Skip to main content

देश, खनाल र चौधरीहरु

देश हाँक्ने ठेक्का पाएकाहरुका गलत अभ्यासका बारेमा धेरैले थुप्रै मसि बगाए, मैले पनि जानी नजानि केहि लेख्ने प्रयास गरे हुँला । तर लाग्दैछ, जति लेखे पनि शासकहरुको मति बिग्रेपछि इन्द्रेको बाउ चन्द्रेको पनि केहि नलाग्दो रै’छ ! चित्त बुझ्ने काम फिटिक्कै गर्दैनन् गाँठे, बाहिर सपाट चरित्र देखाउन खोज्छन् भित्र सर्वाङ्ग नांगा छन् । यिनको यो गतिछाडा र टीठलाग्दो व्यवहार देख्दा म आफैदेखि उदेक लाग्न थाल्छ । अनि यसो सोच्छु, यी हुँडारहरु हुन् यीनले हामी निम्छरा जनताहरुलाई प्रजाबाट उठेर स्वाभिमानी नेपाली नागरिक भएर उठ्न कहिल्यै नदिने भए ।
न आफू गर्छन, न केहि सपार्न चाहनेलाई काम गर्ने वातावरण बनाइदिन्छन् । हुँदा हुँदा पत्रकारिताका नाममा मुखपत्र चलाइरहेका केहि बज्रस्वाँठहरु तीनका गलत काम सहि हो भनि प्रमाणित गर्न भगिरथ प्रयासमा समेत लागिपर्छन । प्रसंग रामेश्वर खनालका बारेमा उठाउन खोजिरहेछु म । उनका कामका बारेमा म हिजोसम्म बेखबर थिएँ । केहि उल्लेखनीय र सबल उनका कदमका बारेमा मैले आजभोली सुन्न पाइरहेको छु । हिजो उनका असल कदमका बारेमा पत्रिकाहरुले आवश्यक कभरेज गरेनन त्यसैले म बेखबर थिएँ, अकस्मात उनको राजीनामा आएपछि पो म झस्किएँ – उनका सबलताका बारेमा पढ्ने अवसर पाउँदा । हुन त हाम्रो संस्कृति नै यस्तो, केहि अपवादहरुलाई छाडेर भन्ने हो भने, कुनै पनि ब्यक्तिको असल कामका बारेमा कि त हामी ऊ अवसानको संघारमा पुग्दा वा उसको शेषपछि नै उठाउने गर्छौ । हिजो ओहोदामा रहेर काम गर्दा सम्म उनका असल अभ्यासहरु समाचारका शिर्षक बन्न पाएनन अहिले राजीनामा आएपछि आश्चर्यजनक ढंगले उनका असल अभ्यासका बारेमा अत्यन्तै राम्रा टिकाटिप्पणीहरु सुन्नमा आएका छन् । खैर, कुरा जेसुकै होस् तर कुरोको चुरो भनेको देश हाँक्नेहरुको नियतमा खोट अवश्य नै छ । 
अरे, नक्कली भ्याट बिल कारोबार गरेर देशको राजस्व डुबाउन दिनुहुन्न भन्दा एउटा राष्ट्रसेवकलाई सहयोग गरेन भनेर दबाब दिनु न्यायसंगत हो ? घरजग्गा कर्जामा अनावश्यक लगानी बढाएर तरलताको अभाव हुन दिने काम गलत हो भन्दा अनावश्यक दबाब दिनु कति न्यायपूर्ण हो ? कम्युनिष्ट भनिएकाहरुको गठबन्धन सरकारको नेतृत्व गरिरहेका झलनाथ खनाल नेतृत्वको यो सरकारले जनतालाई जवाफ दिनु आवश्यक छ कि छैन ? के ठूला ब्यावसायिक घरानाका सदस्यहरु तिम्रा दलका अन्नदाताहरु हुन भन्दैमा यो देशमा उनीहरुलाई जे गर्न पनि छुट छ ? जबाफ चाहिएको छ । पैसा, राजनैतिक संरक्षण र शक्तिका आडमा जे पनि गर्न छुट छ भने काशिराम गुरुङहरुलाई किन भूमिगत हुन बाध्य पारेका छौं ? लेनदेन नमिलेर हैन ? जनता अनबिज्ञ छैनन्  यी विषयहरुमा ! यो देश नबन्नुका पछाडि सबैभन्दा दोषी पैसामा बिकेका दलका नेताहरु हुन भन्ने घाम जस्तै छर्लङ्गै भएको कुरा जगजाहेरै छ । हैन खासमा कहिले आउँछ यिनीहरुको सद्बुद्धी ? हुन त बुद्धी भए पो सद्बुद्धी आउनु ! यिनका मस्तिष्कमा धमिराले गोलो लगाएको छ, जहाँबाट जनताको हितका लागि, देशको सम्बृद्धिका लागि आवश्यक असल बिचारहरुको उत्पादन हुन्छ भन्ने सोच्नु नै बेफ्वाँकको कुरा हो । 
अन्त्यमा, रामेश्वर खनालको राजीनामाले हामीलाई प्रस्टै छर्लङ्गाएको छ, यो देशको राज्यसंचालन ब्यवस्था कहाँबाट कसरी निर्देशित छ ? राजनीति र सामाजिक सेवाको खोल ओढेर अनि उध्योगपतिका ट्याग भिरेका बिनोद चौधरीहरुको चलखेलले कति प्रभाव पार्दो रैछ यहाँको राज्य सञ्चलानमा ? सफा पानिमा देखिने जिवन्त प्रतिबम्ब झैं स्पष्ट भएको छ । किन जमिम शाह र युनुस अन्सारीहरुको कुबेर बन्ने उत्कट महत्वकांक्षा बन्दो रै’छ, त्यो पनि बुझ्दैछु, आज । यो देशमा पैसा भए जे पनि गर्न मिल्ने अवस्था बनाउँदैछन् दलका नेताहरु ! रामेश्वरको राजनिामाले मलाई कम्तीमा पनि बुझाईदिएको छ, एउटा सत्य — आखिर कम्युनिष्ट भनौंदाहरुले आफ्ना चुलिएका महलहरु बनाउँदा कहाँबाट पाएका रहेछन् आर्थिक श्रोतहरु ! अब हामी अर्धबेहोस मान्छेहरुले चेतमा आउने समय भएको छ, यहाँ जसले धेरै देश बनाउने सपना बाँडिरहेछन् तीनले पर्दाभित्र देश लुटिरहेछन् ! आउनुस हामी सबै गोलबद्ध भई राष्ट्रसेवक खनालहरुका पक्षमा वकालत गरौं, सँगसँगै खबरदारी पनि गरौं प्रधानमन्त्रीका कुर्सीमा बसेर राष्ट्रघात गर्न खोज्ने खनालहरुको ! 
यो लेख नबबिकल्प साप्ताहिकका लागि सुरक्षित गरिसकिएको छ । तसर्थ अन्य छापाका पत्रिकाहरूमा यो लेख पुनःप्रकाशन गर्न सख्त मनाही छ ।

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...