Skip to main content

मोदीको भाषणमा हाम्रा नेताको ताली

अबकी बार मोदी सरकार ! यो त्यहि नारा थियो जसले केहि महिना अगाडि विश्वकै सबभन्दा ठूलो लोकतान्त्रिक देश भनिने भारतलार्इ जुरूक्कै उचाल्न सक्यो । राजनीतिलार्इ फोहोरी खेलको संज्ञा दिने करौडौं भारतीय युवाहरु समेत आफ्ना सम्भावित प्रधानमन्त्रीको पक्षमा खुलेर अगाडि आए । ती युवाहरूको समर्थन त्यसै सजिलै पनि आएको थिएन् त्यसमा कहि न कतै समृद्द र विकसित भारतको सपना गाँसिएर आएको थियो । र, भारतीय युवाहरूलार्इ के विश्वास लाग्यो भने पछिल्लो दशकदेखि २९ वटा प्रान्तहरू मध्ये अत्यन्तै तिब्रतर विकासको गति समातेको गुजरात प्रान्तको नेतृत्वको मुख्य कमाण्ड सम्हाल्दै आएका नरेन्द्र दामोदरदास मोदीको प्रेरणामा आधुनिक भारतको खास प्रगती सम्भव छ । फलतः नमोक्रेज यसरी ह्वात्तै बढ्न पुग्यो कि जसको लोकप्रियताको तेजले एकदशकभन्दा बढि केन्द्रिय राज्यसत्ता सञ्चालन गरिररहेको कांग्रेस आर्इ संविधानतः संसदमा प्रमुख प्रतिपक्षीको हैसियत प्राप्त गर्न पनि असमर्थ रह्यो । संक्षेपमा भन्दा मोदीको उदयले पारम्परिक शक्तिको पत्तासाफ हुन पुग्यो । र, तिनै चमत्कारिक नरेन्द्र दामोदरदास मोदी उनकै अनुसार, दोश्रो पटक एक सुन्दर हिमाली राज्यको भ्रमणका क्रममा छन् । मोदीले भनेका छन् – उनि पहिले पथिकका रूपमा नेपाल-यात्रा निस्केका थिए र अहिले विशाल भारतका प्रधानमन्त्रीका रूपमा त्यस हिमाली राज्यको एउटा सटिक यात्रामा छन् ।
सार्वभौम भनिने मेरो देशको ब्यवस्थापिका संसदमा सम्बोधन गर्न पाउने पहिलो भाग्यशाली विदेशी सरकारप्रमुख मोदीले अत्यन्तै सतर्कतापूर्वक गरेको पौने घण्टाको भाषणको ह्याङओभर मेरा प्यारा नेपालीजनहरुमा कहिले सम्म दिग्मिगार्इरहने हो त्यसको केहि निश्चित छैन । तर, मोदीको भ्रमणलार्इ ध्यानमा राखेर नेपाल सरकारले गरेका थुप्रै तयारीहरूको खुलेर आलोचना गरेका सयौं फेसबुके क्रान्तिकारीहरूले समेत उनको सम्बोधन सुनेपछि मुक्तकण्ठले प्रशंसा गर्न थालेका छन् ।
एक सचेत एवं राजनीतिमा गम्भीर चासो राख्ने युवाका नाताले नमोको सम्बोधनलार्इ मैले निसंकोच समर्थन गर्न सक्ने अवस्था रहदैन । एक मुख्यमन्त्रीका हिसाबमा नमोले आफ्नो प्रेरणामा गुजरातलार्इ विकास र समृद्दीको दिशामा जसरी अग्रसर गराए त्यसले मलार्इ यहि सेप्टेम्बरमा गुजरातको भ्रमणका लागि उक्साएकै छ । किन्तु, हाम्रो ब्यवस्थापिक संसदमा उनको प्रेरणादायी बक्तब्यलार्इ सुक्ष्म तवरले विश्लेषण नगरी स्वाट्टै विश्वास गरिहाल्ने अवस्थामा म छैन ।
