Skip to main content

ती दशैंहरू




नातिनीलाई टिका लगाईदिदै मेरी आमा

म महशुस गर्दथेँ कि प्रत्येक वर्ष दशैं आउँदै गर्दा यसलाई कसरी मनाउने होला भन्ने पीरले आमालाई अलि बढी नै पिरल्थ्यो । दशैं खर्चको बन्दोबस्त बुबाले गर्नुहुन्थ्यो तर कुटुम्बहरूलाई दिइने दक्षिणाको ब्यवस्थापन आमाले गर्नु पर्थ्यो । बुबा केहि निश्चित रकमको चाँजो मिलाउनुहुन्थ्यो, अनि त्यो एकदम निश्चित रकमबाट बुबाको 'गन्यमान्य ब्यक्तित्व'को 'प्रतिष्ठा'लाई ख्याल गर्दै साइनो अनुसारको दक्षिणा मिलाउने बडो महत्वपूर्ण कमाण्ड आमाले सम्हाल्नु पर्थ्यो । दक्षिणामा पैसा खर्च गर्नुभन्दा बरू मासु किन्ने र टिका थाप्न आउने प्रत्येक कुटुम्बलाई टन्न मासुभात ख्वाएर पठाउनु पर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो । आमा चाँहि त्यसमा थप कुटुम्बहरूले 'छि यति पनि के दक्षिणा दे'को होला' नभनुन् भन्नेमा बढि गम्भीर भएर लागे जस्तो मलाई लाग्थ्यो । उहाँको एउटै जोड – बुबाको इज्जतका खातिर दक्षिणाचाँहि आकर्षक नै हुनुपर्छ ।
 
घटस्थापना आउँथ्यो, दुर्गा पूजा आउथ्यो अनि आउँथ्यो – दशैंको टिका थाप्ने दिन । कान्छो बुढोबाको हातको टिका थापेपछि बुबाले आमालाई टिका लगाइदिनुहुन्थ्यो । अनि बुबा र आमाले मलाई र भाइलाई । बुबाले औपचारिकता निभाउनलाई मात्र टिका लगाइदिनुभएको जस्तो अनुभूत हुन्थ्यो मलाई । उहाँको टिका लगाइको वेग यति तिब्र हुन्थ्यो कि मलाई र भाइलाई टिका लगाइवरी वहाँ उठिसक्दा आमाचाँहि थालीबाट दुबै हातका दशैवटा ‍औंलाले स्नेहपूर्वक अक्षता निधारमा लगाइदिन शुरू गर्नुहुन्थ्यो । थाहा छैन किन आशिष दिदै गर्दा ओठ कपाउँदै गरेकी मेरी आमाले टिका लगाइदिदै त्यसरी बरर्र मोतीका दाना झार्नुहुन्थ्यो ? आमाको वात्सल्य आँशु बनेर झरिरहँदा, मैले मेरो कम्युनिष्ट नेता पितालाई पनि मलिनो देख्थेँ । जस्तो कि मानुँ आकाश कालो बादलले छोपिएको छ, र त्यो बादल पर गौश्वाँराको डाँडोमा ठोक्किन्छ अनि वर्षिन्छ ।
 
अँ म बताउँदै थिएँ, प्रत्येक दशैंमा आशीर्वचनसँगै मेरी आमाको भिजेको एकजोर आँखा त्योभन्दा बढि स्तब्ध मेरी आमाको दील, उस्तै मलिन अनि फुङ्ग उडेको मेरो पिताजीको मुहार हेर्दै गर्दा मैले मेरो भाइँको आँखालाई पढ्थेँ । बिचरा, बच्चै हुन्थ्यो ऊ । बलिन्द्र आँशु देख्थेँ उसका चक्षुमा टिल्पिलाइराखेका । अहिले गम खान्छु – त्यो मेरो बच्चो भाइ बुझेर रून्थ्यो होला कि बुझ्दैनबुझी ? उसो त सितिमिती आँशु झर्दैनन् मेरा तर हुनेखाने र हामीलाई माया गर्ने आफन्तहरूको उपहारमा प्राप्त लुंगी र चोलीमा एक सिंगो वर्ष बिताउने मेरी आमाको आँशु देखेपछि मैले कहिल्यै मन थाम्न सक्दिनथेँ । अनि आमा र भाइसँगै पिल्पिलाउँथे म पनि । म अज्ञानि छु – भौतिक विज्ञानले वर्षा हुने प्रक्रियालाई ठ्याक्कै कसरी ब्याख्या गरेको छ, किन्तु मेरा बुबाआमाको मोती खस्ने प्रक्रियालाई ब्याख्या गर्ने बिज्ञान जन्मिनै बाँकी छ ।
 
