Skip to main content

के चरीलाई बाँच्न पाउने अधिकार थिएन् ?

“We're all human, aren't we? Every human life is worth the same, and worth saving.” 
― J.K. Rowling

चर्चित लेखिका जेके रोवलिङको भनाई हो यो ।

उसो त मलाई सोधिने - बलत्कारीलाई के सजाय दिनुपर्छ ? , तिम्रो आफन्त (कुनै पारिवारीक स्त्री सदस्य) लाई बलात्कार गर्नेलाई कस्तो सजाय होस् भन्ने चाहन्छौ‌ ? भन्नेमा मेरो फरक उत्तर हुन सक्ला ! अझ, तिमी नै बलात्कारी प्रमाणित भयौ भने तिमीलाई के सजाय हुनुपर्ला ? भन्ने प्रश्नमा त झन मेरो जवाफ अझ भिन्दै होला । सायद, यहाँहरूबाट पनि यी तिन भिन्न फरक अवस्थाहरूमा गरिने प्रश्नहरूको उत्तरहरू फरक नै मिल्ने छ भन्नेमा मेरो  निसंकोच दावी रहनेछ !

मेरो एक मित्रले हालैको एक दिन बताएका थिए - कि एक सामाजिक सर्वेक्षणमा अपराधीलाई दिईने सजायका बारेमा सर्वसाधारणहरूलाई राखिएका जिज्ञासाहरूमा अधिकतम जवाफहरू अत्यन्तै क्रुरर र अमानवीय थिए । उनले मलाई थप बताएका थिए -  त्यस सर्वेक्षणलाई मान्ने हो भने अब मानवीय मूल्य (Human Life Value) मा चिन्ताजनक ह्रास आएको छ ।

त्यस्तै, दुई दिन अगाडि प्रहरी इन्काउन्टरमा मारिएका भनिएका धादिङका ३० वर्षे युवा दिनेश अधिकारी (चरी) का (हत्या) का विषयमा लिएर पनि सामाजिक सञ्जालका भित्ताहरू खुब रंगिएका छन् । विशेषतः धेरै ब्यक्तिहरूमा उनी मारिनुलाई प्रहरीको भब्य सफलताको रूपमा इंगित गरिरहेका छन् । अनि ती मध्ये धेरैले प्रहरीको यो इन्काउन्टरलाई एकदमै बैधानिक र आवश्यक भएको समेत औल्याएका छन् । ब्यक्तिगत रूपमा उनको हत्या वा इन्काउन्टर जे होस् त्यसले मलाई दुःखित पनि बनाएको छैन र उत्साहित पनि बनाएन । तर, यो गम्भीर विषयलाई पनि सामाजिक सञ्जालमा अत्यन्तै हल्का रूपमा टिकाटिप्पणी गरिनुमा मलाई उति प्रितीकर लागेन् । मलाई के लाग्दछ भने - घटनाको वास्तविकता सार्वजनिक नभैन्जेल यसमा ब्यक्तिगत धारणा बनाईहाल्नु उचीत होईन । अझ त्यो मान्छे जो सुकै होस् एक ब्यक्तिको मृत्युमा उत्सव मनाउनुले समग्र मानव सभ्यतामाथि नै खिसी गरेको झैं मलाई भान भैरहेछ ।

यो घटनाको बिषयमा पहिलो महत्वपूर्ण कुरो यो प्रहरीको दावी अनुसारकै इन्काउन्टर हो या होईन भन्ने हो । अर्को महत्वपूर्ण कुरो कानुनतः नेपाल प्रहरीलाई कुनै पनि ब्यक्तिको इन्काउन्टर गरि हत्या गर्नु अधिकार नै नभएको अवस्थामा यो कसरी न्यायिक हत्या भो ? भन्ने हो । तेस्रो महत्वपूर्ण कुरो त, धेरै गम्भीर विषयहरूमा सदनमा छलफल र सरकारको जवाफ नमाग्ने हाम्रा नेताहरूले दिनेश अधिकारी आफ्नो दलको कार्यकर्ता भएकै कारण उसको हत्याको विषयलाई लिएर सरकारको जवाफ माग्नुलाई लिन सकिन्छ । र, सबभन्दा महत्वपूर्ण विषय तपाइँ हामीजस्ता आम मानिसहरुमा विकास हुँदै गएको नकारात्मक मनोवृतिको हो । के कुनै पनि खराव आचरण भएको ब्यक्तिलाई सुध्रिन पाउने वा बाँच्न पाउन अधिकार छैन ? के दिनेश अधिकारी चरीको इन्काउन्टरले अब नेपालमा भैरहेको गुन्डाको चुनौतीहरुलाई समाप्त गरेकै हो ? हामीले बिर्सन नहुने कुरो के हो भने दिनेश अधिकारी चरी होस् या गणेश लामा, दिपक मनाङे होस वा चक्रे मिलन, साजन महर्जन होस् या कुमार घैटेँ वा त्यो रमेश बाहुन किन नहोस् उनीहरूको आपराधिक क्रियाकलाप उनीहरूको एक्लो प्रयासबाट सम्भव छैन । चर्चीत प्रहरी अधिकृत रमेश खरेलले बताउँदै आएका छन् - गुन्डा, प्रहरी र राजनैतिक दलका नेताहरूबीचको सञ्जाललाई ध्वस्त नपार्ने हो भने गुन्डाराज यथावत रहन्छ । र, यो शतप्रतिसत सत्य पनि हो ।