गुजरातका भूमीपुत्रले सम्बोधनको शुरूवात नेपाली भाषाबाट गरेर आफ्नो छिमेकी देशको राष्ट्रभाषाप्रति जुन सम्मान ब्यक्त गरेका छन् त्यसले कम्तिमा पनि हामीहरूलार्इ एउटा पाठ सिकाएको हुनुपर्छ । विशेषतः हाम्रा तथाकथित नेताहरूलार्इ ! ९० भन्दाबढी विभिन्न भाषाभाषिका प्रचलनमा रहेको हाम्रो देशमा कुनै एक खास समुदायमा जाँदा हाम्रा नेताहरूले केहि कुरा त्यहाँकै स्थानीय भाषामा राख्ने चेष्टा गरिदिने हो भने पनि त्यसले सीमान्तकृत र पछाडीपारिएका तमाम जातजातीहरूलार्इ कम्तिमा पनि उनीहरूलार्इ राज्यसत्तासँग सजिलै अन्तरघुलन भएको महशुस हुने थियो । कुनै पनि कुरा हृदयबाट महशुस गराउन सक्ने वातावरण निर्माण झिंगेचित्ते सोचले सम्भव पनि छैन । यसर्थ, नमोले आफ्नो महानतम् परिचय दिन सफल भएका छन् ।
मीठा कुराहरू नमीठो लाग्ने उतिधेरै सम्भावनाहरू रहँदैन् । र, मोदीलार्इ यो राम्रैसँग थाहा छ । प्रधानमन्त्री चुनावी दौडान ताका उनी हिजो भारतका जुनजुन राज्यहरूमा पुगे, तहाँ तहाँका जनताहरूलार्इ उनीहरूको आत्मसम्मानलार्इ कसरी हुन्छ बढोत्तरी गराउने वाणीहरू नै बोले । अति नै धेरै आपराधिक क्रियाकलाप हुने भनिएको विहारमा गएर मोदीले भनेकै हुन – इस भूमी नें बुद्दका जन्म दिया था !
३ दशकभन्दा बढी भैसक्यो हाम्रै जलविधुत विज्ञले अनुसन्धानबाट पत्ता लगाएको कि करिब ८३ हजार मेगावाटको विधुत उत्पादन गर्न सक्ने क्षमता छ – हाम्रा नदीनालाहरूमा ! यसैलार्इ मीठासतापूर्वक नमोले भनिदिए – अबको दशबर्षपछि हिन्दुस्थानलार्इ लोडसेडिङ मुक्त पार्न सक्ने क्षमता नेपालसँग छ । उनको यहि कुरामा परर्रर्र ताली बज्यो हाम्रो संसदभवनमा ! मलार्इ थाहा छैन्, ताली बजाउनेहरूलार्इ हेक्का गर्न सके कि सकेनन् तर मलार्इ भन्न कर लागिरहेछ – १८ बर्ष पहिले गरिएको बहुचर्चीत एवं विवादास्पद महाकाली सन्धी र त्यससँग जोडिएर आउने पञ्चेश्वरी आयोजनाबाट निकालिने भनिएको ६४०० मेघावाट बिजुली र लाखौ हेक्टर जमिनमा पुर्यार्इने भनिएको सिंचार्इ सुविधा किन अहिलेसम्म पूरा हुन सकेन ? किन भारतले हामीसँग सौदावाजी मात्र गर्न चाह्यो ? ६ महिनामा तयार पार्ने भनिएको पञ्चेश्वरी आयोजनाको डिपिआर (विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन) किन त्यहि सम्झौताका कारण फुटेको दलका दुर्इ गुटहरू एकजुट भैसक्दा समेत तयार हुन सकेको छैन ? हामीले गम्भीर समीक्षा गर्नै पर्ने भएको छ कि हामीलार्इ के मिल्यो गण्डक सम्झौताबाट ? के लाभ उठाउन पाएका छौं सप्तकोशी सम्झौताबाट ? अनि टनकपुर सन्धीबाट ?
