Skip to main content

आधा जूनको उज्यालो र मेरा बाका कामरेडहरू

केहि दिन अगाडि मात्र एउटा उपन्यास पढेर भ्याएँ । आधा जून ! कम्युनिष्ट राजनीतिमा आफ्नो उर्वर वैंश खेर (?) फालेका र अहिले राजनैतिक विश्लेषणमा नियमित संलग्नता राख्ने झलक सुवेदीले लेखेको आधा जूनले नेपाली राजनीतिमा संघर्षशील इतिहास बोकेको एउटा राजनैतिक दलको क्रान्तिकारीतालाई छर्लङ्ग्याउने प्रयास गरेको छ । अनि उपन्यासले उस्तै कुशल पारामा स्पष्ट बताएको पनि छ कि एउटा कम्युनिष्ट दल कसरी नवसामन्तहरूको पहुँचमा पुग्यो, र किन आज मान्छेहरू त्यसलाई कम्युनिष्टको पुच्छ्रे झुण्डाएको नवउदारवादीहरूको जमात भएको पार्टी मान्न विवश छन् ।

प्रथम पुरूष पात्र सञ्जय नै उपन्यासको मुख्य पात्र छ । घरको आर्थिक दुरावस्थाका बावजुद पनि ऊ परिवर्तनको सपना साँचेर क्रान्तिको बाटोमा होम्मिएको छ । न्यायपूर्ण एवं समतामुलक राज्यव्यवस्था निमार्णको लक्ष्य बोकेर रक्त क्रान्तिको झण्डा लिएर हिडेको सञ्जय नेपाली कम्युनिष्ट आन्दोलनमा सरिक भएका हजारौ इमान्दार कम्युनिष्ट कार्यकर्ताहरूको प्रतिनिधी पात्र हो । निर्दलीय पञ्चायती ब्यवस्थाका बखत कम्युनिष्ट पार्टीको एक इमान्दार योद्दाका रूपमा ऊ परिवर्तनको सपना मनमा साँचेर निरन्तर क्रान्तिका बाटोमा खटिरहन्छ । पार्टीमा पदीय लोभ वा लाभ भन्दा पनि ब्यवस्था परिवर्तनको मुद्दाले उसको राजनैतिक जीवनमा खास महत्व राख्दछ । सञ्जय ठ्याक्कै तिनै कम्युनिष्ट योद्दाहरूको प्रतिनिधि पात्र हो जो हिजो निर्दलीय पञ्चायती व्यवस्थाका बिरूद्द मण्डलेहरूको डर नमानी, आफ्नो प्राणको समेत बाजी लगाएर निरन्तर जनताका बीचमा पुग्ने गर्थे । 

आधा जून पढ्दै गर्दा यसले मलाई मेरो विगतमा पुर्याईदियो । म त्यस्तै आठ नौ वर्षको हुँदो हुँ । यहि उपन्यासको कथाको केन्द्रमा रहेको पार्टीमा संलग्न मेरो बाका पछिपछि म उनको पार्टी कार्यालय पुगेको थिएँ । म्याग्दी सदरमुकाम बेनी बजार भन्ने लायकको पनि थिएन उबेला । करिब सयको हाराहारीमा घर थिए होला । स्मरणमा उती प्रष्ट तस्विर त छैन तर कालिपुलको कुनै एउटा कुनातिर पुरानो घरमा बाको पार्टी अफिस थियो । ट्रकका ठुला टायरमा बाँसको घोचा गाडिएका र रातो रंगले पनि पोतिएका ट्रकका ठुला चक्काहरू देख्ता म उसै झसँग भएको थियो त्यो बेला । डरले बालाई सोध्न पनि सकिनँ - बा यी टायर किन राखेका हुन ? अहिले यसो गुन्छु - क्रान्तिको प्रतिक हुनन् ती । आङ नै सिरिङ्ग हुने ! 

अहिले, समयले निकै कोल्टे फेरेको छ मेरा बा र उनका कामरडेहरू फेरिएका छन् । बाले फेरिन जानेनन् सायद उनी उस्तै छन् । उही अभाव प्रिय छ उनला । तर बाका कामरेडेली साथीहरूको हैसियत फेरिएको छ । वा यसो भनुँ - बनीबनाऊ हैसियत भएकाहरु धेरै जना थपिदै गए बाका पार्टीमा । एउटा पुरानो घरबाट बाकाे पार्टी अफिस अहिले आरसिसी बिल्डिङमा सरेको छ । सिनित्त परेको । दशौ मोटरसाइकलहरू पार्क गर्न मिल्ने जिमिन छ अगाडिपट्टी । उतिबेला जिल्ला कमिटीमा काम गर्ने बाका साथीहरू पार्टीका कामले कतै जानु पर्यो भने उठेको लेबी अडकलेर यता उता गर्थे । अहिले उस्तै परे पार्टीला पैसा दिएर कुनै राजनैतिक हैसियत नभएकाहरू विभिन्न देश विदेश भ्रमणमा सरिक हुन्छन् । हिजो बा र बाका साथीहरूको दिमागमा पार्टीबाहेक सायदै अर्थोक केहि थियो । आज, सर्वहाराका लागि राजनीति गरेको भन्ने पार्टी कामरेडहरूको दिमागमा दुईवटा कुरोले बढि महत्व पाउँदछ - पैसा र परिवार !

झलक सुवेदीले आधा जूनमा त्यस महान क्रान्तिकारी पार्टीको क्रान्तिकारी धार कसरी खुईलिदै गयो भन्ने सुस्पष्ट वर्णन गरिदिएका छन् । धेरै मान्छेहरूलाई यसले नोस्टालजिक पनि गराईदिन्छ । र, म जस्तै निरीह बबुरोले सोचे झैं सोचमग्न हुन विवश पनि - त्यस्तो पार्टी आज कस्तो भयो !

र, रोहित काका जस्तै परिवर्तनको एक चिम्टी आशा बोकेर सूर्यको न्यानो ताप प्राप्त गर्न लालयित तमाम गरिप अनि निमुखाजनहरूलाई यसैको सूर्यले कम्ता पोलेको त छैन । देश दिनदिनै रूग्ण हुँदै गएको छ । जनताहरू अनिकालले मरेका छन् । झाडापखालाले मरेका छन् । त्यहि देश जो १७०० युवाहरू प्रत्येक दिन खाडीका मुलुकहरूमा निर्यात गरिरहेछ । त्यो देश जसले विगत ७ वर्षदेखि संविधान खोजिरहेछ । बिडम्बना प्राप्त गर्न सकेको छैन । यहि पेचिलो सन्दर्भमा एउटा कम्युनिष्ट पार्टी आफ्नो राष्ट्रिय सम्मेलन गरिरहेछ, अर्को कम्युनिष्ट पार्टी महाधिवेशनको तयारीमा छ । भलै उसला हाँक्ने भनिएका नेता आफ्ना फेरिएका मृगौलामा सक्रमण भएपछि एअर एम्बुलेन्सबाट बैङ्कक पुर्याइएका छन् । उनकै पार्टी मुख्य साझेदार रहेको सरकारले उनको सम्पूर्ण उपचार खर्च राज्यले ब्योहोर्ने निर्णय पनि गर्यो । कथा यस्तरी नै बढिरहेछ देशको । जनताहरू जीवनजलको एउटा पुरिया नपाएर मरिरहेछन् । नेताहरू मर्न लागेकाहरू पनि बचाइएका छन् । 

साँच्ची, त्यो दिन पनि आउँला कि म आधा जून हैन पूर्णेको जून लेख्न सकुँ ?

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...