Skip to main content

मेरो साथीलाई पाखे भन्छ्स् ?

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने एक सहपाठीले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिएँ । 

यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, Buddha was born in Nepal को नारा लगाएर नेपाल चिनाउन यो सब गर्दैछु भन्दै थिए । 

त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने, विश्वविद्यालयबाट हप्ते ‘प्रशिक्षण कक्षा’ को शिलशिलामा एउटा वृद्धआश्रममा व्यवहारिक ज्ञान र सिप आर्जन गरिरहेका मेरा मित्रले आफ्नो चार हप्ते बसाईको अन्त्य अन्त्यमा एउटा प्रस्तुती दिएछन – आफ्नो देश सम्बन्धी । 

अब स्वभावतः नेपालको प्राकृतिक सौन्दर्यको साथसाथमा मानवीय पिडा र अभावका तस्बीरहरुले पनि नेपालको परिचयमा आफ्नो मजबुत उपस्थिती राख्ने नै भए । विचरा मेरा मित्रले पनि समेटेछन् केहि तस्वीरहरु । कथित विकसित भनिएको समाजमा भिन्न लाग्ने तस्विर – सिंगाने केराटीका तस्वीर, सडक बालबालिकाको कन्तविजोग र धर्मशालामा ल्याएर थन्काइएका अभागी बाजे बज्यैहरुका तस्वीर ! 

प्रस्तुतीको भोलिपल्ट त्यसै वृद्धआश्रममा रहेको एकजनाले उनलाई स्वागत गरेछ उनले सुन्दै नसुनेको फिनिस विशेषण सहित – ह्वामेन्ता (शुभप्रभात) यून्ती (Huomenta Juntti)! विचरा उनले ह्वामेन्तासँगै जोडिएर आएको शब्दको अर्थ त बुझेनन् तर शुभप्रभातको अभिवादन पाएपछि मुस्कुराएर भित्र छिरेछन । जव पछि “यून्ती”को अर्थ पत्तो पाए अनिखेर कन्सिरी तात्ने नै भयो । पछि मैले पनि पत्तो पाएँ मेरा हितैषीको छातिमा देश दुख्नुको कारण । अघिल्लो दिनको प्रस्तुतीका केही निम्छरा तस्वीरहरु देखेपछि उक्त फिनिसले नेपालीलाई ठानेछ यून्ती अर्थात पाखे, असभ्य !

र, आजको घटनाचाँहि अलि पृथक छ । “इन्टरनेशल सेमिनार” का नाम दिएर नेपालबाट झिकाइएकी “प्राध्यापिका” को कन्तविजोग प्रस्तुती देखेपछि मेरा हितैषीहरुको मथिंगलमा देशका लागि केहि गर्नै पर्ने सोचले डेरा जमाएछ । उपत्यकाको एक कलेजकी सहायक क्याम्पस प्रमुख रहेकी उनले मुस्किलले आफ्नो प्रस्तुती भ्याइछिन् । नेपालमा नर्सिङ शिक्षाको महत्व र नर्सिङ पेशाका सम्भावना एवं चूनौतीहरुका विषयमा मात्र हैन नेपालका बारेमा पनि प्रस्तुती दिइछन् । 

तर सहपाठीहरूको जिकिर थियो – “एउटा इन्टरनेशनल फोरममा प्रस्तुती दिने न शैली थियो, न त अङ्ग्रेजीको चित्त बुझ्दो ज्ञान नै ! अरु त अरु नेपाल सहित दश बार्‍ह अरु देशका विद्यार्थीहरु रहेको सेमिनारमा उनले हामी (नेपालीहरु) लाई जवाफ पनि नेपाली मै दिईन । "क्या यार दाई त्यस्ता त प्रोफेसर रहिछन् हाम्रो देशाँ !” म चुपचापै रहेँ । उनले थपे – “कस्तो झुर क्या, त्यो भन्दा राम्रो ज्ञान भएका अरु थिएनन होला कि ?” उनले यसो भनिरहँदा मैले केशव स्थापितको अन्तरबार्ता सम्झिए जहाँ उनले भनेका थिए – "फिनल्याण्डमा फोहोर ब्ववस्थापनका बारेमा अध्ययन गर्न आउने एउटा टोली गठन गर्न खोज्दै गर्दा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइकी श्रीमती हिसिलाले कति झमेला गरिन ।"

नेपाल छाडेर विदेशमा आउने भन्दा वित्तिकै सारै ठूलै भइन्छ भन्ने भ्रम जो छ हामीमा, त्यसैको एउटा ज्वलन्त उदाहरण सायद ती प्राध्यापिकाको आगमन पनि हो । विचरा, कति राजनैतिक दाउपेचले उनले यहाँसम्म पाईला राख्न पाएकी हुन्, अनि कहाँबाट गतिलो हुन्छ प्रस्तुती ? प्रस्तुती गतिलो हुनलाई त नयाँ र योग्यलाई ठाउँ दिनु पर्‍यो नी !

मेरा दुवै जना हितैषीहरुले आ – आफ्नो असन्तोष पोखिरहँदा मैले कुनै जवाफ दिइँन । तर त्यतिखेर पनि र अहिले पनि मलाई लागिरहेको चाँहि के हो भने – हामी साँच्चीकै अब्यवस्थित छौं र मान्छेहरु हामीलाई ‘यून्ती’ देख्छन् ! हामीसँग अनुभव छ तर प्रयोग छैन, अध्ययन छैन त्यसै ठूलो बन्ने रहर छ अनि त हाम्रो प्रस्तुतीहरु कन्तविजोग लाग्दा छन् । ढिलै भएपनि हाम्रा छातिमा देश दुख्नु सुखद संयोग हो । यसले कम्तिमा पनि हाम्रो पुस्तालाई सभ्य, व्यवहारिक र कुशल पुस्ता हुनमा प्रेरित गर्न सकोस् हामी सबैलाई शुभकामना !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...