Skip to main content

आधा जूनको उज्यालो र मेरा बाका कामरेडहरू

केहि दिन अगाडि मात्र एउटा उपन्यास पढेर भ्याएँ । आधा जून ! कम्युनिष्ट राजनीतिमा आफ्नो उर्वर वैंश खेर (?) फालेका र अहिले राजनैतिक विश्लेषणमा नियमित संलग्नता राख्ने झलक सुवेदीले लेखेको आधा जूनले नेपाली राजनीतिमा संघर्षशील इतिहास बोकेको एउटा राजनैतिक दलको क्रान्तिकारीतालाई छर्लङ्ग्याउने प्रयास गरेको छ । अनि उपन्यासले उस्तै कुशल पारामा स्पष्ट बताएको पनि छ कि एउटा कम्युनिष्ट दल कसरी नवसामन्तहरूको पहुँचमा पुग्यो, र किन आज मान्छेहरू त्यसलाई कम्युनिष्टको पुच्छ्रे झुण्डाएको नवउदारवादीहरूको जमात भएको पार्टी मान्न विवश छन् ।

प्रथम पुरूष पात्र सञ्जय नै उपन्यासको मुख्य पात्र छ । घरको आर्थिक दुरावस्थाका बावजुद पनि ऊ परिवर्तनको सपना साँचेर क्रान्तिको बाटोमा होम्मिएको छ । न्यायपूर्ण एवं समतामुलक राज्यव्यवस्था निमार्णको लक्ष्य बोकेर रक्त क्रान्तिको झण्डा लिएर हिडेको सञ्जय नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएका हजारौ इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूको प्रतिनिधी पात्र हो । निर्दलीय पञ्चायती ब्यवस्थाका बखत कम्युनिष्ट पार्टीको एक इमान्दार योद्दाका रूपमा ऊ परिवर्तनको सपना मनमा साँचेर निरन्तर क्रान्तिका बाटोमा खटिरहन्छ । पार्टीमा पदीय लोभ वा लाभ भन्दा पनि ब्यवस्था परिवर्तनको मुद्दाले उसको राजनैतिक जीवनमा खास महत्व राख्दछ । सञ्जय ठ्याक्कै तिनै कम्युनिष्ट योद्दाहरूको प्रतिनिधि पात्र हो जो हिजो निर्दलीय पञ्चायती व्यवस्थाका बिरूद्द मण्डलेहरूको डर नमानी, आफ्नो प्राणको समेत बाजी लगाएर निरन्तर जनताका बीचमा पुग्ने गर्थे । 

आधा जून पढ्दै गर्दा यसले मलाई मेरो विगतमा पुर्याईदियो । म त्यस्तै आठ नौ वर्षको हुँदो हुँ । यहि उपन्यासको कथाको केन्द्रमा रहेको पार्टीमा संलग्न मेरो बाका पछिपछि म उनको पार्टी कार्यालय पुगेको थिएँ । म्याग्दी सदरमुकाम बेनी बजार भन्ने लायकको पनि थिएन उबेला । करिब सयको हाराहारीमा घर थिए होला । स्मरणमा उती प्रष्ट तस्विर त छैन तर कालिपुलको कुनै एउटा कुनातिर पुरानो घरमा बाको पार्टी अफिस थियो । ट्रकका ठुला टायरमा बाँसको घोचा गाडिएका र रातो रंगले पनि पोतिएका ट्रकका ठुला चक्काहरू देख्ता म उसै झसँग भएको थियो त्यो बेला । डरले बालाई सोध्न पनि सकिनँ - बा यी टायर किन राखेका हुन ? अहिले यसो गुन्छु - क्रान्तिको प्रतिक हुनन् ती । आङ नै सिरिङ्ग हुने ! 

अहिले, समयले निकै कोल्टे फेरेको छ मेरा बा र उनका कामरडेहरू फेरिएका छन् । बाले फेरिन जानेनन् सायद उनी उस्तै छन् । उही अभाव प्रिय छ उनलाई । तर बाका कामरेडेली साथीहरूको हैसियत फेरिएको छ । वा यसो भनुँ - बनीबनाऊ हैसियत भएकाहरु धेरै जना थपिदै गए बाका पार्टीमा । एउटा पुरानो घरबाट बाकाे पार्टी अफिस अहिले आरसिसी बिल्डिङमा सरेको छ । सिनित्त परेको । दशौ मोटरसाइकलहरू पार्क गर्न मिल्ने जिमिन छ अगाडिपट्टी । उतिबेला जिल्ला कमिटीमा काम गर्ने बाका साथीहरू पार्टीका कामले कतै जानु पर्यो भने उठेको लेबी अडकलेर यता उता गर्थे । अहिले उस्तै परे पार्टीलाई पैसा दिएर कुनै राजनैतिक हैसियत नभएकाहरू विभिन्न देश विदेश भ्रमणमा सरिक हुन्छन् । हिजो बा र बाका साथीहरूको दिमागमा पार्टीबाहेक सायदै अर्थोक केहि थियो । आज, सर्वहाराका लागि राजनीति गरेको भन्ने पार्टी कामरेडहरूको दिमागमा दुईवटा कुरोले बढि महत्व पाउँदछ - पैसा र परिवार !

झलक सुवेदीले आधा जूनमा त्यस महान क्रान्तिकारी पार्टीको क्रान्तिकारी धार कसरी खुईलिदै गयो भन्ने सुस्पष्ट वर्णन गरिदिएका छन् । धेरै मान्छेहरूलाई यसले नोस्टालजिक पनि गराईदिन्छ । र, म जस्तै निरीह बबुरोले सोचे झैं सोचमग्न हुन विवश पनि - त्यस्तो पार्टी आज कस्तो भयो !

र, रोहित काका जस्तै परिवर्तनको एक चिम्टी आशा बोकेर सूर्यको न्यानो ताप प्राप्त गर्न लालयित तमाम गरिप अनि निमुखाजनहरूलाई यसैको सूर्यले कम्ता पोलेको त छैन । देश दिनदिनै रूग्ण हुँदै गएको छ । जनताहरू अनिकालले मरेका छन् । झाडापखालाले मरेका छन् । त्यहि देश जो १७०० युवाहरू प्रत्येक दिन खाडीका मुलुकहरूमा निर्यात गरिरहेछ । त्यो देश जसले विगत ७ वर्षदेखि संविधान खोजिरहेछ । बिडम्बना प्राप्त गर्न सकेको छैन । यहि पेचिलो सन्दर्भमा एउटा कम्युनिष्ट पार्टी आफ्नो राष्ट्रिय सम्मेलन गरिरहेछ, अर्को कम्युनिष्ट पार्टी महाधिवेशनको तयारीमा छ । भलै उसलाई हाँक्ने भनिएका नेता आफ्ना फेरिएका मृगौलामा सक्रमण भएपछि एअर एम्बुलेन्सबाट बैङ्कक पुर्याइएका छन् । उनकै पार्टी मुख्य साझेदार रहेको सरकारले उनको सम्पूर्ण उपचार खर्च राज्यले ब्योहोर्ने निर्णय पनि गर्यो । कथा यस्तरी नै बढिरहेछ देशको । जनताहरू जीवनजलको एउटा पुरिया नपाएर मरिरहेछन् । नेताहरू मर्न लागेकाहरू पनि बचाइएका छन् । 

साँच्ची, त्यो दिन पनि आउँला कि म आधा जून हैन पूर्णेको जून लेख्न सकुँ ?

Comments

Popular posts from this blog

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...