नेपाल भारत सीमालार्इ अवरोध हैन सेतुको रूपमा विकसित गर्ने सपना संसदभवनमा बाड्दै गर्दा किन मोदीले दशकौ देखि नेपाली भूमी कालापानीमा क्याम्प खडा गरी परेड खेलिरहेका आफ्ना सुरक्षादस्ताका बारेमा केहि बोलेनन ? कि ती त्यहाँ परेड खेली नै रहने हुन् ? सुस्ता लगायत ५३ भन्दा बढी क्षेत्रमा तोडिएका हाम्रा जंगे पिल्लरका बारेमा मोदी किन मौन रहे ?
भगवान गौतम बुद्दको जन्मभूमी भन्दै मुक्तकण्ठले नेपाली पावन भूमिको प्रशंसा गरेका मोदीले बिहारमा निर्माण गरिएको नक्कली लुम्बिनीका बारेमा आधिकारीक धारणा दिनु पर्थ्यो या पर्थेन ? वा, नमोले बुद्दको जन्मस्थानको औपचारिक प्रमाणिकरण गरेको मानेका हाम्रा नेताहरूले उनलार्इ यस विषयमा केहि सोध्ने आँट गर्नु पर्ने वा होर्इन ? तर, सार्क सम्मेलनताका आउँदा लुम्बिनी र जनकपूर जाने प्रतिबद्दता गर्ने उनको कदमलार्इ चाहिँ तारिफयोग्य नै मान्नुपर्ला ।
मोदी त दुर्इदिनका पाहुना नै थिए – आए, प्रेरणादायी भाषण दिए । भोली जान्छन् पनि । तर के विश्वजगतका अगाडि सबैलार्इ छर्लङ्ग हुने गरी भारत सधैं नेपालको शुभचिन्तक रहेको दोहोर्याइरहेका नमोले एक भारतीय प्रधानमन्त्रीका हैसियतले हाम्रो सानो अनि गरिव हिमाली राज्यको प्रधानमन्त्रीलार्इ अन्तस्करणदेखि नै सम्मानपूर्वक समान ब्यवहार गर्दछन् होला ? गम्भीर प्रश्न हो यो । हामी चाहन्छौं भारतले हामीलार्इ ठूल्दाजु वा जेठादार्इको रूपमा हैन एक असल साथीको रूपमा विकास निर्माणका हाम्रा सकल प्रयत्नहरूमा साथ दिनुपर्दछ ।
जति नै कर्णप्रिय र प्रेरणादायी भाषण भएपनि समृद्द, सुखी र अनुशासित नेपाल निर्माणका लागि हामीले आफ्नो इच्छाशक्तिलार्इ पूनर्जन्म दिन सकेनौ र इमान्दार प्रयास थालेनौ भने नमोको भाषण सुनिन्ज्यालको रमार्इलो मात्रै नै हो । हुन त एक अर्थमा उनको सम्बोधनमा केहि कृत्रिम अनि वनावटी प्रशंसाको गन्ध पनि मिसिएको छ, कतैकतै ठूल्दाजुकै अहम् जस्तो पनि प्रतित हुन्छ । तर यो समय हाम्रा नेताहरूका लागि एक छिमेकी प्रधानमन्त्रीको प्रशंसा सुनेर ताली बजाउने भन्दा पनि भोली सकल नेपालीजनहरूले सम्मानले आफूले बसिरहेको स्थानबाट उठेर करतल ध्वनिमा ताली बजाउने लायकको काम गर्नु महत्वपूर्ण हो । सबैलार्इ हेक्का होस् – देशको निर्माण भाषणले हैन, दृढ इच्छाशक्ति, इमान्दार प्रयास अनि साझा उर्जामा मात्र सम्भव छ ।


नमोका सम्बन्धमा केहि फेसबुके भित्तेलेखनहरू --











Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...