![]() |
तस्बीर स्रोत |
एउटा जातीबाट माथि उठेर हेर्ने हो भने, मेरो आफ्नै परिधीलाई नाघेर विस्फारित तरिकाले बिश्लेषण नै गर्ने हो भने झण्डै केहिसय वर्षपहिले देखि औपचारिक प्रचलनमा रहेको विक्रमादित्यको क्यालेण्डरमा नै म आफ्नोपन देख्छु/भेट्छु । तर यसको अर्थ यो हैन कि नेपाल सम्बत वा अरु यस्तै केहि समुदाय एवं संस्कार विशेष क्यालेण्डरको म विपक्षमा छु । मेरो भन्नुको अर्थ चाँहि के हो भने कम्तिमा पनि सनातनदेखि प्रचलनमा रहेका र हाम्रा आफ्नै मौलिक विशेषता बोकेका संस्कारहरुमा हामीले गर्व गर्ने सामर्थ्य वा साहस चाँहि राख्नुपर्छ । हामी वास्तवमै एकै निमेषको झिलिमिली र चमकदमकबाट निकै नै प्रभावित बन्दै आएका छौं । यसलाई हामीहरु कतिपयले जेजस्तो वातावरणमा पनि घुलमिल हुन सक्ने हाम्रो खुबी हो भनेर गर्वको विषय पनि बनाएका हौला, तर यसलाई मैले त्यो भन्दा पनि बढी हामीमा अरुहरुको नक्कल गर्ने वानी छ भनेर बुझेको छु । किनकी शितलहरले मेरा मधेशका मान्छेहरु कन्ठ्याङग्रिरहेको बखत, मेरा हिमालका मान्छेहरु हिउँ भित्र छोपिएको समय मेरो नयाँ वर्ष आउँदैन, मेरो नयाँ वर्ष त त्यतिखेर आउँछ जतिखेर मेरा जंगलका बेपाते रुखहरुमा मुना पलाउन थाल्छन् र जसको दृश्यपानले मलाई जीवनमा दुःख र सुख बरोबर आउँछन् भन्ने तथ्यको शास्वत पक्षलाई बोध गराउँदछ अनि मेरा थाँति रहेका कामहरु पूरा गर्नका लागि नयाँ जोश, उमंग र उत्साह पैदा गर्दछ । बितेको बर्षमा आफ्ना मनोकाङ्क्षा प्राप्तीका लागि निरर्थक बनेका सत्प्रयासहरुको स्मरण गर्दै अझ भिन्न तरिकाले, परिमार्जित कार्ययोजनका साथ अगाडि बढ्ने प्रेरणा दिने त्यो दिन बसन्त ऋतुको मध्य समय आउँछ । र, त्यसलाई म बैशाख १ भनेर जान्दछु ।
एकातिर यो सत्य त छदैँ छ तर परिस्थतीवश मैले पछ्याउँदै आएको मेरो सनातनदेखिको प्रचलन अहिले म बस्दै आएको स्थान विशेषमा अस्तित्वमा छैन भन्ने अर्को सत्य पनि मेरा लागि उत्तिकै महत्वपूर्ण विषय हो । यहाँ मसँग निहीत मेरो परम्परा, संस्कार र संस्कृतिभन्दा धेरै भिन्न प्रकारको परम्परा, संस्कार र संस्कृति प्रचलनमा छ । त्यसकारण, यस बखत मेरा लागि सत्य यो पनि हो कि ईश्वी सन्को क्यालेण्डरमा पूर्णतः निर्भर रहनु निशर्तः अपरिहार्य छ मलाई । यस सत्यलाई शिरोपर गरि मैले केहि योजनाहरु बनाएको छु । मैले ईश्वी सन्को पछिल्लो वर्ष गरेका त्रुटीहरुबाट पाठ सिक्दै आफ्नो ब्यक्तित्व विकासका साथसाथ समाज रुपान्तरणमा ठोस योगदान पुर्याउने मेरो उत्कट चाहनालाई मूर्त रुप दिने प्रयास जारी राख्नेछु । गतवर्ष देखि आंशिक रुपमा त्याग गर्ने निर्णय गरेको मदिराजन्य पदार्थको सेवनलाई ईश्वीसन्को यो नयाँ वर्षसँगै पूर्णतः परित्याग गर्ने अठोट गरेको छु (साथीहरुसँग मनाएको न्यू एअर इभमा पनि मैले मदिरा पिइँन :) ) । र, सबभन्दा महत्वपूर्ण कुरो त विश्वभर अस्तित्वमा रहेका सबै भाषा, संस्कार, रितीरिवाज, चालचलन र अरु धर्मका मूल्य र मान्यताहरुलाई सम्मान गर्दै मेरो आफ्नो मौलिकतामा भएका अनावश्यक हस्तक्षेपहरुको सस्वर विरोध जारी राख्ने प्रण गरेको छु ।
यदि यहाँसँग पनि केहि प्रतिज्ञाहरू छन् भने बाँडिदिनु होला हैं !
Comments