Skip to main content

माल्दाई - पारिवारीक सुखका सुत्रधार !

गाउँले नाता छ उहाँसँग मेरो । त्यसैले म उहाँलाई माईला मामा भन्दछु । धेरैजसोले उहाँलाई माल्दाई भन्छन् । पेशाले उहाँ विद्यालयको पाले हुनुहुन्थ्यो । त्यसैले धेरैजनाको लागि उहाँ हाँसोको पात्र हुनुहुन्छ । किनकी हाम्रो समाज नै त्यस्तै छ – निर्धाहरूलाई हेप्ने ! मेरा गाउँलेहरुका लागि एक निर्धा ब्यक्ति उहाँ मेरा लागि भने आदर्शका ब्यक्ति मध्येको एक हुनुहुन्छ । उहाँप्रति सम्मान जागेर आउँछ मलाई !

म बच्चैछँदा खेरीदेखि उहाँसँग मेरो राम्रै हिमचिम भो ! उहाँले “जागिर” गर्ने विद्यालय र मैले अध्ययन गर्ने विद्यालय एउटै भएकाले पनि उहाँसँग धेरै जसो भलाकुशारी हुने गर्दथ्यो मेरो । खासगरिकन एक बजेको छुट्टीमा बोइकोमा आएर खाजा खाएर स्कुल फिर्ता हुँदा १०–१५ मिनेट बाँकी नै हुन्थ्यो र त्यो समय म घन्टी झुन्डाएको कुनामा उहाँसँग गफ गरिरहेको हुन्थे । अलि ठट्यौली पाराको मान्छे हुनुहुन्थ्यो त्यतिखेर त्यसकारण पनि उहाँसँग गफिन मलाई निकै मन पर्दथ्यो । के के कुरा गरेर हसाईराख्ने ! उत्तीखेरै रोएको नक्कल गर्ने, अनि उत्तिनै खेरी राक्षस यसरी हाँस्छ भनेर ठूलो र धोद्रो आवाजमा हाँस्ने । अङ्ग्रेजी र नेपाली मिलाएर लामो समयसम्म एकोहोरो बोल्ने उहाँको क्षमता देख्दा म भुतुक्कै पर्थे ! अनि खित्का छाडेर हास्थेँ । त्यो हाँसो जस्तो हाँसो अहिले म बडेबडे हास्यब्यङ्ग्य कलाकारको प्रस्तुती हेरेर पनि हाँस्न सकिरहेको हुँदिन ।

उहाँको दाम्पत्य जीवन पनि राम्रै थियो एउटा छोरा, श्रीमती र उहाँसहितको तीन जनाको सानो सुखी परिवार ! गाउँलेहरु भन्थे – दुखजिलो गरेर भएपनि माईलाले परिवारलाई सुखैसित पालेको छ । हप्ताको एकदिन मासु टुटाउँदैन । दुध किनेरै भएपनि दिनदिनै खुवाएकै छ । लैनो भैसीं पालेकाहरुकोमा दिउँसोको चिया कालो हुन्छ सप्पै दुध ठेकामा हाल्छन् कि बेच्छन् माईलाकोमा दिउँसो पनि दुधचिया हुन्छ ! वास्तवमै माईलामामाले आफ्नो परिवारलाई आफूले दिनसक्ने सम्मको सुख दिन कुनै कसर बाँकी राख्नुभएको थिएन । तर एकदिन उहाँको श्रीमती अर्कैसँग भागिन । गाउँलेहरूले कुरा काट्थे – “बिहान दैलो पनि आफै पोत्थ्यो माइलाले बल्ल स्वाद खायो !” त्यसको केहि समयपछि माईलामामाले पोइल गैसकेकी आफ्नी श्रीमतीलाई फर्काउने प्रयासमा पोखरासम्म गएको खबर सुनेँ । भन्नुहुन्थ्यो रे – “एकचोटी गल्ती गरिहालीन, फर्किन्छिन भने राख्छु !” कत्रो महानता उहाँको ? तर उहाँको महानताको अगाडि वहाँको भूपु श्रीमतीले केहि बुझ्न चाँहिनन्, उनी उतै बसीन फर्किनन् । मामाले त्यसको केही समयपछि अर्कैसँग बिहे गर्नुभयो । उनीबाट पनि दुईभाई छोरा भए । 

केहि वर्षपहिले मैले उहाँको छोराहरुले साइकल चलाईराखेको देखेँ । जबकी गाउँका धनीमानी भनिनेकाहरुका छोराछोरीले साइकल चढ्न पाएका छैनन । भर्खर ४/५ मा पढ्दै गरेका आफ्ना छोराहरुलाई साइकल किनीदिनुभएको उहाँलाई मैले प्रश्न गरेको थिएँ – “मामा, तलब निकै नै बढ्यो कि क्या हो ? भाईहरुले त साइकल चलाउन थालेछन्, साइकल किनिदिनुभएछ नी !” जवाफमा उहाले भन्नुभएको थियो – “अस्थाई मान्छेको के तलब बढ्नु र भानिज ? गाउँलेहरुबाट पैसा उठे तलब पाउने हो नभए त्यस्तै हो तलब भन्ने ! अब केटाहरुले साइकल चढ्ने रहर गरेर रक्सी बेचेर संगालेको पैसाले किन्देको हो नी भानिज !” 

अत्यन्तै सिमित आम्दानीका बाबजुद पनि आफ्ना छोराहरुलाई चाहेको खुशी दिन प्रयत्नशिल उहाँबाट मैले पारिवारीक सुखका सुत्रहरु सिकेको महशुस गरेको छु । यी आदर्शशील मान्छेबाट मैले सिकेको महत्वपूर्ण पाठ हो – समस्याले ग्रसित मनुवा तिमी एक्लो छैनौ यो सिंगो ब्रम्हान्डमा, त्यसकारण सदा सुखी भएर जिउने प्रयत्न गर !”

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...