Skip to main content

शिशा पुछ्दै गर्दा आएथ्यो देशको याद

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो । 

पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं ! 

हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पारेको आलु र केराउको तरकारी समेत फाल्नु परो । फालेँ । 

दुई बर्ष पहिले फिनिश रेडक्रसमा करिब डेढ महिनाका लागि प्रयोगात्मक कक्षा थियो मेरो । त्यही बेला हो, एउटा कार्यशाला गोष्ठीमा फिनिश रेडक्रसकी एक अधिकारीले बताएको कि फिनल्याण्डका मानिसहरुले रेडक्रसलाई कति धेरै विश्वास गर्छन र कुनै पनि मानवीय सेवाका लागि यसले संचालन गर्ने रकम संकलन अभियानमा कति धेरै रकम संकलन हुन्छ । उनले भनेकी थिईन – जापानमा भूइँचालो जाँदा करिब १ अर्ब ने. रु. संकलन भएको थियो । 

मैले खाँदाखाँदैको खाना फाल्नु परेको यहि तथ्यांक सम्झना भएर हो । विश्वभरबाट विभिन्न तरिकाले संकलन हुने रकमको सदुपयोग वा ब्यवस्थापन गर्न नेपाल सरकारको दक्षता माथि ठूलो प्रश्न उठ्यो मनमा । विदेशीहरु समेत आफ्नो नीजि तर अत्यन्तै ब्यस्त समयतालिकाको बाबजुद सडकमा सहयोग उठाउँदै गर्दा विदेशी भूमिमा रहेको म एक आम नेपाली युवालाई आफ्नै सरकारप्रति विश्वास नलाग्नु, चानचुने कुरो थिएन । यहि असाधारण कुरोले पोलेपछि मलाई त्यो दिन समेत राम्रोसँग शिशा पुछ्न मन लागेन । एक घण्टा पहिले नै नाइकेलाई जानकारी गराएर म घर फर्के । अघिपछि बसको शिशा नियाल्थेँ । सफा भएको÷नभएको समेत हेक्का राख्थेँ । शिशाको झ्यालबाट परपर सम्म दृश्यमा अटाउने सम्मका चिजबिजहरु ध्यानपूर्वक हेर्ने गर्थे । अप्रिल २५ को शनिबारपछि यता झ्यालबाहिर मन हुत्तिन छाडेको छ । र, त्यो बुधबार त झन एउटै बसमा यात्रा गरेको अर्को एकजना नेपाली बन्धुलाई पनि ख्याल गरेनछु । बसबाट झरेपछि उनको आवाजले पो झस्किएँ – “के हो ब्रो हाम्रो त बालै छैन है ?”

बाल छ भनुँ कि छैन भनुँ ? म बिलखबन्दमा परेँ । मैले मुन्टो हल्लाउँदै भनेँ – “त्यस्तो हैन भाई !” उनले उसोभए कस्तो हो त ? भनेर सोधेनन् । र, मलाई पनि याद भएन् मैले मुन्टो उनको बाल नभएको प्रश्नको समर्थन हल्लाएँ वा असमर्थनमा !
भूकम्प प्रकोपित क्षेत्रहरु कहि कतैं राज्यले राहत बोकेर पुगिनसकेको त्यो चौथों दिन मलाई भूकम्प पिडीत लाखौं नेपालीहरुको “बाल” थियो । मलाई मात्र किन ? म जस्ता थुप्रै नेपाली युवाहरुलाई थियो । तर त्यो बुधबारको साँझसम्म म शतप्रतिशत निश्चित थिएँ – कि नेपाल सरकारलाई भूकम्प पिडीत नेपालीहरुको “बाल” छैन् । 

खाना खाने बेलामा बुढीलाई सुटुक्कै ब्यथा कहेँ – ९ करोड यूरोको “यूरो ज्याकपट चिठ्ठा” पार्न सके त ९० प्रतिशत रकम म भूकम्पपिडीतहरुको लागि खर्च गर्ने थिएँ बुढी ।
बुढीले मुस्कुराईन मात्र ।

मैले मनमनै कल्पेँ – मैले नै सोचेका सात अंक पर्ने हो भने त ! फेरि सम्हालिए १ देखि ५० सम्मका पाँचबटा सम्भावित अंकहरु र १ देखि १० सम्मका सम्भावित दुई बोनस अंक गरी सम्भावित सात अंकहरु पर्ने सम्भावनाको हिसाब गर्न त मेरो प्रिय गणित शिक्षक बालकुमार सरलाई नै सोध्नुपर्ने हुन्छ । तर मेरो अनुमानमा त्यस्तो सम्भावना बोकेको सात अंके लहर करोडौं हुन्छन् । र, मैले नै सोचेका सात अंकको लहर पर्ने सम्भावना ? 

अब भने बालकुमार सरले पनि कपाल कन्याउनु पर्ने हुन्छ ।

खाना खाँदै गर्दा ट्वा परिरहेको मलाई बुढीले झस्काइन् – ओ बुढो के भो ?
मैले भनेँ – अब म शिशा पुछ्दिनँ । 

पत्नीले केही भनिनीन् !

शिशा पुछ्दा प्रयोग हुने रसायन

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...