Skip to main content

संविधानकाे जस्केलोबाट उदाएको एउटा सभासद

केहि महिनादेखि लेखनकार्यमा उती रुची लाग्ने गरेको छैन मलाई । लेख्दा धेरैले चित्त दुखाउने र नलेख्दा आफ्नै चित्त दुख्ने कठोर परिस्थितीबाट गुज्रिदै आएपछि मैले लेख्ने निर्णय गरेँ । मलाई लाग्यो – लेख्ने अरुका लागि हैन आफ्नै लागि हो । लेखनलाई मनको भडाँस पोख्नेभन्दा पनि विषयवस्तुप्रति आफ्नो समालोचनात्मक दृष्ट्रिकोणमा तिख्खरता ल्याउने औजारको रुपमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगेपछि मैले केहि हप्ताको लेखनकार्यको विश्रामलाई अन्त्य गर्ने निर्क्यौल गरेको हुँ ।

दुई हप्ताजस्तो भो’ म्याग्दी जिल्लाले आफ्नो खातामा अर्को एउटा सभासद थप्न सफल भएको छ । संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट अकल्पनिय (अकल्पनिय यस अर्थमा कि निर्वाचनपूर्व चुनाव जित्ने प्रचारबाजीमा सडकसम्मै ओर्लेका थिए) हार बेहोरेको म्याग्दी कांग्रेस लामो समयदेखि समानुपातिक सूचीबाट सभासदहुनेहरुको लाममा आफ्नो जिल्लाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन पर्ने मागमा दृढ भएर युद्धको जेहाद छेडेथ्यो – सानेपा दरबारविरुद्ध । 

सम्भवतः नेपाली राजनैतिक इतिहासमै पहिलो पटक हुनुपर्छ आफ्नो पार्टीको केन्द्रसँग जिल्लामा उपलब्ध सबै गुटका नेताहरु एक ढिक्का भएर लडेको ! त्यो लडाई पट्यारलाग्दो नै थियो, तर मनमा जितको गुञ्जायस यदाकदा गुञ्जेकै थियो उनीहरुको । तर जब सानेपा दरबारको खोपीबाट दुई राजाहरुबीच ६०:४० को सौदाबाजी भो, बिचरा म्याग्देली काङ्ग्रेसीहरुको भागमा हाता लाग्यो शुन्यः हुन गयो । पार्टी केन्द्रमा डेलिगेशन गएको, अनुनय र्घुकाइ सबै बिष्णुमतिको पानीमा मिसिन पुगियो । तोलाको बोली खोलामा भने झैं भो । म्याग्देली काङ्ग्रेसीहरु रनाहामा परे । २५/३० वर्षको राजनैतिक इतिहास छ भन्नेहरु, चौपारीको उद्घाटन गर्न एकजमानामा पार्टीका प्रभावशाली नेता रामचन्द्र पौडेललाई जिल्ला झिकाउने ल्याकत राख्नेहरुले हावा खाए । उनीहरुको लाख कोशिस खेर गए । म्याग्देली काँग्रेसीहरुले म्याग्देलीहरुलाई एक थान सभासद दिलाउन सकेनन् ।

A mature man offering a garland to a newly nominated member of parliament
फूलमालामा सभासद मनोनित रेशम बानियाँ । तस्बीरः फेसबुक
यो किस्सा त्यसै खत्तम भएन । उनीहरु एकजमानाका माउवादी काम्रेडहरु जस्तै क्रान्तिकारी भएर निस्के । जिल्ला कार्य समितिको कार्यालयमा ताला झुण्ड्याईयो । क्रान्तिको शंखघोष गर्दै उनीहरुले ताला झुण्ड्याईरहने क्रान्तिलाई त्यतिन्जेलसम्म जारी राखे जतिन्जेल सम्म सानेपादरबारले उनीहरुको अगाडि घुँडा टेक्न मानेन् । र, विश्वस्त पार्न सकेन कि मन्त्रीपरिषदले मनोनयन गर्ने २६ जनामा आफ्ना भागमा पर्ने सभासदहरु मध्ये एकमा म्याग्दी काँग्रेसबाट प्रतिनिधित्व हुने गरी मनोनित गरिनेछ । यो चारो पाएपछि म्याग्दी काँग्रेसले तालाबन्दी क्रान्तिको समापनको घोषणा गर्‍यो अनि पूर्ववतः कार्यालय खोल्यो । 

अन्ततः अन्तरिम संविधानको धारा ६३ (३) (ग) अनुसार राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट ब्यक्ति र प्रत्यक्ष तथा समानुपातिक निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातीमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट छब्बीस जना संविधानसभा सदस्य मनोनय हुने ब्यवस्था अनुरुप म्याग्दी काँग्रेस सभापति रेशम बानियाँलाई काँग्रेसले सभासदमा मनोनयन गर्‍यो । अन्तरिम संविधानको ब्याख्या अनुसार उनको मनोनयन कति जायज थियो त्यो छर्लङ्गै छ, किन्तु म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँगको एउटा घगडान युद्ध भने जितेको छ ।  

बानियाँलाई सभासदमा मनोनयन गरेको खबरसँगै म्याग्देली काँग्रेसहरुमा खुशिको पारा विचित्रले उकालो चढेको म्याग्देलीहरुले देखे भोगेकै हो । के गर्नेलाई भन्दा केलाई लाज भनेजस्तै यो मनोनयनले म्याग्देलीहरुलाई एउटा अर्को बिजय जुलुस र सभा हेर्ने औसर जुटाईदियो । इन्टरनेट संसारमा छरिएका मेरा प्रिय म्याग्देली काँग्रेसी मित्रहरुको अबिरले लपक्कै भएको अनुहारभित्र हेर्नलायकको खुशि मैले महशुस गरेँ । सायद प्रत्यक्ष निर्वाचनमा म्याग्दीबाट विजयी भएका नवराज शर्मा पनि विलखबन्दमा परे हुनन् काँग्रेसी विजयी जुलुश देखेर । कस्तो हुँदो हो यदि “बेलायती सेनाका रिटायर्ड आर्मी म्यान”ले बिमको एउटा गरिब किसानको छोरोलाई चुनाउमा हराएको भए ? 

विषयको गाम्भीर्यतालाई साँच्चिकै मनन गर्ने हो भने दोश्रो संविधानसभा अत्यन्तै जिम्मेवार र संवेदनशिल समयबाट गुज्रिरहेको छ । संविधान घोषणा गर्ने भनिएको मिति पनि नजिकिदै गैरहेको बखत सभासहरुको भूमिका त्यति नदेखियता पनि उनीहरु गम्भिरतापूर्वक आफ्नो काम/कर्तव्यदेखि विमुख हुन पनि सक्दैनन् । बानियाँले सभासदको टिका र खाँदा पहिरिन त सफल भए तर संविधान निर्माणमा उनको भूमिका कत्तिको स्मरणीय रहने हो त्यो हेर्न बाँकी नै छ । 

सभासद मनोनित गर्ने क्रान्तिकारी अभियानमा म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँग जुन सफलता हात पारेको छ त्यसको जायजताको मापन म्याग्देली काँग्रेसले सभासद बानियाँको कार्यसम्पादनमा पुर्‍याउने साथ र समर्थनबाटै निर्क्यौल हुने हो ।  

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...