Skip to main content

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने । 

अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि पाएँ।

कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसकेकाले मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । जसलाई हेर्‍यो ऊ निकै हतारोमा छ भन्ने प्रतित भैरह्यो । जता हेर्‍यो त्यतै मान्छेहरु कुदेका कुदै छन् । कसलाई रोकेर के सोध्ने ? यस्तै अलमलमा म नजिकैको भवनभित्र छिरे । 

भित्रपट्टि पुगेको केहि थान मानिसहरु चुपचाप बसिरहेको भेटेँ । एकदम शान्त ! अगाडिपट्टि मैनबत्ति बलिरहेको देखिन्थ्यो, र आडमा एउटा पवित्र धार्मिक ग्रन्ध खोलिएको जस्तो देखिन्थयो । भित्रको दृश्य नियाल्दै गर्दा मैले मेरो काँधमा एउटा तातो स्पर्श अनुभूत गरेँ । त्यहाँ एउटी बुढी आइमाई मेरो पछाडी उभ्भिरहेकी थिईन । 

सायद म त्यस पवित्र स्थानसँग सम्बन्ध राख्दिनँ भन्ने उनले अड्कल काटिछिन् क्यार, बाहिर निस्किदै गर्दा मेरो कानमै आएर फुस्फुसाईन् – “तिमी अर्कै धर्ममा आस्था राख्ने मान्छे हौ कि जस्तो लाग्यो, तर तिमीलाई यहाँ देख्दा मलाई आनन्द लाग्यो । किनकी यो ठाउँ अत्यन्तै शान्त छ । यहाँ आउँदा हरेकको मनमा एकखालको अनुभूति हुन्छ, एकदम आनन्ददायक !” ती बृद्धा अङ्ग्रेजीमा बोल्दै गर्दा नै मलाई उनको बुद्धिमत्तापूर्ण होशियारी सारै मन परेको थियो । अझ उनले मप्रति देखाएको सदभाव र उनले प्रकट गरेको कृतज्ञताले मलाई नछुने कुरै भएन्, मैले नढाँटि भनिदिएँ – “म बुद्धको देशमा जन्मेको एउटा हिन्दु हुँ । तर म संसारका सबै धर्म र विश्वासलाई वरोवर आदर गर्दछु !” मेरो जवाफ सुनेपछि उनले केहिसमय मसँग भलाकुशारी गर्न चाहिनँ ।

लजाउने स्वभाव भएका फिनिसहरुसँग मैले खास भलाकुशारी नै गर्न पाएको थिइँन । तर त्यो दिनलाई आज पनि याद गर्दा मलाई विश्वास हुँदैन् कि हिउँले पूरै सेताम्मे भएर ढाकिएको हेलसिन्कीको चिसोमा ती बुढी आईमाईले कति न्यानो बाडिन् मसँग । लागूपदार्थको दुर्व्यसनीका बारेमा केहि खोजी गर्न गएको मलाई उनले आफ्नो प्यारो भारतीय प्रेमीसँग भियनामा साटेका प्रेमका बारेमा बताइँन । उनले हामी दक्षिणी एशियालीहरुको इमान्दारिता, निर्दोशिता र प्रेमील विशेषताको खुलेर प्रशंसा गरिनँ । 

मलाई अझै अविश्वास छ, पूरै एकलकाँटे जीवन बाँच्ने पश्चिमाहरुभन्दा माथि उठेर उनले मेरो बसाईका अनुभवहरुका बारेमा जान्न चाहिँन । फिनल्याण्डको अप्रसिद्ध चीसोबाट कसरी बच्ने अनि यहाँको अन्धकार चीसो ऋतुको दिनरातसँग कसरी अभ्यस्त हुने सबैसबै कुराहरु राम्ररी सम्झाईन् । मानौं पहिलो पटक घर छाडेर मुग्लान पस्न लागेको छोरालाई जानीनजानी एउटी ग्रामीण आमा सम्झाउँदैछिन् – परदेशमा कसरी आफू र आफ्नो स्वास्थ्यको ख्याल गर्ने ? झण्डै आधा घण्टे कुराकानीलाई बिट मार्दै म हिड्न लागेकै बेलामा उनले एउटा जीवन दर्शन पनि सिकाइँन – “खुशी भएर बाँच्ने प्रयत्न गर ।” 

बृद्धासँग कुरा गरे सक्काई सकेपछि मेरो वरिपरी मैले मेरा समूहका कोही पनि साथी भेटिनँ । पाँचसात मिनेट यताउता खोजेपछि बल्ल साथीहरु भेटिए । उनीहरु मैतिर एकतमास हेर्दै थिए । मैले केहि बोलिनँ । अन्ततः डेरा फर्कने निधोमा पुगेपछि हामी छुट्टियौं । म फेरि त्यही सेन्ट्रल स्टेशनमा कुद्दै थिएँ हातमा २० सेन्ट समातेर । चर्पी खोजिरहेथेँ – मुत्र विसर्जनका लागि । तर कहिँ भेटिनँ । एउटा युवालाई सोध्दै थिएँ, एकजना बृद्धले मलाई समातेर चर्पी भएको तिर लगे । २० सेन्ट उनितिर तेर्साउँदै सोधेँ – यो कहाँ खसाल्ने ?

कस्तो अचम्म ? उनले मलाई २० सेन्ट फिर्ता दिदै भने – “यसमा चाँहि निशुल्क प्रयोगको ब्यवस्था छ !” धन्य हुन ती बुढाबा, जसले मेरो २५ ने.रु जोगाईदिएँ !

त्यो दिन हेलसिन्कीबाट रेल चढेर आफ्नो निवासस्थान फर्कदै गर्दाको २० मिनेटसम्म मैले ती दुईजना बृद्धबृद्धालाई खुबसँग सम्झेँ । एकदम आफन्तहरुको झैं उनीहरुको याद आयो । एकदम ।

Comments

  1. Yaha ko lekhan saile ko ma kadar garchu...ra sachikkai aananda ko anuvuti hun6 tapaiko lines haru padda..keep giving ur best,my bro..wish u luck.

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...