Skip to main content

संविधानकाे जस्केलोबाट उदाएको एउटा सभासद

केहि महिनादेखि लेखनकार्यमा उती रुची लाग्ने गरेको छैन मलाई । लेख्दा धेरैले चित्त दुखाउने र नलेख्दा आफ्नै चित्त दुख्ने कठोर परिस्थितीबाट गुज्रिदै आएपछि मैले लेख्ने निर्णय गरेँ । मलाई लाग्यो – लेख्ने अरुका लागि हैन आफ्नै लागि हो । लेखनलाई मनको भडाँस पोख्नेभन्दा पनि विषयवस्तुप्रति आफ्नो समालोचनात्मक दृष्ट्रिकोणमा तिख्खरता ल्याउने औजारको रुपमा प्रयोग गर्न सकिने निष्कर्षमा पुगेपछि मैले केहि हप्ताको लेखनकार्यको विश्रामलाई अन्त्य गर्ने निर्क्यौल गरेको हुँ ।

दुई हप्ताजस्तो भो’ म्याग्दी जिल्लाले आफ्नो खातामा अर्को एउटा सभासद थप्न सफल भएको छ । संविधानसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट अकल्पनिय (अकल्पनिय यस अर्थमा कि निर्वाचनपूर्व चुनाव जित्ने प्रचारबाजीमा सडकसम्मै ओर्लेका थिए) हार बेहोरेको म्याग्दी कांग्रेस लामो समयदेखि समानुपातिक सूचीबाट सभासदहुनेहरुको लाममा आफ्नो जिल्लाबाट पनि अनिवार्य प्रतिनिधित्व गराउन पर्ने मागमा दृढ भएर युद्धको जेहाद छेडेथ्यो – सानेपा दरबारविरुद्ध । 

सम्भवतः नेपाली राजनैतिक इतिहासमै पहिलो पटक हुनुपर्छ आफ्नो पार्टीको केन्द्रसँग जिल्लामा उपलब्ध सबै गुटका नेताहरु एक ढिक्का भएर लडेको ! त्यो लडाई पट्यारलाग्दो नै थियो, तर मनमा जितको गुञ्जायस यदाकदा गुञ्जेकै थियो उनीहरुको । तर जब सानेपा दरबारको खोपीबाट दुई राजाहरुबीच ६०:४० को सौदाबाजी भो, बिचरा म्याग्देली काङ्ग्रेसीहरुको भागमा हाता लाग्यो शुन्यः हुन गयो । पार्टी केन्द्रमा डेलिगेशन गएको, अनुनय र्घुकाइ सबै बिष्णुमतिको पानीमा मिसिन पुगियो । तोलाको बोली खोलामा भने झैं भो । म्याग्देली काङ्ग्रेसीहरु रनाहामा परे । २५/३० वर्षको राजनैतिक इतिहास छ भन्नेहरु, चौपारीको उद्घाटन गर्न एकजमानामा पार्टीका प्रभावशाली नेता रामचन्द्र पौडेललाई जिल्ला झिकाउने ल्याकत राख्नेहरुले हावा खाए । उनीहरुको लाख कोशिस खेर गए । म्याग्देली काँग्रेसीहरुले म्याग्देलीहरुलाई एक थान सभासद दिलाउन सकेनन् ।

A mature man offering a garland to a newly nominated member of parliament
फूलमालामा सभासद मनोनित रेशम बानियाँ । तस्बीरः फेसबुक
यो किस्सा त्यसै खत्तम भएन । उनीहरु एकजमानाका माउवादी काम्रेडहरु जस्तै क्रान्तिकारी भएर निस्के । जिल्ला कार्य समितिको कार्यालयमा ताला झुण्ड्याईयो । क्रान्तिको शंखघोष गर्दै उनीहरुले ताला झुण्ड्याईरहने क्रान्तिलाई त्यतिन्जेलसम्म जारी राखे जतिन्जेल सम्म सानेपादरबारले उनीहरुको अगाडि घुँडा टेक्न मानेन् । र, विश्वस्त पार्न सकेन कि मन्त्रीपरिषदले मनोनयन गर्ने २६ जनामा आफ्ना भागमा पर्ने सभासदहरु मध्ये एकमा म्याग्दी काँग्रेसबाट प्रतिनिधित्व हुने गरी मनोनित गरिनेछ । यो चारो पाएपछि म्याग्दी काँग्रेसले तालाबन्दी क्रान्तिको समापनको घोषणा गर्‍यो अनि पूर्ववतः कार्यालय खोल्यो । 

अन्ततः अन्तरिम संविधानको धारा ६३ (३) (ग) अनुसार राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट ब्यक्ति र प्रत्यक्ष तथा समानुपातिक निर्वाचनबाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजातीमध्येबाट सहमतिका आधारमा मन्त्रिपरिषद्बाट छब्बीस जना संविधानसभा सदस्य मनोनय हुने ब्यवस्था अनुरुप म्याग्दी काँग्रेस सभापति रेशम बानियाँलाई काँग्रेसले सभासदमा मनोनयन गर्‍यो । अन्तरिम संविधानको ब्याख्या अनुसार उनको मनोनयन कति जायज थियो त्यो छर्लङ्गै छ, किन्तु म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँगको एउटा घगडान युद्ध भने जितेको छ ।  

बानियाँलाई सभासदमा मनोनयन गरेको खबरसँगै म्याग्देली काँग्रेसहरुमा खुशिको पारा विचित्रले उकालो चढेको म्याग्देलीहरुले देखे भोगेकै हो । के गर्नेलाई भन्दा केलाई लाज भनेजस्तै यो मनोनयनले म्याग्देलीहरुलाई एउटा अर्को बिजय जुलुस र सभा हेर्ने औसर जुटाईदियो । इन्टरनेट संसारमा छरिएका मेरा प्रिय म्याग्देली काँग्रेसी मित्रहरुको अबिरले लपक्कै भएको अनुहारभित्र हेर्नलायकको खुशि मैले महशुस गरेँ । सायद प्रत्यक्ष निर्वाचनमा म्याग्दीबाट विजयी भएका नवराज शर्मा पनि विलखबन्दमा परे हुनन् काँग्रेसी विजयी जुलुश देखेर । कस्तो हुँदो हो यदि “बेलायती सेनाका रिटायर्ड आर्मी म्यान”ले बिमको एउटा गरिब किसानको छोरोलाई चुनाउमा हराएको भए ? 

विषयको गाम्भीर्यतालाई साँच्चिकै मनन गर्ने हो भने दोश्रो संविधानसभा अत्यन्तै जिम्मेवार र संवेदनशिल समयबाट गुज्रिरहेको छ । संविधान घोषणा गर्ने भनिएको मिति पनि नजिकिदै गैरहेको बखत सभासहरुको भूमिका त्यति नदेखियता पनि उनीहरु गम्भिरतापूर्वक आफ्नो काम/कर्तव्यदेखि विमुख हुन पनि सक्दैनन् । बानियाँले सभासदको टिका र खाँदा पहिरिन त सफल भए तर संविधान निर्माणमा उनको भूमिका कत्तिको स्मरणीय रहने हो त्यो हेर्न बाँकी नै छ । 

सभासद मनोनित गर्ने क्रान्तिकारी अभियानमा म्याग्दी काँग्रेसले आफ्नो केन्द्रसँग जुन सफलता हात पारेको छ त्यसको जायजताको मापन म्याग्देली काँग्रेसले सभासद बानियाँको कार्यसम्पादनमा पुर्‍याउने साथ र समर्थनबाटै निर्क्यौल हुने हो ।  

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...