Skip to main content

देश, खनाल र चौधरीहरु

देश हाँक्ने ठेक्का पाएकाहरुका गलत अभ्यासका बारेमा धेरैले थुप्रै मसि बगाए, मैले पनि जानी नजानि केहि लेख्ने प्रयास गरे हुँला । तर लाग्दैछ, जति लेखे पनि शासकहरुको मति बिग्रेपछि इन्द्रेको बाउ चन्द्रेको पनि केहि नलाग्दो रै’छ ! चित्त बुझ्ने काम फिटिक्कै गर्दैनन् गाँठे, बाहिर सपाट चरित्र देखाउन खोज्छन् भित्र सर्वाङ्ग नांगा छन् । यिनको यो गतिछाडा र टीठलाग्दो व्यवहार देख्दा म आफैदेखि उदेक लाग्न थाल्छ । अनि यसो सोच्छु, यी हुँडारहरु हुन् यीनले हामी निम्छरा जनताहरुलाई प्रजाबाट उठेर स्वाभिमानी नेपाली नागरिक भएर उठ्न कहिल्यै नदिने भए ।
न आफू गर्छन, न केहि सपार्न चाहनेलाई काम गर्ने वातावरण बनाइदिन्छन् । हुँदा हुँदा पत्रकारिताका नाममा मुखपत्र चलाइरहेका केहि बज्रस्वाँठहरु तीनका गलत काम सहि हो भनि प्रमाणित गर्न भगिरथ प्रयासमा समेत लागिपर्छन । प्रसंग रामेश्वर खनालका बारेमा उठाउन खोजिरहेछु म । उनका कामका बारेमा म हिजोसम्म बेखबर थिएँ । केहि उल्लेखनीय र सबल उनका कदमका बारेमा मैले आजभोली सुन्न पाइरहेको छु । हिजो उनका असल कदमका बारेमा पत्रिकाहरुले आवश्यक कभरेज गरेनन त्यसैले म बेखबर थिएँ, अकस्मात उनको राजीनामा आएपछि पो म झस्किएँ – उनका सबलताका बारेमा पढ्ने अवसर पाउँदा । हुन त हाम्रो संस्कृति नै यस्तो, केहि अपवादहरुलाई छाडेर भन्ने हो भने, कुनै पनि ब्यक्तिको असल कामका बारेमा कि त हामी ऊ अवसानको संघारमा पुग्दा वा उसको शेषपछि नै उठाउने गर्छौ । हिजो ओहोदामा रहेर काम गर्दा सम्म उनका असल अभ्यासहरु समाचारका शिर्षक बन्न पाएनन अहिले राजीनामा आएपछि आश्चर्यजनक ढंगले उनका असल अभ्यासका बारेमा अत्यन्तै राम्रा टिकाटिप्पणीहरु सुन्नमा आएका छन् । खैर, कुरा जेसुकै होस् तर कुरोको चुरो भनेको देश हाँक्नेहरुको नियतमा खोट अवश्य नै छ । 
अरे, नक्कली भ्याट बिल कारोबार गरेर देशको राजस्व डुबाउन दिनुहुन्न भन्दा एउटा राष्ट्रसेवकलाई सहयोग गरेन भनेर दबाब दिनु न्यायसंगत हो ? घरजग्गा कर्जामा अनावश्यक लगानी बढाएर तरलताको अभाव हुन दिने काम गलत हो भन्दा अनावश्यक दबाब दिनु कति न्यायपूर्ण हो ? कम्युनिष्ट भनिएकाहरुको गठबन्धन सरकारको नेतृत्व गरिरहेका झलनाथ खनाल नेतृत्वको यो सरकारले जनतालाई जवाफ दिनु आवश्यक छ कि छैन ? के ठूला ब्यावसायिक घरानाका सदस्यहरु तिम्रा दलका अन्नदाताहरु हुन भन्दैमा यो देशमा उनीहरुलाई जे गर्न पनि छुट छ ? जबाफ चाहिएको छ । पैसा, राजनैतिक संरक्षण र शक्तिका आडमा जे पनि गर्न छुट छ भने काशिराम गुरुङहरुलाई किन भूमिगत हुन बाध्य पारेका छौं ? लेनदेन नमिलेर हैन ? जनता अनबिज्ञ छैनन्  यी विषयहरुमा ! यो देश नबन्नुका पछाडि सबैभन्दा दोषी पैसामा बिकेका दलका नेताहरु हुन भन्ने घाम जस्तै छर्लङ्गै भएको कुरा जगजाहेरै छ । हैन खासमा कहिले आउँछ यिनीहरुको सद्बुद्धी ? हुन त बुद्धी भए पो सद्बुद्धी आउनु ! यिनका मस्तिष्कमा धमिराले गोलो लगाएको छ, जहाँबाट जनताको हितका लागि, देशको सम्बृद्धिका लागि आवश्यक असल बिचारहरुको उत्पादन हुन्छ भन्ने सोच्नु नै बेफ्वाँकको कुरा हो । 
अन्त्यमा, रामेश्वर खनालको राजीनामाले हामीलाई प्रस्टै छर्लङ्गाएको छ, यो देशको राज्यसंचालन ब्यवस्था कहाँबाट कसरी निर्देशित छ ? राजनीति र सामाजिक सेवाको खोल ओढेर अनि उध्योगपतिका ट्याग भिरेका बिनोद चौधरीहरुको चलखेलले कति प्रभाव पार्दो रैछ यहाँको राज्य सञ्चलानमा ? सफा पानिमा देखिने जिवन्त प्रतिबम्ब झैं स्पष्ट भएको छ । किन जमिम शाह र युनुस अन्सारीहरुको कुबेर बन्ने उत्कट महत्वकांक्षा बन्दो रै’छ, त्यो पनि बुझ्दैछु, आज । यो देशमा पैसा भए जे पनि गर्न मिल्ने अवस्था बनाउँदैछन् दलका नेताहरु ! रामेश्वरको राजनिामाले मलाई कम्तीमा पनि बुझाईदिएको छ, एउटा सत्य — आखिर कम्युनिष्ट भनौंदाहरुले आफ्ना चुलिएका महलहरु बनाउँदा कहाँबाट पाएका रहेछन् आर्थिक श्रोतहरु ! अब हामी अर्धबेहोस मान्छेहरुले चेतमा आउने समय भएको छ, यहाँ जसले धेरै देश बनाउने सपना बाँडिरहेछन् तीनले पर्दाभित्र देश लुटिरहेछन् ! आउनुस हामी सबै गोलबद्ध भई राष्ट्रसेवक खनालहरुका पक्षमा वकालत गरौं, सँगसँगै खबरदारी पनि गरौं प्रधानमन्त्रीका कुर्सीमा बसेर राष्ट्रघात गर्न खोज्ने खनालहरुको ! 
यो लेख नबबिकल्प साप्ताहिकका लागि सुरक्षित गरिसकिएको छ । तसर्थ अन्य छापाका पत्रिकाहरूमा यो लेख पुनःप्रकाशन गर्न सख्त मनाही छ ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...