Skip to main content

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने । 

अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि पाएँ।

कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसकेकाले मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । जसलाई हेर्‍यो ऊ निकै हतारोमा छ भन्ने प्रतित भैरह्यो । जता हेर्‍यो त्यतै मान्छेहरु कुदेका कुदै छन् । कसलाई रोकेर के सोध्ने ? यस्तै अलमलमा म नजिकैको भवनभित्र छिरे । 

भित्रपट्टि पुगेको केहि थान मानिसहरु चुपचाप बसिरहेको भेटेँ । एकदम शान्त ! अगाडिपट्टि मैनबत्ति बलिरहेको देखिन्थ्यो, र आडमा एउटा पवित्र धार्मिक ग्रन्ध खोलिएको जस्तो देखिन्थयो । भित्रको दृश्य नियाल्दै गर्दा मैले मेरो काँधमा एउटा तातो स्पर्श अनुभूत गरेँ । त्यहाँ एउटी बुढी आइमाई मेरो पछाडी उभ्भिरहेकी थिईन । 

सायद म त्यस पवित्र स्थानसँग सम्बन्ध राख्दिनँ भन्ने उनले अड्कल काटिछिन् क्यार, बाहिर निस्किदै गर्दा मेरो कानमै आएर फुस्फुसाईन् – “तिमी अर्कै धर्ममा आस्था राख्ने मान्छे हौ कि जस्तो लाग्यो, तर तिमीलाई यहाँ देख्दा मलाई आनन्द लाग्यो । किनकी यो ठाउँ अत्यन्तै शान्त छ । यहाँ आउँदा हरेकको मनमा एकखालको अनुभूति हुन्छ, एकदम आनन्ददायक !” ती बृद्धा अङ्ग्रेजीमा बोल्दै गर्दा नै मलाई उनको बुद्धिमत्तापूर्ण होशियारी सारै मन परेको थियो । अझ उनले मप्रति देखाएको सदभाव र उनले प्रकट गरेको कृतज्ञताले मलाई नछुने कुरै भएन्, मैले नढाँटि भनिदिएँ – “म बुद्धको देशमा जन्मेको एउटा हिन्दु हुँ । तर म संसारका सबै धर्म र विश्वासलाई वरोवर आदर गर्दछु !” मेरो जवाफ सुनेपछि उनले केहिसमय मसँग भलाकुशारी गर्न चाहिनँ ।

लजाउने स्वभाव भएका फिनिसहरुसँग मैले खास भलाकुशारी नै गर्न पाएको थिइँन । तर त्यो दिनलाई आज पनि याद गर्दा मलाई विश्वास हुँदैन् कि हिउँले पूरै सेताम्मे भएर ढाकिएको हेलसिन्कीको चिसोमा ती बुढी आईमाईले कति न्यानो बाडिन् मसँग । लागूपदार्थको दुर्व्यसनीका बारेमा केहि खोजी गर्न गएको मलाई उनले आफ्नो प्यारो भारतीय प्रेमीसँग भियनामा साटेका प्रेमका बारेमा बताइँन । उनले हामी दक्षिणी एशियालीहरुको इमान्दारिता, निर्दोशिता र प्रेमील विशेषताको खुलेर प्रशंसा गरिनँ । 

मलाई अझै अविश्वास छ, पूरै एकलकाँटे जीवन बाँच्ने पश्चिमाहरुभन्दा माथि उठेर उनले मेरो बसाईका अनुभवहरुका बारेमा जान्न चाहिँन । फिनल्याण्डको अप्रसिद्ध चीसोबाट कसरी बच्ने अनि यहाँको अन्धकार चीसो ऋतुको दिनरातसँग कसरी अभ्यस्त हुने सबैसबै कुराहरु राम्ररी सम्झाईन् । मानौं पहिलो पटक घर छाडेर मुग्लान पस्न लागेको छोरालाई जानीनजानी एउटी ग्रामीण आमा सम्झाउँदैछिन् – परदेशमा कसरी आफू र आफ्नो स्वास्थ्यको ख्याल गर्ने ? झण्डै आधा घण्टे कुराकानीलाई बिट मार्दै म हिड्न लागेकै बेलामा उनले एउटा जीवन दर्शन पनि सिकाइँन – “खुशी भएर बाँच्ने प्रयत्न गर ।” 

बृद्धासँग कुरा गरे सक्काई सकेपछि मेरो वरिपरी मैले मेरा समूहका कोही पनि साथी भेटिनँ । पाँचसात मिनेट यताउता खोजेपछि बल्ल साथीहरु भेटिए । उनीहरु मैतिर एकतमास हेर्दै थिए । मैले केहि बोलिनँ । अन्ततः डेरा फर्कने निधोमा पुगेपछि हामी छुट्टियौं । म फेरि त्यही सेन्ट्रल स्टेशनमा कुद्दै थिएँ हातमा २० सेन्ट समातेर । चर्पी खोजिरहेथेँ – मुत्र विसर्जनका लागि । तर कहिँ भेटिनँ । एउटा युवालाई सोध्दै थिएँ, एकजना बृद्धले मलाई समातेर चर्पी भएको तिर लगे । २० सेन्ट उनितिर तेर्साउँदै सोधेँ – यो कहाँ खसाल्ने ?

कस्तो अचम्म ? उनले मलाई २० सेन्ट फिर्ता दिदै भने – “यसमा चाँहि निशुल्क प्रयोगको ब्यवस्था छ !” धन्य हुन ती बुढाबा, जसले मेरो २५ ने.रु जोगाईदिएँ !

त्यो दिन हेलसिन्कीबाट रेल चढेर आफ्नो निवासस्थान फर्कदै गर्दाको २० मिनेटसम्म मैले ती दुईजना बृद्धबृद्धालाई खुबसँग सम्झेँ । एकदम आफन्तहरुको झैं उनीहरुको याद आयो । एकदम ।

Comments

  1. Yaha ko lekhan saile ko ma kadar garchu...ra sachikkai aananda ko anuvuti hun6 tapaiko lines haru padda..keep giving ur best,my bro..wish u luck.

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...