Skip to main content

ती दशैंहरू




नातिनीलाई टिका लगाईदिदै मेरी आमा

म महशुस गर्दथेँ कि प्रत्येक वर्ष दशैं आउँदै गर्दा यसलाई कसरी मनाउने होला भन्ने पीरले आमालाई अलि बढी नै पिरल्थ्यो । दशैं खर्चको बन्दोबस्त बुबाले गर्नुहुन्थ्यो तर कुटुम्बहरूलाई दिइने दक्षिणाको ब्यवस्थापन आमाले गर्नु पर्थ्यो । बुबा केहि निश्चित रकमको चाँजो मिलाउनुहुन्थ्यो, अनि त्यो एकदम निश्चित रकमबाट बुबाको 'गन्यमान्य ब्यक्तित्व'को 'प्रतिष्ठा'लाई ख्याल गर्दै साइनो अनुसारको दक्षिणा मिलाउने बडो महत्वपूर्ण कमाण्ड आमाले सम्हाल्नु पर्थ्यो । दक्षिणामा पैसा खर्च गर्नुभन्दा बरू मासु किन्ने र टिका थाप्न आउने प्रत्येक कुटुम्बलाई टन्न मासुभात ख्वाएर पठाउनु पर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो । आमा चाँहि त्यसमा थप कुटुम्बहरूले 'छि यति पनि के दक्षिणा दे'को होला' नभनुन् भन्नेमा बढि गम्भीर भएर लागे जस्तो मलाई लाग्थ्यो । उहाँको एउटै जोड – बुबाको इज्जतका खातिर दक्षिणाचाँहि आकर्षक नै हुनुपर्छ ।
 
घटस्थापना आउँथ्यो, दुर्गा पूजा आउथ्यो अनि आउँथ्यो – दशैंको टिका थाप्ने दिन । कान्छो बुढोबाको हातको टिका थापेपछि बुबाले आमालाई टिका लगाइदिनुहुन्थ्यो । अनि बुबा र आमाले मलाई र भाइलाई । बुबाले औपचारिकता निभाउनलाई मात्र टिका लगाइदिनुभएको जस्तो अनुभूत हुन्थ्यो मलाई । उहाँको टिका लगाइको वेग यति तिब्र हुन्थ्यो कि मलाई र भाइलाई टिका लगाइवरी वहाँ उठिसक्दा आमाचाँहि थालीबाट दुबै हातका दशैवटा ‍औंलाले स्नेहपूर्वक अक्षता निधारमा लगाइदिन शुरू गर्नुहुन्थ्यो । थाहा छैन किन आशिष दिदै गर्दा ओठ कपाउँदै गरेकी मेरी आमाले टिका लगाइदिदै त्यसरी बरर्र मोतीका दाना झार्नुहुन्थ्यो ? आमाको वात्सल्य आँशु बनेर झरिरहँदा, मैले मेरो कम्युनिष्ट नेता पितालाई पनि मलिनो देख्थेँ । जस्तो कि मानुँ आकाश कालो बादलले छोपिएको छ, र त्यो बादल पर गौश्वाँराको डाँडोमा ठोक्किन्छ अनि वर्षिन्छ ।
 
अँ म बताउँदै थिएँ, प्रत्येक दशैंमा आशीर्वचनसँगै मेरी आमाको भिजेको एकजोर आँखा त्योभन्दा बढि स्तब्ध मेरी आमाको दील, उस्तै मलिन अनि फुङ्ग उडेको मेरो पिताजीको मुहार हेर्दै गर्दा मैले मेरो भाइँको आँखालाई पढ्थेँ । बिचरा, बच्चै हुन्थ्यो ऊ । बलिन्द्र आँशु देख्थेँ उसका चक्षुमा टिल्पिलाइराखेका । अहिले गम खान्छु – त्यो मेरो बच्चो भाइ बुझेर रून्थ्यो होला कि बुझ्दैनबुझी ? उसो त सितिमिती आँशु झर्दैनन् मेरा तर हुनेखाने र हामीलाई माया गर्ने आफन्तहरूको उपहारमा प्राप्त लुंगी र चोलीमा एक सिंगो वर्ष बिताउने मेरी आमाको आँशु देखेपछि मैले कहिल्यै मन थाम्न सक्दिनथेँ । अनि आमा र भाइसँगै पिल्पिलाउँथे म पनि । म अज्ञानि छु – भौतिक विज्ञानले वर्षा हुने प्रक्रियालाई ठ्याक्कै कसरी ब्याख्या गरेको छ, किन्तु मेरा बुबाआमाको मोती खस्ने प्रक्रियालाई ब्याख्या गर्ने बिज्ञान जन्मिनै बाँकी छ ।
 
