Skip to main content

१२. रुपचन्द्र बिष्ट जसले भने – थाहा पाई भाते !

म नौ कक्षामा पढ्थे त्यो बेला । शुक्रबारको दिन घर आएपछि म मामाघर गएको थिएँ । त्यो जेष्ठ महिनाको दिन थियो । माइजुले आफूले पढ्दै गरेको नवयुवाबाट एक जना ब्यक्तिको बारेमा सुनाउनु भएको थियो । त्यतिन्जेल सम्म मैले त्यो मनुवाका बारेमा केही थाहा पाएको रहिनरछु । माइजुले भन्नुभो – रुपचन्द्र विष्ट थाहा छ तिम्लाई ? नेपालको दार्शनिक हो ! मैले थाहा छैनको भावमा मुन्टो हल्लाए पछि माइजुले मलाई “थाहा” आन्दोलनका बारेमा केही बताउनुभएको थियो । मैले खासै केहि बुझिनँ त्योबेला । पछि कलेज पढ्न थालेपछि रुपचन्द्र विष्टका बारेमा पढ्दै र बुझ्दै गएपछि उनको चेतनाको स्तरले मलाई राम्ररी तान्दै गयो । रुपचन्द्र विष्टका बारेमा पढ्दै जाँदा जति उनी एउटा अनौठो मान्छे हो भन्नेमा म पूरै निश्चित भएँ । 
मैले पढेपछि थाहा पाएँ – रुपचन्द्र विष्ट त्यस्तो मान्छे, जसले हरेक गलत कृत्यको विरोध गरे । उनकै शब्दमा पञ्चायत एउटा “महाडाँकातन्त्र” थियो र उनी त्यो “महाडाँकातन्त्र”को विरोधमा आफूलाई उरालिरहेका थिए । देशलाई खोक्रो पार्न उद्यत मण्डलेहरुको कुरुप तस्वीरलाई बाहिर ल्याउने काममा उनी जीवन पर्यन्त लागिरहे । जीवनकालभर उनी सधैं जनता र चेतनाका कुरा गर्दै हिडे । उनले शुरु गरेको “थाहा” आन्दोलनले तत्कालिन राज्य ब्यवस्था सञ्चालनको डाडुपन्यु समातेकाहरुको सातो लियो । हो, उनै रुपचन्द्र विष्ट – जसले जनताहरुलाई भने “थाहा पाई भाते” “जान भाते” ! त्यो “थाहा” आन्दोलन जसले जनताहरुलाई “थाहा” पाउन उद्यत बनायो – आफ्नो वरिपरी हुने विकास निर्माणको खर्चको पारदर्शिता ! भ्रष्टारजन्य गतिविधीहरूको निगरानी ! गद्दारहरूको पहिचान ! गैर्हकानुनी र अवैधानीक कृत्य गर्ने अराष्ट्रियतत्वहरुलाई खबरदारी !
विष्टको समाज जस्तै अराजक मेरो पनि समाज छ । हिजो उनले जस्तै गद्दारहरुको सामना अहिले म पनि गरिरहेछु । तर विष्टजस्तै त्यो जब्बर ब्यक्तित्व अहिले कहाँ पाउनु हामी ? जसले गाउँ पञ्चायत कार्यालयलाई विकास घर बनाए, जसले गाउँमा हुने ब्यवसायमा समेत विकास कर लागु गराए । र, जनताहरुले तिरेको कर कहाँ खर्च भइरहेको छ, त्यसको प्रष्ट जानकारी जनताहरुले पाउने ब्यवस्था मिलाए । हरेक दिन विकासघरको सूचना पाटीमा विकासकरको हिसाब किताब टाँसेर ! विष्टले बोकेको आदर्श मेरो लागि पनि त्यो अनुकरणीय छ । उनका दर्शनले मेरो मुटुको भित्री कुना छोएको छ, त्यसले मलाई प्रेरित गरेको छ – आफ्नो वरिपरी हुने विषयहरुका बारेमा जानकारी राख्ने । जसले मलाई दिलाएका छन् – गलत कृत्यलाई गलत भन्ने साहस ! चाहे त्यो आफ्नै पिताजीले गरेको कृत्य किन नहोस्, यदि त्यो गद्दार कृत्य हो भने त्यसलाई गलत भन्ने साहस राख्नु पर्छ । विरोध गर्नुपर्छ !
विष्टले त्यतिखेर दिएको दिब्य ज्ञान आज पर्यन्त प्रभावशाली छ । उनको उद्धरण छ – पैसाबाट सत्यता, पदबाट इन्साफ, जातबाट जनहित, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुन्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र पाइन्छ भन्नेले लगाएछन् चितुवालाई बाख्राको गोठालो ! मलाई पनि लागेको त्यहि हो – मान्छेहरुले जे सुकै उपमा दिउन, मलाई त्यसको पर्वाह छैन । तर गलत कुरोलाई सही हो म भन्न सक्दिनँ । म विश्वास गर्न सक्दिनँ – बाख्राको गोठालो चितुवा हुने कुरो ! विष्टको भोगाई भन्दा पृथक छैन मेरो अनुभूति पनि ! मेरो समाजमा अहिले पैसाको महत्व निकै बढेर गएको छ । मेरा मान्छे भन्नेहरुले ठानेका छन् – पैसामा क्रय बिक्रय हुन्छ – सम्बन्धहरु ! 
जसरी नेपाल आमाको काखमा जन्मेर एउटा रुपचन्द्र विष्टजस्ता प्रखर र इमान्दार सपुतले आफ्ना उर्वर बैंशहरु खेर जान दिएका थिएनन त्यसरी नै उनको जब्बर ब्यक्तित्वको पदचाप पछ्याउनेहरूले पनि चेतनाले भरिएका आफ्ना उर्जाशिल यौवनहरुलाई फगत कमाउ र विकाउ धन्दामा खेर नफालुन भन्ने मेरो आग्रह हो । विष्टको नश्वर शरीर आज हामीसामु नभएपनि उनले बाँचेको आदर्श, उनले सिकाएको दर्शन हामीले अंगीकार गर्नु जरुरी छ । त्यसैले उनलाई नदेखे पनि, नभेटेपनि उनका महानतम् विचारबाट म अस्पृह रहन सकिनँ ! नौकक्षा पढ्दा देखि मैले आज पर्यन्त गलत कृत्यहरुको समर्थन कहिल्यै गरेको छैन । जानेर वा नजानेर द्रव्यपिचाश, गरिवमारा र गद्दारहरुको विरोध गर्दै आएको छु । लेख्दै गर्दा मैले घेरिनु परेको छु, पुलिस धम्की पनि खाएको छु । र, हुँदाहुँदा सम्बन्ध तोडिने विषम परिस्थितीमा पनि उभ्भिनु पर्ला मलाई त्यसको पर्वाह छैन । मलाई पागल भन्नेहरुले पागलै भनुन, घमण्डी भन्नेहरुले घमन्डी नै भनुन त्यसमा मेरो चित्त दुखाई छैन तर म गलतलाई गलत भन्न छाड्नेछैन । चाहे सम्बन्धहरु जोडियुन या छियाछिया हुन !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...