बुबाआमाको हातको टिका थापिसकेपछि, म भित्र कुद्थेँ । अनि तन्नाको एउटा फेरले आँखा ओभाउथेँ । त्यपछि सिकुवासँगै जोडिएको मुले खाँवामा टाँगेर राखेको ऐनामा हेरेर आफू दशैं मनाउन ठिक्क परेको किशोरजस्तो देखिएको निश्चित गरेपछि मात्र पल्तिर बुढोबाको पिढिँमा पुग्थेँ । मलाई लाग्थ्यो- मन रोएर मुख हसाउन सकेपछि मान्छेहरू साँच्चिकै झुक्किन्छन् । भारतीय सेनाको सेवानिर्वृत मेरा बुढोबा (कान्छो हजुरबुबा) को टिकाको थालीमा टिका जमरा अनि नयाँ किटकिटे नोट हुन्थे । पुग्दानपुग्दै बुढोबाले भन्नुहुन्थ्यो – 'तँ बल्ल आइस् ? भाइहरू अगाडि नै आएर उता ठूलोबाका पुगिसके । दशैंको बेला पनि कति पढ्छस हो तँ ?' बुढोबाको नजरमा म जहिल्यै पढैया नै भएँ । खै, त्यसैले होकि अरूका हातमा बीसका नोट थमाइसकेपछि मलाई दुई थान बिसका नोट दिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो – 'कुलको इज्जत राखेस् ।' आज पर्यन्त, म अनभिज्ञ नै छु म, कि आखिर कुलको इज्जत राखिन्छ कसरी ?
 
टिका लगाउन पर्ने ठाउँ सप्पै गाउँमै । मुख्यकुरो त मामाघर नै गाउँमै । जति ढिलो गरेपनि
४०-४५ मिनेट दशैं खत्तम । मामाकोबाट टिका लगाएर आइसकेपछि म सिधैं घर फर्कन्थेँ । आमा पिढीमा बसिरहनु भएको हुन्थ्यो नभए गोठमा भैसीलाई स्याहार गर्दै गरेको पाउँथे । मध्यान्ह भैसकेपछि बुबा आफ्नो मावली उक्लनुहुन्थ्यो – ज्याम्रुककोट । अब दशैंको दिन उम्काउने सम्पूर्ण जिम्मा आमाको थाप्लोमा । बुबाले बन्दोबस्त मिलाएको दक्षिणा दिने नोटहरू एकएक गर्दै थालबाट अलप भैसकेका हुन्थे । कारण ती अपुग थिए । किनभने मेरी आमालाई बुबाको घगडान प्रतिष्ठाले लखेटिरहेथ्यो । अनि त्यो थालीमा आमा आफूले पाएको जति दक्षिणा सबै खन्याउनुहुन्थ्यो । पछि, त्यसमा मैले आफूले पाएको जति सप्पै दक्षिणा त्यहि थालीमा राखिदिन्थेँ । मलाई बुबाको प्रतिष्ठाभन्दा आमाको माया ज्यादा सरोकारको विषय हुन्थ्यो । मैले त्यसो गर्दै गर्दा आमाले पुलुक्क हेर्नुहुन्थ्यो । म भान्साको डाँडोतिर एकटक हेरिरहन्थेँ । सोच्दै, कि दशैं हाम्रो प्रतिष्ठा अनुरूप मनाउनु पर्ने हो या आर्थिक हैसियत अनुसार ?
 
बच्चा हुँदा आमाले अक्सर मलाई सुनाउनुहुन्थ्यो – मसँग करोड करोडको सम्पत्ति छ । म छक्क पर्थेँ । आमा भन्नुहुन्थ्यो – रामु दाइले सधैं मलाई भन्नुहुन्छ, गंगा अहिले दुःख पर्यो भनेर कत्ति नआत्ती, तँसँग पनि मेरा जस्तै करोडकरोडका दुईभाई छोराहरू छन् । ती करोडका भान्जाहरूले एकदिन खुशी ल्याउँछन् । रामु मामाले उ बेला साँच्चिकै किन त्यसो भन्नुभो मैले जान्दिनँ । तर रामु मामाले कम्तिमा पनि मेरी आमाको हौशला बढाउने काम गर्नुभएकै हो । त्यही हौसलामा मेरी आमाले जीवनका अत्यन्तै कठिनतम् दिनहरू गुजार्नुभएको छ । मलाई लाग्छ, त्यहि हौसलाले अभिभूत भएरै मेरी आमा प्रत्येक दशैंहरूमा आशीरवचनसँगै त्यसरी भावविह्वल हुनुभएको हो । के आमाको आँशुको भाडा तिर्नु सम्भव छ ?

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...