Skip to main content

मेरो साथीलाई पाखे भन्छ्स् ?

“दाई, साँच्ची देशका लागि केहि गर्नै पर्ने भएछ, आजको गेस्ट लेक्चरको सेमिनारमा भाग लिएपछि मलाई यस्तो लाग्यो दाई । एकदम अकस्मात् मलाई यस्तो लाग्यो !” सधैं फुटबल विशेषगरी इंग्लिस प्रिमियर, च्याम्पियन्स लिग र ला लिगाका कुरा गरेर नथाक्ने एक सहपाठीले आज यस्तो दुखेसो पोखे । त्यो पनि त्यतिखेर जतिबेला म भर्खर कामबाट फर्केर देशकै खबरहरु पढिरहेको थिएँ । 

यो अकल्पनीय विषयबाट आरम्भ भएको वार्ताको कारण जान्न म अत्यन्तै उत्सुक भैहाले, त्यस्तै कौतुहुलता मलाई त्यतिखेर पनि लागेको थियो जतिबेला मेरा अर्का हितैषी लक्ष्मीले मध्य अप्रिलको दिन म नेरै आएर भुत्भुताईरहेका थिए –“गुरु, देश छातिमा दुःखेको छ, म कसरी बुद्द र सगरमाथाको कुरा लिएर मात्र गर्व गरुँ ?” लक्ष्मीसँगको यो घटना चाँहि त्यतिखेर भएको थियो जतिखेर एक सञ्चारकर्मी ‘म्याराथुन टक सो’ मार्फत विश्वले चिन्नेछ नेपाल, Buddha was born in Nepal को नारा लगाएर नेपाल चिनाउन यो सब गर्दैछु भन्दै थिए । 

त्यो म्याराथुन टक सोसँग भन्दा पनि लक्ष्मीसँगको प्रसङ्ग चाँहि अलि भिन्न र अलिकति मन मै विझ्ने खालको छ । भएछ के भने, विश्वविद्यालयबाट हप्ते ‘प्रशिक्षण कक्षा’ को शिलशिलामा एउटा वृद्धआश्रममा व्यवहारिक ज्ञान र सिप आर्जन गरिरहेका मेरा मित्रले आफ्नो चार हप्ते बसाईको अन्त्य अन्त्यमा एउटा प्रस्तुती दिएछन – आफ्नो देश सम्बन्धी । 

अब स्वभावतः नेपालको प्राकृतिक सौन्दर्यको साथसाथमा मानवीय पिडा र अभावका तस्बीरहरुले पनि नेपालको परिचयमा आफ्नो मजबुत उपस्थिती राख्ने नै भए । विचरा मेरा मित्रले पनि समेटेछन् केहि तस्वीरहरु । कथित विकसित भनिएको समाजमा भिन्न लाग्ने तस्विर – सिंगाने केराटीका तस्वीर, सडक बालबालिकाको कन्तविजोग र धर्मशालामा ल्याएर थन्काइएका अभागी बाजे बज्यैहरुका तस्वीर ! 

प्रस्तुतीको भोलिपल्ट त्यसै वृद्धआश्रममा रहेको एकजनाले उनलाई स्वागत गरेछ उनले सुन्दै नसुनेको फिनिस विशेषण सहित – ह्वामेन्ता (शुभप्रभात) यून्ती (Huomenta Juntti)! विचरा उनले ह्वामेन्तासँगै जोडिएर आएको शब्दको अर्थ त बुझेनन् तर शुभप्रभातको अभिवादन पाएपछि मुस्कुराएर भित्र छिरेछन । जव पछि “यून्ती”को अर्थ पत्तो पाए अनिखेर कन्सिरी तात्ने नै भयो । पछि मैले पनि पत्तो पाएँ मेरा हितैषीको छातिमा देश दुख्नुको कारण । अघिल्लो दिनको प्रस्तुतीका केही निम्छरा तस्वीरहरु देखेपछि उक्त फिनिसले नेपालीलाई ठानेछ यून्ती अर्थात पाखे, असभ्य !

र, आजको घटनाचाँहि अलि पृथक छ । “इन्टरनेशल सेमिनार” का नाम दिएर नेपालबाट झिकाइएकी “प्राध्यापिका” को कन्तविजोग प्रस्तुती देखेपछि मेरा हितैषीहरुको मथिंगलमा देशका लागि केहि गर्नै पर्ने सोचले डेरा जमाएछ । उपत्यकाको एक कलेजकी सहायक क्याम्पस प्रमुख रहेकी उनले मुस्किलले आफ्नो प्रस्तुती भ्याइछिन् । नेपालमा नर्सिङ शिक्षाको महत्व र नर्सिङ पेशाका सम्भावना एवं चूनौतीहरुका विषयमा मात्र हैन नेपालका बारेमा पनि प्रस्तुती दिइछन् । 

तर सहपाठीहरूको जिकिर थियो – “एउटा इन्टरनेशनल फोरममा प्रस्तुती दिने न शैली थियो, न त अङ्ग्रेजीको चित्त बुझ्दो ज्ञान नै ! अरु त अरु नेपाल सहित दश बार्‍ह अरु देशका विद्यार्थीहरु रहेको सेमिनारमा उनले हामी (नेपालीहरु) लाई जवाफ पनि नेपाली मै दिईन । "क्या यार दाई त्यस्ता त प्रोफेसर रहिछन् हाम्रो देशाँ !” म चुपचापै रहेँ । उनले थपे – “कस्तो झुर क्या, त्यो भन्दा राम्रो ज्ञान भएका अरु थिएनन होला कि ?” उनले यसो भनिरहँदा मैले केशव स्थापितको अन्तरबार्ता सम्झिए जहाँ उनले भनेका थिए – "फिनल्याण्डमा फोहोर ब्ववस्थापनका बारेमा अध्ययन गर्न आउने एउटा टोली गठन गर्न खोज्दै गर्दा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइकी श्रीमती हिसिलाले कति झमेला गरिन ।"

नेपाल छाडेर विदेशमा आउने भन्दा वित्तिकै सारै ठूलै भइन्छ भन्ने भ्रम जो छ हामीमा, त्यसैको एउटा ज्वलन्त उदाहरण सायद ती प्राध्यापिकाको आगमन पनि हो । विचरा, कति राजनैतिक दाउपेचले उनले यहाँसम्म पाईला राख्न पाएकी हुन्, अनि कहाँबाट गतिलो हुन्छ प्रस्तुती ? प्रस्तुती गतिलो हुनलाई त नयाँ र योग्यलाई ठाउँ दिनु पर्‍यो नी !

मेरा दुवै जना हितैषीहरुले आ – आफ्नो असन्तोष पोखिरहँदा मैले कुनै जवाफ दिइँन । तर त्यतिखेर पनि र अहिले पनि मलाई लागिरहेको चाँहि के हो भने – हामी साँच्चीकै अब्यवस्थित छौं र मान्छेहरु हामीलाई ‘यून्ती’ देख्छन् ! हामीसँग अनुभव छ तर प्रयोग छैन, अध्ययन छैन त्यसै ठूलो बन्ने रहर छ अनि त हाम्रो प्रस्तुतीहरु कन्तविजोग लाग्दा छन् । ढिलै भएपनि हाम्रा छातिमा देश दुख्नु सुखद संयोग हो । यसले कम्तिमा पनि हाम्रो पुस्तालाई सभ्य, व्यवहारिक र कुशल पुस्ता हुनमा प्रेरित गर्न सकोस् हामी सबैलाई शुभकामना !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...