उसो त गुन्डालाई डन बनाउन तपाइँ हाम्रो पनि उत्तिकै हात छ । कुनै पनि ब्यक्तिले गर्ने आपराधिक कृयाकलाप रोक्नका लागि उसलाई सचेत गराउनुको साटो उसको भय वा प्रलोभनमा परेर हामी त्यसलाई चुपचाप सहन्छौ‌ । अनि त उसको मनोबल बढ्दै जान्छ । ऊ दिनेश अधिकारीबाट चरी बन्दछ । र, कुनै कारणवशः चरीको इन्काउन्टर गराईन्छ । हामी त्यसमा रमाउछौ‌ । तर नबिर्सौ - इन्काउन्टरै गर्ने हो भने चरीभन्दा खतरनाक गिद्दहरू छन् हाम्रो समाजमा । तर मेरो मान्यता हो - एउटा जीवन समाप्त पारेर समस्याको समाधान हुँदैन ।

देशमा विद्यमान भष्ट्रचार, कुरीति, असमानता र दमनको अन्त्यका लागि एक जमानामा हाम्रै छिमेकका दाजुभाईहरू बन्दुक बोकेर जंगल पसेका हुन् । उनीहरूका विश्लेषणमा खराब भनिएकाहरू मारिएका पनि हुन् । मारिनु पनि एकजना होईन् दुई जना हैन् करिब बिस हजार मान्छेहरू वेदी चढाईए । तर के समाजबाट कुरितीहरू हराएर गए ? भष्ट्रचार शुन्य भो ? भनिन्छ, युद्दपश्चातः नेपाली समाज झनझन बिग्रदो र खस्कदो अवस्थामा गयो ।

केहि दिन पहिले त हो, साउदी अरबमा दुईवर्षे बालकको हत्या अभियोगमा घाँटी छिनाएर मृत्यु दण्ड दिइएकी एक नेपाली युवतीको खबर पढेको हाम्ले । अभियोगकै कुरा गर्दा उनी हत्यारा थिइँन । र, हत्याको अभियोग लागेको देशमा हत्याको सजाय मृत्युदण्ड थियो । तर, सामाजिक सञ्जालमा हामीहरू नै बडो भावुक भएर उनलाई दिइएको मृत्युदण्डको सजायको घोरभत्सर्ना गरेका थियौ‌ । अनि फेरि एक मोटरसाईकलमा भाग्दै गरेको भनिएको ब्यक्तिलाई पछाडीबाट आठ गोली छातिमा, पेटमा र कोखमा दागिदा हामी खुशीले उन्मत्त छौ‌ ?  के मृत्यु ब्यक्तिपिच्छे फरक हुने हो ? के मानिसको जीवनको मूल्य मानिसहरू पिच्छे फरक नै हुने हो ? चर्चीत सिलियर किलर चार्ल्स शोभराजलाई पक्रेर जेलमा हान्ने नेपाल प्रहरीले एउटा जाबो सुकुल गुन्डालाई पक्रेर जेलमा हाल्न सक्ने थिएन ? के यसरी भिमढुंगा काण्डै मच्चाउन पर्ने थियो ? प्रश्न गम्भीर छ !

चरी हत्याकाण्डका बिषयमा मेरा मित्रहरूको आ-आफ्ना विचारहरू --









Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...