बुबाआमाको हातको टिका थापिसकेपछि, म भित्र कुद्थेँ । अनि तन्नाको एउटा फेरले आँखा ओभाउथेँ । त्यपछि सिकुवासँगै जोडिएको मुले खाँवामा टाँगेर राखेको ऐनामा हेरेर आफू दशैं मनाउन ठिक्क परेको किशोरजस्तो देखिएको निश्चित गरेपछि मात्र पल्तिर बुढोबाको पिढिँमा पुग्थेँ । मलाई लाग्थ्यो- मन रोएर मुख हसाउन सकेपछि मान्छेहरू साँच्चिकै झुक्किन्छन् । भारतीय सेनाको सेवानिर्वृत मेरा बुढोबा (कान्छो हजुरबुबा) को टिकाको थालीमा टिका जमरा अनि नयाँ किटकिटे नोट हुन्थे । पुग्दानपुग्दै बुढोबाले भन्नुहुन्थ्यो – 'तँ बल्ल आइस् ? भाइहरू अगाडि नै आएर उता ठूलोबाका पुगिसके । दशैंको बेला पनि कति पढ्छस हो तँ ?' बुढोबाको नजरमा म जहिल्यै पढैया नै भएँ । खै, त्यसैले होकि अरूका हातमा बीसका नोट थमाइसकेपछि मलाई दुई थान बिसका नोट दिनुहुन्थ्यो । अनि भन्नुहुन्थ्यो – 'कुलको इज्जत राखेस् ।' आज पर्यन्त, म अनभिज्ञ नै छु म, कि आखिर कुलको इज्जत राखिन्छ कसरी ?
 
टिका लगाउन पर्ने ठाउँ सप्पै गाउँमै । मुख्यकुरो त मामाघर नै गाउँमै । जति ढिलो गरेपनि
४०-४५ मिनेट दशैं खत्तम । मामाकोबाट टिका लगाएर आइसकेपछि म सिधैं घर फर्कन्थेँ । आमा पिढीमा बसिरहनु भएको हुन्थ्यो नभए गोठमा भैसीलाई स्याहार गर्दै गरेको पाउँथे । मध्यान्ह भैसकेपछि बुबा आफ्नो मावली उक्लनुहुन्थ्यो – ज्याम्रुककोट । अब दशैंको दिन उम्काउने सम्पूर्ण जिम्मा आमाको थाप्लोमा । बुबाले बन्दोबस्त मिलाएको दक्षिणा दिने नोटहरू एकएक गर्दै थालबाट अलप भैसकेका हुन्थे । कारण ती अपुग थिए । किनभने मेरी आमालाई बुबाको घगडान प्रतिष्ठाले लखेटिरहेथ्यो । अनि त्यो थालीमा आमा आफूले पाएको जति दक्षिणा सबै खन्याउनुहुन्थ्यो । पछि, त्यसमा मैले आफूले पाएको जति सप्पै दक्षिणा त्यहि थालीमा राखिदिन्थेँ । मलाई बुबाको प्रतिष्ठाभन्दा आमाको माया ज्यादा सरोकारको विषय हुन्थ्यो । मैले त्यसो गर्दै गर्दा आमाले पुलुक्क हेर्नुहुन्थ्यो । म भान्साको डाँडोतिर एकटक हेरिरहन्थेँ । सोच्दै, कि दशैं हाम्रो प्रतिष्ठा अनुरूप मनाउनु पर्ने हो या आर्थिक हैसियत अनुसार ?
 
बच्चा हुँदा आमाले अक्सर मलाई सुनाउनुहुन्थ्यो – मसँग करोड करोडको सम्पत्ति छ । म छक्क पर्थेँ । आमा भन्नुहुन्थ्यो – रामु दाइले सधैं मलाई भन्नुहुन्छ, गंगा अहिले दुःख पर्यो भनेर कत्ति नआत्ती, तँसँग पनि मेरा जस्तै करोडकरोडका दुईभाई छोराहरू छन् । ती करोडका भान्जाहरूले एकदिन खुशी ल्याउँछन् । रामु मामाले उ बेला साँच्चिकै किन त्यसो भन्नुभो मैले जान्दिनँ । तर रामु मामाले कम्तिमा पनि मेरी आमाको हौशला बढाउने काम गर्नुभएकै हो । त्यही हौसलामा मेरी आमाले जीवनका अत्यन्तै कठिनतम् दिनहरू गुजार्नुभएको छ । मलाई लाग्छ, त्यहि हौसलाले अभिभूत भएरै मेरी आमा प्रत्येक दशैंहरूमा आशीरवचनसँगै त्यसरी भावविह्वल हुनुभएको हो । के आमाको आँशुको भाडा तिर्नु सम्भव छ ?

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...