Skip to main content

दाई अनि उसको गोलीवाला ज्याकेट

त्यस्तै दश वर्ष पहिले मलाई विदेशबाट दाईले फोन गर्दा मैले भनेको थिएँ – “दाई, सेकेण्ड लेफ्टीनेन्टमा देखिन खोजेको काठमान्डु जानु पर्ने !” 

दाईले सोध्नुभएथ्यो – “आठ हजारले पुग्छ ?” दश वर्ष पहिले आठ हजार मेरा लागि आठ लाख बराबर थियो ।  भोलीपल्ट दाईले पठाएको आठ हजार लिएर म काठमान्डु हानिएको थिएँ मित्र विनयसँग ! 

अनि बच्चै हुँदाको कुरो,
म माग्थेँ – “दाई, त्यो हजुरको गोली भएको ज्याकेट मलाई हैं !”
दाई भन्नुहुन्थ्यो – “अहिले चुपबस, म पछि दिन्छु, यो ज्याकेट मलाई कस्तो मन पर्छ !” त्यसको केहि समयपछि दाईलाई नै अत्यन्तै मन पर्ने ज्याकेट मैले पाएको थिएँ । खासमा दाई अर्थात मेरा मामाको छोराका थुप्रै राम्रा कपडाहरु लगाएको छु मैले बच्चा हुँदा । सायद जड्यौरी भनिन्छ त्यसलाई, तर मलाई दाईले त्यो मेरो हक जस्तै बनाईदिनुभएको थियो । जड्यौरी हैन !

भर्खर आइ कम पढ्दै गरेको मलाई, एकदिन दाईले सोध्नुभएको थियो – “टिथको सिङगुलर फर्म के हो ?” कसम मलाई त्यसको जवाफ आएन । अनि दाईले एकदम झपार्नु पनि भो – “तँलाई यत्ति आउँदैन, मेहनत गर, अंग्रेजी वीक छ तेरो !” त्यहि दिन हो मैले टिथको सिङ्गुलर टुथ भन्ने जानेको !

गोलो अनि गोरो अनुहार ! हाँस्दा खेरी गालामा डिम्पल पर्लापर्ला जस्तो, विराट ललाट र काला राम्रा आँखा । किशोर हुँदा जतिजति म ऐना हेर्थे त्यति नै मलाई मेरो दाईको रुपरंगको ईश्या लाग्थ्यो ! दाई जस्तो गोरो र राम्रो हुन पाएको भए भनेजस्तो ! बेलाबेलामा मैले भन्थेँ पनि । दाई मुस्काउनुहुन्थ्यो अनि भन्नुहुन्थ्यो – हिरै छ तँ पनि ! मलाई के चाहियो ? मख्ख पर्दिन्थेँ !

मेरो दाईबाट मैले दुई महत्वपूर्ण ज्ञान पाएको छु । पहिलो उहाँको मातृप्रेम, दोश्रो हरेक चूनौतिको सामना गर्ने दृढ संकल्प । मलाई याद छ, हरेक रात सुत्नुभन्दा अगाडि उहाँले “मम्मी सुत्नु है ।” नभनी सुत्नै नजाने । त्यसपछि मैले पनि शुरु गरेका थिएँ आमालाई “सुत्नु है ।” भन्नलाई ! दाईले पहिलो जागिर शुरु गर्नुभएको थियो, गाउँकै बोर्डिङमा पढाउने ! अचम्म त के भने प्रत्येक महिनाको तलब लगेर मम्मीलाई बुझाउने अनि पकेट खर्च मम्मीबाट लिने । दाईको यो बानीले मलाई पनि धेरै हदसम्म प्रभाव पा¥यो । आमालाई तलब सबै त कहिले पनि दिन पाइँन तर बच्चा हुँदा अरुले दिने, दशैंमा प्राप्त हुने दक्षिणा एकमुष्ट आमालाई नै बुझाउने काम मैले पनि गरेँ । मातृप्रेममा दाईबाट मैले धेरै सिकेको छु । आमालाई विशेष ब्यक्तित्वका रुपमा लिन थाले । आमाप्रतिको अनुराग झन अझ अरु बढेर गयो । 

मलाई थाहा छ आज पर्यन्त, दाईले धेरै चुनौतीहरु भोग्नु परेको छ । तर सकारात्मक कुरो त्यसको सधैं डटेर सामना गर्नुभयो । यस्तो लाग्छ कि दाईको आदर्श भनेको नै – चुनौतीहरुको डटेर सामना गर अनि राजकुमारको झैं जिन्दगी बाँच !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...