Skip to main content

आमा महान छिन् उनलाई नबिर्स !

आमासँग । तस्बीरः स्वयं
”बाबु, मैले भाततरकारी पकाएर राख्देकी छु, आफू पनि खानु अनि भाईलाई पनि ख्वाउनु । खानेबेलामा कल नगरी खानु नी फेरि । त्यहाँ कल गरेको थाहा पाएँ भने बेलुका तिमेरुलाई मैले जान्या छु !” हामीलाई बिहानको चिया ख्वाईसकेपछि, पिढीमा बसेर गुहकार्य गरिरहेका हामीहरुलाई डोको बोकेर घाँस काट्न जान ठिक्क हुनुभएकी हाम्री आमाले प्रत्येक भोर मलाई यसैगरी सम्झाउनु हुन्थ्यो । त्यसपछि आमा घाँस काट्न लाग्नुहुन्थ्यो । भाई पुलुक्क मतिर हेर्थ्यो । म आँखा तरेजस्तो गर्थे ।  
आमा घाँस काट्न गैसकेपछि हामी चाँहि भान्छातिर दगुरी हाल्थ्यौं । आमाले भनेजस्तो कहिल्यै पनि झगडा नगरी खाना खाने काम गरेनौं हामी दुईभाईले । जहिले झगडा हुन्थ्यो, कसले पहिले पस्कने भन्ने विषयमा, कसले पस्कदा धेरै भात भुँइमा छर्यो र त्यो छरिएको भात कसले टिप्ने भन्ने कुरामा, अनि कुँडेबाट दुध हाल्दा कसले एक डाडु दुध धेरै हाल्यो र किन बराबर गरेन भन्ने विषयमा । दाई भएकाले अलि दादागिरी मेरै हुन्थ्यो, भाईपनि जण्डै हो मान्छे ऊ पनि लड्न कस्सिन्थ्यो । अन्तिममा रुने उही हुन्थ्यो । फकाउने म हुन्थेँ । “पैसा भएको बेलामा पाँच रुपैया दिन्छु, अहिले नरोइ र बेलुका आमालाई पनि नभन्दे” भनेपछि भाई फुलिन्थ्यो पनि । यसरी आमाको र हाम्रो बिहान शुरु हुन्थ्यो । 
मैले लेखिरहनु जरुरी छैन आमाको महिमा ! केहि अपवादलाई छाड्ने हो भने संसारका हरेक छोराछोरीलाई आफ्नी आमा विशेष नै हुन्छन् । र, मेरा लागि मेरी आमा धेरै विशेष हुनुहुन्छ । 
आमाको वात्सल्य, प्रेम र कहिलेकाही दिनुभएको गाली ती सबै विशेष छन । राजनैतिक धपेडीका कारण बुबा सधैं घरबाहिर हुनुपर्ने भएकाले हाम्रा लागि आमा, बुबा र साथी सबै हाम्री आमा नै हुनुहुन्थ्यो । त्यसकारण पनि बच्चाहुँदा बुबाभन्दा हजारौं गुणा विशेष मलाई मेरी आमा लाग्थ्यो । करिबकरिब सम्पूर्ण घरब्यवहार आमाले नै धान्नुभयो । के गर्नुभएन ? परिवारमा कसैले नगरेको रक्सी पार्ने कामदेखि भूजा भुट्नेसम्म । आमाका दुखका ती पलहरु याद गर्दैगर्दा आमाका लागि खास विशेष केहि गर्न नसकिरहँदा सारै दुखको अनुभूति हुन्छ । मेरी आमाको सबैभन्दा विशेष गुण भनेको भित्र जतिसुकै पीडा होस बाहिर सबैका अगाडि खुशि हुन सक्नु हो । आमाका तीनवटै दिदीका श्रीमान्हरु राम्रो आय भएका हुनुहुन्थ्यो । जेठो ठूली आमाको श्रीमान मास्टर, माईली ठूलीआमाको बुढा ठेक्कापट्टा र साईली ठुली आमाको लोग्ने इन्डियन आर्मी तर हाम्रो बाबा चाँहि सिर्फ राजनीति । कहिलेकाही म दुखेसो पोख्थेँ आमासँग बुबा यो अर्थउपार्जन नहुने क्षेत्रमा लाग्नुभयो भनेर, आमा भन्नुहुन्थ्यो – “तेरा बाले पैसा नकमाएर के भो ? नाम कमाउनु भएको छ ।” मैले फेरि दुखेसो गर्थेँ – “आमा नामले खान दिदैन ।” आमाको जिकिर हुन्थ्यो – “पैसाले सबै किनिदैन ।” त्यतिखेर म आमाको कुरामा सहमत हुदैनथेँ, र एक्लै भुत्भुती रहन्थेँ । अहिले महशुस हुने गर्छ – हो त, पैसाले सबैथोक किन्न नै कहाँ सकिन्छ र ?
