Skip to main content

एस.एल.सी, ब्यापार र हरिलठ्ठकहरु

एस.एल.सी अर्थात प्रवेशिका, एउटा बिधार्थीका लागि बिधार्थी जीवनमा आउने एउटा महत्वपूर्ण खुड्किलो । कति यसलाई महत्वपूर्ण अवसर मान्छन् त कति बिधार्थीकालकै सबभन्दा ठूलो घाँडो । तथापि यसलाई महत्व नदिने सायदै कोही होला । अझ यो शैक्षिक राजनीतिमा लागेका केहि शिक्षक नामका राजनैतिक दलका कार्यकर्ताहरुलाई त आफ्नो महत्वलाई ह्वात्तै माथि उकास्ने खास चाड पनि । अरु त अरु राम्रो र गुणस्तरीय शिक्षा दिन्छौं भनी फलाक्ने नीजि बिधालयका संचालकहरुका लागि त आफूले भने अनुसारको शिक्षाको फगत नारालाई प्रमाणित गर्न प्राप्त हुने यो यस्तो एउटा अवसर कि, यसमा उनीहरुको खास केहि “ट्रिक” चलेन भने प्रवेशिकाको नतिजा प्रकाशित भएपछिको एक वर्ष दुनियाका माझ आफ्नो शान शौकत करिब करिब सबै ध्वस्त हुने मनोबिज्ञानले खेदिरहन्छ ।
कतिले प्रवेशिकामा ग्यारेन्टी पास गराउन सक्ने स्तरको ट्युशन सेवा दिन सक्ने आफ्ना आकर्षक विज्ञापनहरुले खास ब्यवसाय पनि गरे होलान । कोहीले भातका ब्यापार गरे सायद त कतिले रातका पनि ब्यापार ! यिनै तीता यथार्थहरुका बिचबाट यसपालीको प्रवेशिका पनि शुरु भैसक्यो । तथापि म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनमा प्रयोग हुदैँ आएको रैथाने प्रवृतीले यसपाला पनि निरन्तरता पाएछ नै । निश्चित ब्यक्ती वा ब्यावसायिक संस्थाहरुले असिमित फाइदाका लागि प्रयोग गर्ने अवैधानिक ब्यावसायिक अभ्यास कार्टेलिङ, सिन्डीकेट प्रणालीको गन्ध म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष तोक्ने विषयमा समेत लागु हुँदै आएको छ । हरहालतमा केन्द्राध्यक्ष बन्ने र आफ्ना आसे पासेहरुलाई निरीक्षक बनाइ परीक्षा अवधीभर जोत्दाजोत्दै जुवा भाँचेर बारीबाट भागेको साँढेले झैं चुरीफुरी देखाउनकै लागि भएपनि केन्द्राध्यक्ष बन्ने होडमा लागेकाहरुको हर्कत देख्दा यस्तो लाग्छ संसारमा सबभन्दा उच्च तहको जिम्मेवारी केहि छ त यहि प्रवेशिका परीक्षा सञ्चालनका लागि एउटा केन्द्रको केन्द्राध्यक्षको जिम्मेवारी पाउनु नै हो । यसरी डेढ हप्ते अवधीका लागि प्राप्त हुने सानो अवसरका लागि जिल्लास्तरीय दलका नेताहरुका चूलोसम्म धाउने हेडसरहरुले सामान्य अवस्थामा विधालयमा आफ्नो भूमिका कुन हिसाबले निभाउँछन् होला यहिबाट अनुमान गर्न सकिन्छ !
सुनिन्छ, जम्मा डेढ हप्ते जिम्मेवारी भएपनि यो खास जिम्मेवारी पाउनका लागि यसरी शिक्षकहरु मरिहत्ते गर्नुका पछाडी यस जिम्मेवारीमा खास आकर्षण पनि छ, विशेषगरी बेनी खाल्डोको कुनै एउटा त्यस्तो केन्द्र जहाँ कम्तिमा एउटा नीजि बिधालयको बिधार्थीहरु परीक्षामा सामेल हुने अवस्था रहन्छ । त्यस्तो केन्द्रमा केन्द्राध्यक्ष नियुक्ती हुने सम्भावनाको त कुरै छाडौं हल्का कुरा मात्र चल्यो भने सम्बन्धित शिक्षकलाई ज्वाइँचेलाको जजमानी ख्वाउने केहि मीठा प्रस्तावहरु लगेर नीजि बिधालयका सञ्चालकहरु उनकै दैलामा पुग्छन । केहि समय सम्म त्यस्ता केन्द्रमा त्यो विशेष भूमिका पाउनका लागि दलका जिल्ला प्रमुखहरुका अगाडि पछाडि गरेको मास्टर त्यतिखेर सन्तुष्टीको लामो सास फेर्दै मनमनै गुन्दो हो– बुढापाकाले भन्थे अजिगंरको आहारा दैवले पुर्याउछ हो रै’छ । बिचरा बोर्डिङ्गको सञ्चालक पनि के गरोस् ? केन्द्राध्यक्षको खुट्टा नसमाति भएकै छैन । नत्र कहाँबाट हुन्छ भने जस्तो ? त्यति लामो जो छ विशिष्ट श्रेणीमा पास गर्नुपर्ने बिधार्थीहरुको सूची । अरु त अरु अंग्रेजीमा एक अनुच्छेद राम्रोसँग लेख्न नसक्ने नर्सरी देखि पढेका हरिलठ्ठकहरुलाइ समेत प्रथम श्रेणीको लब्धाङ्क पत्र दिनु पर्ने बाध्यता छ ।
यसरी बाहिर देखिएको भन्दा धेरै पृथक परिस्थीतिबाट गुज्रिरहेको हुन्छ प्रवेशिका परीक्षा सञ्चालनको भित्री कथा । सिट प्लानीङदेखि चिट चलानीसम्म थुप्रै भित्री कारोबारहरु भैरहेका हुन्छन् यो परिक्षामा । तर सबै तैं चुप मैं चुपको स्थितीमा छन् । एउटाको बारेमा भेद खुल्दा बित्तिकै सबैका भित्री अंगहरु छताछुल्ल हुने अवस्था छ । त्यसैले कालेकाले मिलेर खाऔं भालेका शैलीमा काम भैरहेका छन् । समयमै यो कुसंस्कारलाई चिरेर म्याग्देली शिक्षाप्रेमीहरुले अगाडिको बाटो निर्दिष्ट गर्नुु आवश्यक छ । किनकी, बन्दकोठामा तय हुने यी अँध्यारा रणनीतिबाट प्राप्त परिणामहरु केहिगरी उज्याला हुँदैनन् । यो कुसंस्कारको सर्वाधिक कुप्रभाव त्यस्ता हरिलठ्ठकहरुमा झन गहिरो गरी पर्न सक्दछ, जसका लब्धाङ्क पत्रमा छापिएका अंकहरु अविष्मरणीय छन् तर जीवनका महत्पूर्ण परीक्षाहरुमा बेखबर छन ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...