा महत्वपूर्ण खुड्किलो । कति यसलाई महत्वपूर्ण अवसर मान्छन् त कति बिधार्थीकालकै सबभन्दा ठूलो घाँडो । तथापि यसलाई महत्व नदिने सायदै कोही होला । अझ यो शैक्षिक राजनीतिमा लागेका केहि शिक्षक नामका राजनैतिक दलका कार्यकर्ताहरुलाई त आफ्नो महत्वलाई ह्वात्तै माथि उकास्ने खास चाड पनि । अरु त अरु राम्रो र गुणस्तरीय शिक्षा दिन्छौं भनी फलाक्ने नीजि बिधालयका संचालकहरुका लागि त आफूले भने अनुसारको शिक्षाको फगत नारालाई प्रमाणित गर्न प्राप्त हुने यो यस्तो एउटा अवसर कि, यसमा उनीहरुको खास केहि “ट्रिक” चलेन भने प्रवेशिकाको नतिजा प्रकाशित भएपछिको एक वर्ष दुनियाका माझ आफ्नो शान शौकत करिब करिब सबै ध्वस्त हुने मनोबिज्ञानले खेदिरहन्छ ।
कतिले प्रवेशिकामा ग्यारेन्टी पास गराउन सक्ने स्तरको ट्युशन सेवा दिन सक्ने आफ्ना आकर्षक विज्ञापनहरुले खास ब्यवसाय पनि गरे होलान । कोहीले भातका ब्यापार गरे सायद त कतिले रातका पनि ब्यापार ! यिनै तीता यथार्थहरुका बिचबाट यसपालीको प्रवेशिका पनि शुरु भैसक्यो । तथापि म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनमा प्रयोग हुदैँ आएको रैथाने प्रवृतीले यसपाला पनि निरन्तरता पाएछ नै । निश्चित ब्यक्ती वा ब्यावसायिक संस्थाहरुले असिमित फाइदाका लागि प्रयोग गर्ने अवैधानिक ब्यावसायिक अभ्यास कार्टेलिङ, सिन्डीकेट प्रणालीको गन्ध म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष तोक्ने विषयमा समेत लागु हुँदै आएको छ । हरहालतमा केन्द्राध्यक्ष बन्ने र आफ्ना आसे पासेहरुलाई निरीक्षक बनाइ परीक्षा अवधीभर जोत्दाजोत्दै जुवा भाँचेर बारीबाट भागेको साँढेले झैं चुरीफुरी देखाउनकै लागि भएपनि केन्द्राध्यक्ष बन्ने होडमा लागेकाहरुको हर्कत देख्दा यस्तो लाग्छ संसारमा सबभन्दा उच्च तहको जिम्मेवारी केहि छ त यहि प्रवेशिका परीक्षा सञ्चालनका लागि एउटा केन्द्रको केन्द्राध्यक्षको जिम्मेवारी पाउनु नै हो । यसरी डेढ हप्ते अवधीका लागि प्राप्त हुने सानो अवसरका लागि जिल्लास्तरीय दलका नेताहरुका चूलोसम्म धाउने हेडसरहरुले सामान्य अवस्थामा विधालयमा आफ्नो भूमिका कुन हिसाबले निभाउँछन् होला यहिबाट अनुमान गर्न सकिन्छ !
सुनिन्छ, जम्मा डेढ हप्ते जिम्मेवारी भएपनि यो खास जिम्मेवारी पाउनका लागि यसरी शिक्षकहरु मरिहत्ते गर्नुका पछाडी यस जिम्मेवारीमा खास आकर्षण पनि छ, विशेषगरी बेनी खाल्डोको कुनै एउटा त्यस्तो केन्द्र जहाँ कम्तिमा एउटा नीजि बिधालयको बिधार्थीहरु परीक्षामा सामेल हुने अवस्था रहन्छ । त्यस्तो केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती हुने सम्भावनाको त कुरै छाडौं हल्का कुरा मात्र चल्यो भने सम्बन्धित शिक्षकलाई ज्वाइँचेलाको जजमानी ख्वाउने केहि मीठा प्रस्तावहरु लगेर नीजि बिधालयका सञ्चालकहरु उनकै दैलामा पुग्छन । केहि समय सम्म त्यस्ता केन्द्रमा त्यो विशेष भूमिका पाउनका लागि दलका जिल्ला प्रमुखहरुका अगाडि पछाडि गरेको मास्टर त्यतिखेर सन्तुष्टीको लामो सास फेर्दै मनमनै गुन्दो हो– बुढापाकाले भन्थे अजिगंरको आहारा दैवले पुर्याउछ हो रै’छ । बिचरा बोर्डिङ्गको सञ्चालक पनि के गरोस् ? केन्द्राध्यक्षको खुट्टा नसमाति भएकै छैन । नत्र कहाँबाट हुन्छ भने जस्तो ? त्यति लामो जो छ विशिष्ट श्रेणीमा पास गर्नुपर्ने बिधार्थीहरुको सूची । अरु त अरु अंग्रेजीमा एक अनुच्छेद राम्रोसँग लेख्न नसक्ने नर्सरी देखि पढेका हरिलठ्ठकहरुलाइ समेत प्रथम श्रेणीको लब्धाङ्क पत्र दिनु पर्ने बाध्यता छ ।
यसरी बाहिर देखिएको भन्दा धेरै पृथक परिस्थीतिबाट गुज्रिरहेको हुन्छ प्रवेशिका परीक्षा सञ्चालनको भित्री कथा । सिट प्लानीङदेखि चिट चलानीसम्म थुप्रै भित्री कारोबारहरु भैरहेका हुन्छन् यो परिक्षामा । तर सबै तैं चुप मैं चुपको स्थितीमा छन् । एउटाको बारेमा भेद खुल्दा बित्तिकै सबैका भित्री अंगहरु छताछुल्ल हुने अवस्था छ । त्यसैले कालेकाले मिलेर खाऔं भालेका शैलीमा काम भैरहेका छन् । समयमै यो कुसंस्कारलाई चिरेर म्याग्देली शिक्षाप्रेमीहरुले अगाडिको बाटो निर्दिष्ट गर्नुु आवश्यक छ । किनकी, बन्दकोठामा तय हुने यी अँध्यारा रणनीतिबाट प्राप्त परिणामहरु केहिगरी उज्याला हुँदैनन् । यो कुसंस्कारको सर्वाधिक कुप्रभाव त्यस्ता हरिलठ्ठकहरुमा झन गहिरो गरी पर्न सक्दछ, जसका लब्धाङ्क पत्रमा छापिएका अंकहरु अविष्मरणीय छन् तर जीवनका महत्पूर्ण परीक्षाहरुमा बेखबर छन ।

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...