बच्चैदेखि कविता लेख्थेँ म । मैले पहिलो कविता चार कक्षामा हुँदा लेखेको थिएँ– मेरो बिरालो शिर्षकमा । र, आमा नै हुनुहुन्थ्यो त्यसको पहिलो श्रोता । मलाई सधैं हौस्याउनुहुन्थ्यो – राम्रो छ भनेर । हुँदाहुँदा केहि आयश्रोत नै नभएकी मेरी आमाले मैले आइ.कम पढ्दै गर्दा लेखेको उपन्यास छाप्नका लागि तीन हजार उपलब्ध गराउनु भएको थिएँ । मैले एक साँझ भनेको थिएँ – “आमा मैले उपन्यास लेखेको छु, छाप्नु पर्यो । ५ हजार लाग्छ रे । हजुरले तीन हजार खोज्दिनु परो । पछि उपन्यास बेचेर म फिर्ता गर्छु ।” एक हप्तापछि आमाले ३ हजार उपलब्ध गराईदिनुभो । उपन्यास छापाखानामा बुझाएँ । छापियो पनि “पीडा र विछोड” शिर्षकमा । बेच्न दिएको उपन्यासको ठेली साथीहरुले लग्न त लगे, उपन्यास बेचे कि बेचेनन कुन्नी पैसा भने दिएनन् । र, आमाले खोजेको ऋण मैले फर्काउन सकिनँ । उपन्यास प्रकाशित भएको दुईवर्षपछि आमाले भन्नुभयो – “बाबु, अब यो लेख्ने काम गरेपनि छपाउने काम चाँहि नगर, तेरो उपन्यास छाप्दाको तीनहजार मैले अस्ति मात्र तिरिभ्याएँ ।” अहिले सम्झन्छु, सायद आमाले त्यतिखेर त्यो ऋण नखोजिदिएको भए, मैले उपन्यास प्रकाशन गर्न असमर्थ रहेको भए यसरी म साहित्यकर्ममा सक्रिय सायदै हुने थिएँ । हरेक असहजिलाहरुमा साथ दिने मेरी आमा मलाई त्यसकारण पनि निकै प्रिय हुनुहुन्छ । मेरी मार्गदर्शक, मेरी संरक्षक र मेरी पालनकर्ता ! 
भगवती माइजु, गोरीमैयाँ फुपु र मेरी आमा तीन जना मिलेर सधैं लुकी लुकी चुरोट पिउने । आमाले मेरो बाबा र कान्छो हजुरबाको अगाडि कहिल्यै चुरोट पिउनुहुन्थेन । म जान्दिनँ डरले हो वा सम्मानले तर मलाई आमाले चुरोट पिएको कत्ति मन पर्ने थिएन । खासमा मलाई के परेको थियो भने चुरोट पिउने मान्छेहरुको आयु एकदमै छोटो हुन्छ । अनि म आमालाई सधैं चुरोट छाड्नका लागि दबाब दिदैँ भन्थेँ – आमा, चुरोट छाड्नुस, यसले क्यान्सर हुन्छ रे, छिटै मरिन्छ रे । आमाले सधैं बाटाघरे बज्यैको उदाहरण दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो – “चुरोट खाएर मर्ने भए बाटाघर बज्यैको चौरासी हुन्थ्यो ? नडराई मलाई केही पनि हुँदैन ।” आमाले यसो भन्दा म ढुक्क हुन्थेँ तर संशय चाँहि रहिरहन्थ्यो । त्यसकारण चुरोटको निहुँमा आमासँग झगडा गर्न कहिल्यै छाडिनँ । अन्ततः आमालाई हार्न करै लाग्यो, र मैले सातकक्षा पढ्दै गर्दा उहाँले सधैका लागि चुरोट छाडिदिनु भयो पनि । 
आमासँग बाल्यकालमा बिताएका प्रत्येक पलहरु अविष्मरणीय छन् । सबै लेखीसाध्य पनि छैन । अझ आमाका महानता, उहाँको त्याग र समर्पणका ब्याख्या गर्ने विशेषण पनि त छैन । त्यसैले आमाका बारेमा लेख्दैगर्दा मलाई यत्ति अनुरोध गर्न मन लागेको छ – “आमाको प्रेम अतुलनीय छ, तुलना नगर । उनको त्याग र समर्पणका कथाहरु अमूल्य छन् ब्याख्या गर्ने धृष्टता नगर । त्यसैले आमा महान छिन् उनलाई नबिर्स !”

Comments

  1. आमालाई आज विहानै फोन गरिसके । फोनमा आमाले झट्ट पट्ट आज मलाई सम्झिएकोमा धन्यवाद भन्नुभयो र त्यसपछि सन्चो विसन्चो सोध्ने मौका दिनुभयो । साह्रै खुसी लागेको छ । आमा देवी हुन् । सवैले आफ्नो आमाको सम्मान यो लेखमा भनिए झै गर्न आवश्यक छ । भनाई नै छ "सवै कुरा किन्न सकिन्छ तर आमा किन्न सकिन्न ।" ह्याप्पी मदर डे ।

    ReplyDelete
  2. काश ति दिन फर्केर आए

    ReplyDelete
  3. शान्ति गुरू, खुशि लाग्यो आमालार्इ बिहानै फोन गर्नुभएछ । र, धन्यवाद यति धेरै मन परार्इदिनुभएकोमा ।

    ReplyDelete
  4. आमा को महानताको झझल्को दिने लेख राम्रो लाग्यो |

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...